नेपाल र भारत दुबैतर्फका किसानले दशगजा नाघेर एक अर्काको देशमा गएर खेतीपाती गर्दै आएका छन् ।
पुष २०८२ - पूर्वी नेपालको झापा, मोरङ र सुनसरीका सीमावर्ती बस्तीमा बस्ने धेरैका लागि सीमारेखा नक्सामा मात्रै सीमित छ । उनीहरूको खेत भने भारतपट्टि पर्छ । खुला सीमा क्षेत्रको सदुपयोग गर्दै आएका उनीहरु बिहान सबेरै उठेर नजिकका भारतीय गाउँतिर लाग्छन्, जोतभोग गर्न । बाली काट्ने समयमा त्यही पुगेर काट्छन् अनि अन्न लिएर नेपालमा रहेको आफ्नै घर फर्किन्छन् ।
भारतीय किसानको दिनचर्या पनि त्यस्तै छ । भारतीय नागरिक भएपनि उनीहरूको जमिन नेपालतिर पर्छ । जसरी नेपाली किसान खुला सीमा काटेर निर्धक्क भारत पुगी खेतीपाती गर्छन्, भारतीय किसान पनि नेपालभित्र पसेर वर्षौंदेखि रोपाइँ, खनजोत र बाली भित्र्याउँदै आएका छन् । खुला सीमा र दशगजाको यो दोहोरो भोगचलन पूर्वी सीमामा जीवनशैली बनेको छ, जहाँ कानुनभन्दा व्यवहारिकता बलियो देखिन्छ ।
सुनसरीको बर्जु गाउँपालिका–३ डम्मरीका देवनारायण र सत्यनारायण महतो लामो समयदेखि भारतीय भूमिमा खेती गर्दै आएका किसान हुन् । विहार राज्यको मधुवनी क्षेत्रमा उनीहरूको करिब एक–एक बिघा जमिन छ । वर्षौंदेखि त्यही जमिन जोतभोग गर्दै अन्न लिएर फर्कन्छन् । यस वर्ष पनि उनीहरूले भर्खरै धान लिएर नेपाल फर्किएका छन् । अहिले भने गहुँ छर्ने तयारीमा जुटिरहेका छन् ।
डम्मरीकै फुलो महतो वर्षौं अघिसम्म पनि खेती गर्न सीमापारि भारत जान्थे । तर, दुई वर्षअघि भारतीय भूमिमा रहेको आफ्नो खेत बेचिसकेपछि उनको दैनिकी फेरिएको छ । ‘अहिले पारि जानु पर्दैन,’ महतो भन्छन्, ‘नेपालतिरै खेती गरेर जीविका चलिरहेको छ ।’
सीमावर्ती गाउँहरूमा यस्तो दृश्य एकतर्फी छैन । जसरी नेपाली किसान खेती गर्न भारततिर जान्छन्, त्यसैगरी भारतीय किसान पनि नेपालतिर आउँछन् । कतिपय भारतीय किसानको नेपालमै आफ्नै नाममा जमिन छ भने कतिपयले जमिन भाडामा लिएर खेती गर्दै आएका छन् । विशेषगरी मकै, गहुँ र धानजस्ता मुख्य बाली उत्पादनका लागि भारतीयहरूले नेपालभित्र जमिन भाडामा लिएर खनजोत गर्ने गरेका छन् । यसरी सीमा रेखाले छुट्याए पनि खेती र जीवनशैलीले जोडेको यो क्षेत्र वर्षौंदेखि दुवै देशका किसानको साझा खेतजस्तै बनेको छ ।
भद्रपुर–३ मेचीपारिको गाउँका मटिङ राजवंशी केही समयअघि तनावमा परेका थिए । वर्षौंदेखि जोतभोग गर्दै आएको करिब तीन बिघा जमिनमाथि एक भारतीय परिवारले दाबी गर्दै उजुरी गरेपछि सीमा क्षेत्रमा पुरानै समस्या फेरि सतहमा आएको थियो । जग्गा आफ्नो भएको दाबी गर्दै विहारको भाउगाउँ ग्राम पञ्चायतका गोनु पासवानले गलगलिया प्रहरीमा उजुरी दिएका थिए ।
