किमाथांका : बाटो पुग्यो चिनियाँ नाका, भन्सार कार्यालय सदरमुकाममै

भदौ २०८२

संखुवासभा - किमाथांका नाकाबाट हटियाका थुदोक भोटेले  केही समय अघि सयवटा चौरीको पुच्छर ल्याए । त्यस बापत उनले प्रति गोटा २ सय ९० रुपैयाँ राजश्व तिरे ।

तर उनलाई राजश्व तिर्न पनि त्यति सजिलो छैन । चौरीको पुच्छर सीमा प्रहरी कार्यालय किमाथांकाबाट कटाउन भन्सार काटेको बिल अनिवार्य हुनु पर्छ ।

राजश्व काट्न सदरमुकाम खाँदबारी नै आउनुपर्ने अवस्था छ । किमाथांकामा बैंक तथा बित्तीय संस्था नभएकाले भन्सार कार्यालय खाँदबारी मै सम्पर्क कार्यालय खोलेर बसेको छ ।

भोटखोलाबासीलाई छिमेकी तिब्बतको चाँगा बजारबाट सामान ल्याउन भन्सार आवश्यक पर्छ । 'सदरमुकाम खाँदबारी आएर भन्सार काट्नु पर्छ,' उनले भने,' यहाँसम्म आउँदा कम्तिमा ५ हजार बढी खर्च लाग्छ, त्यसपछि फर्किँदा पनि उत्ति नै खर्च हुन्छ ।'

भन्सार कार्यालय किमाथांकामा भए सामान आयात निर्यातमा धेरै सजिलो हुने  स्थानीयहरू बताउँछन् ।  

यो विषयमा स्थानीयहरू जिल्ला प्रशासनदेखि काठमाडौंको अर्थ मन्त्रालयसम्म डेलिगेशन जाँदा पनि समस्या समाधान भएको छैन । ' सडकको ट्याक खुलेपनि भन्सार कार्यालय स्थापना नहुँदा सास्ती खेपेका छौं'  उनले भने ।

किमाथांका सहज ढंगले नखुल्दा न्यून राजश्व संकलन हुने गरेको छ । यो वर्ष राजश्व वापत किमाथांका भन्सारले ४ लाख ३५ हजार राजश्वमात्रै संकलन गरेको छ ।

भन्सार कार्यालय खाँदबारीमा बसेकाले आयातनिर्यातमा समस्या भएको स्थानीयको गुनासो छ । भन्सार नहुँदा भनेजति सामान यताबाट उता लैजान गार्‍हो भएको उनले बताए ।

गैरकानुनी रुपमा नाकाबाट प्रहरीले अवैध सामान ल्याउन भने रोकेको छ । भन्सार नतिरेको सामान प्रहरीले जफत गर्ने गरेका छन् । घर चलाउन ल्याईने दैनिक सामाग्रीमा भने भन्सार तिर्नु नपरेको उनले बताए । भन्सार कार्यालयमा शाखा अधिकृत १, नायबसुब्बा २, लेखापाल १ र कार्यालय सहयोगी १ जनाको दरबन्दी छ । दरबन्दी अनुसारको कर्मचारी नहुँदा एक जना करारमा कार्यालय सहयोगी राखेर भन्सारको राजश्व काट्ने गरिएको छ ।

सडकको ट्रयाक खुलेपछि किमाथांका पुगेका प्रमुख जिल्ला अधिकारी दिव्यराज पोखरेलले भन्सार कार्यालय किमाथांकामा खोल्ने तयारी भएको बताए ।

सीमा सुरक्षा, नाका नियमित बनाउने, सीमा क्षेत्रका संरचना निर्माणलगायत विषयमा प्रमुख जिल्ला अधिकारी र चीन सरकारका स्थानीय प्रतिनिधिबिच किमाथांकामा भेटवार्ता पनि भएको थियो । तर अहिलेसम्म प्रगति छैन ।

चिनियाँ पक्षसँगको भेटवार्ताका क्रममा प्रजिअ पोखरेलले नेपाल र चीन जोड्ने मितेरी पुल र सडक निर्माण गर्न चीन सरकार सकारात्मक रहेको र लगानीको वातावरण बनाइदिन आग्रह गरेका थिए ।

चीन सरकार नेपालको सिमानाका पुल, सडकजस्ता पूर्वाधारका विषयमा लगानी गर्न सकारात्मक रहेको उनले बताए ।

