चिनीयाँ भाषामा बढ्दो ‘क्रेज’

माघ, २०८१ - लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय क्याम्पसमा ट्राभल एण्ड टुरिजम स्नातक तह अध्यन पूरा गरेपछि बुटवल–१३, जीतगढीकी मनिषा पोखरेलले विदेश अध्ययनका लागि आवेदन गरिन् । बेलायतको एक विश्वविद्यालयमा स्नातकोत्तर तह अध्ययनको अवसरसँगै भीसा प्राप्त गरिसकेकी थिइन् । त्यही बेला उनका बुवाको निधन भएपछि बेलायत जाने सपनामा ब्रेक लाग्यो ।

 

त्यसपछि उनको पाइला मोडियो !

 

मुलुकमै अवसरको खोजीमा रहेकी उनी डेढ वर्षअघि लुम्बिनी विकास कोष परिसरमा रहेको चिनीयाँ बिहारमा पुगिन् । त्यहाँ ६ महिना बसेर चिनीयाँ भाषा पढिन् । उक्त बिहारमा चिनीयाँको आऊजाऊ भइरहन्थ्यो । त्यहीँ बसेर पढेका कारण उनले सिकेको भाषामा निखार आयो ।

 

"बिहारमा एक जना शिक्षक हुनुहुन्थ्यो," मनिषाले भनिन्, "उहाँले प्रत्येक बिहान चिनीयाँ भाषा सिकाउनु हुन्थ्यो ।"

 

उनका अनुसार विश्वविद्यालयमा ट्राभल एण्ड टुरिजमको स्नातक तहको दुई सेमेष्टरमा चिनीयाँ भाषा अध्ययन गर्नुपर्थ्यो । क्याम्पसमा भाषा अध्ययन गरेपछि थप सिक्न चाहनेले लुम्बिनीको चिनीयाँ मन्दिर (बिहारमा) गएर बस्न पाउँथे । यसले भाषामा निखार ल्याउन सहज हुने उनको भनाइ छ । अहिले मनिषा चिनीयाँ भाषाकी छात्रा र प्रशिक्षक दुवै हुन् । उनी चिनीयाँ भाषा अध्ययन अन्तर्गत चौथो तह (लेभल)की छात्रा हुन् । उक्त भाषा अध्ययनमा कुल ६ लेभल (तह) हुन्छन् । अध्ययन गर्दागर्दै पढाउने अवसर पाएँ," उनले भनिन्, "पाँचौँ तह (स्नाकोत्तर) अध्ययनका लागि आगामी सेप्टेम्बरमा चीन जाँदैछु ।"

 

उनी अहिले देवदह शिक्षा विकास परियोजना अन्तर्गत भैरहवामा सञ्चालन भइरहेको शैक्षिक कार्यक्रम अन्तर्गत चिनीयाँ भाषाको आधारभूत कक्षामा पढाउँछिन्। त्यसबाहेक तिलोत्तमा नगरपालिकामा रहेको लुम्बिनी वर्ल्ड स्कुलकी चिनीयाँ भाषाकी शिक्षक हुन् । उक्त विद्यालयमा कक्षा ४ देखि १० सम्म चिनीयाँ भाषा पढाइ भइरहेको छ । "अहिले लुम्बिनी प्रदेशमा पनि विकास निर्माणमा संलग्न चिनीयाँ कम्पनी धेरै छन्," उनले भनिन्, "त्यस्ता कम्पनीलाई पनि चिनीयाँ भाषा जान्ने मान्छेको खाँचो छ, त्यसैले भाषा जानेपछि सजिलो हुन्छ ।" उनका अनुसार चिनीयाँ भाषा सिक्न विद्यार्थी मात्र आकर्षित छैनन्, यस क्षेत्रका व्यापारीसमेत आतुर छन् । व्यापारिक कारोबारका लागि चीन गइरहनु पर्ने भएकाले उनीहरू भाषा सिक्न आउने गरेको मनिषाले बताइन् । "अतिरिक्त भाषा कक्षा लिन व्यापारी पनि आइरहेका छन्," उनले भनिन्, "अहिले माग बढिरहेको छ ।"

 

रुपन्देही सिद्धार्थनगर नगरपालिका–८, की स्मारिका कँडेलले पनि लुम्बिनी बौद्ध विश्वविद्यालयबाट ट्राभल एण्ड टुरिजम म्यानेजम्यान्टमा स्नातक पूरा गरिन् । उक्त विषय अध्ययन गर्ने क्रममा दुइटा सेमेष्टरमा चिनीयाँ भाषा पढिन् । स्नातकपछि के अध्ययन गर्ने ? मनमा कुरा खेलिरहेका बेला प्राध्यापक डा. कुमार खड्काले उनलाई चिनीयाँ भाषामै थप अध्ययन गर्न हौसला दिए । त्यसपछि औपचारिक रूपमा चिनीयाँ भाषा अध्ययन गरेको स्मारिकाले सुनाइन् । उनले चिनीयाँ भाषा अन्तर्गत चौथो लेभल (स्नातक) उत्तिर्ण गरिसकिन् । स्नातकोत्तर तह (पाँचौ लेभल) अध्ययनको तयारीमा छन् । ६ महिना नेपालमै बसेर अध्ययन गरिन् । थप ६ महिना चीनमा बसेर इन्टर्नसिप पूरा गरेर फर्किसकेको उनले बताइन् । "यहाँ हामीले भाषा त सिक्यौँ, तर सिकेको कुरामा निखार आएको थिएन", उनले भनिन्, "चीनमा कोर्सको कुरा मात्र पढेनौँ, अतिरिक्त किताब पनि पढाइयो, जसले गर्दा धेरै सिक्न पायौँ ।" चिनीयाँहरू पढाइको विषयमा गम्भीर हुने भएकाले गहन अध्ययनमा मद्दत मिलेको उनले बताइन् ।

