कोभिडपछि ७५ सयलाई ताक्लाकोट जाने सीमापास

हुम्ला–कोरना महामारीपछि खुलेको उत्तरी नाकाबाट चीनको ताक्लाकोट जान जिल्ला प्रशासन कार्यालय हुम्लाबाट  ७ हजार ५ सय ४५ जनाले नेपालीहरुले अस्थायी सीमापास लिएका छन् । चीनले हिल्सा नाका खोलेपछि होटेल, पसल, र रोजगारी गर्न जानेहरुले अस्थायी सीमापास लिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए । विशेष गरी उत्तरी चीनको सिमाना जोडिएका बस्तीका नागरिकहरुलाई सदरमुकाम सिमकोट भन्दा दैनिक उपभोग्य वस्तु निर्यात गर्न सहज भएपछि अधिकांश ताक्लाकोटमा निर्भर रहेको प्रजिअ पाण्डेयले बताए । भर्खरै सीमावर्ति क्षेत्र पुगेर जिल्ला प्रशासन कार्यालय हुम्लाबाट खटिएको टोलीले ३७४ जनालाई नयाँ सीमापास वितरण गरेको उनले जानकारी दिए ।

कम र बढी उमेरकालाई ताक्लाकोट जान रोक

चीनको ताक्लाकोट आउजाउ गर्न सबै नेपालीहरुले सहज रुपमा अनुमति पाउँदैनन् । चीनको पुराङ काउन्टीबाट कम उमेर समूहका बालबालिका र जेष्ठ नागरिकलाई ताक्लाकोट छिर्न रोक लगाएको छ । प्रजिअ पाण्डेयका अनुसार चिनियाँ पक्षले १८ वर्ष मुनिका बालबालिका र जेष्ठ नागरिकहरुलाई चीनको ताक्लाकोट नपठाउन भनेको छ । 'हामीहरुले आग्रह गरेपछि स-साना बालबालिका अभिभावकहरुसँगै रोजगारीमा ताक्लाकोट जाने भएपछि वृद्धा वृद्धाहरुको गाउँमा रेखदेख गर्न समस्या भयो । त्यसैले निश्चित उमेरका व्यक्तिका लागि यस्तो सहमति भएको हो'  प्रजिअ पाण्डेले भने ।

चीनसँग सीमाना जोडिएका नेपालका उत्तरी जिल्लाका नागरिकहरुलाई चीनको तिब्बतको  पुराङ काउन्टीको निश्चित क्षेत्रमा ओहोरदोहोर गर्न दिने नेपाल र चीनबीच दुईपक्षीय सम्झौता अनुरुप चीन आवगमन कार्यलाई व्यस्थित गर्न अध्यागमन निमावली २०५१ को नियम ४४ (क) ले दिएको अधिकार अनुसार गृह मन्त्रालयले कार्यविधि बनाएको छ ।

नेपालका उत्तरी सीमावर्ती १५ जिल्लाका नागरिकहरुले चिनियाँ हाटबजारसम्म आउजाउ गर्न अस्थायी सीमापास दिने व्यवस्था छ । त्यही आधारमा  सीमाक्षेत्रका बासिन्दाहरुले जिल्लाका प्रशासन कार्यालयबाट एक वर्षका लागि अस्थायी पास लिएर ३० किलोमिटर क्षेत्रमा  आउजाउ गर्दै आएका छन् । त्यसभन्दा बढी दूरीमा प्रवेशको लागि भिसा चाहिन्छ । तिब्बतसँग सीमाना जोडिएको कर्णालीको हुम्ला, मुगु, डोल्पा तिनवटा नाका कोरोना महामारीदेखि ठप्प थियो । हाल हुम्ला जिल्लाको हिल्सा नाका, मुगु जिल्लाको नाक्चेलाग्ना, डोल्पा जिल्लाको मोरिल्ला नाकाबाट व्यापारिक गतिविधि हुँदै आएको छ । दक्षिणको भारतको सीमा क्षेत्र बाँके जिल्लाको जमुना देखि नेपाल–चीनको उत्तरी सीमा क्षेत्र हुम्लाको हिल्सा नाका जोड्ने कर्णाली प्रदेशको समृद्धिको आधार भनेको उत्तरी नाका हो । यसको लम्बाई ६ सय ८२ किलोमिटर दूरी मात्रै छ ।  यद्यपी नाकाबाट हुम्लीले लाभ लिन सकिरहेका छैनन् ।

