२०८१ माघ २९ गते कपिलवस्तु नगरपालिका वडा नम्बर २ बर्दहवा स्थित गौतम बुद्ध आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्दै फाउण्डेशनको टोली । तस्बिर : खगप्रसाद चापागाई/कपिलवस्तु
असार २०८२
कपिलवस्तु - बुद्ध जन्मस्थल भएकाले कपिलवस्तु र लुम्बिनी क्षेत्रमा धार्मिक र मानवीय कार्य भन्दै विभिन्न मुलुक र त्यहाँका संघसंस्थाहरु आइपुग्ने गरेका छन् । यस्तै मध्येको एउटा संस्था एक वर्षदेखि कपिलवस्तुमा सक्रिय छ । संस्था हो - चीनले समेत काम गर्नका लागि अनुमति दिएको ताइवानी धर्मगुरुले खोलेको 'बुद्धिस्ट त्जु ची च्यारिटी फाउण्डेशन ।'
पछिल्लो एक वर्षयता कपिलवस्तु जिल्लामा केन्द्रित रहेको बुद्धिस्ट त्जु ची च्यारिटी फाउण्डेशनले कपिलवस्तु नगरपालिकाको वडा नम्बर २, ३ र ६ लाई लक्षित गरेर विभिन्न कार्यक्रम गर्दै आएको छ । तर फाउण्डेशनको मुख्य प्राथमिकतामा अहिले वडा नम्बर ६ बढि परेको देखिन्छ । तीनवटै वडा बुद्धको जीवनीसँग जोडिएका धार्मिक अर्थ राख्ने स्थान भएका ठाउँ हुन् ।
वडा नम्बर ३ मा सिद्धार्थ गौतमले आफ्नो युवा अवस्थाको २९ वर्ष बिताएको गृहनगर प्राचीन कपिलवस्तुको तिलौराकोट छ । तिलौराकोटको साँध जोडिएको अर्को वडा नम्बर ६ हो । जसमा तिलौराकोट दरबार जोडिएको छ । त्यसैगरी वडा नम्बर २ मा बुद्धस्थल कुदान छ । बुद्धले बुद्धत्व प्राप्तिपछि कपिलवस्तु फर्किँदा पिता राजा शुद्धोधनले उनलाई यही कुदानमा स्वागत गरेका थिए भनिन्छ । यही स्थानमा गौतम बुद्धकी पत्नी यशोधरा, छोरा राहुल र सौतेनी आमा महामाया (महा प्रजापति गौतमी) ले बुद्धसँग भेट गरी बुद्धबाट प्रवचन सुनी बौद्ध संघमा दीक्षित भएको इतिहास छ । यीनै उच्च धार्मिक महत्व भएका स्थानमा फाउण्डेशनले सामाजिक कामको नाममा सक्रियता बढाएको छ ।

बुद्धिस्ट त्जु ची च्यारिटी फाउण्डेशनकी उपाध्यक्ष लिन पीयुसहित फाउण्डेशनको टोली कपिलवस्तुमा । तस्बिर : खगप्रसाद चापागाई/कपिलवस्तु
गत २०८२ वैशाख १३ गते कपिलवस्तु नगरपालिकामा आएकी बुद्धिस्ट त्जु ची च्यारिटी फाउण्डेशनकी उपाध्यक्ष लिन पीयुले यी क्षेत्रमा गर्दै आएको सहयोगको कारण खुलाएकी थिइन् । 'ताइवानकी धर्मगुरु धर्म मास्टर चेङ येनको निर्देशनमा भगवान् बुद्धको भूमिमा सेवा गर्नुपर्छ र यो भूमिमा भएको समस्याको समाधान गर्नुपर्छ । त्यसैले सन् २०२३ बाट फाउण्डेशन सूचिकृत गरी कपिलवस्तुका गरिबहरुको सेवाको लागि कार्यक्रम गर्दै आएका छौं' कपिलवस्तु नगरपालिकालाई मोबाईल स्वास्थ्य क्लिनिक भ्यान हस्तान्तरण गर्न आएकी उनले भनिन् ।
उनकाअनुसार यसै नगरको वडा नम्बर ६ को सिएलसी भवनमा सिलाई कटाई र कम्प्युटर तालिम पनि भइरहेको छ । 'वडाका सुकुम्बासी बस्तीमा सहयोग कार्यक्रम, कृषिमा पनि केही सुधार गर्नका लागि च्याउ खेतीमा पनि सहयोग गर्यौं । हामीले तिलौराकोट सामुदायिक अध्ययन केन्द्रमा राखेको कार्यालयमा तपाईंहरु पनि आएर सुझाव सल्लाह दिन सक्नुहुन्छ' उनले भनेकी थिइन् ।
उपाध्यक्ष लिन पीयुको भनाईलाई आधार मान्ने हो भने पनि पछिल्लो एक वर्ष यता फाउण्डेशनले धेरै काममा सक्रियता बढाएको छ ।
