माघ २०८१ - भूगोलले नेपालकै सबैभन्दा ठूलो जिल्ला हो डोल्पा । सामान्यतया बोलीचालिको भाषामा तल्लो र माथिल्लो गरी दुई भागमा डोल्पालाई चिन्ने गरिन्छ । डोल्पा जिल्ला समुद्री सतहबाट १ हजार ८ सय देखि ७ हजार ६ सय सम्मको उचाइमा रहेको छ । चीनको तिब्बतसँग सीमा जोडिएको हिमाली जिल्ला डोल्पा राष्ट्रिय सडक सञ्जालले छोएको जिल्ला पनि हो । सडकले जोडिएको जिल्ला भएपनि माथिल्लो डोल्पाका ३ वटा स्थानीय तहमा भने सडक अझै जोडिएको छैन । डोल्पोबुद्ध गाउँपालिका, छार्काताङ सोङ गाउँपालिका र शे–फोक्सुण्डो गाउँपालिका राष्ट्रिय सडक सञ्जालबाट वञ्चित रहेका छन् ।
हरेक वर्ष भाद्र महिनामा एक सातादेखि १५ दिनसम्म तिब्बतको क्याटो र मरिम्ला क्षेत्रमा व्यापार मेला लाग्ने गर्दछ । त्यस्तै अवसर पारेर स्थानीयले सस्तो मूल्यमा, बिना भन्सार तिब्बतबाट मोटरसाइकल भित्राउने गरेका छन् । चिनीयाँ विभिन्न मोडलका सयौँ मोटरसाइकल माथिल्लो डोल्पाका स्थानीयले भित्राएर गुडाउने गरेका छन् । त्यही बेला स्थानीयले मरिम छोङरामा आफूलाई चाहिने सबै सामान तथा खाद्यान्न पनि त्यही मेलाबाट किनेर याकलाई बोकाएर सार्ने गर्दछन्।
बिना भन्सार पुग्छन् तिब्बतबाट मोटरसाइकल माथिल्लो डोल्पा
भन्सारबिनै चीनको तिब्बतबाट माथिल्लो डोल्पामा मोटरसाइकल पुग्ने गरेका छन् । सन् २००६ देखि चीनको तिब्बतबाट माथिल्लो डोल्पामा चिनीयाँ मोटरसाइकल ल्याउने गरिएको हो । सन् २००६ मा पहिलोपटक तिन्जे गाउँमा तिब्बतबाट मोटरसाइकल ल्याइएको र २०१० पछि ३० भन्दा धेरै मोटरसाइकलहरू भित्रिइसकेको मोटरसाइकल चालक विष्णु गुरुङले बताए । लिफान झोङछेन, खाम्छो, खाङखुङदजस्ता चिनीयाँ विभिन्न कम्पनीका मोटरसाइकल बिना भन्सार नै वर्षौँदेखि माथिल्लो डोल्पामा भित्रने गरेका छन् । न्यूनतम १५० सीसी देखि ३०० सीसीसम्मका मोटरसाइकलहरू त्यसरी ल्याउने गरिन्छ । नेपाली १ लाख देखि ३ लाख हाराहारीका २५० सीसी देखी ३ सय सीसीसम्मका डट मोटरसकाइकल माथिल्लो डोल्पाका स्थानीयले तिब्बतबाट किनेर ल्याउने गरेका हुन् । माथिल्लो डोल्पाका ३ स्थानीय तहमा ५ सयभन्दा धेरै मोटरसकाइकल त्यसरी बिना भन्सार भित्रिएका हुन् ।
व्यापारका लागि मात्रै खुल्ने मरिम्ला र क्याटो नाकामा माथिल्लो डोल्पावासीले सामान साटेर व्यापार गर्नुका साथै दैनिक उपभोग्य सामग्री खरिद गर्ने गरेका छन् । पछिल्लो समय चीनको मरिम्ला नाकाबाट तिब्बत र नेपालको माथिल्लो डोल्पा सडक सञ्जालमा जोडिएपछि तिब्बतबाट मोटरसाइकल भित्रिन थालेका हुन् । तिब्बतसँगको नाकामा नेपाल सरकारका तर्फबाट कुनैपनि सीमा सुरक्षा र भन्सार नभएपछि स्थानीयले सहजै सस्तोमा नेपाली बजारमा महँगो पर्ने मोटरसाइकल ल्याएर प्रयोग गरी रहेका छन् । तिब्बतबाट डोल्पोबुद्ध गाउँपालिकामा २ सय भन्दा धेरै मोटरसाइकल रहेको पाइन्छ भने शे–फोक्सुण्डो गाउँपालिका र छार्काताङसोङ गाउँपालिकामा १ सयभन्दा धेरै मोटरसाइकल रहेका छन् । तर कुन गाउँमा कति संख्यामा छन् भन्ने यकिन तथ्याङ्क कसैसँग पनि छैन ।