उजुरीपछि गलगलियाबाट आएको भारतीय प्रहरी टोली नेपाल–भारत सीमाको दशगजासम्म पुगेको थियो । दुवै देशका जनप्रतिनिधि र सुरक्षाकर्मीबीच जमिन विवादबारे छलफलसमेत भयो । रोचक पक्ष के थियो भने, राजवंशी र पासवान दुवैसँग आ–आफ्नै धनीपुर्जा थिए ।
राजवंशी परिवारका अनुसार उनीहरूले यो जमिन बुबाको पालादेखि नै जोतभोग गर्दै आएका थिए । ‘मेरो बुबाको पालादेखि भोगचलन गरेको जमिन हो । अहिले आएर कसैले मेरो हो भन्यो भन्दैमा हामी छाड्न सक्दैनौं,’ मटिङ राजवंशीले त्यतिबेला भनेका थिए । उनकी आमा जसौ राजवंशीका नाममा रहेको धनीपुर्जा तत्कालीन सुकुम्बासी समस्या समाधान आयोगले २०६७ सालमा जारी गरेको थियो ।
भारतीय पक्षले भने करिब ३० वर्ष पुरानो लालपुर्जा देखाउँदै जमिन आफ्नो भएको दाबी गरिरहेको स्थानीय जनप्रतिनिधि अरुण राजवंशीले बताएका थिए । विवादित जमिन दशगजा नजिकै भारतीय भू–भागतिर पर्ने देखिन्थ्यो । यही कारण सीमा क्षेत्रका यस्ता जमिनमा कसको अधिकार भन्ने प्रश्न वर्षौंदेखि अनुत्तरित रहँदै आएको छ ।
राजवंशीका अनुसार सीमा क्षेत्रमा दुवै पक्षसँग धनीपुर्जा भएका यस्ता जमिन थुप्रै छन् । ‘कतै भारतीयको जमिन नेपालतिर छ, कतै नेपालीको भारततिर,’ उनी भन्छन्, ‘भोगचलन त चलिरहेकै छ, तर दुवै देशबीच स्पष्ट संवाद र सहमति बिना समस्या समाधान कठिन छ ।’
झापाको यो समस्या अहिले सुनसरी, मोरङलगायत पूर्वी सीमावर्ती क्षेत्रमा देखिँदै आएको अवस्थाको यो एउटा प्रतिनिधि उदाहरण मात्रै हो । दशगजामा नेपालीले भारततिर र भारतीयले नेपालतिर खेती गर्दै आएको पुरानो चलनले बेला–बेला यस्तै विवाद, तनाव र सुरक्षा चुनौती जन्माइरहेको छ ।
मोरङका पनि धेरै सीमा क्षेत्रको समस्या यस्तै छ । मोरङका १७ मध्ये ७ पालिकाको साँधसीमा भारतको विहारसंग जोडिएको छ । विराटनगर महानगरसहित रंंगेली, कटहरी, रतुवामाई, सुनवर्षी, धनपालथान र जहदा गाउँपालिकाको सीमा भारतसँग जोडिन्छ । मोरङको मटर्वाका किसान जिर्सु मण्डल पनि वर्षमा दुईपटक भारततिरको खेतमा जान्छन् । एकपटक रोप्न, अर्को पटक बाली उठाउन । मोरङको अधिकांश सीमा क्षेत्रका सर्वसाधारणको समस्या उस्तै छ । कटहरीका किसान रघुवीर साहले सुनाए, ‘हाम्रो पारि तिर जमीन छ, उताका मान्छेको यता छ । हामी वर्षौदेखि यसरी नै जीवन चलाइरहेका छौं।’
पछिल्लो समय नेपाल सरकारले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति बढाएपछि दशगजामा खेती गर्दै आएका भारतीयहरू असन्तुष्ट देखिन थालेका छन् । ठाउँठाउँमा राखिएका सशस्त्र प्रहरीका बीओपीले वर्षौंदेखि निर्वाध ओहोरदोहोर गर्दै आएका भारतीयलाई रोक्न थालेपछि तनाव चर्किएको सुरक्षा अधिकारीहरू बताउँछन् ।
