तातोपानी नाका सञ्चालन कहिल्यै नसुल्झने चुनावी एजेण्डा

माघ २०८२ - सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिका वडा २ बाट नेपाललाई चीनसंग जोड्ने तातोपानी नाकाको विषय राजनीतिक दलहरुका लागि दशकौ देखि चुनावी एजेण्डा बन्दै आएको छ । ०६४ सालको संविधान सभा निर्वाचन यता स्थानीय तहको होस या प्रतिनिधि सभाको निर्वाचन होस सीमा नाकाको विषयले दलहरुको प्रमुख एजेण्डा हुन्छ ।
जेन जी आन्दोलनपछि आगामी फागुन २१ तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नंं. १ को प्रतिनिधित्व गरेर मुख्य प्रतिस्पर्धामा रहेका उम्मेदवारहरुले पनि तातोपानी नाका सञ्चालनलाई प्रमुख विषयको रुपमा उठाउन चुकेका छैनन् । नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेद्वार बनाइएका माधव सापकोटा, नेपाली कांग्रेसका जंगबहादुर लामा, एमालेका सरेश नेपाल र रास्वपाका भरतप्रसाद पराजुली चुनावी मैदानमा छन् । प्रमुख दलका मुख्य प्रतिस्पर्धीले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवद्र्धन र रोजगारीको विषयका साथै तातोपानी नाकालाई सहज बनाउने विषयलाई बिशेष प्राथमिकता दिएका छन् ।

यसअघि २०६४, ०७० र ०७४ का तीनवटै चुनावमा यस क्षेत्रबाट हाल नेपाली कम्युनिष्ट पार्टीको रुपमा स्थापित भएको नेकपा (माओवादी)का अग्निप्रसाद सापकोटा विजयी भएका थिए । सापकोटाले त्यतिबेला नै तातोपानी नाका खुलाउने र सहज बनाउने विषयलाई उनको प्रमुख चुनावी मुद्दा बनाएका थिए । ०७४ मा नेकपा माओवादी र एमाले गठबन्धनका उम्मेदवार बनेका सापकोटाले त्यतिबेला पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई पराजित गरेका थिए ।

कांग्रेसका बस्नेत र तत्कालिन माओवादीका सापकोटाले नाका सहज ,कोदारी राजमार्ग स्तरोन्नतिको काम सम्पन्न गर्ने वाचा गरेका थिए । यसअघि ०७९ प्रतिनिधि सभाको निर्वाचनमा उनीहरु सबै आफूले जित्नासाथ पहिलो काम नै तातोपानी नाका सधैंका लागि खोल्ने बताउँदै घरदैलो अभियानमा थिए । सभा समारोह अनि चुनावी घोषणा पत्रमा पनि यही विषय प्राथमिकतामा थियो ।

तीन वटा निर्वाचन जितेर सापकोटा पटक-पटक मन्त्री देखि सभामुखको हैसियत बनाए पनि अहिलेसम्म सीमा नाका नियमित रुपमा सञ्चालन हुन सकेको छैन । अग्नि सापकोटा पछि एक कार्यकाल प्रतिनिधी सभा सदस्य भएर सिंहदरबार छिरेका माधव सापकोटाले सिमा नाका सञ्चालनलाई सहज बनाउन सकेनन् । यसपटक फेरि उनै सापकोटाले नाका सहज बनाउने कुरालाई प्राथमिकतामा राखेका छन् ।

सीमा नाका सञ्चालन नियमित रुपमा सञ्चालन नभएका कारण मारमा परेका स्थानीयबासीहरु राजनीतिक आश्वासन देखि दिक्क भइसकेका छन् । बाढी पहिरो, भूकम्पका कारण सडक भत्किएको र चिनियाँहरुले नाकामा कडाई गर्न थालेपछि अधिकांश व्यापारी सिन्धुपाल्चोकबाट पलायन भइसकेका छन् ।

चुनावी प्रतिस्पर्धामा रहेका दलका नेताहरुले भने नाका नियमित गर्ने आश्वासन दोहोर्याउन छाडेका छैनन् । “नाका सहज बनाउन आवश्यक पहलकदमी लिइरहेका छौ, सीमा सडकका लागि काम भइरहेको छ, त्यतिखेर गरेको वाचा सबै पुरा गरेँ,” सापकोटाले भने।

चुनाव प्रचारप्रसारमा हिँडेका नेपाली काँग्रेसका उम्मेदवार जंगबहादुर लामा । तस्बिर: अनिश तिवारी

उनले ३३ महिनाको समयमा एक दर्जन रोकिएका सडक र पुलका काम अघि बढाएको दावी गरे । “नाका सहज भयो, कोदारी सडकमा ३ अर्बको ठेक्का आह्वान भएर काम भइरहेको छ, जुरेपीडितको रकम फुकुवा भयो, तेम्बाथान् जोड्ने सडकजस्ता अनेकौ महत्वपुर्ण काम भए, मेरो अघिल्ला काम र यस पटक समृद्ध सिन्धुपाल्चोक, स्मार्ट सिटीजस्ता कार्ययोजना एजेण्डामा राखेको छु,” उनले भने ।

