चैत २०८२ - गत चैत ५ गतेबाट तीन दिन गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा ‘तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव’ आयोजना गरियो । विश्वभर शान्ति र सद्भावको सन्देश दिन आयोजना गरिएको कार्यक्रममा भव्य सहभागिता थिएन । नेपालस्थित चिनियाँ दूतावासको संयोजनमा आयोजित कार्यक्रमको आयोजनाबारे प्रचारप्रसार पनि गरिएको थिएन । महोत्सवमा आयोजक संस्थाका धेरै प्रतिनिधिको सहभागिता रहेको थियो । लुम्बिनीमा विश्व शान्तिको कामनाका लागि आयोजित कार्यक्रममा नागरिकको पातलो उपस्थितीलाई लिएर टिकाटिप्पणी सुनिएको थियो ।
रात्रीभोज कार्यक्रममा महोत्सवको उद्देश्यका बारेमा सहभागीलाई जानकारी दिइएको थियो । महोत्सवले केवल धार्मिक र साँस्कृतिक कार्यक्रममा मात्र सिमित नरही अन्तर्राष्ट्रिय कुटनीति, शान्ति र सहकार्यको नयाँ बहसलाई अगाडि ल्याउन सकिनेबारे जोड दिइएको उल्लेख गरिएको थियो । विश्वका विभिन्न मुलुकमा युद्ध, हिंसा र अस्थिरता भइरहेकाले ती द्वन्द्वरत पक्षलाई पनि शान्तिको सन्देश दिने उद्देश्यले महोत्सव आयोजना गरिएको दूतावासले जनाएको थियो । दुई मुलुकबीच खेल र साँस्कृतिका माध्यमबाट परस्पर सम्बन्ध प्रगाढ तुल्याउने उद्देश्य रहेको जनाइएको थियो । लुम्बिनीमा तेस्रोपटक यस्तो कार्यक्रम आयोजना गरिएपनि स्थानीयको सहभागिता बृद्धि हुन सकेको छैन । आयोजनाको अघिल्लो दिन काठमाडौंबाट लुम्बिनीमा आएर कार्यक्रम सञ्चालन गरिने हुँदा पनि स्थानीयको सहभागीतामा बृद्धि हुन नसकेको आयोजकले बताए ।
महोत्सवको पूर्व सन्ध्यामा लुम्बिनीस्थित होटल बुद्धमाया गार्डेनमा रात्रीभोज आयोजना गरिएको थियो । कार्यक्रमका पाहुनाको सम्मानमा आयोजित भोजमा रुपन्देही र कपिलवस्तुबाट नागरिक समाजका प्रतिनिधि सहभागी थिए । सहभागीलाई औपचारिक पोशाकमा उपस्थितीका लागि अनुरोध गरिएको थियो । स्थानीय प्रल्हाद यादवका अनुसार उक्त रात्री भोजमा चिनियाँ दूतावास, पर्यटन मन्त्रालय, ओलम्पिक कमिटि, लुम्बिनी विकास कोष, लुम्बिनी सांस्कृतिक नगरपालिका, स्थानीय पर्यटन व्यवसायी, सामाजिक कार्यकर्ता र सञ्चारकर्मीको सहभागीता थियो । ‘भलाकुसारीका लागि आयोजना गरिएको होला,’ उनले भने, ‘शुभकामना आदानप्रदान बाहेक कार्यक्रम थिएन ।’ रात्रीभोजमा सहभागिलाई रुची अनुसार खाना र पेय पदार्थ राखिएको थियो ।
लुम्बिनी विकास परिसरमा चीनको आफ्नै मन्दिर रहेको छ । मन्दिरबाट धार्मिक र सामाजिक क्रियाकलाप सञ्चालन हुने गरेका छन् । तर, शान्ति महोत्सवको उद्देश्य धार्मिक मात्र थिएन । कार्यक्रम मार्फत चीनले नागरिक समाजसित घुलमिल हुने कोशिस गरिरहेको प्रष्ट थियो । केही वर्षदेखि चीनले लुम्बिनी बौद्ध विश्वविद्यालय मार्फत चिनियाँ भाषा अध्ययनलाई प्राथमिकता दिइरहेको छ । त्यससँगैं नागरिकसित पनि सम्बन्ध मजबुत तुल्याउने उद्देश्यले यस्तो कार्यक्रम गरिएको हुन सक्ने स्थानीय अगुवाको भनाई छ । ‘चीनले यसअघि आफ्नो मन्दिर मार्फत धार्मिक र सामाजिक काम गर्दै आएको थियो,’ लुम्बिनी होटल संघका सल्लाहाकार हेमबहादुर विष्ट भन्छन, ‘अहिले खुला कार्यक्रममार्फत आफ्नो उपस्थित देखाउन लागेको छ ।’
नेपालस्थित चिनियाँ दूतावास, नेपाल पर्यटन बोर्ड, नेपाल ओलम्पिक कमिटि र लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा गरिएको सांस्कृतिक कार्यक्रम । तस्बिर: दीपेन्द्र बडुवाल
