मानवविहीन बन्दै हुम्लाका सीमावर्ती गाउँ

विकास अभाव र जलवायु परिवर्तनका कारण ६७ घर परिवार रहेको हुम्लाको जाङ् गाउँमा अहिले पाँच जना मात्रै छन् । राज्यका कुनै पनि निकायको उपस्थिति नरहेको गाउँमा स्थानीय पलायन भएपछि सीमा सुरक्षाको विषय पनि पेचिलो बनेको छ ।

चैत २०८२ - विकास अभाव र जलवायु परिवर्तनका कारण ६७ घर परिवार रहेको हुम्लाको जाङ् गाउँमा अहिले पाँच जना मात्रै छन् । राज्यका कुनै पनि निकायको उपस्थिति नरहेको गाउँमा स्थानीय पलायन भएपछि सीमा सुरक्षाको विषय पनि पेचिलो बनेको छ ।

समथर फाँट चारैतिरबाट डाँडाकाँडाले घेरिएको गाउँमा गुजुमुजु देखिने घर । गाउँको तलतिर टाँक्चीखोला हुँदै हिमालबाट हिँउ पग्लेर कलकल बग्ने हिमनदी । मनमोहक देखिने गाउँका घरमा बस्ने मानिस छैनन् । गाउँका सबैजसो घरका ढोकामा भोटे ताल्चा झुण्ड्याइएको छ । केही घरका झ्यालमा राखेका सिसा फुटेका छन् ।

बाँझो जग्गामा केही चौरी र घोडाहरुका बथान देखिन्छन् । गाउँमा मान्छे भेट्नै मुस्किल छ । गाउँमा नयाँ मान्छे आउँदा उनीहरुलाई स्वागत गर्ने अनि तिर्खा लाग्दा पानी दिने स्थानीय भेटिदैनन् ।

यो दृश्य हुम्लाको उत्तरी भेगमा अवस्थित नाम्खा गाउँपालिका–६ लिमी उपत्यकाको जाङ् गाउँको हो । उत्तरी छिमेकी चीनसँग सीमा जोडिएको नेपालको हिमालपारीको लिमी उपत्यकाको बारेमा राष्ट्रिय राजनीतिमा चर्चा भइरहन्छ ।

साविकको लिमी गाउँ विकास समिति र हालको नाम्खा गाउँपालिका– ६ मा पर्ने लिमीमा तिल, जाङ् र हल्जी गाउँ छन् । चीनियाँ पक्षले सीमा अतिक्रमण गरेको भन्दै बेलाबेला राष्ट्रिय राजनीतिमा आवाज उठ्छ । लिमी लाप्चा सीमा सुरक्षाका लागि राज्यका कुनै निकायको उपस्थिति छैन । राज्यको तर्फबाट सीमा रक्षा गर्ने भनेका स्थानीय बासिन्दा नै हुन् । तर तिनै बासिन्दा पनि एक पछि अर्को गरेर बस्ती छाड्न थालेपछि नेपाली सीमावर्ती गाउँहरु मानवविहीन बन्दै गएका छन् ।

जाङ् गाउँमा १० वर्ष पहिला ६७ घरधुरी बस्थे । अहिले पाँच जना मात्रै छन् । स्थलगत रिर्पोटिङमा जाङ् पुग्दा ६२ वर्षका काजाङ लामा हस्याँङफस्याङ गर्दै आइपुगे । अनि सोधे, “तपाईहरु जिल्लाबाट सञ्चै आउनुभयो ?”

उनका अनुसार १० वर्ष अघि जाङ् गाउँमा ६७ घरपरिवारको बसोबास रहेको थियो । अहिले ३ घरधुरीमा ५ जना मात्रै गाउँमा छन् । गाउँमा प्रत्येक घरका ढोकामा ताल्चा लगाइएको छ । काजाङले भने, “धनीहरु काठमाडौँ र चीनको ताक्लाकोट गइसके । हामी गरिब मात्रै गाउँमा छौ । गाउँ छोडेर जाने हाम्रो हैसियत छैन ।”

उनी जाङ् गाउँ र हल्जी गाउँको सीमाना र हेप्का गाउँको सीमाना रक्षा गरेर गाउँमा बस्ने बताउँछन् । 

 

गाउँघरमा तालाबन्दी लगाएर मानिसहरू सहर जना थाले पछि गाउँ रित्तिएको छ । तस्बिर: नरजन तामाङ

घरघरमा भोटे ताल्चा

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका ६ को जाङ् गाउँमा घरघरमा तालाबन्दी गरिएको छ । वर्षेनी गाउँ छोडेर शहर र चीनको ताक्लाकोट जान थालेपछि पछिल्लो समय गाउँ नै खाली भएको ६७ वर्षीय सुन्डुप लामाले बताए । अहिले तीन घरधुरी मात्रै छन् ।