 

अहिले स्मारिकाले पनि चिनीयाँ भाषा पढाइरहेकी छन् । उनी लुम्बिनी बौद्ध विश्वविद्यालयमै स्नातकोत्तर तहमा सञ्चालनमा आएको ‘चाइनीज ट्रान्सलेसन एन्ड इन्टरप्रिटेसन’ पहिलो ब्याचकी छात्रा पनि हुन् ।

 

"पहिले अलिअलि सिक्दा पनि जानकार जस्तो लाग्थ्यो", स्मारिकाले भनिन्, "तर, भाषाको गहिराइमा पुग्न सक्थेनौँ।" अहिले मुलुकमा धेरे चिनीयाँ गैरसरकारी संस्था र विकास निर्माण कम्पनी आइरहेका छन् । व्यापार व्यवसाय पनि चीन केन्द्रित भइरहेका छन् । यस्तो बेला नेपालीले नै चिनीयाँ भाषा बुझ्न र बोल्न सक्ने भएमा सजिलो हुने उनको भनाइ छ । "धेरै सूचना आइरहेका छन्", उनले भनिन्, "ती सूचनालाई नेपालीमा उल्था गरेर बुझाउन सक्ने भयौँ भने पनि धेरै जानकारी मिल्छ ।" भाषा सिकेपछि लुम्बिनी र आसपासका बौद्ध स्थलमा चिनीयाँ पर्यटक डुलाएर पनि जीविकोपार्जन गर्न सकिने उनले बताइन् । "लुम्बिनीको बारेमा यथार्थ जानकारी दिन सक्यौँ भने पनि ठूलो कुरा हुनेछ", उनले भनिन्, "भोलिका दिनमा दोभासे र ट्रान्सलेटरको काम पनि पाउछौँ ।"

 

देवदह शिक्षा विकास परियोजनाका निर्देशक तथा चिनीयाँ भाषा प्राध्यापक डा. कुमार खड्काका अनुसार लुम्बिनी बौद्ध विश्वविद्यालयमा सन् २०१८ बाट चिनीयाँ भाषा पढाउन सुरु भएको हो । सुरुमा ट्राभल एण्ड टुरिजम म्यानेजमन्ट र रुरल डेभलपमेन्ट (आरडी) स्नातक तहमा ६ क्रेडिटबराबर दुई सेमेष्टरमा यो भाषा पढाउने गरिन्थ्यो । लुम्बिनीमा पर्यटनको सम्भावना देखेर ट्राभल एण्ड टुरिजम र आरडीमा भाषा  समावेश  गरिएको  उनले  बताए । "सुरुमा पूर्वाधार थिएन, सन् २०१९ मा मात्र म आएर जोडिएको हुँ ।" त्यसपछि विश्वविद्यालयमा विद्यार्थी संख्या बढाउन र भर्ना भएकालाई रोजगार बनाउने उद्देश्यले भाषा अध्ययनलाई प्राथमिकता दिइएको उनले बताए । प्रधानमन्त्री कुलपति भएको विश्वविद्यालयले राष्ट्रिय आवश्यकतालाई ध्यान दिनुपर्ने ठानेर दुई मुलुकबीच साझेदारीको सम्भावना भएको भाषा तथा प्राविधिक शिक्षालाई जोड दिइएको उनले बताए । "युरोप, अमेरिका गएका विद्यार्थी बिरलै फर्किन्छन्", खड्काले भने, "तर, चीन अध्ययन गर्न गएका विद्यार्थी त्यहाँको नीतिले गर्दा स्वदेश फर्किन बाध्य हुन्छन् ।" चीनमा सिकेको प्राविधिक शिक्षालाई मुलुकमा कार्यान्वयन गर्न सम्भव भएकाले भाषासँगै प्राविधिक शिक्षालाई जोड दिनु परेको उनले बताए । विश्वविद्यालयबाट स्नातकदेखि विद्यावारिधि तहका गरेर आगामी मार्च पहिलो साता १ सय विद्यार्थी पूर्ण छात्रवृत्तिमा अध्ययनका लागि चीन जान लागेको उनले बताए । "यो भाषाको जनशक्ति हो", उनले भने, "चीनले ४० वर्षमा गरेको उपलब्धी भाषामार्फत बुझाएर मुलुकलाई छिटो समृद्ध बनाउने विश्वविद्यालयको लक्ष्य हो ।" विश्वविद्यालयमा एप्लाइड बुद्धिजम अन्तर्गत भाषासँगै प्राविधिक ज्ञान प्रदान गर्ने कोर्स लागू भइरहेको छ।

