संखुवासभा
जेठ २०८२ - एकदशक अघिसम्म रुखमा फलेका रुद्राक्षको मूल्य थिएन । विशेष गरी भारतमा बिक्री हुने रुद्राक्षका दाना पछिल्लो एकदशक यता चीनमा बिक्री हुन थालेको छ । चीनियाँ व्यापारीले खेर गइरहेको विशेष गरी साना मुख गरेका रुद्राक्ष किन्न थालेपछि यसले बजार पाएको छ । चिनियाँ व्यापारीले सबैभन्दा धेरै ५ वटा मुख गरेको रुद्राक्ष किनेर लैजान्छन् । रुखमै खेर जाने रुद्राक्षले एक दशकयता धेरै मूल्य पाउन थालेपछि कृषक पनि खुसी छन् । पाँचखपन नगरपालिका स्याबुनका कृषक उत्तम कटुवालको समूहले गएको मंसिरमा २१ मुख भएको रुद्राक्ष ६० लाखमा बिक्री गर्यो । ठूलो मुख भएको र करिब ३५ एमएम भन्दा ठूलो भएकाले रुद्राक्ष भारतका व्यापारीले खरिद गरे । यो खालका रुद्राक्ष संखुवासभा र भोजपुरको दिङ्ला क्षेत्रमा २० वटा फलेको उनले बताए । ठूला मुखदार रुद्राक्ष चीनतिर बिक्री नहुने भएकाले उनीहरुले भारत पुर्याएको बताए ।
साना मुखका रुद्राक्ष विशेष गरि चीनियाँ व्यापारीले सजावटका समाग्री बनाउनका लागि खरिद गरेर लैजाने गरेका छन् । कोरोना भन्दाअघि रुद्राक्षको मूल्य धेरै रामो थियो', व्यापारी कटुवाल भन्छन्, 'पहिलेपहिले खुबै बिक्थ्यो, अहिले केही घटेको छ । खाँदबारीका रुद्राक्ष किसान राजकुमार कटुवालका अनुसार उनी एकदशक अघिसम्म घर छेउमा फलेको दाना टिप्थे र गाउँमै आएका व्यापारीलाई बेच्थे । फूल खेल्नुअघि नै उनको रुद्राक्षको रुखको मोलमोलाई हुन्थ्यो । लगातार तीन वर्षसम्म पनि रुद्राक्षको बोट ठेक्कामा लगाउँथे । यो क्रम झण्डै ५ वर्ष भन्दा बढीसम्म चल्यो । चीनका व्यापारी गाउँघर पुग्दा तल्लो तहका रुद्राक्ष किसानले दानाको उच्च मूल्य पाएका थिए । किसानले सामान्य रुद्राक्षको रुखलाई १२ वर्षको १२ लाखसम्ममा बिक्री गरेको उनले बताए ।
कोरोना कहर सुरु भएपछि भने चिनियाँ व्यापारी आउनेक्रम केही पातलियो । रुद्राक्षको व्यापार पनि क्रमशः घट्दै गयो । कोरोनाको डरले झण्डै ३ वर्ष चीनका व्यापारी खाँदबारीसम्म आउन सकेनन् । भण्डार गरेर राखेको रुद्राक्ष थोरै दाममा भएपनि किसान र व्यापारी बेच्न तयार भए । कोरोना अघि ५ मुखे रुद्राक्ष ५० हजार रुपैयाँसम्म प्रतिकिलो बेचेका किसान र व्यापारीले कोरोनाका बेला ५ हजारदेखि १० हजारसम्ममा बेच्न परेको थियो ।
सुरुसुरुमा प्राकृतिक रुपमा फलेका रुद्राक्ष मनपराएका चिनियाँ व्यापारीले पछिल्लोपटक भने औषधि हालेको र थेप्चो रुद्राक्ष मनपराउन थाले । २०७२ सालतिर चिनियाँ व्यापारी खाँदबारीसम्म रुद्राक्ष किन्न आउने गरेका थिए । सुरुसुरुमा उनीहरुले रुद्राक्ष लैजाँदा सस्तो भएपनि स्वरुप नबिगारिएका मात्र लैजान्थे । २–३ वर्षसम्म यो क्रम चलिरह्यो । प्राकृतिक रुपमा फलेका रुद्राक्षका दानामा सामान्य खालको काँडा हुन्छ । यो प्रकारको रुद्राक्ष बिक्री नभएपछि फलफूलमा लगाउने औषधि छर्किएर रुद्राक्षलाई चिल्लो बनाउन थालियो । कटुवालकाअनुसार यसप्रकारका रुद्राक्षले ६–७ वर्ष राम्रै बजार लियो । कोरोनाअघि हरेक वर्ष साउनदेखि असोजसम्मको सिजनमा खाँदबारी र तुम्लिङटार बजारमा ३ सय जनासम्म चिनियाँ व्यापारी रुद्राक्ष खरिदका लागि आउने गरेको उनको भनाई छ । कोरोना पछि करिब २ वर्ष रुद्राक्षले मूल्य पाएन', उनले भने, 'त्यो बेला चिनियाँ व्यापारी आएनन् । ठूला मुखदार रुद्राक्ष भने भारतमा बिक्री भए, साना रुद्राक्ष त्यसै खेर गए ।'
