असार २०८२
भैरहवा - बुद्धको जन्मस्थल लुम्बिनी बौद्ध धर्मावलम्बीहरुको तीर्थस्थल मात्र होइन, अब शैक्षिक ज्ञान हासिल गर्ने थलोको रुपमा पनि विकसित हुन थालेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयमा शैक्षिक गतिविधिहरु बढ्न थालेपछि यहाँ स्वेदशी मात्र होइन, विदेशीहरुले पनि चासो प्रकट गर्दै सहयोग आदानप्रदान बढाएका छन् । लुम्बिनी परिसरमा विभिन्न धार्मिक संरचनाहरु बनाउन सहयोग गर्ने मुलुकहरु अहिले शैक्षिक गतिविधिमा पनि सहयोग विस्तार र सहकार्य गर्न आइपुगेका छन् । यस्तो सहयोग र शैक्षिक आदानप्रदानमा चीन र चीनका शैक्षिक निकायहरुसँगको सहकार्य अन्य भन्दा बाक्लो हुन थालेको छ । त्यसैको एउटा उदाहरण हो- लुम्बिनी बौद्ध विश्वविद्यालयमा स्थापना गरिएको चिनियाँ भाषा प्रशिक्षण तथा सिकाइ केन्द्र ।
लुम्बिनी बौद्ध विश्वविद्यालयमा चिनियाँ भाषा सिकाइ केन्द्र स्थापना नेपालमा चौथो र काठमाडौँ बाहिर पहिलो हो । यस केन्द्रमा चिनियाँ भाषाका 'एचएसके' तहका परीक्षाहरु चल्छन् । चीनमा अध्ययनका लागि जान चाहने विद्यार्थीले अनिवार्य यो भाषा परीक्षा पास गर्नुपर्छ । त्यसैले नेपालबाट चीन अध्ययनमा जाने विद्यार्थीका लागि लक्षित गरी यो केन्द्र स्थापना भएको हो । गत वर्ष असोज ११ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले औपचारिक रुपमा उद्घाटन गरेको यो सिकाइ केन्द्र सञ्चालनका सम्बन्धमा चीनको हनान विश्वविद्यालयबीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार केन्द्रमा चिनियाँ भाषा सिकाइ भइरहेको छ । त्यसबेला मुख्यमन्त्री आचार्यले नेपाल र चीन दुई देशबीचको मित्रता अझ सुमधुर बनाउन सिकाइ केन्द्रले योगदान पुर्याउने उल्लेख गरेका थिए ।
विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्यले एक वर्ष अगाडी चीनको हनान विश्वविद्यालयसँग भएको सहकार्य सम्झौताअनुसार चिनियाँ भाषा प्रशिक्षण केन्द्र स्थापना भएर अध्ययन जारी रहेको बताए । 'यो केन्द्रका कारण लुम्बिनी बौद्ध विश्वविद्यालयलाई अन्यत्र पनि चिनाउन मद्दत पुग्छ भन्ने हामीहरुको विश्वास छ' रजिस्ट्रार आचार्यले भने ।
गत वर्ष केन्द्र उद्घाटनका दिन 'बुद्धिजम एण्ड नेपाल स्टडिज्' अध्ययन गर्ने चीनका २३ जना विद्यार्थीलाई स्वागत गरिएको थियो । त्यसक्रममा चीनको हनान विश्वविद्यालयका अध्यक्ष छ्वाङ क्वाङ्लिनले नेपाल र चीन दुई देशबीच सुमधुर सम्बन्ध विस्तार गर्न प्रशिक्षण केन्द्र महत्वपूर्ण हुने बताएका थिए।
यी बाहेक चीनका अन्य विश्वविद्यालय र संस्थाहरुका गतिविधि पनि लुम्बिनी विश्वविद्यालयसँग भइरहेका छन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनका विभिन्न विश्वविद्यालयहरुसँगका सम्झौता अनुसार यहाँका विद्यार्थी चीन गएर पढ्ने र चीनका विद्यार्थीहरु लुम्बिनी बौद्ध विश्वविद्यालयमा आएर अध्ययन गर्ने गर्छन् ।
