सीमा अवरोधले खर्कमै थन्किए पशुचौपाया, ताप्लेजुङका पशुपालक चिन्तामा

ताप्लेजुङ, जेठ २०८२ -  'हिमाली रानी'को रुपमा परिचित हिउँ चितुवा नेपाल, भारत र चीनको सिमानामा निर्वाध आवत जावत गर्छन् । उनीहरुको हिँडडुलको अध्ययन गर्न विश्व वन्यजन्तु कोष नेपालले लाखौं रुपैयाँ खर्च गर्दै आएको छ । पासोमा पार्ने, बेहोस बनाउने, स्याटलाइट झुण्ड्याउने र कता विचरण गर्छन् अध्ययन गर्ने गरिएको छ । तर यस्तै हिमाली क्षेत्रमा पाइने र पालिने याकचौंरी लगायतका घरपालुवा पशुचौपायाका लागि भने देशका भौगोलिक सिमानाहरु अवरोधक छन् । थाहै नपाई सिमानापारी पुगेकाहरु फर्काइन्छन् । योक्रम बर्षौ‌ंदेखि चल्दै आएको छ ।

तीन पुस्तादेखि चौरी र याक पाल्दै आएका फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलाका चुङदाक शेर्पासँग अहिले दुई सय बढी पशुचौपाया (चौंरी र याक) छन् । यी मध्ये वयस्क उमेरका एक सयको हाराहारीमा छन् । उमेर ढल्किँदै गएका र बाच्छाबाच्छी गरी थप एक सयको हाराहारीमा छन् । जन्मिएका बाच्छाबाच्छी हुर्काउने, बढाउने, दुध दुहुने, घिउ, छुर्पी बनाउने, बिक्री गर्ने वयस्कलाई भारी बोकाउने प्रयोजन चुङदाकले गर्दै आएका थिए । यीनै प्रयोजनका लागि पशुचौपाया पाल्ने गरिएको छ । यो यहाँका बासिन्दाको पुर्ख्यौली पेशा पनि हो । तर अहिले भारी बोकाउने प्रयोजन बन्द जस्तै भएको छ । यातायातको विस्तारले चौंरीलाई भारी बोकाउने क्रम कम भएको छ । घिउ छुर्पीको व्यापार सामान्य छ । पशुचौपाया नै बिक्री भने चार वर्षयता ठप्प छ ।

बाबुबाजेको बिंडो थामेका चुङदाकले पालेका आधाजति पशु बिक्रीका लागि योग्य भइसकेका छन् । तर बिक्रीका लागि बजार छैन । उनीभन्दा अघिल्लो पुस्ताको ब्यापार तिब्बतको बजार थियो । याक चौंरी धपाएर जाने बाबुबाजे त्यसको बदलामा चामल, पिठो, नुन, मसला लिएर फर्कन्थे । बाबुबाजेको पालामा सिमानाले छेकेको स्मरण उनलाई छैन ।

फक्ताङलुङ गाउँपालिका-७ का निवर्तमान वडाध्यक्ष छेतेन शेर्पा भोटे पशुपालकमा निराशा बढेको बताउँछन् । 'कोरोनाले सिमानाका बन्द हुँदासम्म उनीहरुमा आशा थियो । नाका खुलेपछि सबै खुल्छ भन्ने थियो । तर नाका खुलेर पनि पशुचौपायाको आयात निर्यात नखुलेपछि चिन्ता थपिएको छ' छेतेनले भने ।

छेतेनका अनुसार आजभन्दा २५ वर्ष अघि सन् २००० तिर नेपाली पशुलाई भ्याक्सिन हानेर पनि तिब्बत प्रशासनले लैजाने गरेको थियो । नेपाली र तिब्बतका ब्यापारीले समन्वय गरेर नेपालका खर्कबाट छोडिदिने र तिब्बत पुगेपछि त्यहाँका व्यापारीले लिने गरेका थिए । तर अहिले त्यो प्रक्रिया पनि ठप्प छ ।

‘कोरानापछि बन्द भएको द्विदेशीय नाका खुलाउन संखुवासभाको किमाथांका नाका पुगेका तत्कालीन परराष्ट्रमन्त्रीदेखि सिमावर्ती जिल्लाका प्रमुख जिल्ला अधिकारीको सीमा बैठकमा नेपाली पशुपालक किसानले पशुचौपाया आयात निर्यातको प्रसंग उठाउने गरेका छन्,' छेतेनले भने, 'तर सकारात्मक जवाफ पाएका छैनन् ।' नेपालबाट निर्यात हुने पहिलो जडिबुटी र दोस्रो पशुचौपाया रहेको स्थानीय बताउँछन् । तर तिब्बत प्रशासनले पशुचौपाया चाहिँ पठाउन हुन्न भनेको स्थानीय प्रशासनले जनाएको छ ।

