महोत्तरीमा भारु नोटको गैरकानुनी व्यापार : राज्यले आँखा चिम्लियो

नेपालका ७ प्रदेश मध्ये मधेश प्रदेशमा पर्ने महोत्तरी जिल्लाको ३८.४६ किलोमिटर भूभाग भारतसँग जोडिएको छ । यस जिल्लाको प्रमुख भन्सार नाका– मलिवाडा (नेपालतर्फ) र भिठामोड (भारततर्फ) जलेश्वर नगरपालिकाभित्र पर्छ। त्यस्तै मटिहानी र सम्सी सहायक नाकाहरू हुन् जहाँबाट प्रत्येक दिन दुवै देशका हजारौँ मानिस आवतजावत गर्दछन् । नेपालबाट भारततर्फ बिरामी जँचाउन, आवश्यक सरसामान किनमेल गर्न वा आकस्मिक कामकाजका लागि जाने व्यक्तिहरु भिठामोड पुग्दा "भारु चाहि भारु...?"(भारु चाहियो भारु...?) भन्दै हातमा भारु नोटको बिटो लिएर केही मानिस आइपुग्छन् । यस लेखमा, सीमावर्ती क्षेत्रमा गैरकानुनी रूपमा भारतीय रुपैयाँ किनबेच कसरी भइरहेको छ त्यसबारे चर्चा गरिनेछ ।


मलिवाडा चोकसँग टाँसिएका भारतीय बजार भिठामोड, सुरसंड र सीतामढीसम्म किनमेल वा अन्य कामले जाने नेपालीहरूलाई भारतीय रुपैँयाको अपरिहार्यता हुन्छ । यद्यपि, भारतपट्टिका भिठामोड र सुरसंड बजारमा धेरै हदसम्म नेपाली नोट चल्ने गरेको छ । नेपाली पैसा लिएर भारतीय रुपैयाँ साट्ने (बेच्ने) कार्य मलिवाडा बासीको लागि ठूलो व्यवसाय जस्तो भएको छ । जलेश्वर नगरपालिका मलिवाडा गाउँका झण्डै ५५ देखि ६० जना यो कारोबारमा लागेका छन् । प्रति सैकडा चार रुपैयाँदेखि ६/७ रुपैयाँसम्म लिएर भारतीय रुपैयाँ साट्ने धन्दा सामान्य जस्तो छ ।


सन् १९६६ मा विनिमय दर सयकडा भारु बराबर १०१ नेपाली रुपैयाँ कायम गरिएको थियो भने सन् १९८५ देखि सन् १९९० को बीचमा विनिमय दर सय भारु बराबर १६८ नेरु रहेको थियो । सन् १९९३  यता भने सय भारु बराबर १६० नेपाली रुपैयाँ स्थिर रहँदै आएको छ । त्यसयता दुई देशका मुद्राको मूल्य समायोजनपछि यसमा कुनै किसिमको परिमार्जन गरिएको छैन । 


राज्य पक्षद्वारा गरिएको वैधानिक व्यवस्था हटाइएको कारण भिठामोडमा यसरी खुलेआम भारु–नेरु कारोबार भइरहेको हो । २०१३ सालमा जलेश्वरमा भन्सार कार्यालय स्थापना भएको थियो । २०३२ सालमा भन्सार कार्यालय भिठामोड-मलिवाडामा स्थानान्तरण भएको बेलादेखि नै नेपाल राष्ट्र बैंकले सर्वसाधारणको सहुलियतको लागि त्यहाँ सटही काउण्टर स्थापना गरिदिएको थियो । सुरुमा दिनको पाँच लाख भारु उपल्ब्ध गराउने गरिन्थ्यो । माओवादी सशस्त्र द्वन्द्व चरमोत्कर्षमा रहेका बेला २०५८ सालबाट राष्ट्र बैंकले सो शाखा नै हटायो । त्यसको एकदुई वर्ष स्थानीय व्यपारीले व्यक्तिगत तवरबाट भारु–नेरु साटासाटको कारोबार गर्न थालेपछि २०६० सालमा मलिवाडाका स्थानीय कमलेश पाण्डेले राष्ट्र बैंकबाट इजाजत प्राप्त हरिओम मनि चेन्जर स्थापना गर्‍यो । स्थापनाको एक वर्षसम्म राष्ट्र बैंकले दिनको पाँच लाखसम्म भारु उपल्ब्ध गरायो। त्यसको अर्को वर्ष दिनको एक लाख मात्र उपल्ब्ध गराउन थाल्यो र पछि, अब राष्ट्र बैंकले भारु उपल्ब्ध गराउन सक्दैन भनी हठात जानकारी गरायो । व्यक्तिगत स्तरमा भारु किनबेच गर्न अप्ठ्यारो मान्दै राष्ट्र बैंकले कमलेश पाण्डेको इजाजतपत्र २०६४ सालमा फिर्ता गरिदियो ।