आफु सांसद हुँदा तातोपानी नाका सहज बनाउने, जुरे पहिरोपीडितको रकम फुकुवा, अलपत्र काम सम्पन्न गर्नेदेखि सबै वाचा पुरा गरेको सापकोटाले दाबी गरे ।
सापकोटाले नाका सुचारु भएको बताए पनि कांग्रेसका उम्मेद्वार जंगबहादुर लामा यस अघिका जनप्रतिनिधीले सीमा नाका सुचारु गर्न पहल नगरेको बताउँदै तातोपानी नाकाको मितेरी पुल, लार्चा, तातोपानी, कोदारी र लिपिङसम्म पुगेर आफुलाई मत मागेर फर्किएका छन् । उनले सीमा नाका सहजीकरणलाई बिशेष प्राथामिकतामा राखेको बताए । “तातोपानी नाका खुल्यो तर सर्वसाधारणका लागि कहिल्यै सहज बन्न सकेन । चीनले मनमौजी ढङ्गले नाका बन्द गरिदिँदा यँहाका व्यवसायीले अहिले सास्ती व्यहोरिरहनु परेको छ, त्यसकारण नाका अझ सहज र व्यवस्थित बनाउने जोडसहित अन्य विकासे योजना मेरो एजेन्डा हो,” लामाले भने ।

एमालेको तर्फबाट प्रतिनिधी सभा सदस्यको उम्मेद्वार भएका नेता नेपाल र (रास्वपा)का पराजुलीले पनि तातोपानी नाकाको पुर्ननिर्माण र नाकामा हुने अवरोध अन्त्यलाई चुनाव जित्ने एजेण्डा बनाएका छन् ।

“तातोपानी नाका सहजसहित तेम्बाथान र पाँच पोखरीको सडक, पुनर्निर्माणमा मुद्धा खेपेकाले रोजगारी, समृद्ध जिल्ला, गुणस्तरिय सेवाको वातावरण बनाउने जस्ता मेरो नारा र एजेण्डा हुन्, सबै वैदेशिक यात्राबाट अनुभव बटुलेको छु,” नेपालले भने, “अनुभवलाई व्यवहारमा कार्यान्वयन गर्छु ।”

नेपालले जस्तै रास्वपाका पराजुलीले पनि स्थानीयहरुसंगको सहकार्यमा नाकालाई सहज बनाउन चुनावी प्रतिस्पर्धामा आएको बताए । उनी माथिल्लो तहबाट विकास योजनासहित सडक, कृषि, जलस्रोत, पर्यटन र रोजगारीबारे कार्ययोजना बनाएर अघि बढेको बताउँछन् ।

२०७२ सालमा गएको विनाशकारी भूकम्पको चार वर्षपछि मालवाहक सवारी साधनका लागि खुला गरिएको तातोपानी नाका पूर्णरूपमा खुल्न सकेन । यसअघि १५ जेठ २०७६ देखि आयात र २०७८ वैशाख १८ देखि निर्यात खुला भएको तातोपानी नाका ७२ को भूकम्पपछि आठ वर्ष पाँच महिनापछि मात्र सर्वसाधारणका लागि खुलाइएको थियो । हाल आगलागीका कारण चीनतर्फको भन्सार प्रणाली (सिस्टम) सञ्चालनमा नआएकाले नाका पूर्ण रुपमा खोल्न नसकिएको चिनियाँ पक्षले जानकारी दिएको छ ।

चुनाव प्रचारप्रसारमा हिँडेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत प्रसाद पराजुली । तस्बिर: अनिश तिवारी

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार केही खाली कन्टेनर चीनतर्फ जाने र दैनिक तीन देखि चार कन्टेनर सामान नेपाल भित्रिने भइरहेको भएपनि यो नाकामा नियमित निर्यात आयात भएको छैन । माघ ११ मा झाङ्मु बजारको प्रशासनिक भवनमा भएको नेपाल चीनको सम्पन्न सीमा सुरक्षा बैठक तथा छलफलमा चीनले निर्वाचनमा चासो देखाएको थियो । जसमा नेपाल–चीन सीमा जोड्ने तातोपानी नाका सहज सञ्चालन, सीमा सुरक्षा र नजिकिँदो निर्वाचनका सन्दर्भमा सहजीकरणका विषयमा छलफल भएको प्रजिअ अधिकारीले बताए ।

“छलफलमा सीमा क्षेत्रमा संयुक्त गस्ती, सीमा स्तम्भ संरक्षण, तस्करी नियन्त्रण, गैरकानुनी आवागमन रोकथाम तथा सीमा सुरक्षासम्बन्धी समन्वयलाई प्राथमिकता दिइएको थियो । साथै पर्यटन र व्यापार प्रवद्र्धन, विपद् व्यवस्थापनमा सूचना आदान–प्रदान तथा पूर्वसर्तकता प्रणालीमा सहकार्य गर्ने विषय पनि उठान गरिएको छ,” उनले भने ।