याकचौंरी पशुपालक संघ ताप्लेजुङका अध्यक्ष नुपु शेर्पाका आफ्नै गोठमा यतिबेला ८० वटा याक र १० वटा चौंरी छन् । चौंरी भारी बोकाउने र याक हुर्काएर बिक्री गर्ने उद्देश्य हो । नगद साट्न गरेको व्यवसायबाट चार वर्षयता रुपैयाँ पैसा समाउन पाएका छैनन् । ‘हरेकवर्ष २५ देखि ३० वटासम्म बाच्छाबाच्छी जन्मन्छन् र थपिन्छन् । त्यही वर्ष १५ देखि २० वटासम्म मर्छन् । 'कुनै रोगले मर्छन्, कुनै वन्यजन्तुको आक्रमणबाट मर्छन्, कुनै बुढो भएर मर्छन्,' नुपुले भने, ‘पैसा साट्न गरेको व्यवसायले जन्माउने र मार्ने खेलोमात्रै हुन थालेको छ ।'

वन्यजन्तुको आक्रमणमा पर्नु, रोग लागेर मर्नु विपत्तिको रुपमा रहेको छ । बिक्री हुने पशु बुढो भएर मर्न थालेको उनले सुनाए । घाम, पानी, झरी, चिसोको सामना गरेर पालेका पशुचौपाया खाल्टामा पुर्नुपर्ने मात्रै भए यसबाट धेरैले हात धुने उनको दाबी छ । 'लेकमा जंगली जस्तै भएर बस्यो, पैसा साट्ने बेलाको पशु खाल्टो खनेर गाड्नु पर्दा त्योभन्दा पीडादायी क्षण के होला ?' उनी प्रश्न गर्छन् । किसानका अनुसार १५/१६ वर्ष कटेपछिको पशुचौपाया घाँस खान कठिन मान्ने, दुब्लाउने, हिँड्न नरुचाउने, गन्तव्यमा नपुग्ने, जंगली जनावरको निसानामा चाँडो पर्ने हुन्छ ।

३ हजार मिटरमाथीको उचाइमा चौंरी, याक पालिन्छ । चैत वैशाखदेखि भदौ असोजताका नेपाल, चीन, भारत सीमाना सम्म पुऱ्याउँछन् । असोज कार्तिकदेखि माघ फागुनसम्म संखुवासभाका खर्कदेखि तेह्रथुम र संखुवासभाको संगमस्थल गुफापोखरी सम्म डोहोऱ्याउँछन् । हिउँ, पानी, पहिरो छल्दै छलाउँदै एकपछि अर्को डाँडामा पुग्छन् । गोठ राख्नकालागि एक ठाउँमा वार्षिक २५ देखि ६० हजार सम्म दिएर साहुको खर्कपनि किन्नु पर्ने बाध्यता छ । 'झट्ट हेर्दा गोठमा खायो बस्यो, चौंरी डुलायो आनन्द जस्तो देखिन्छ,' ओलाङचुङगोलाका नुपु शेर्पाले भने, 'अरु पीडा त छँदै थियो बजार समस्याको जटिल पीडा थपियो ।' तर उनी आफैंले भने सन्तुष्टि लिन सकेका छैनन् ।

सीमा अवरोधले खर्कमै थन्किए पशुचौपाया, ताप्लेजुङका पशुपालक चिन्तामा पूर्वका ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु लगायतका हिमाली तथा पहाडी जिल्लामा पालिने पशुचौपाया चीनको तिब्बत र भारतको सिक्किममा किनबेच हुन्थ्यो । चीनको तिब्बत, नेपाल, भारतको सिक्किमका खर्कमा पालिने चौंरी याकको आयात निर्यात दोहोरो हुन्थ्यो । खासगरी नेपाली किसानले खर्कमा पाल्ने र ती देशमा बिक्री गरेर नगद आर्जन गर्दै आएका थिए । कोरोना संक्रमणपछि त्यो ठप्प छ । मानिस आवतजावत र अन्य व्यापारिक प्रयोजनकालागि सीमानाका खुलेपनि पशुचौपायाको आयात निर्यात ठप्प छ । सिमावर्ती जिल्ला भएकाले पाँचथर, इलामका पशुपालकले भारतको सिक्किममा पनि बिक्री गर्छन् । तर ठूलो मात्रामा नभएको किसान बताउँछन् । 