प्रजिअ पोखरेल र प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेत हेलिकोप्टरमार्फत किमाथांका पुगेका थिए । 'मैले सीमा नाका, पुलका साथै भन्सारको विषयमा पनि कुरा उठाए, उनीहरु पनि भौतिक पूर्वाधारको क्षेत्रमा सहयोग गर्न तत्पर रहेका छन्,' उनले भने, ' हामीले किमाथांकास्थित भन्सार परिसर, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सीमा पोस्ट, विभिन्न सीमास्तम्भहरूको समेत निरीक्षण गरेका छौं ।'

उत्तर–दक्षिण कोशी राजमार्गलाई महत्वका साथ स्तरोन्नति गरिरहेको हुँदा अबको केही वर्षमा यो नाकाबाट आयात निर्यात हुने नेपालको तर्फबाट चीनलाई जानकारी गराईएको थियो । चीन सरकारले बीआरआईअन्तर्गत सिमाना किमाथांकादेखि नुमसम्म सडक स्तरोन्नति र मितेरी पुल निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

जेडियो नेपाल, भारत र चीन

किमाथांकाका किसाङ लामाले अरुणोदय माध्यमिक विद्यालयमा प्रधानाध्यापक भएर ३५ वर्ष काम गरे । यो अवधीमा लामाले कयौं पटक हिँडेरै किमाथांका खाँदबारी आउनेजाने गरे ।

शिक्षक पेशाबाट अवकाश भएको अहिले १० वर्ष बित्यो । बल्ल किमाथांका खाँदबारी सडकको ट्रयाक खोलिएको छ । कच्ची सडकको ट्रयाक खुलेपनि खाँदबारीबाट गाडी चढेर भने किमाथांकासम्म जान अझै सकिँदैन । पहिले ७ दिन हिडेर किमाथांका पुग्ने गरेको उनले बताए । 'खाँदबारीबाट हिँडेको ठ्याक्कै ७ दिनमा किमाथांका पुग्थेँ', उनले भने,' सडक खन्ने चर्चा धेरै अघिबाट चलेपनि काम हुन सकेको थिएन ।' किमाथांकाबाट खाँदबारी आउन पनि ७ दिन हिँड्नै पर्‍थ्यो । 'भीरको बाटोमा कान्ला समात्दै हिँडिन्थ्यो । सदरमुकाममा सरकारी काम परेर आउन पर्दा ठ्याक्कै आधा महिना बित्थ्यो,' उनले भने, 'अहिले अलि सहज भएको छ ।

३ वर्ष यता हिउँदमा बरुण नदीसम्म अर्थात खाँदबारीबाट ८२ किलोमिटर सडकसम्म नियमित साना सवारी चल्दै आएको छ । वर्षात्‌मा भने बाढी पहिरोका कारण यो खण्ड धेरै अवरुद्ध हुन्छ ।

हिउँदका ५ महिना खाँदबारीबाट १ सय ३९ किलोमिटर अर्थात् छुमसुरसम्म अघिल्लो वर्षबाट सडक पुगेको छ । यसले भोटखोलाबासीलाई केही राहत मिलेको छ । भोटखोला १ किमाथांकाका वडाध्यक्ष नुर्वु भोटेका अनुसार अबको एक वर्ष भित्र किमाथांकासम्म मोटरसाईकल र साना सवारी लैजान सकिन्छ । सडक जोडिएको खण्डमा भारत, नेपाल र चीनबीच व्यापार गर्न सजिलो हुने उनले बताए । किमाथांका पारी पट्टी रहेको चाँगा बजारमा ठूल्ठूला व्यापारिक भवन निर्माण भएर व्यापार सुरु भइसकेको उनले बताए । नाका जोडिए चीनका सामाग्री सजिलै सदरमुकाम खाँदबारीसम्म सस्तो मूल्यमा लैजान सकिने उनको भनाई छ ।

तर, वर्षात्‌मा बरुण नदीले ह्युम पाइप नै बगाइदिएपछि भोटखोलाबासीको घरसम्म पुग्ने सपना तुहिन्छ । त्यसपछि हटिया, हुंगुङ, लिंगम, चेपुवा, च्याम्ताङ, छुम्सुर, रिदाक, छुदाम र किमाथाङ्काका बासिन्दा खाँदबारीसँग सम्बन्ध बिच्छेदको अवस्थामा रहन्छ । भोटखोला गाउँपालिकाको बरुण बजारभन्दा माथिका बासिन्दाले किमाथांका खाँदबारी सडक तयार नहुँदा सास्ती खेप्नुपरिरहेको छ। बरुण नदीमा स्टिलको पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण कम्पनीले पुलमाथि गरिने ढलान नगर्दा यो वर्ष पनि बरुण नदीबाट भोटखोला यातायात चल्न सकेको छैन ।