बैठकमा आयात–निर्यातका क्रममा सीमा क्षेत्रमा अवाञ्छित तथा गैरकानुनी गतिविधि हुन नदिन संयुक्त रूपमा काम गर्ने सहमति भएको छ ।

नजिकिँदो प्रतिनिधिसभाको निर्वाचनलाई ध्यानमा राख्दै सीमा क्षेत्रमा आवश्यक सहजीकरण, सुरक्षा समन्वय र आपसी सूचनाको आदान–प्रदानबारे समेत छलफल भएको प्रजिअ अधिकारीले बताए । ’नेपाल–चीन जनस्तरको सम्बन्ध सुदृढ बनाउने, सीमा सुरक्षा व्यवस्थापन, व्यापार र पर्यटन वृद्धिका विषयमा सकारात्मक छलफल भयो,’ उनले भने । हाल नाका बन्दीका कारण चीनतर्फ जानुपर्ने र नेपालतर्फ लिपिङ आउनुपर्ने झन्डै चार सय कन्टेनर सीमा क्षेत्रकै सडकमा अलपत्र परेका छन् । यसले आयातकर्ता र व्यवसायी थप समस्यामा परेका छन् ।

सुनसान सीमा नाकामा छैन चुनावी उत्साह

प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा सीमाका स्थानीयमा भने चुनावी उत्साह छैन् । आगलागीका कारण देखाएर नाका पूर्ण रुपमा संञ्चालनमा आउन सकेको छैन् । सीमा क्षेत्रका प्रमुख बजार क्षेत्र कोदारी, लिपिङ र तातोपानी सुनसान छन् । सीमा जोड्ने सडकको धेरथोर काम भइरहेको छ । तर स्थानीय यहाँ छैनन । अधिकांश काठमाण्डौ बस्छन् । नाका भूकम्प अघिझै खुल्ने र सहज हुने आशामा स्थानीय होटेल व्यवसायी फर्किने क्रममा छन्।

चुनाव प्रचारप्रसारमा हिँडेका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार माधव सापकोटा । तस्बिर: अनिश तिवारी

“सबैले चुनावी एजेन्डा मात्रै बनाएका छन् तर नाका सहज बन्न सकेको देखिदैन । खासा खुल्न सकेको छैन, न निर्यात छ, खासा बजारसम्म नाका नचलेसम्म नाका बन्द भए बराबर हो । नेताले मत माग्ने मेलो गरिरहेका छन् । हामीलाई आफ्नै पीडा छ,” स्थानीय पासाङ शेर्पाले भनिन्।

हाल सीमा छुट्याउने मितेरी पुल नजिकै रहेका करिब दुई दर्जन साना पसलमा पुगेपछि मात्रै सीमावासीले घरायसी सामग्री किन्न पाउँछन् । सिन्धुपाल्चोकका स्थानीयलाई घरायसी खरिद प्रयोजनका लागि मात्र चिनियाँ क्षेत्रसम्म पुग्न अनुमति छ । निर्यात ठप्पप्रायः छ ।

चुनाव प्रचारप्रसारमा हिँडेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सरेश नेपाल । तस्बिर: अनिश तिवारी

राजधानी काठमाडौंबाट चीनको व्यापारिक क्षेत्र खासा १ सय २४ किमि र रसुवागढी १ सय ६४ किलोमिटरको दूरीमा पर्छन् । केरुङभन्दा तातोपानी नाकाबाट सिगात्से ३० किलोमिटर कम दूरीमा पर्छ । चीनको जुनसुकै बजारका या कम्पनीबाट झिकाएका सामग्री भए पनि खासाबाट तातोपानी आइपुग्न कम्तीमा १२ देखि बढीमा १५ दिन लाग्छ । नजिकैको दूरीमा रहेको छिमेकी देश चीनले तातोपानी नाकाप्रति देखाएका यी व्यवहार भने एकदमै टाढाको जस्तै रहेको शेर्पाको बुझाइ छ ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले नाका ठप्प हुँदा करोडौँ रुपैयाँ बराबरका सामग्री बोकेका कन्टेनर रोकिँदा व्यवसायी थप निराश भएकोे बताए । “खासा, न्यालमसहित सीमा क्षेत्रका सडकमा झन्डै चार सय कन्टेनर अलपत्र छन्,” उनले भने । बाह्रबिसे–तातोपानी २६ किलोमिटर सडक खण्ड गर्मीमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने भएकाले कन्टेनर आवतजावत थप जोखिमपूर्ण बनेको छ । मितेरी पुल भन्दा पर बाढीले क्षति पुर्याएका क्वारेन्टाइन, पार्किङस्थल, खासा जोड्ने सडक र सुरुङ पुनर्निर्माणकै क्रममा छन् । यसैबीच चीनले दैनिक ७ देखि १२ कन्टेनर मात्र छाड्न थालेपछि व्यवसायी झन् समस्यामा परेका छन् ।

author

Anish Tiwari

CESIF Fellow