अहिले चीनको डिङजे काउण्टीमा चलेको मूल्यअनुसार भए एउटा याक चौंरी न्यूनतम ८० हजार देखि १ लाख ३० हजार रुपैयाँ सम्ममा बिक्री हुन्छन् । सरदर मूल्य राख्ने हो भनेपनि प्रतिगोटा एक लाखका दरले बिक्री हुन्छ । यो मूल्य अनुसार भए एकजना किसानले तीन करोडसम्म आम्दानी हुने चौंरी याक पालेका छन् । किसानले चौंरी र याक गरी दुई प्रजाति पाल्छन् । चौंरी सदाउन सजिलो हुन्छ । तुलनात्मक रुपमा अलिक लाटो स्वभावको हुन्छ । 
। त्यसैले यसलाई भारी बोकाउन प्रयोग हुन्थ्यो । यो ३५ सय मिटर भन्दा तलको क्षेत्रमा फस्टाउँछ र बस्न रुचाउँछ । याक चङ्ख हुन्छ । यसलाई सदाएर भारी बोकाउने जस्ता काम लगाउन गाह्रो हुन्छ । यो ३५ सय मिटर माथीको क्षेत्रमा फस्टाउँछ । याक र चौंरी दुहेर दही, मोही, घिउ, छुर्पी बनाउन सकिन्छ । हिमाली क्षेत्रमा दुधको बजार नभएकाले जमाएर मोही पार्ने, मोहीको छुर्पी बनाउने, घिउ निकाल्ने मात्रै गर्न सकिन्छ । घिउ, छुर्पी बिक्री गरेको पैसाले नुन, भूस, खर्क किनेर चलाउनु पर्छ । 

चौरी बिहान बेलुका दुई पटक दुहुन मिल्छ । याक बिहान अर्थात् दिनमा एक पटक मात्रै दुहुने हो । एउटा याकले तीन लिटरसम्म दुध दिन्छ । चौंरीले भने चार लिटरसम्म दिन्छ । किसान भन्छन्, ‘१२/१३ वटा चौरी याकको दुध जमाएर मोही पार्दा जम्मा एक किलो मात्रै घिउ निस्कन्छ । एक किलो घिउको मूल्य एक हजार रुपैयाँ रहेको छ । तर घिउको बजार भने राम्रो भएको पशु पालक बताउँछन् । छुर्पी भने सदरमुकाम फुङलिङ पठाउनु पर्छ । बिक्री भएपछि मात्रै पाँच छ महिनापछि बल्ल पैसा पाइन्छ ।'

पशुसेवा कार्यालय ताप्लेजुङको तथ्यांक अनुसार जिल्लामा ८ हजार ५ सयको सङ्ख्यामा याकचौंरी छन् । सबैभन्दा बढी मिक्वाखोला गाउँपालिका-५ को पापुङ र ४ को साँवाका गोठमा पालिन्छ । यो पालिकामा ३५ सयको सङ्ख्यामा रहेको तथ्यांक छ । त्यसपछि फक्ताङलुङ गाउँपालिकामा २५ सयको सङ्ख्यामा रहेको छ । बाँकी मेरिङदेन, मैवाखोला, सिदिङवा र सिरिजङगा गाउँपालिकामा छन् । फुङलिङ नगरपालिकामा पनि दुईजना किसानले गरी झण्डै एक सयको सङख्यामा पालेको महासंघको तथ्यांङ्कमा उल्लेख छ । चीनको बजार खुले पाँच हजार चौंरी याक तत्काल बिक्री गर्ने तयारी अवस्थाका रहेको संघले जनाएको छ । चीनले भने नश्ल सुधारदेखि दुध,-मासुका लागि खरिद गर्ने गरेको छ । राम्रा राम्रा याक चौरी नश्ल सुधारकालागि तिब्बतीले खोजीखोजी लाने र त्यसको मूल्यपनि डेढ लाख भन्दा बढी नै लगाउने किसान बताउँछन् । 