सुन्डुप लामाको श्रीमान र श्रीमती र काजाङ लामाको दिदी याङजेन लामा अर्की स्थानीय दावा जाङमु लामा गरी ५ जना मात्रै गाउँमा रहेका छन् ।

गाउँ छोड्नेमा जनप्रतिनीधि पनि

स्थानीय सर्वसाधारण संगै नाम्खा गाउँपालिका ६ को जाङ् गाउँबाट कार्यपालिका सदस्य पुटी लामाले पनि गाउँ छोडेकी छन् । गत वर्षको असार २ मा वडा सदस्यबाट राजीनामा दिएर उनी गाउँ छोडेर हिडेको नाम्खा गाउँपालिका ६ का वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए । “अहिले हेर्दा तीन घरधुरीका ५ जना मात्रै छन्, कुनै बेला लिमीको अस्तित्व नै मेटिने होकी भन्ने चिन्ता छ,” वडाध्यक्ष तामाङले भने, “राज्यले लिमेली जनतालाई हेपिरहेको छ ।”

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका –६ को जाङ् गाउँमा आलु र उवा मात्रै फल्छ । दाल, चामल, तेल किनेर खार्नुपर्छ । गाउँमा उत्पादन हुने उवाले ६ महिना पनि नधान्ने नाम्खा गाउँपालिका–६ का ६७ वर्षीय सुन्डुप लामाले बताए । जाङ्मा सरकारी अनुदानको चामल र नुन चाहिएको बेला पुग्दैन । चिनीयाँ नाका हिल्सा हुँदै ताक्लाकोट पुगेर किनेर अत्यावश्यक नुन, तेल र चामलको जोहो गर्नुपर्ने बाध्यता रहेको लामाले बताए । यहाँका नागरिकहरुले ताक्लाकोटबाट चामल, पिठो, मैदा, भोटे चिया र घिउ लगायतका दैनिक उपभोग्य वस्तु किन्न बाध्यता रहेको उनको भनाई छ ।

सीमा रक्षक गाउँ खाली

बेलाबेला चिनियाँ पक्षले सीमा अतिक्रमण गरेको भन्दै संसदमा समेत आवाज उठ्छ । तर लिमी लाप्चाको सीमा सुरक्षाका लागि राज्यका निकाय छैनन् । बरु सीमा रक्षकका रुपमा रहेका जाङ् गाउँ रित्तिँदै गएको छ । शिक्षा, स्वास्थ्य, खाद्यान्न लगायतका अत्यावश्क सेवा र वस्तु समेत अभाव हुन थालेपछि स्थानीय गाँउ छोडेर सहर केन्द्रित हुन थाले भने केही स्थानीय नागरिकहरु चिनको ताक्लाकोटमा रोजगारी र व्यवसाय गर्न हिडे । छोराछोरी पढाउन र उपचार गर्न शहर धाउनै पर्ने बाध्यता रहको ५० वर्षीय दावा जाङमु लामाले भनिन् । उनका अनुसार जाङ्का धेरै बासिन्दा काठमाडौं, दिल्ली र चीनको ताक्लाकोट रोजगारीमा गएपछि गाउँ नै रित्तिँदै गएको छ ।

स्वास्थ्य सुविधाको अभाव, सदरमुकाम पुग्न तीन दिन

जाङ् गाउँ आधारभुत स्वास्थ्य सेवाबाट पनि वञ्चित छ । यहा स्वास्थ्य इकाई समेत छैन । हल्जी गाउँमा रहेको सामुदायिक स्वास्थ्य इकाइ पनि आउजाउ गर्न चार घण्टा लाग्छ । त्यहाँ पनि अहेब र अनमी मात्र कार्यरत छन् । चिकित्सक सहितको सेवाका लागि जिल्ला सदरमुकाम सिमकोट पुग्नुपर्छ, जहाँ पुग्न हिँडेर तीन दिन लाग्छ । १२ महिनामा दुई महिना मात्रै जीप चल्छन् । अरु बेला पैदल हिडेर नै जानुपर्छ । जिल्ला अस्पताल सिमकोटमा उपचार संभव नभए हेलिकप्टर चार्टर गरेर नेपालगञ्ज वा काठमाडौं जानुपर्ने बाध्यता रहेको स्थानी फूर्वू लामाले बताए । आर्थिक अवस्था कमजोर भएकाहरु लाखौ रुपैयाँ खर्च गरेर हेलिकप्टर चार्टर गर्न सक्दैनन् ।

