नाकामा चिनियाँ निगरानी : नक्कली सीमापासले जेलको बास

वैशाख २०८३ - २०८१ साल असार १२ गते जिल्ला प्रशासन कार्यालय हुम्लामा कार्यरत कर्मचारी बाँचबहादुर बोहरा विरुद्ध जिल्ला अदालतमा मुद्धा दर्ता भयो । उनलाई तत्कालीन जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीको हस्ताक्षर किर्ते गरेको आरोप पुष्टि भएपछि सोहि साल पुषमा जेल सजाय सुनाईयो । चीनसँग सीमा जोडिएका जिल्लाका स्थानीयबासीहरुका लागि व्यवस्था गरेको सीमा वितरणमा बाँचबहादुर बोहराले सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीको हस्ताक्षर किर्ते गरेर गैरहुम्लीलाई सीमा पास वितरण गरेको अदालतको भनाई छ ।

सहायक प्रजिअ सुवेदीको हस्ताक्षर गरेर बोहराले डोटी र बाजुरा जिल्लाका तीन जनालाई हुम्लाको सीमाक्षेत्र हिल्सा पार गरेर चीन जानका लागि सीमापास उपलब्ध गराएका थिए । अदालतले सीमा पास वितरणमा किर्ते गरेको कसुरमा बोहरा विरुद्ध चार वर्ष कैद सजाय तोकेको छ । बोहराले डोटी र बाजुराका तीन जनालाई हुम्ला जिल्लाका बासीन्दा बनाएर चीनको ताक्लाकोट पठाउने प्रयोजनका लागि किर्ते हस्ताक्षर गरेका थिए ।

सीमापास बोकेर चीनको ताक्लाकोट जाने क्रममा हिल्सामा नेपाल प्रहरीले चेकजाँच गर्दा नागरिकता र सीमा पासमा फरक ठेगाना भेटिए पछि प्रहरीले तीन जनालाई पक्राउ गरेर जिल्ला सदरमुकाम सिमकोट ल्याएको थियो । तीन जनामध्ये एक जनालाई हिल्साबाट एक किलोमिटर चिनियाँ क्षेत्रमा प्रवेश गरिसकेको अबस्थामा चिनियाँ प्रहरीले नियन्त्रणमा लिएर नेपाललाई बुझाएका थिए ।

छानविनका क्रममा बोहराले ०८१ साल जेठ १८ गते डोटी जिल्लाको साविकको जोरायल गाउँ विकास समिति– २ स्थायी ठेगाना भएका सोनाम थापालाई हुम्ला जिल्ला ताँजाकोट गाउँपालिका– ३ को बासिन्दा बनाएर सीमा पासमा किर्ते हस्ताक्षर गरेर फेला परेको थियो ।

अर्का आरोपी बाजुरा जिल्लाको पाण्डुसेन गाविस– ७ का स्थायी बासिन्दा शंकर सिंहलाई पनि जेठ २० गते हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिका– ३ का बासिन्दा बनाएर सीमापास बनाइएको थियो । त्यस्तै बाजुरा जिल्लाकै पाण्डुसेन गाविस– ६ स्थानीय घर भएका पेमा थापालाई पनि जेठ २० गते हुम्ला जिल्लाकै ताँजाकोट गाउँपालिका– ३ को ठेगाना बनाएर चीनको ताक्लाकोट जानका लागि नक्कली सीमा पास बनाइएको थियो । उनीहरुको नाममा जारी सीमा पासमा किर्ते हस्ताक्षर गरेको भेटिएको थियो ।

सरकारले यसअघि निर्वाध सीमा वारपार हुँदै आएका हुम्ला लगायत चीनसँग सीमा जोडिएका १५ जिल्लाका नागरिकले जिल्ला प्रशासन कार्यालयबाट अस्थायी सीमापास पास लिएर सीमापार ओहरदोहोर गर्न पाउने प्रावधान ल्याएको छ । नेपाल चीन दुईपक्षीय सम्झौता अनुसार दुवै देशका सीमवर्ती जिल्लाका नागरिकले ३० किलोमिटरसम्म बिना राहदानी जिल्ला प्रशासनको पत्रका आधारमा आउजाउ गर्न पाउँछन् । तर सीमावर्ती क्षेत्रमा निगरानी तथा नियमन र सीमापार अपराध रोकथाम तथा नियन्त्रणमा नेपाली प्रशासन र सुरक्षा संयन्त्रको उपस्थिती निकै कमजोर देखिएको छ ।