गत वर्ष २०८१ माघ २९ गते फाउण्डेशनले कपिलवस्तु जिल्लामा विद्यालय छोड्ने दर घटाएर बालबालिकाको साक्षरतामा सुधार ल्याउनका लागि भन्दै कपिलवस्तु-२ बर्दहवास्थित गौतम बुद्ध आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको थियो । त्यसैगरी २०८१ फागुन २ गते कपिलवस्तु-३ जमोहरास्थित राधाचन्द्र आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको थियो । राहत वितरणमा त्जु ची च्यारिटी फाउण्डेशनका प्रतिनिधिसँगै कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेल, प्रमुख प्रशासकीय अधिकृत पुनाराम पौडेलसहित सहभागी थिए ।
बुद्धिस्ट त्जु ची च्यारिटी फाउण्डेशन लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १० मा पनि सामाजिक क्रियाकलाप गर्नका सूचीकृत भएको छ । । फाउण्डेशनलाई कपिलवस्तु नगरपालिकाले २०८१ असार ३१ गते महिला सशक्तिकरणको लागि विभिन्न सीपमुलक तालिम, गरिबलाई खाद्यान्न वितरण, स्वास्थ्य शिविर तथा शैक्षिक सामाग्री वितरण लगायतका सामाजिक क्रियाकलापहरु नगरपालिकाको समन्वयमा सञ्चालन गर्ने गरि अनुमति प्रदान गरेको छ । अनुमति प्राप्त गरेको भएपनि संस्थाले गर्ने कामहरुमा वडातहका सरोकारवालाहरुसँग चाहिँ पर्याप्त समन्वय नभइ काम भइरहेको उनीहरुको भनाइबाट पुष्टि हुन्छ ।
गत माघ महिनामा वडा नम्बर २ को गौतम बुद्ध आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण कार्यक्रम गरिएको भएपनि आफूलाई कुनै जानकारी नदिइएको र वडासँग कुनैपनि समन्वय नभएको कपिलवस्तु नगरपालिका वडा नम्बर २ का अध्यक्ष अशोककुमार गुप्ताले बताए । 'फाउण्डेशनका स्थानीय प्रतिनिधिले सामाग्री वितरणको कार्यक्रम बनाउँछन् । सामाग्री वितरण गरेर गएपछि सामाजिक सञ्जालबाट मात्रै जानकारी पाईन्छ' वडा अध्यक्ष गुप्ताले भने । वडा नम्बर ६ मा पनि कामगर्दा विगतमा त्यस्तै समन्वयको अभाव थियो । तर समन्वय नभएको कुरा आएपछि अहिले चाहिँ फाउण्डेशनले सरसल्लाहमा काम गर्न थालेको कपिलवस्तु नगरपालिका वडा नम्बर ६ का अध्यक्ष रामजितप्रसाद कुर्मीले बताए । दुवै वडा अध्यक्षको भनाईबाट नगरपालिकासँग सामाजिक क्रियाकलाप समन्वयमा गर्ने अनुमति लिएको फाउण्डेशनको वडा तहको समन्वय भने कमजोर देखिन्छ ।

बुद्धिस्ट त्जु ची च्यारिटी फाउण्डेशनकी उपाध्यक्ष लिन पीयुलाई कपिलवस्तु नगरपालिकामा स्वागत गर्दै कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेल । तस्बिर : खगप्रसाद चापागाई/कपिलवस्तु
'हामीले फाउण्डेशनले गरेको पत्राचार अनुसार नगरपालिकाको समन्वयमा सामाजिक क्रियाकलाप गर्ने भन्ने विषय उल्लेख गरेका छौं । नगरपालिकासँगको समन्वय भनेको नगरपालिका र वडा तह दुवैसँगको समन्वय हो' कपिलवस्तु नगरपालिकाका सामाजिक विकास शाखामा प्रमुख समेत रहेका प्रशासकीय अधिकृत पदमराज श्रेष्ठले भने ।