सिमकोट विमानस्थलमा हवाईजहाजको सुविधा नियमित छैन । मौसम खराब भए हप्तौसम्म विमानस्थल बन्द हुन्छ । जहाज आउने नआउने केही टुङ्गो हुदैन । सदरमुकाम सिमकोटदेखि लिमीको कच्ची सडक पनि पहिरो तथा खोलामा बाढी आएर बेलाबेलामा अवरुद्ध हुने गरेको लामाले बताए ।

विभिन्न कारणवश मानिसहरू गाउँ छोड्दै गएपछि मानवविहीन भएको हुम्लाको सीमावर्ती क्षेत्रको गाउँ । तस्बिर: नरजन तामाङ

आधारभूत विद्यालय पनि बन्द

जाङ गाउँ रित्तिन थालेपछि कक्षा ३ सम्म पढाई हुने भृकुटी आधारभुत विद्यालय पनि बन्द भएको छ । स्थानीयले गाउँ छाड्न थालेपछि आधारभुत विद्यालय बन्द भएको हो । भृकुटी आधारभुत विद्यालय बन्द भएपछि शिक्षक राजबहादुर ऐडी केर्मीमा रहेको तातोपानी आधारभुत विद्यालय, अर्का शिक्षक सन्तबहादुर रोकाया हल्जी र सुनखानीमा सरुवा भएका छन् ।

तिल गाउँ पनि रित्तिदै

पहाडको दोभानमा रहेको झूरुप्प परेको बस्ती हो तिलगाउँ । यहाँको भूबनोट हेर्दा प्राकृतिक विपद्का बेला आइपर्ने संकट सम्झेर आङ नै जिरिङ हुन्छ तिल गाउँका स्थानीयलाई । गत जेठ १ गते अचानक राती १० बजे हिमपहिरो आयो । नाम्खा गाउँपालिका ६ तिल गाउँका छेवाङ जाङ लामालाई त्यो दिन भयावह स्थितीले पिरोलेको छ । नजिकै स्वा खाङ लुम्पा नामक खोलामा हिमताल फुटेपछि गाउँ नै विस्थापित भएको लामाले बताइन् । जलवायु परिवर्तनले ५३५० मिटरमा रहेको हिमताल फुटेपछि यो गाउँ पनि जोखिममा छ । २१ घरधुरी भएको तिल गाउँमा पनि १० देखि ५ घरधुरीमा मात्रै गाउँमा छन् । अधिकाश चीनको ताक्लाकोट रोजगारीमा गइसकेको कन्जोक फूर्वू लामाले जानकारी दिए । यो गाउँ पनि लिमीको जाङ् गाउँ जस्तै रित्तिदै छ ।

ऐतिहासिक गुम्बा जोगाउने अभियान

जाङ् गाउँ जस्तै छिमेकमा भएका तिल र हल्जी गाउँबाट पनि स्थानीयहरु गाउँ छाडेर हिड्न थालेपछि यहाँका स्थानीय अगुवाले गाउँमा विकास निर्माणको कामलाई प्राथामिकतामा राख्न जोड दिएका छन् । सोही प्रयास स्वरुप एक सय वर्ष पुरानो हल्जी गुम्बाको संरक्षण गर्न हल्जी गाउँका स्थानीय लागि परेका छन् । यहाँका ९६ घरधुरी हल्जी गुम्बाको संरक्षण गरेर बसेका छन् ।

नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङको अध्यक्षतामा गत मंसिर १ गते बसेको बैठकले बस्ती विस्तादेखि माटोर बाटो बिस्तार र नेपाल टेलिकमको फोर जी टावर बिस्तार लगायतका माग हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीलाई बुझाएका थिए ।

विभिन्न कारणवश मानिसहरू गाउँ छोड्दै गएपछि मानवविहीन भएको हुम्लाको सीमावर्ती क्षेत्रको गाउँ । तस्बिर: नरजन तामाङ

लिमीको तिल गाउँमा सिचाई योजना, हल्जी गाउँमा कृषि पशुपालन, तरकारी खेती र जल विद्युत योजना र टाक्चीमा बस्ती विस्तार र खानेपानी योजना र सोलार कार्यक्रम उपलब्ध गराईदिन जिल्ला स्थित कार्यालयमा माग पत्र बुझाएको वडा अध्यक्ष पाल्जोर तामाङको भनाई छ ।

नाम्खा गाउँपालिका वडा नंं ६ का वडाध्यक्ष पाल्जोर तामाङको अध्यक्षतामा बसेको बैठकले विभिन्न प्रस्ताव माथि छलफल गर्दै । तस्बिर: नरजन तामाङ

author

Narjan Tamang

CESIF Fellow