लुम्बिनीका बासिन्दा अनुसार चीनले आफ्ना दूतावास र निकट अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत लुम्बिनीलाई केन्द्रमा राखेर नागरिकको जीवनस्तर उकास्ने र विपन्नलाई सघाउने कार्यक्रम पनि गरिरहेको छ । ‘चिनियाँ संस्था गाउँ गाउँ पुगिरहेका छन्,’ लुम्बिनीका एक स्थानीयले भने, ‘उनीहरुले स्वरोजगार तुल्याउने कार्यक्रमदेखि बालबालिकाको अध्ययनमा सघाइरहेका छन् । अहिले चिनियाँको उपस्थिति बाक्लो हुँदैं गएको छ ।’ नेपालस्थित चिनियाँ दूतावास, नेपाल पर्यटन बोर्ड, नेपाल ओलम्पिक कमिटि र लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो । लुम्बिनी साँस्कृतिक नगरपालिकालाई समेटिएको थियो । लुम्बिनी विकास कोषका एक कर्मचारीका अनुसार आयोजकमा नाम भएपनि कोषका वरिष्ठ कर्मचारीलाई समेत भोजमा बोलाइएको थिएन । कार्यक्रममा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाको उपस्थिती थियो ।
महोत्सवको दोस्रो दिन चैत ६ गते बिहान लुम्बिनीको मुटु मायादेवी मन्दिर परिसरमा अन्तर्राष्ट्रिय ध्यान दिवसको आयोजना गरिएको थियो । बिहान साढे ६ बजेदेखि पौने ८ बजेसम्म सञ्चालन भएको ध्यान शिविरमा विश्वभरका ध्यान साधक, बौद्ध धर्मावलम्बी, बुद्ध भिक्षु–भिक्षुणी, स्थानीय बासिन्दा र शान्ति प्रेमीको सहभागीता रहेको थियो । प्रत्येक वर्ष महोत्सवका बेला यस्तो ध्यान कार्यक्रम राखिने गरेको छ ।
कार्यक्रममा विशिष्ट पाहुनाले ध्यानको महत्व र आवश्यकता बारे बोलेका थिए । महोत्सवका प्रमुख अतिथि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सिन्हाले विश्वभर बढ्दो द्वन्द्व र अस्थिरताका बीचमा बुद्धको करुणा, अहिंसा र सहअस्तित्वको संदेश सान्दर्भिक रहेको बताएका थिए । विश्व शान्तिका लागि लुम्बिनीले पुन: एकपटक आध्यात्मिक केन्द्रको भूमिका निर्वाह गरिरहेको मन्त्री सिन्हाले बताएका थिए । ‘नेपालले आध्यात्मिक पर्यटनको केन्द्रका रुपमा आफ्नो पहिचानलाई अझ सुदृढ बनाउँदै विश्व समुदायसँग सहकार्य गर्न सक्छ,’ उनले भने ।

तेश्रो लुम्बिनी पिस कन्सर्टको एक झलक । तस्बिर: दीपेन्द्र बडुवाल
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले अहिलेको विश्व परिवेश झन् जटिल र अस्थिर बन्दैं गइरहेकाले शान्ति नै मानवका लागि आधारभूत आवश्यकता बनेको बताएका थिए । चीन शान्तिपूर्ण मार्गमा अघि बढ्दैं गर्दा विश्वका शान्तिप्रेमी राष्ट्रसँग सहकार्य गर्न प्रतिवद्ध रहेको पनि बताए ।
‘नेपाल र चीनबीच आध्यात्मिक र सांस्कृतिक सम्बन्ध रहेको छ,’ राजदूत माओमिङले भने, ‘शान्ति महोत्सवले दुई मुलुकबीचको ऐतिहासिक मित्रता र बौद्ध सम्बन्धलाई अझ सृदृढ बनाउने विश्वास लिएको छु ।’ कार्यक्रममा लुम्बिनीसँगै कपिलवस्तुको तिलौंराकोट र पश्चिम नवलपरासीको रामग्रामको पनि विकास गरेर विश्व शान्ति सहरका रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिइएको थियो । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले लुम्बिनी सम्पूर्ण मानव सभ्यताको साझा धरोहर भएको बताएका थिए ।
शान्ति, सहअस्तित्व र मानवताको संदेशलाई खेलकुद मार्फत विश्वमन्चमा स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उनले बताए । ‘महोत्सव अवसरमा आयोजित अन्तर्राष्ट्रिय शान्ति म्याराथन सहित विभिन्न खेल गतिविधिले शान्ति र विकासको सशक्त माध्यामका रुपमा योगदान पुर्याउने विश्वास लिएको छु,’ श्रेष्ठले बताएका थिए ।