विश्वविद्यालयका सुचना अधिकारी चुरामणि पोखरेलका अनुसार लुम्बिनी विश्वविद्यालय र चीनको 'नानहाई बुद्धिजम एकेडेमी'सँग ट्राभल एण्ड टुरिजम विषयको अध्ययन सहकार्य भएको छ । ‘नान हाई बुद्धिजम एकेडेमीसँग ट्राभल एण्ड टुरिजमको कोर्षसँग सहकार्य छ । यसमा विद्यार्थीहरु सातौँ र आठौँ दुई समेस्टर त्यहाँ पढ्न जान्छन् । अहिले दोस्रो लटका विद्यार्थीहरु त्यहाँ गइरहेका छन्,’विश्वविद्यालयका सुचना अधिकारी पोखरेलले भने ।
यस्तै नान हाई बुद्धिजम एकेडेमी ट्राभल एण्ड टुरिजमको कोर्षसँग सहकार्य र बेइजिङ युनिभर्सिटीसँग पनि सहकार्य रहेको सूचना अधिकारी पोखरेलले जानकारी दिए । ‘बेइजिङ युनिभर्सिटीका विद्यार्थीहरु एक वर्ष यहाँ पढ्छन् । २ वर्ष उता जान्छन् । अन्तिम वर्ष पढ्न फेरि यहाँ आउँछन्' उनले भने । युनान युनिभर्सिटीसँग पनि सहकार्य छ । 'युनान युनिभर्सिटीका विद्यार्थीहरु एउटा सेमेस्टर नेपाली अध्ययन गर्नका लागि यहाँ आउँछन्' सुचना अधिकारी पोखरेलले भने ।
यी तीन विश्वविद्यालयसँग नेपाली र चिनियाँ विद्यार्थीहरु आदानप्रदानको सम्झौता भएको पोखरेलले जानकारी दिए । उनकाअनुसार विश्वविद्यालयमा जापान, श्रीलङ्का, कोरिया, चीनका प्राध्यापकहरु अध्यापनका लागि आउँछन् । ‘जापान, श्रीलङ्का, कोरिया, चीनका लेक्चरहरुले पनि यहाँ आउँदा पढाउनुहुन्छ । अनलाइनबाट पनि पढाइ हुन्छ' उनले भने । चीनका लेक्चरहरुले 'ट्रान्सलेसन एण्ड इन्टरप्रिटेसन' बारे पढाउने उनले बताए ।
लुम्बिनी विश्वविद्यालयको विकासका लागि चिनियाँ विश्वविद्यालाय मात्र होइन अन्य चिनियाँ संघ संस्थाहरुले पनि सहयोग गर्दै आएका छन् । शिक्षण सिकाई आदानप्रदानका लागि एकपछि अर्को सम्झौता हुने गरेका छन् । यसै मध्येको एउटा अर्को महत्वपूर्ण सम्झौता हो- बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयसँगको सम्झौता ।
गत वर्ष मंसिरमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच सहकार्य सम्झौता भयो । सम्झौतामा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. सुवर्णलाल बज्राचार्य र बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयका अध्यक्ष त्वाङ फङबीच सहमतिपत्र आदानप्रदान भएको थियो । समझदारी अनुसार दुवै मुलुकका ती विश्वविद्यालयले संस्कृति आदानप्रदान, भाषा शिक्षण, अनुसन्धान कार्यसञ्चालनका लागि काम गर्नेछन् । यसैगरी बेइजिङमा नेपाल इन्स्टिच्युट र लुम्बिनीमा चाइना इन्स्टिच्युट स्थापना हुनेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गत मंसिर १७ गतेदेखि २० गतेसम्म भएको औपचारिक भ्रमणका क्रममा चीनसँग स्वयंसेवी चिनियाँ भाषा शिक्षणसम्बन्धी समझदारी भएको थियो ।
२०६१ सालमा स्थापना भएको लुम्बिनी बौद्ध विश्वविद्यालयको ०६७ सालबाट मात्रै शैक्षिक कार्यक्रम सुरु भएको थियो । सुरुमा पीएचडीको कार्यक्रम सुरु भएको थियो । अहिलेसम्म यस विश्वविद्यालयबाट ४० जनाले बौद्ध दर्शनमा विद्यावारिधि प्राप्त गरिसकेका छन् ।