सन् २०१९ मा कोरोना महामारीपछि २०२० बाट बन्द रहेको चीनको मरिम्ला र क्याटो नाका बृहत पहलपछि २०२४ मा १५ दिनका लागि खुलेको थियो । करिब ४ वर्षपछि मरिम्ला नाका खुलेपनि क्याटो नाका भने खुल्न सकेन । यही अवस्थामा सरकारले भन्सार स्थापना वा अन्य कुनै वैकल्पिक व्यवस्था नगरेका अवस्थामा हरेक वर्ष सयौँ मोटरसाइकल चीनबाट भित्रिने छन् भने करोडौँको राजश्वसमेत सरकारले गुमाइरहेको छ । सन् २०२४ मा मात्रै माथिल्लो डोल्पाका स्थानीयले सरदर २ सयभन्दा धेरै मोटरसाइकल किनेर ल्याएका छन् ।
पहिले पहिले स्थानीयले मोटरसाइकल चलाउन जानेका थिएनन् जस कारण एउटा मोटरसाइकल तिब्बतबाट माथिल्लो डोल्पाको धो सम्म ल्याउँदा २० हजारसम्म पारिश्रमिक दिने गरेको मोटरसाइकल चालक बिष्णु गुरुङ सुनाउँछन । "अब सबैले जाने, चलाउनेको संख्या पनि धेरै छ, किन्ने पनि धेरै छन् । अब आफैँ चलाउने आफैँ बनाउने गर्छन्," गुरुङले बताए । गुरुङका अनुसार ती मोटरसाइकल चलाउन पेट्रोल पहिला एक जगको १ हजार सम्म पर्थ्यो तर हाल जगको ७ सयमा पाइन्छ । पेट्रोल भने दुनै र छिमेकी जिल्ला मुस्ताङबाट ल्याउने गरेको बिष्णुले जानकारी दिए ।
सरकारको पहुँचमा छैन भन्सार र सुरक्षा
भूगोल ठूलो अनि दुर्गम र हिमाली जिल्ला भएको कारण सरकारको कम चासोमा परेको छ डोल्पा । भारतको जमुनाहादेखि तिब्बतको मरिम्लासम्म त्रिदेशीय सबैभन्दा छोटो मार्ग रहे पनि सरकारले कहिल्यै प्राथमिकतामा नराखेको स्थानीय सरकारको गुनासो छ । "स्थानीय सरकारको पहुँचमा छैन, केन्द्र सरकारले कहिल्यै चासो राखेन", शे–फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेमावाङछेन गुरुङले दुखेसो पोखे, "नागरिकले सवारी साधन खरिद गर्नु स्वाभाविक हो, सरकारले करका दायरामा राख्न सकेन, जुन कुरा स्थानीय सरकारको अधिनमा छैन । त्यसैले अवैध रूपमा सवारी साधन खरिद गरेको बारे मौन नै रहेका हौँ", उपाध्यक्ष गुरुङले स्वीकारे । फेरि भने, "कानुनी दायरामा ल्याउन हामीसँग अधिकार वा कानुन छैन, संघीय सरकारले भन्सार राख्न सक्दैन । स्थानीयले तिब्बतबाट मोटरसाइकल किनेर सेवा लिइ रहेकाछन् ।"
भन्सार राख्न र सुरक्षा व्यवस्था गर्नुका साथै माथिल्लो डोल्पालाई सुरक्षा महुसुस हुने गरी सबै सेवा विस्तार गर्न सरकारलाई अनेक पटक अनुरोध गरे पनि मरिम्ला र क्याटो नाकामा कुनै व्यवस्था नभएको गुनासो स्थानीय सरकारको छ ।
"करको दायरामा नागरिक आउने कुरा राम्रो हो, यो कुरा मान्न उनीहरू तयार छन् तर सरकारले नै कानुनी व्यवस्था प्रारम्भ नगरेर सबै लथालिङ्ग भएको हो", भन्सार मामलामा उपाध्यक्ष गुरुङको कथन छ । तातोपानी, केरुङ, र हिल्साजस्तै मरिम्ला पनि सरकारले आधिकारीक रूपमा खुला गर्ने भए न कर छलिने न त नागरिकले दुख पाउने थिए ।