चीनमा रुद्राक्ष निर्यात हुन थालेपछि संखुवासभाको खाँदबारी लगायतका बजार र भोजपुरको दिङ्ला क्षेत्रमा कृषक, नेपाली व्यापारी र चिनियाँ व्यापारीहरुको चहलपहल बढेको थियो । वार्षिक रुपमा चिनियाँलेमात्रै १ अर्ब बढीको रुद्राक्ष किनेर लैजाने गरेका थिए । यसले यो भेगका कृषक र व्यापारीलाई धेरै फाईदा पुगेको थियो ।
चीन पुगेको रुद्राक्ष विशेष गरी सजावटमा प्रयोग हुने भएपछि यसको माग धेरै बढेको व्यापारी बताउँछन् । माला, हातमा लगाउने ब्रासलेट, ज्याकेट लगायत घरयासी सजावटका सामाग्रीमा रुद्राक्ष प्रयोग हुने गरेको व्यापारी बताउँछन् । चीनमा यसको व्यापार बढेकाले रुद्राक्ष टिप्ने र संकलन गर्ने समयमा चिनियाँ व्यापारीहरु गाउँगाउँ तथा प्रशोधन केन्द्रमा गएर खरिद गर्ने गरेका छन् ।
रुद्राक्ष बिक्री भएपनि ३ वर्ष यता मूल्यमा गिरावट अएको छ । बजार सुस्ताउँदै जाँदा यसको प्रत्यक्ष असर किसान र व्यापारीले भोग्दै आएका छन् । तर, वर्षेनी खस्किँदै गएको रुद्राक्षको कारोबारबाट यसवर्ष भने राम्रै मूल्य पाउने आशा लिएका छन् । चिनियाँ व्यापारी आउँदा होटल व्यवसाय पनि राम्रो चलेको थियो । यो वर्ष सोचेजति चिनियाँ व्यापारी आएनन्,' उनले भने, 'व्यापार घट्दो रुपमा छ ।'
सिजनका बेला ३ सय बढी चिनियाँ व्यापारी खाँदबारी, तुम्लिङटार र भोजपुरको दिङ्ला क्षेत्रमा भेला भएर रुद्राक्ष खरिद बिक्री गर्थे । कोरोनापछि चिनियाँ व्यापारीको संख्या केही घटेको छ । तर आएका व्यापारीहरु धेरैजसो किसानको घरैमा पुग्छन् । केही चाहिँ स्थानीय व्यापारीसँग सम्झौता गरेर किनबेच गर्छन् ।
सामान्य मूल्य भएपनि राम्रो पाँचमुखे र मुख आकर्षक भए मूल्य उच्च पाइन्छ । यो वर्षपनि राम्रो मुखदार रुद्राक्ष चीन निर्यात भएको छ । ‘रुद्राक्षबाट धेरै किसानहरूले राम्रो आम्दानी गर्दै आएका छन्', रुद्राक्ष संघका केन्द्रीय सदस्य मनोज कटुवाल भन्छन्, 'यसपटक पनि कृषकहरूको आम्दानी रुद्राक्षका कारण वृद्धि भएको छ ।'
रुद्राक्षको आकार, बनावट तथा त्यसको प्रकृति हेरेर किनबेच हुने भएकाले मूल्य यति नै पर्छ भनेर कसैले भन्न सक्दैनन् । 'रुद्राक्षको मूल्य थोरै भए पनि किनबेचमा भने औसत छ । राम्रो रुद्राक्षमा चिनियाँ व्यापारीको लगाव घटेको छैन', उनले भने, 'पछिल्लो समय राम्रो खालका रुद्राक्षलाई चिनियाँ व्यापारीले मूल्य दिएका छन् । कामै नलाग्ने र साना आकारुको रुद्राक्षले मूल्य पाएका छैनन् ।' चिनियाँ व्यापारी अहिले क्वान्टिटी हैन, क्वालिटी भएको किनेर लैजान्छन् । एउटा ५ मुखे रुद्राक्षका दानाको ६० देखि एक हजारसम्म मूल्य तिरेर चिनियाँ व्यापारीले लगेका छन् ।
कुनको मूल्य कति ?