मटिहानी : कारोबारको केन्द्रविन्दु


विगत १५ वर्षदेखि भिठामोडमा व्यक्तिगत स्तरबाट भारु–नेरु कारोबार हुँदै आएको छ । मलिवाडा चोकमा रहेका किराना, मदिरा, पान पसलमा छ्यापछ्याप्ती भारु नोट पाउन सकिन्छ । भारु–नेरु कारोबार गर्ने स्थानीय यसबारे औपचारिक कुराकानी गर्न चाहँदैनन् । तर, अनौपचारिक जानकारी अनुसार भिठामोडमा प्रत्येक दिन न्यूनतम सवा करोडको कारोबार हुने गरेको छ । बिहेका लगन आदि हुने व्यस्त महिनामा सोही कारोबार दिनको पाँच करोडसम्म पुग्ने गर्दछ ।


नेपालमा भारतीय पाँच सयको नोट अवैध रहेको भएता पनि सहज कारोबार कसरी सम्भव छ ? प्रशासनले केही भन्दैन भन्ने प्रश्नमा उनीहरू भन्छन्, "प्रशासनले व्यावहारिक रूपमा यो कारोबार चल्न दिएको छ । पाँच सयको नोट पनि व्यावहारिक रूपमै चल्ने गरेको छ ।"


त्यसैगरी, मटिहानी नगरपालिका बिहारको मधुवनी जिल्ला अन्तरगत पर्ने मधवापुर बजारसँग टाँसिएको छ । झण्डै सय-दुईसय मिटरको ‘नोम्यान्स ल्याण्ड’ भएको मटिहानी मधवापुर पनि नेरु–भारु कारोबारको लागि चर्चित बजार हो । भिठामोडजस्तै सडकमै उभिएर भारु साट्ने कारोबार नभएपनि भारु नोट उपल्ब्धताको दृष्टिकोणले मटिहानी महत्वपूर्ण मानिन्छ । भिठामोड लगायत धेरै ठाउँका भारु नोटको कारोबार गर्नेहरू मटिहानीबाट नै भारु नोट खरिद गर्ने गर्छन्। आकार र व्यापारको दृष्टिकोणले सानो मटिहानी बजारमा मात्र ४५ देखि ५० वटा सुन पसल छन् । महोत्तरी जिल्लामा मटिहानी नाकाबाट सुन तस्करीको कार्य हुने गरेको त्यहाँका स्थानीयको भनाइ छ । सुन तस्करी लगायत गाँजा, मदिराको व्यापक तस्करी  हुने नाका मटिहानी भएको कारण त्यहाँ भारु नोटको कमी हुँदैन । धनुषा-महोत्तरीका अन्य कारोबारीले मटिहानीबाट नै भारु नोट खरिद गर्ने गरेका छन् ।


२०७३ सालमा मटिहानीबाट रु.११,७२,०१० भारतीय रुपैयाँ खरिद गरी लिएर आउने क्रममा जलेश्वरका बिमलेश पाण्डेय भन्ने एकजना व्यापारीलाई सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय, जलसागरले समातेको थियो । पछि सशस्त्रले निज पाण्डेयलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगायो ।  राजस्व अनुसन्धानले पाँच सयका नोट जफत गरी सयका नोट फिर्ता गरिदिएको थियो र विदेशी अवैध भारु कारोबार अन्तर्गत मुद्दा चलाएको थियो ।


सयकडामा ३ देखि ४ रुपैयाँसम्म बट्टा (कमिसन)