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई सीमा बैठकका लागि चीन भ्रमणमा जाँदा यो विषय उठाइदिन यहाँका किसानले आग्रह गरेका थिए । गत मंसिर २९ गते शर्मा नेतृत्वको टोली डिङजे काउण्टीका प्रमुख नेतृत्वको सीमा बैठकमा सहभागी भएको थियो । बैठकमा शर्माले यस विषयलाई गम्भीरतापूवर्क लिइदिन चिनियाँ प्रतिनिधिलाई आग्रह पनि गरे । 'मैले कृषि उपज अन्तर्गतको विषयमा राखेर यसलाई एजेण्डाकै रुपमा उठाएँ, चीनका मित्रले आफूहरुभन्दा माथिल्लो निकायबाट सबै सिमानाकामा रोक लगाएकाले त्यही निकायमा अनुरोध गर्ने जवाफ दिए ।' मंसिरको बैठकमा तत्काल हल गर्ने सङ्केत नगरे पनि उनीहरुमा गम्भीरता देखिएको शर्मा बताउँछन् । 'पशुचौपायाको विषयमा केन्द्रको निर्णय हुनुपर्छ, हामी माथिल्लो निकायमा अनुरोध गर्छौं भन्नुभयो,' दोभाषेको रुपमा रहेका फक्ताङलुङ गाउँपालिका ७ का वडाध्यक्ष छेतेन शेर्पा लामाले भने, 'हामी फलोअप गरिरहेका छौं, तर आशलाग्दो सन्देश आएको छैन ।' स्थानीयको आवश्यकतालाई बुझिदिन आग्रह गरेको शर्माले बताए । याक चौंरी र तीनबाट उत्पादित दुध, छुर्पी, घिउ समेत निर्यात हुन नसकेको आफूले आँखाले देखेर फर्किएको शर्मा बताउँछन् । जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद र आफ्नो निकायमा पनि यसबारे जानकारी गराएको शर्माले बताए ।

सीमा अवरोधले खर्कमै थन्किए पशुचौपाया, ताप्लेजुङका पशुपालक चिन्तामा आयात निर्यात बन्दले तिब्बतलाई पनि क्षति भएको सिमावर्ती क्षेत्र ओलाङ्चुङगोलाका पशुपालक कृषक नुपु शेर्पा बताउँछन् । मसिना बाच्छा तिब्बतबाटै ल्याएर पाल्ने र वयस्क भएपछि उतै बिक्री गर्ने प्रचलन पनि थियो । 'धेरैले आफ्नै माउबाट बाच्छा उत्पादन गराउँथ्यौं,' ओलाङचुङगोलाका मिङमादिकीले भनिन्, 'कसैले उता चाइनाबाट ल्याएर पाल्ने र ठूलो भएपछि बेच्ने गरेका थियौं ।' नेपालमा देखिएको लम्पीस्किनका कारण रोकिएको होकी भन्ने आशंका स्थानीयलाई छ । तर चीनले भने रोकिनुको कारण नखुलाएको प्रमुख जिल्ला अधिकारी शर्मा बताउँछन् । वडाध्यक्ष छेतेनले भने, 'उनीहरुमा यसैको त्रास होकी भनेर अब के गर्नुपर्छ त भनेर पनि मैले सोधें तर स्पष्ट जवाफ दिएनन् ।' कोरोना संक्रमणसँगै बन्द भएका ताप्लेजुङको टिप्तालाभञ्ज्याङ, संखुवासभाको किमाथांका नाका जेठ ११ गतेदेखि खुलेका छन् ।

'वडाले पालिकाले अनुदान दिनुपर्यो भन्छन्, सरकारसँग पनि क्षतिपूर्ति दिनसक्ने खालको स्रोत छैन' वडाध्यक्ष छेतेनले पशु बिक्री नहुँदाको पीडा सुनाउँदै भने । पशु बढ्दा खर्कको अभाव हुने र त्यसलाई चलायमान बनाउने किसानसँग पैसा नहुने छेतेन बताउँछन् । ‘हामी जनप्रतिनिधिलाई पनि दबाब छ' शेर्पाले भने । चीनको बजारमूल्य र अहिलेको सङ्ख्यालाई आधार मान्दा करिब एक अर्बको चौरी याक ताप्लेजुङ जिल्लाका खर्कमा मात्रै छन् । तत्कालका लागि ६० प्रतिशत बिक्री गर्ने वातावरण बने किसानमा उत्साह बढ्ने र मसिना बाच्छाबाच्छी हुर्काएर थप प्रवर्द्धन हुनसक्ने पशु सेवा कार्यालयको बुझाई छ । हिमाली क्षेत्रका बासिन्दाले पुर्ख्यौली पेसाका रूपमा यसलाई प्रवर्द्धन गर्दै आएका छन्। तीनहजार देखि पाँच हजार मिटरसम्मको उचाइलाई याकचौंरीको चरन क्षेत्रको रुपमा लिइन्छ । बाघ, भालु, ब्वाँसो, हिउँचितुवा लगायतका वन्यजन्तुले हरेक वर्ष क्षति पुर्‍याउने गरेको छ । लम्पी स्किनले तीन हजार हाराहारीमा क्षति पुर्‍याएको पशुसेवा कार्यालयको तथ्यांङकमा उल्लेख छ ।

author

Ananda Gautam

CESIF Fellow