जिल्लामा काम गर्ने अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाले कार्यक्रम कार्यान्वयन गर्नुअघि गैरसरकारी संस्था महासंघ कपिलवस्तु शाखासँग पनि समन्वय गर्छन् । तर बुद्धिस्ट त्जु ची च्यारिटी फाउण्डेशनले हालसम्म कुनै समन्वय नगरेको गैसस महासंघ कपिलवस्तुका अध्यक्ष जयप्रकाश पाण्डेयले जानकारी दिए ।
अहिले कपिलवस्तु नगरपालिकामा अनुमति लिएर वडा नम्बर ६ लाई कार्यक्षेत्र बनाएर सुकुम्बासी बस्तीमा खाद्यान्न, बच्चाहरुलाई साईकलहरु वितरण गरि पुनः विद्यालय फर्काउने अभियान चलाइएको फाउण्डेशनका कपिलवस्तु जिल्ला संयोजक राकेश त्रिपाठीले जानकारी दिए । फाउण्डेसनको प्रधान कार्यालय ताइवानमा भए पनि कार्यक्रममा स्वयंसेवकको रुपमा सिङ्गापुर र मलेसियाका नागरिक रहेको उनले जानकारी दिए । वडासँग समन्वय नगरिएको विषयमा उनले नयाँ भएकाले केही विषय थाहा नभएको बताए ।
'हामी नयाँ थियौं । धेरै विषय थाहा थिएन । विस्तारै समन्वय बृद्धि गर्दै लैजान्छौं' त्रिपाठीले भने । बुद्धको जिवनी जोडिएका स्थानमै कार्यक्रम किन लक्षित गरिएको हो त ? त्रिपाठीको जवाफ छ- बुद्धिस्ट संस्था भएकाले बुद्धिस्ट क्षेत्र नै केहि प्राथमिकतामा परेको हो ।' प्रकोपका बेला जाजरकोटसहितका क्षेत्रमा काम गरेको स्मरण गर्दै उनले विस्तारै लुम्बिनी प्रदेशका अन्य जिल्ला र नेपालभर कार्यक्रम लैजाने योजना रहेको जानकारी दिए । '२०२५ का लागि योजनाहरु निर्माण गरेका छौं । विस्तारै कपिलवस्तुका अन्य पालिकामा पनि कार्यक्रम विस्तार गर्छौं' उनले भने । सहयोगको कार्यक्रम मानवीय हो कि रणनीतिक ? यसबारे स्पष्ट पार्दै उनले भने 'कुनै रणनीतिक होइन, विशुद्ध सामाजिक भावले काम गरिएको हो ।'
विशुद्ध मानवीय भावले बुद्ध सर्किट क्षेत्रमा शिक्षा, स्वास्थ्य, स्वारोजगारका क्षेत्रमा काम गर्नु सर्हानीय भएपनि मानवीय कार्यका रुपमा कुनै रणनीतिगत काम हुन नहुने नेपाल भारत मैत्री संगठनका अन्तर्राष्ट्रिय कमिटीका महासचिव समबहादुर थापाले बताए ।
बौद्ध धर्ममा आधारित अन्तर्राष्ट्रिय मानवतावादी संस्था बुद्धिस्ट त्जु ची च्यारिटी फाउण्डेशन सन् १९६६ मा ताइवानकी धर्मगुरु धर्म मास्टर चेङ येनद्वारा स्थापना गरिएको संस्था हो । यसले धेरै मुलुकहरुमा काम गर्ने गरेको आफ्नो वेबसाइटमा खुलाएको छ । फाउण्डेशनलाई पहिलो विदेशी संस्थाका रुपमा सन् २०१० मा चीन सरकारले आधिकारिक रूपमा देशव्यापी गैर–नाफामूलक संस्थाको रूपमा दर्ता गर्न अनुमति दिएको थियो । तर फाउण्डेशन स्थापना गरिएको देश ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र मान्दै आएको छ । चीनले ताइवानलाई आफ्नो एक प्रान्तको रूपमा दाबी गर्दै आएको छ । तर चीनले आफ्नो मुलुकमा गतिविधि गर्नका लागि यो संस्थालाई अनुमति दिएकाले यो चीनकै संलग्नताको संस्थाको रुपमा बुझ्न गार्हो छैन ।
यो संस्थाले विश्वभरि आपतकालीन राहत, स्वास्थ्य सेवा, शिक्षा, वातावरण संरक्षण र सामुदायिक विकासमा समर्पित रहेको सञ्चालकको दाबी छ । फाउण्डेशनले हालसम्म ८५ भन्दा बढी देशहरूमा आपतकालीन राहत, स्वास्थ्य सेवा, शिक्षा, वातावरण संरक्षण र सामुदायिक विकासमा योगदान पुर्याएको दाबी गरेको छ ।