बुटवलको नयाँगाउँमा सिटी क्याम्पस सञ्चालनमा आएको छ । यहाँ बीए, एलएलबी र ट्राभल एन्ड टुरिजम शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । बुद्धसँग सम्बन्धित देवदहमा स्कुल अफ डेभलपमेन्ट एन्ड एप्लाइड साइन्स अन्तर्गत स्नातकोत्तर तहमा डेभलपमेन्ट स्डडिज र एग्रोफोरेस्ट्री कार्यक्रम सञ्चालनमा रहेको छ । विश्वविद्यालयले आठ कलेजलाई सम्बन्धन दिएको छ ।
पाँचवटा सहकार्यमा सञ्चालित क्याम्पस छन् । यो विश्वविद्यालयमा ३० शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । साढे २ बिघा जमिनबाट सुरु भएको विश्वविद्यालयसँग लुम्बिनीमासहित अहिले ११३ बिघा जमिन छ । विश्वविद्यालयको देवदहमा ९२ बिघा जमिन रहेको छ । बुटवल–१२ नयाँगाउँमा करिब ६ बिघा जमिन र लुम्बिनीमा करिब १५ बिघा जमिन रहेको छ ।
अहिले केन्द्रीय क्याम्पस, सिटी क्याम्पस, केन्द्रीय कार्यालय, केन्द्रीय पुस्तकालय, पदाधिकारी आवास, शिक्षक आवास, छात्रछात्रावास निर्माणका काम सम्पन्न भएका छन् । पदाधिकारीका लागि आवास गृहदेखि १६ जनाका लागि शिक्षक आवास भवन बनेको छ । करिब सयजना विद्यार्थीका लागि छात्रावास बनेका छन् ।
त्यस्तै विश्वविद्यालयलाई अझ व्यवस्थित गर्ने क्रममा अनुसन्धान केन्द्र लुम्बिनी र देवदहमा प्रशासनिक भवन निर्माण कार्य भइरहेको छ । अहिले ९३ पूर्णकालीन शिक्षक, कर्मचारी र पदाधिकारी कार्यरत छन् । विषयगत शिक्षक कम छन् । पूर्णकालीन शिक्षक कर्मचारी नहुँदा केही समस्या रहेको विश्वविद्यालयका पदाधिकारीहरु बताउँछन् ।
अन्तर्राष्ट्रिय चासोमा समेत परेको यो विश्वविद्यालयले गति बढाउँदै लगेपनि यहाँ पर्याप्त शैक्षिक जनशक्ति व्यवस्थापन हुन सकेको छैन । सरकारबाट दरबन्दी व्यवस्थापन हुन नसकेको र सीमित आर्थिक स्रोतसाधनबाट भएपनि गति बढाउँदै लगिएको विश्वविद्यालयका पदाधिकारी बताउँछन् । दरबन्दी व्यवस्थापनका लागि विश्वविद्यालय अनुदान आयोग र शिक्षा मन्त्रालयमा प्रस्ताव पेस गरिएको छ । विश्वविद्यालय सभाले २१९ जनाको दरबन्दी स्वीकृत गरेको छ ।
विश्वविद्यालयले म्यानमार, भारत, चीन, अमेरिकासहितका विभिन्न देशबाट विज्ञहरू ल्याएर अध्ययनका काम अगाडि बढाउँदै आएको छ । संसारभरका बौद्ध दर्शनमा ज्ञान राख्न चाहनेका लागि विश्वविद्यालय चासोको केन्द्र बनिरहेको छ । शैक्षिक कार्यक्रम बाहेक अनुसन्धान केन्द्रबाट अनुसन्धनात्मक कार्यक्रम भइरहेका छन् ।
अनुसन्धान केन्द्रले बौद्ध दर्शनका पुराना ग्रन्थहरूको अनुवाद गरिरहेका छन् । पाली संस्कृतिमा रहेका बुद्धिजमसँग सम्बन्धित महत्वपूर्ण ग्रन्थहरूको नेपालीमा अनुवाद गरिएको छ । लगभग एक दर्जन तयार भएका छन् । तीमध्ये केही प्रकाशित समेत भएका छन् ।
नेपालका सातवटै प्रदेशमा रिसर्च सेन्टरहरूको स्थापनाका लागि अध्ययनको काम भइरहेको छ ।