यो वर्ष १० र ११ मुखे १२ देखि १५ सय, १३ मुखेलाई ३ हजार, १४ लाई २५ देखि ३० हजार र १५ मुखेलाई २० देखि २५ हजार रुपैयाँसम्ममा रुद्राक्षको खरिदबिक्री भएको खाँदबारीका रुद्राक्ष व्यपारी राजीव श्रेष्ठले बताए । उनका अनुसार अधिकांश व्यापारीहरुले पहिला नै रुद्राक्षको बगैँचा ठेक्का लिएर पाँच मुखे दाना राम्रो उत्पादन गर्ने सिलसिलामा औषधिको प्रयोग गर्छन् । कृषकसँग बगैँचा व्यवसायीले ठेक्का गर्ने काम यो वर्ष पनि सुरु भइसकेको छ । अहिले रुद्राक्षको बगैँचाको ठेक्काको सिजन हो । उनकाअनुसार औषधि प्रयोग गरेका क्लिप लगाएर थेप्चा बनाएका दानाको मूल्य उच्च छ ।
गतवर्ष ५ मुखे रुद्राक्ष प्रति गोटा ११ र १२ सय रुपैयाँका दरले पनि बिक्री भयो', उनले भने, 'केजीको त्यस्ता दान ५० हजारदेखि डेढ लाखसम्म पनि कारोबार हुने गरेको छ, तर, गुणस्तर चाहिँ हुनुपर्छ । यो खालको दाना चीनका व्यापारीले नै लैजाने हुन् । यो वर्ष पनि पाँच मुखे रुद्राक्षमा यो मूल्य कायमै रहने देखिन्छ ।
अघिल्लो वर्ष सबैभन्दा बढी २१ मुखे रुद्राक्षको कारोबार प्रतिगोटा न्यूनतम २८ लाखदेखि ७५ लाख रुपैयाँसम्म भएको व्यापारीहरु बताउँछन् । अन्य मुखेको तुलनामा २१ मुखे बढी चर्चित छ । यो भारतीय व्यापारीले किन्ने भएकाले मूल्य पनि महँगो पर्छ ।
रुद्राक्षका दानालाई थेप्चो बनाएर आकर्षित बनाउनको लागि चीनबाट क्लिप ल्याएर अधिकांशले प्रयोग गर्ने गरेका छन् । क्लिप चीनबाटै ल्याईन्छ । चीनका व्यापारीले एउटा क्लिपको ३० रुपैयाँसम्ममा बिक्री गर्छन् । योपटक करिब ३० लाख दानामा क्लिप लगाइएको श्रेष्ठले बताए । उनका अनुसार बिक्ने पाँच मुखे ६० देखि ७० प्रतिशत रुद्राक्षको बोटमा व्यवसायीहरू आफैंले क्लिप लगाएका हुन् ।
क्लिप लगाएपछि चिनियाँ व्यापारीले सामान्यको भन्दा १० गुनासम्म मूल्य दिने गरेका छन् । क्लिप लगाएको पाँच मुखे रुद्राक्ष यसपटक प्रतिकेजी सस्तोमा ७ देखि ८ हजार र बढीमा ६० देखि ७० हजार रुपैयाँसम्ममा बिक्री भएको व्यापारीको भनाई छ ।