यसको प्रत्यक्ष उदाहरण २०७७ सालमा झापामा देखिएको थियो । वैशाख २२ गते झापा गाउँपालिका–४ को १३१/१ नम्बर सीमा स्तम्भ नजिकै रहेको सशस्त्र प्रहरीको सुरक्षा पोष्टमा भारतीय समूहले आक्रमण नै गरेको थियो । डेढ सयभन्दा बढी मानिस घरेलु हतियारसहित आएकाले स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले दुई राउन्ड हवाई फायर गर्नुपरेको थियो । त्यसको केही समयपछि कचनकबल गाउँपालिका–१ को १२५/१० नम्बर सीमा स्तम्भ नजिकको अर्को सुरक्षा पोस्टमा पनि यस्तै आक्रमण भयो । सुरक्षाकर्मी खाना खान गएको मौका छोपेर पोस्ट नै भत्काइएपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको थियो ।
कोरोना संक्रमण रोकथामका लागि अस्थायी सुरक्षा पोष्ट स्थापना गरिएपछि दशगजाको खेतीलाई लिएर भारतीय समूहहरू नेपाली सुरक्षाकर्मीमाथि आक्रमणकै तहमा उत्रिएको झापाका सुरक्षा अधिकारीहरू बताउँछन् । घटनाको मूल कारण एउटै थियो—दशगजामा दुवै देशका नागरिकले वर्षौंदेखि गर्दै आएको खेती र त्यसमा आएको रोक ।
नक्सामा कोरिएको सीमा र जमिनमा चलेको जीवनबीचको द्वन्द्व समाधान नहुँदासम्म, दशगजाका यस्ता कथाहरू पूर्वी सीमामा दोहोरिरहने स्थानीयको बुझाइ छ ।
झापाका अधिकांश दक्षिणी भूभागमा नेपालीको पारि र भारतीयको वारि खेती रहेको बताइन्छ । झापा–इलाम सीमावर्ती बाहुनडाँगी देखि खजुरगाछीसम्मको करिब १४४ किलोमिटर खुला सीमा क्षेत्रमा यस्ता उदाहरण प्रशस्तै छन् ।
मेचीनगर–७ को भान्सा खोलामा त करिब एक दर्जन घर नै भारतीय भू–भागमा पर्छन् । ‘नागरिकता नेपाली भए पनि घर र खेती भारततिर छ,’ स्थानीय मैया उप्रेती भन्छिन्, ‘दुवै देशको समझदारीमै यो अवस्था वर्षौंदेखि चल्दै आएको हो ।’
सीमासम्बन्धी अन्तर्राष्ट्रिय कानुनअनुसार सीमा रेखाको करिब ३० फिट वारिपारि कुनै पनि स्थायी गतिविधि गर्न पाइँदैन । यही क्षेत्रलाई दशगजा भनिन्छ । तर नापी विभागका अनुसार मेचीनगर, भद्रपुर, घेराबारी, टाघनडुब्बा र गौरीगन्जलगायत क्षेत्रमा दुवै देशका नागरिकले दशगजा अतिक्रमण गरी खेती गर्दै आएका छन् । ‘कतै नेपालीले भारततिर, कतै भारतीयले नेपालतिर खेती गरेको पाइन्छ,’ सीमा व्यवस्थापनमा संलग्न एक नापी अधिकृत भन्छन्, ‘यो कानुनत: गलत हो, तर व्यवहारमा दशकौँदेखि यही चलन बसिसकेको छ ।’
दशगजा क्षेत्रमा वारि र पारी दुवै देशका नागरिकबाट भइरहेको खेतीको यो यथार्थ जबसम्म दुवै देशका सरकारबीच स्पष्ट सहमति र संयुक्त व्यवस्थापनमा जाँदैन, तबसम्म यस्ता विवाद र तनाव दोहोरिरहने झापाका एक सुरक्षा अधिकारीले भने ।