एक पछि अर्को कानुन

नेपाल र चीनको सीमावर्ती नाका प्रवेशको पहुँच बनाउन दुर्गम मानिएको हुम्लामा बसाईसराई गर्नेहरुको संख्या बढिरहेको छ । हुम्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बसाईसराई गरी जिल्लामा आउनेहरुलाई सीमापास वितरण सहज बनाएका थिए । राजनीति दल, जनप्रतिनिधि र पत्रकारहरुको उपस्थितिमा प्रजिअ पाण्डेयको अध्यक्षतामा बसेको बैठकले बसाईसराई गरी आउने लाई तत्काल सीमापास दिने निर्णय भएको थियो । यस अघि बाहिर जिल्लाका नागरिकको हकमा बसाईसराई गरेको तीन वर्षसम्म जिल्ला प्रशासन कार्यालयबाट सीमापास जारी नगर्ने निर्णय गरिएको थियो । नयाँ निर्णयका कारण बझाङ, डोटी, बाजुरा, दार्चुला, प्युठान, ओखलढुङ्गा सिन्धुपाल्चोक, खोटाङ र सोलुखम्बु लगायतका स्थानबाट हुम्ला जिल्लाको सिमकोट गाउँपालिका ठेहे, दोजाम, स्याडा र नाम्खा गाउँपालिकाको हेप्का, खगालगाउँ, मुुचु लगायतका स्थानमा जग्गा खरिद गर्नेको संख्या पनि बढेको पाइएको छ । २५ जना महिलाहरुले चीनको ताक्लाकोट जाने सीमापासका लागि जग्गा खरिद गरेको मालपोत कार्यालय हुम्लाको तथ्याङ्कमा उल्लेख छ । जिल्ला बाहिरका नागरिकहरुलाई मनपरी अस्थायी सीमापास जिल्ला प्रशासन कार्यालय हुम्लाले दिन थालेपछि स्थानिय प्रशासन आलोचित भएको छ ।

०८२ साल कार्तिक १२ गते प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा जिल्लाका जनप्रतिनिधि, राजनीतिक दल,सरोकारवाला निकायहरुको उपस्थितिमा बाहिर जिल्लाबाट आएका नागरिकहरुको हकमा बसाइसराइ गरेको १ वर्षमा मात्रै सीमपास दिने निर्णय भयो । तर प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले आफुखुसी र आफु निकट कर्मचारीलाई भित्रभित्रै सीमापास दिने गरेको तथ्य फेला परेको छ । जुम्ला जिल्ला घर भएका हाल कोष लेखा नियन्त्रण कार्यालय हुम्लाका कर्मचारी अंगबहादुर कार्कीलाई सिमकोट गाउँपालिका ५ को स्थानीयबासी भन्दै सीमापास दिएको आन्तरिक छानविनका क्रममा देखिएको छ । अंगबहादुर कार्कीका भतिज जुम्ला घर भएका अर्का प्रेमबहादुर कार्कीले पनि हुम्ला जिल्ला प्रशासन कार्यालयबाट सीमापास लिएको फेला परेको छ । सिमकोट गाउँपालिका ५ को नामबाट संजय कुमार यादवले पनि जिल्ला प्रशासन कार्यालय हुम्लाबाट सीमापास लिएका छन् ।

सीमा पास सम्बन्धि विभिन्न समयमा गरिएका निर्णय। तस्बिर: नरजन तामाङ

जिल्ला प्रशासन कार्यालयको निर्णय विपरित सीमापास दिएको विषयमा हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी कर्मचारीलाई सीमापास दिन मिल्ने दाबी गर्छन् । उनी भन्छन्, “सर्वदलिय बैठकको निर्णय मान्नुपर्छ भन्ने छैन । कर्मचारी र उनका बालबालिकाले सम्बन्धित जिल्ला रहदाँ नागरिकता समेत पाउँछन्् । सीमापास नपाउने भन्ने त कुरा छैन ।”

चीनको ताक्लाकोट ओहोरदोहर गर्न कोरोना महामारी पछि जिल्ला प्रशासन कार्यालय हुम्लाबाट ९ हजार ७५९ जनाले अस्थायी सीमा पास लिएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ । कोरोना महामारीले बन्द हुम्लाको हिल्सा नाका लामो समयपछि खुलेसँगै जिल्ला प्रशासन कार्यालय हुम्लाबाट अस्थायी सीमापास लिनेको संख्या निकै बढेको छ । जिल्ला प्रशासन कार्यालय हुम्लाले सीमापास वितरणका लागि नियम परिवर्तन गरिरहन थालेपछि जिल्ला बाहिरबाट आउने नागरिकहरुले पनि सीमापास लिएर ताक्लाकोट आउजाउ गर्ने गतिविधी बढेको हो ।

ताक्लाकोट हुम्लीको रोजगारीको गनतब्य

हुम्ला जिल्ला बाहिरका मानिसहरुलाई विभिन्न समयमा जारी गरिएका सीमा पास। तस्बिर: नरजन तामाङ

गत फागुन २२ देखि चैत महिनाको २३ गते सम्म हुम्लाको हिल्सा नाका हुदैँ चीनको ताक्लाकोट रोजगारी खोजी जानेको संख्या निकै बढेको छ । १९१ महिला र ३०४ जना पुरुष गरी ४९५ जना हिल्सा नाका हुदैँ ताक्लकोट भित्रिएको हिल्सा प्रहरीचौकीले जनाएको छ । चीनतर्फबाट नेपाल ९५ महिला र ८४ पुरुष गरी १७९ जना फिर्ता भएको हिल्सा प्रहरीचौकीले जनाएको छ । दिनप्रतिदिन रोजगारको खोजीमा हुम्ली नागरिकहरु चीनको ताक्लकोट जाने संख्या बढ्दै गएको छ । पछिल्ला समय चीनको ताक्लकोट जानका लागि दैनिक जिल्ला प्रशासन कार्यालय हुम्लामा अस्थायी सिमापास लिन आउनेहरुको संख्या बढिरहेको छ । 

author

Narjan Tamang

CESIF Fellow