भारत-नेपाल दुवैतर्फ मालसामान वारपार गरी अवैध धन्दा गर्नेहरूको उल्लेख्य संख्या भएको मटिहानीमा एउटा मनि चेन्जर छ । धनुषा जिल्ला निवासी राकेश प्रशाद साह संचालक रहेको रोहित मनि चेन्जर विगत २० वर्षदेखि संचालनमा छ । तर २०७१ असोज ३ गते लागू हुने गरी मनि चेन्जरहरूलाई भारु प्रदान नगरिने भनी राष्ट्र बैंकले पत्राचार गरेको थियो । अहिले मटिहानीमा पनि व्यक्तिगत स्तरबाट त्यहाँका व्यापारीले सैकडा ३ देखि ४ रुपैयाँसम्म बट्टा (कमिसन) लिएर भारु साट्ने गरेका छन्  । राकेशले पनि अहिले स्थानीय बजारबाट प्रति सयकडा एक रुपैयाँ बट्टाको दरले भारु खरिद गरिरहेका छन् । उनले राष्ट्र बैंकबाट लिएको इजाजतपत्र कायमै छ । प्रत्येक वर्ष अडिट गराउँदै छन् । राष्ट्र बैंकले भारु दिन बन्द गरिसकेको अवस्थामा किन प्रत्येक वर्ष अडिट गरिरहेको भन्ने प्रश्नमा उनले आशावादी हुँदै भने, "भोलिको दिनमा यदि बैंकले भारु दिन पुनः सुरु गरे मलाई फेरि इजाजतपत्रको लागि प्रक्रियामा जान नपरोस भनेर ।"


महोत्तरीको दक्षिणमा पर्ने सम्सी (नेपाल), कन्हमा (भारत) नाकामा पनि नेरु–भारुको कारोबार हुने गरेको छ । सम्सीमा रहेका सहकारी संस्थाहरूले यस्तो कारोबार गर्ने गरेका छन् । मटिहानीजस्तै सम्सी पनि तस्करी र हुण्डी कारोबारको लागि चर्चित नाका भएको कारण भारु नोटको कमी हुँदैन । सम्सीमा दिनको ८० लाख देखि एक करोडसम्म नेरु–भारुको कारोबार हुने गरेको छ ।  नेरु–भारु कारोबारमा संलग्न व्यपारीहरूका अनुसार विगत केही वर्षदेखि डिजीटल भुक्तानीको कारण नगद कारोबारमा थोरै कमी आएको छ ।


"व्यावहारिक स्तरमा बोर्डरमा साटिदिएको हुनसक्छ" : प्रमुख जिल्ला अधिकारी


भिठामोड लगायत मटिहानी बोर्डरहरूमा मनपरी बट्टा लिइ खुला रूपमा नेरु-भारु कारोबार भइरहेको विषयमा जिल्ला प्रशासन कार्यालयको धारणा बुझ्दा सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले अनभिज्ञता प्रकट गर्नुभयो । न्यौपानेका अनुसार, "सम्बन्धित बैंकबाट इजाजत प्राप्त नगरिकन त्यस्तो कारोबार गर्न पाइँदैन । तर नेपाल-भारतबीचको सम्बन्ध र एकअर्काप्रतिको बजार निर्भरताको कारण सीतामढी, मुजफरपुर, पटना, दरभंगाजस्ता भारतीय बजारमा काम विशेषले जाँदा भारुको आवश्यकता पर्छ । व्यवहारिक स्तरमा बोर्डरमा कसैले नेरु भारु साटिदिएको हुनसक्छ । तर कानूनी रूपमा मनि चेन्जर वा सटही काउण्टरले मात्र त्यस्तो गर्न पाउँछ ।"


समग्रमा, महोत्तरीमा सटही काउण्टरको आभाव, राष्ट्र बैंकले भारु उपल्ब्ध नगराउनु वा राज्यका सरोकारवाला निकाय यसबारे गम्भीर नभएको कारण पैसाको गैरकानूनी कारोबार सामान्य जस्तो भएको छ । स्थानीय प्रशासनले पनि यसलाई जनआवश्यकताको चश्मा लगाएर मात्र हेर्दै आएको छ । यद्यपि, यो भारतीय बजारमा किनमेल गर्ने सीमा क्षेत्रका आम मानिसकको बाध्यता पनि हो ।
 

author

Randhir Chaudhary

CESIF Fellow