दोस्रो दिन साँझ लुम्बिनी स्क्वायरमा तेस्रो लुम्बिनी पिस कन्सर्ट आयोजना गरिएको थियो । लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको पूर्व सन्ध्याममा हरेक वर्ष चिनियाँ दूतावासले यस्तो कन्सर्ट आयोजना गर्दै आएको छ ।
साँझ साढे ५ बजेपछि आयोजना गरिएको कन्सर्टमा चिनियाँ कलाकारले त्यहाँको रहनसहन, भूगोल, परम्परा र स्थानीय संस्कृति झल्किने गीत र नृत्य प्रस्तुत गरेका थिए । मञ्चमा कलाकारले प्रस्तुति दिँदा पृष्ठभागमा रहेको ठूलो स्क्रिनमा चीन र मंगोलियाका भूभाग, कला, संस्कृतिबारे छायाङ्कन गरिएको भिडियो समेत प्रदर्शन गरिएको थियो । उक्त कन्सर्टमा नेपालका तर्फबाट स्थानीय बिराहा र थारु गीत र नृत्य प्रस्तुत गरिएको थियो ।पानी परेको साँझ रेनकोट ओढेर नेपाली र चिनियाँ दर्शकले कार्यक्रम अवलोकन गरेका थिए ।
साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष लामाले विश्वका धेरै मुलुकले आयोजना गर्ने यस्ता कार्यक्रमले लुम्बिनीको ‘भाइब्स’ बढ्ने बताए । ‘लुम्बिनी पूजा, सांस्कृतिक र आध्यात्मिक कार्यक्रम जरुरी छ,’लामाले भने, ‘झन स्थानीय पालिका, प्रदेश र संघीय सरकारको उपस्थिती महत्वपूर्ण छ ।’ चिनियाँ दूतावासले लुम्बिनीमा तेस्रो पटक कार्यक्रम आयोजना गरेको जनाउँदैं उनले भने, ‘लुम्बिनीको पर्यटन बृद्धिका लागि यस्ता कार्यक्रम आवश्यक रहेका छन् ।’ सांस्कृतिक कार्यक्रममा राजदूत माओमिङले वसन्त ऋतु पारेर साँस्कृतिक कार्यक्रम आयोजना गरिएको बताए । ‘यस्तो कार्यक्रमले दुई मुलुकबीच मित्रता बृद्धि हुने विश्वास लिएको छु,’ उनले भने, ‘हामी भौगोलिक रुपमा नजिक छौं र हामीबीच पुस्तैनी सम्बन्ध छ ।’ अन्तर्राष्ट्रिय परिस्थिति जस्तोसुकै भएपनि नेपाल र चीनबीच मित्रता अमर रहने उनले बताए ।
तेस्रो लुम्बिनी पिस कन्सर्टमा चिनियाँ संस्कृति झल्काउने प्रस्तुत दिदै चिनियाँ कलाकार । तस्बिर: दीपेन्द्र बडुवाल
महोत्सवको अन्तिम दिन चैत ७ गते ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन’ आयोजना गरिएको थियो । ओलम्पिक कमिटिको संयोजनमा हुँदैं आएको म्याराथन वर्षाले प्रभावित भएको थियो । पानी परेपनि सबेरै दौड सुरु गरिएको थियो । उक्त म्याराथनमा नेपालसँगैं चीन र अन्य मुलुकका धावक पनि सहभागी भएका थिए । म्याराथनका लागि ओलम्पिक कमिटिले काठमाडौंबाट प्राविधिक ल्याएको थियो । यसका लागि आवश्यक सामाग्री र अन्य प्राविधिक सहयोग चिनियाँ दूतावासले गरेको थियो । चिनियाँहरु स्वयं सेवका रुपमा खटिएका थिए । उनीहरुले तस्बीर र भिडियो खिख्नेदेखि धावकलाई हौंसला प्रदान गरेका थिए । आयोजकका अनुसार शारीरिक स्वास्थ्य र विश्व शान्तिको सन्देश जोड्दै म्याराथन आयोजना गरिएको हो ।
लुम्बिनीको पुरातात्विक, ऐतिहासिक तथा आध्यात्मिक महत्वलाई केन्द्रमा राख्दै हरेक वर्ष आयोजना गरिने यस्ता कार्यक्रममार्फत विश्व समुदायलाई शान्ति, सहिष्णुता र सहअस्तित्वको सन्देश दिने प्रयास भइरहेको लुम्बिनी होटल संघका अध्यक्ष लीलामणी शर्माले बताए । ‘यस वर्षको महोत्सवले पनि धार्मिक पर्यटन प्रवद्र्धन, साँस्कृतिक आदान–प्रदान तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ,’ उनले भने, ‘विकास, सुरक्षा र शान्तिका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्छ ।’ तर, लुम्बिनीमा आयोजना गरिने कार्यक्रममा स्थानीय सरोकारवाला र साझेदार संस्थालाई सहभागी गराइनुका साथै पारदर्शितालाई ख्याल गर्नुपर्ने उनले बताए ।