"सरकारले कानुन बनाएर भन्सार खोल्नुपर्छ" : जिल्ला प्रशासन कार्यालय
नेपाल सरकारले आधिकारिक रूपमा भन्सार स्थापना नगरेसम्म चीनबाट आउने सवारी साधन रोक्न नसकिने जिल्ला प्रशासन कार्यालय डोल्पाको ठहर छ । नेपाल सरकारले सीमा सुरक्षा स्थापना गर्ने भन्सार स्थापना गरेपछि मात्रै दुई देशको सीमामा हुने व्यापारको भन्सार सङ्कलन हुने जिल्ला प्रशासन कार्यालय डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी दामोदर प्रसाद ज्ञवालीले जानकारी दिए । सहायक प्रजिअ ज्ञवालीका अनुसार, "भन्सारबाट सवारी साधन कुनैपनि व्यक्तिले खरिद गर्न नपाउने र कुनै कम्पनीले मात्रै खरिद गर्न पाउने कानुनी व्यवस्था छ । त्यसरी डोल्पाको मरिम्ला नाकाबाट खरिद गरी ल्याउन कानुन नै नरहेको कारण निकै कठिन भइरहेको छ ।"
नेपाल सरकारले मरिम्ला र क्याटो नाका आधिकारिक रूपमा खोल्नका लागि प्रकृया नै अघि नबढाएको र माथिल्लो डोल्पाका लागि निश्चित समयसम्म व्यापारका खुल्ने भएकोले त्यही अवसरमा स्थानीयले मोटरसाइकल खरिद गरेर ल्याउने गरेका छन् । हाल व्यापारका लागि नाका खुल्ने समयमा जडीबुटीका लागि मात्रै वन र निकुञ्जले सुरक्षा राखेर राजश्व लिने गरेको छ । त्यो पनि निर्यातको लागि मात्रै शुल्क लाग्ने तर आयातका लागि कुनै पनि कानुनी व्यवस्था नभएको कारण भन्सार तथा कर तिर्ने गरेको पाइँदैन । नीतिगत रूपमा सरकारले भन्सार स्थापना गरेदेखि नयाँ आउने सवारी साधनमा भन्सार लाग्ने र हाल खरिद भएर सञ्चालनमा रहेका सवारी साधन बरामद गरी लिलाम गर्न सकिने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
यार्सा बेचेर मोटरसाइकल
माथिल्लो डोल्पाका नागरिकले चीनमा सस्तोमा पाइने तर नेपालमा ७ लाख सम्म पर्ने महँगा मोटरसाइकल २ लाखमा चढी रहेका छन् । बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन गरेर आएको पैसाबाट मोटरसाइकल किनेर चढ्ने गरेका हुन् । हरेक वर्ष बैशाख र जेष्ठ महिनामा उच्च हिमाली क्षेत्र बुकी पाटनमा बहुमुल्य जडीबुटी यार्सागुम्बा संकलन गरी नाका खुलेको बेलामा तिब्बतीहरूलाई बेचेर मोटरसाइकल किनेर ल्याउने गरेका छन् । चीनको तिब्बत मरिम्लादेखि डोल्पोबुद्धको धोसम्म करिब ८५ किलोमिटर सडक एकै दिनमा मोटरसाइकलमा पुग्न सकिने डोल्पोबुद्ध ६ का पेम्मादोर्जे गुरुङले बताए । उनले भने, "हामी आफैँ बनाउँछौँ तर निकै महँगो पर्छ तेल र मर्मत खर्च ।" शे–फोक्सुण्डो गाउँपालिकामा भने स्थानीय सरकारले साधारण मोटरसाइकल मर्मतका लागि तालिम दिएको तेन्जीङ नाम्डोल गुरुङले बताए । गुरुङले भने, "स्थानीय सरकारले मेड्पा भन्ने कार्यक्रमबाट तालिम दिएको र मोटरसाइकलका पार्ट भनेको समयमा नेपाली बजारमा नपाउने गरेकोले यो वर्ष तिब्बतमै गएर मर्मत समेत गरेर ल्याएको सुनाए ।"