दैनिक ६० देखि ७० जना आउजाउ

हुम्लाको हिल्साबाट चीनको ताक्लाकोट बजारका लागि दैनिक  ६० देखि ७० जनासम्म आउजाउ गर्छन् । ताक्लाकोटमा होटल, पसलदेखि मजदुरी गर्न जानेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । दैनिक हिल्सा नाकाबाट चीनको ताक्लाकोट बजार जाने नागरिकहरुको संख्या बढ्दै गएको हिल्सा प्रहरीचौकीले जनाएको छ ।

वर्सेनी हुम्ला जिल्लाबाट चीनको ताक्लाकोट रोजगारी खोज्दै जानेको संख्या ह्वातै बढेको छ । ३ देखि ४ हजार सम्म नेपाली नागरिकहरु चीनको ताक्लाकोटमा रोजगारी खोज्न गएको अनुमान रहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए ।  '७ हजार ५४५ जनाले सीमापास लिएका छन् । जसमा ३ देखि ४ हजार सम्म ताक्लाकोट जान्छन्', उनले भने, 'केही नागरिकहरु होटेल, पसल गरेर बसेका छन् केही नागरिकहरु श्रम त केही नागरिकहरु सडकमा माग्ने गरेको देखिन्छ ।' ताक्लाकोटमा नेपालीहरुले सामानहरु बोक्ने, भवन निर्माण, गर्ने भेडाबाख्रा चराउने, ढल निर्माणदेखि सफा गर्नेसम्मका काम नेपालीहरुले पाउने गरेका छन् ।

सडकमा माग्दै हिँड्ने ३५ नेपालीलाई ताक्लाकोटमा रोक

मजदुरीको लागि चीनको ताक्लाकोट पुगेका ३५ जना नेपालीलाई चीनको पुराङ काउन्टीमा रोक लगाएको छ ।  मजदुरी भन्दै ताक्लाकोट पुगेर सडकहरुमा माग्ने, झैझगडा गर्ने, मदिरा सेवन गर्ने ३५ जना नेपालीको तस्बिरसहित जिल्ला प्रशासन कार्यालयलाई सीमापास नवीकरण नगर्न चीनले पत्र पठाएको छ । ३५ जनाको सीमापास नवीकरण नगर्न भनेर चीनको पुराङ काउन्टीबाट पत्र आएको प्रजिअ पाण्डेयले बताए । सडक माग्ने, झैझगडा गर्ने चिनियाँहरुलाई कुटपिट गर्ने लगायतका गतिविधिमा उनीहरु संलग्न थिए ।

२ सयभन्दा बढी होटेल पसल

हुम्लाको सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिका अधिकांश नागरिकहरु चीनको ताक्लाकोटमा होटेल पसल व्यवसाय गर्दै आएका छन् । हुम्लाबाट जानेका लागि व्यापार गर्नका लागि छुट्टै बजार व्यवस्थापन गरिएको छ । कैलाश व्यापारी संघका अध्यक्ष नाङछिरिङ लामाका अनुसार ताक्लाकोट बजारमा नेपालीहरुका २ सय भन्दा बढी होटेल, पसल रहेका छन् । मजदुरी गर्न मात्रै जानेहरु धेरै हुन्छन् ।  

चीनको ताक्लाकोटबाट नेपालतर्फ आयात निर्यातमा भने समस्या छ । चीनबाट दैनिक उपभोग्य वस्तुदेखि विकास निर्माणका सामानहरु सहज रुपमा नेपाल भित्राउन मुस्किल हुने गरेको छ । नेपाल आउँदा एउटा पोका बाहेक अरु सामान त्यत्तिकै ल्याउन नपाउने गरेको नेपालीहरुले गुनासो गर्दै आएका छन् । प्रतिव्यक्ति एक पोका मात्रै चिनियाँ पक्षले सामान ल्याउन दिने र अरु ल्याए उतै फर्काउने गरेको छ । मन लागे चीनतर्फको ढोका खोल्ने मन नलागे गेट नै बन्द हुने गरेको स्थानीयहरुले बताउने गरेका छन् । चीनको ताक्लाकोटदेखि ३० किलोमिटर दूरी रहेको हिल्सा नाकासम्म सामान एउटा गाडीमा, मान्छे अर्का गाडीमा सवार गर्न बाध्य छन् । दुई पिस सामान ढुवानी गरेबापत झण्डै ८ हजार नेपाली रुपैयाँ तिर्नपुर्छ भने यात्रुहरुले छुट्टै बसको भाडा ८ सय रुपैयाँ तिर्न बाध्य भएको नाम्खा गाउँपालिका–४ याङगारका पूर्वु तामाङले बताए । ताक्लाकोटबाट सामान ल्याउँदा एउटा गाडिमा पैसा छुट्टै तिरेर ढुवानी गर्नुपर्छ भने आफूचाहिँ अर्कै सवारी साधनमा आउनुपर्छ ।

author

Narjan Tamang

CESIF Fellow