नेपाली सेनाले पनि १० दशमलव ५ किलोमिटर सडकको ट्रयाक खोलेको छ । च्याम्ताङबाट घोडघोप्पासम्मको सडक सेनाले निर्माण गरेको हो । सेनाले नौ मिटर चौडाइको ट्रयाक खोलिसकेको छ । शंखेभीर फोरेर ट्याक तयार भएपछि किमाथाङ्कासम्म धुले सडक तयारी छ । हेलिकोप्टरबाट विष्फोटक पदार्थ निर्माण स्थलमा पुर्याएर सेनाले ट्र्याक खोल्ने काम गरेको थियो ।

'एकदमै जटिल भूगोल छ', किमाथांकाका अर्का स्थानीय पासाङ नुर्वू भोटे भन्छन्, 'डबल लेनको ट्रयाक तयार भइरहेको छ, उनीहरुले खनिरहेको सडकमा नाला पनि निर्माण भइरहेको छ । खाँदबारीबाट गोला बजारसम्म ८२ किलोमिटर सडक त पुगेको छ तर एकदमै जीर्ण छ ।'

यो सडकको स्तरोन्नती नहुँदा गोला बजारसम्म मुस्किलले सार्वजनिक सवारी साधन चल्छ ।

खाँदबारी किमाथांका सडक उत्तरदक्षिण कोशी सडक योजनाले २०६५ बाट निर्माण सुरु गरेको थियो । खाँदबारी–किमाथांका सडक जोडिएसँगै त्रिदेशीय पारवाहनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए ।

सडकको ट्रयाक खुले सँगै भारतदेखि चीनसम्मको कोशी राजमार्गको ट्रयाक खोल्ने काम सकिएको छ । सडकको स्तरोन्नती र चौडा बनाउने काम अहिले भइरहेको छ ।

दशकदेखि देख्दै आएको सपना पूरा

खाँदबारी किमाथांका खण्डको ट्रयाक खुलेपछि सुनसरी मोरङ औधोगिक क्षेत्रका उद्योगी व्यवसायीले दुई दशकदेखि देख्दै आएको सपना पूरा भएको छ । 'किमाथांका नाका पूर्वको औद्योगिक क्षेत्रका लागि बरदान सावित हुने छ, 'संखुवासभा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष श्यामसुन्दर उदासले भने, 'दुई दशकदेखि विराटनगरबाट चीन, भारत, बंगलादेश र भुटानसँग सीघै व्यापार गर्ने सपना पूरा हुने दिन आएको छ ।

सडक खण्डको ३ सय ३३ किलोमिटर सडक खण्डमध्ये विराटनगरको जोगबनीदेखि हिलेसम्मको १ सय ४ किलोमिटर सडकमा पुरानै पक्की सडक रहेको छ । हिलेदेखि सभाखोला हुँदै खाँदबारीसम्मको ६८ किलोमिटर सडक पक्की भइसकेको छ ।

सडक सञ्चालनमा आएपछि चीनको ठूलो व्यापारिक शहर सिगात्सेसँग विराटनगरको सिधा व्यापारिक नाता जोडिन्छ', उदास भन्छन्, चीनको ठूलो व्यापारिक सहर सिगात्से ४ सय ९६ किलोमिटरमा पर्छ । तातोपानी नाकावाट पूर्वतर्फ सामान ल्याउँदा दूरी करिब ७ सय ५० किलोमिटर नै पर्न जान्छ ।

तुलनात्मक रुपमा नेपाल र चीनका अन्य नाकाहरु भौगोलिक रुपमा विकट, पहिरो जाने खतरा र हिउँ पर्ने सम्भावना भए पनि उक्त मार्गमा हिउँ कम पर्ने र चट्टानी बनावटका कारणले पहिरो जाने सम्भावना कम भएकाले बाह्रै महिना सञ्चालमा आउन सक्ने उनले बताए ।

author

Dipendra Shakya

CESIF Fellow