 

खड्काका अनुसार लुम्बिनीमा इस्बीको पाँचौ शताब्दीदेखि नै चिनीयाँ यात्री आउने गरेका थिए । तीन चिनीयाँ यात्रीले उल्लेख गरेको यात्रा विवरणको आधारमा बुद्ध जन्मस्थल पत्ता लगाउन सम्भव भएको थियो । "उक्त प्राचीन सम्बन्धलाई अपग्रेड गरेर आर्थिक समृद्धिमा जोड्न जरुरी छ", खड्का भन्छन्, "यसका लागि चीन बुझेको मान्छे चाहियो, चीनको पोलिसी बुझ्न भाषा सिक्नु जरुरी भयो ।" भाषा जानेपछि चिनीयाँ नीति अध्ययन गर्न सकिने उनको भनाइ छ । "आफैँले पढ्न सक्ने भएपछि चीनले ‘ओके’ भनिरहनुपर्दैन", उनले भने, "अहिले सतहमा भाषामात्र देखिएको छ, हाम्रो उद्देश्य टेक्नोलोजी ट्रान्सफर गर्ने हो ।" अध्यापक कुमार खड्काका अनुसार लुम्बिनी बौद्ध विश्वविद्यालयले भाषा र प्रविधि अध्ययनका लागि चीनका विभिन्न प्रान्तमा रहेका २० भन्दा धेरै विश्वविद्यालयसित सम्झौता गरिसकेको छ । "भाषा अध्ययनमार्फत विश्वविद्यालयलाई आत्मनिर्भर बनाउन सम्भव हुँदैछ", उनले भने, "अहिले छात्रवृत्तिमा चिनीयाँ भाषा पढ्ने विद्यार्थीबाट पनि अर्थ संकलन भइरहेको छ ।" स्नातक तहमा चीन पढ्न जाने विद्यार्थीले प्रति सेमेस्टर १० र स्नातकोत्तर १५ हजार रुपैयाँ विश्वविद्यालयलाई बुझाउँछन् ।

 

अहिले विद्यार्थी संख्या वृद्धि भएकाले यसरी जम्मा हुने शुल्कसमेत वृद्धि भइरहेको उनले बताए । सेमेष्टर आदानप्रदान कार्यक्रम भएकाले विश्वविद्यालयमा भर्ना भएपछि चीनमा अध्ययनको अवसर मिल्ने उनले बताए । खड्का अनुसार अहिले रुपन्देहीका देवदह, भैरहवा, लुम्बिनी र बुटवलको सिटी क्याम्पसमा चिनीयाँ भाषा अध्यापन भइरहेको छ । यी चार ठाउँमा मुख्य विषय चिनीयाँ भाषा भएका ८० विद्यार्थी अध्ययन गरिरहेका छन् ।

 

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार डा. तीलक आचार्यले लुम्बिनी बुद्ध  जन्मस्थल  भएपनि  बुद्ध  र  उनीसित  सम्बन्धित धेरै प्राचीन ग्रन्थ चिनीयाँ र तिब्बती भाषामा रहेको बताउँछन् । बुद्ध दर्शनको अध्ययन पूर्ण हुनका लागि चिनीयाँ ग्रन्थको अध्ययन जरुरी रहेको उनको भनाइ छ । "चौथोदेखि सातौँ शताब्दीमा लुम्बिनी आएका चिनीयाँ यात्रीका विवरणमा लुम्बिनीका बारेमा धेरै कुरा उल्लेख छन्", आचार्यले भने, "जबसम्म हामी चिनीयाँ भाषा सिक्दैनौँ, तबसम्म वास्तविक जानकारी लिन सक्दैनौँ ।" विश्वविद्यालयका छात्रछात्रालाई ‘बुद्धिजम’ सिकाउन पनि चिनीयाँ भाषा जरुरी परेको उनले बताए । विश्वविद्यालयको नीतिअनुसार यसमा अध्ययनरत विद्यार्थीलाई कुनै एक विदेशी भाषामा पोख्त बनाउने हो । पहिलो चरणमा बुद्ध र बुद्धिजम अध्ययनका लागि 'चाइनीज ल्याङग्वेज एण्ड बुद्धिष्ट लिट्रेचर' नीति अन्तर्गत चिनीयाँ भाषामा जोड दिइएको बताए । "चिनीयाँ भाषामा धेरै बुद्ध साहित्यका ग्रन्थ छन्", उनले भने, "त्यसैले नेपाली विद्यार्थीले चिनीयाँ भाषाका बुद्धग्रन्थ पढून् भनेर भाषा सिकाएका हौं ।"

author

Dipendra Baduwal

CESIF Fellow