धार्मिक हिसाबले निकै महत्त्वपूर्ण मानिने रुद्राक्ष चीन र भारत लगायतका मुलुकमा निकै प्रख्यात छ । १५ मुखे रुद्राक्ष न्यूनतम ३० हजारदेखि अधिकतम २ लाख र १६ मुखे रुद्राक्ष ४० हजारदेखि ३ लाख रुपैयाँसम्म स्थानीय बजारमा किनबेच हुने गरेको छ । उनकाअनुसार १७ मुखे रुद्राक्षको खरिदबिक्री एक लाख ६० हजारदेखि ६ लाख रुपैयाँसम्म र १८ मुखेको २ लाख ३० हजारदेखि ९ लाख रुपैयाँसम्म बिक्री भएको छ । यसैगरी १९ मुखे रुद्राक्षको चार लाखदेखि ११ लाख रुपैयाँसम्म र २० मुखेको ५ लाखदेखि १३ लाख रुपैयाँसम्म बिक्री हुने गरेको उनको भनाई छ । 'यो निर्यात हुने वस्तु भएकाले यसले प्रत्यक्षरुपमा विदेशी मुद्रा भित्राउने गर्छ,' उनले भने ।
ढुवानी र कर
रुद्राक्ष किनिसकेपछि चिनियाँ व्यापारीले खाँदबारीबाट काठमाडौंसम्म सार्वजनिक सवारीसाधनमा ढुवानी गरेर लैजाने गरेका छन् । राजधानी पुर्याएपछि भने उनीहरुले सिपिङ कार्गो गरेर चीनसम्म पुर्याउँछन् । राजधानीमा भएका ढुवानी कम्पनीहरुले रुद्राक्ष चीनसम्म पुर्याइदिने गरेका छन् ।
डिभिजन वन कार्यालयले निकासी पुर्जी दिएपछि रुद्राक्ष जिल्ला बाहिर लैजान पाईने वन अधिकृत चन्द्र राईले बताए । उनका अनुसार यो वर्षको १० महिनामा १० लाख ११ हजार किलो रुद्राक्ष जिल्ला बाहिरिएको छ । वनले दश रुपैयाँ किलो निकासी कर लिने गरेको छ । त्यसमा १ रुपैयाँ ३० पैसा भ्याट र पच्चिस पैसा आयकर लिने गरिएको उनले बताए । स्थानीय तहमा व्यवसाय दर्ता भएपछि आन्तरिक राजस्व कार्यालयबाट प्यान या भ्याटमा दर्ता भएपछि रुद्राक्षको कारोबार गर्न पाईन्छ । खरिद गरिएको बिलका आधारमा चीनका व्यवसायीले रुद्राक्ष नेपालबाट लैजाने गरेका छन् ।
संखुवासभा र भोजपुरका कृषकको मुख्य आम्दानीको स्रोत मानिएको रुद्राक्ष षडानन्द नगरपालिकाको नेपालेडाँडा, कुदाकाउले, देउराली, मूलपानी, केउरेनीपानी लगायत विभिन्न ठाउँमा खेती हुन्छ । संखुवासभाको खाँदबारी, पाँचखपन, सभापोखरी लगायतका स्थानीय तहमा वर्षेनी उत्पादन हुने रुद्राक्षको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै रहेको रुद्राक्ष संघका जिल्ला अध्यक्ष निलमणि न्यौपानेले बताए । बढ्दो माग र प्रत्यक्ष विदेशी मुद्रा भित्राउँदै आएको रुद्राक्ष व्यवसायप्रति सरकारको ध्यान नपुगेको उनको भनाई छ । संखुवासभा र भोजपुरबाट गत वर्ष ५ मुखे रुद्राक्ष साढे १५ लाख केजीभन्दा बढी चीन र भारत निर्यात भएको व्यापारीहरु बताउँछन् । रुद्राक्ष करिब ४ सय मिटरदेखि झण्डै १८ सय मिटरको उचाईमा खेति गर्न सकिन्छ । यसका लागि मट्याइलो, पारिलो र घमाइलो जग्गा उपयुक्त मानिन्छ । यसको रुख २० मिटरसम्म अग्लो हुन्छ ।
