भदौ २०८२
धनुषा - नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा अहिले चिनियाँ दूतावासद्वारा विभिन्न कार्यक्रमहरु गरिँदैछन् । प्रायः महेन्द्र राजमार्गभन्दा उत्तरतिर सक्रिय रहँदै आएका चिनियाँ दूतावासका गतिविधिहरू अहिले मधेश प्रदेशमा तल्लो भेगमा पनि सञ्चालन हुन थालेका छन् ।
चिनियाँ दूतावासले सन् २०२४ मा मधेश प्रदेशको सर्लाही, रौतहट, बारा पर्सा जस्ता जिल्लाहरुमा विभिन्न परियोजनाहरु सञ्चालन गरिसकेको छ । सन् २०२५ को जुन महिनादेखि मधेश प्रदेशको राजधानी जनकपुरधाममा पनि परियोजनाहरु सञ्चालनमा ल्याएको छ ।
जुन २ तारिखमा चिनियाँ दूतावासले मधेश प्रदेशको राजधानी जनकपुरमा दुई फरक परियोजनाहरु कार्यान्वयन गरेको थियो । पहिलो हो- उज्यालो भविष्य परियोजना । शिक्षा क्षेत्रमा केन्द्रित रहेको यस परियोजना अन्तर्गत धनुषा जिल्लाको सामुदायिक विद्यालय स्तारोन्नतिको उद्देश्यसहित सरस्वती नमुना उच्च माध्यमिक विद्यालयलाई राजदूतावासले १ सय ४४ सेट डेस्क बेन्च, ह्वाइटवोर्ड, स्मार्टबोड र स्टेसनरी सामग्रीहरु हस्तानान्तरण गर्यो ।
दोस्रो परियोजना हो- आरामदायी सुत्केरी अभियान । जस अन्तर्गत जनकपुरस्थित प्रादेशिक अस्पतालको प्रसूति कक्षमा वातानुकूलित मेसिन जडान गरिएको थियो । चिनियाँ दूतावासले ‘चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट’ (सिएफआरडी) र ‘चाइनिज एम्बेसी यूथ पायनिर’ को सामूहिक तत्वावधान सहितको ब्यानरमा यी परियोजनाहरुको हस्तान्तरण गरिएको थियो ।
उक्त कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, धनुषा क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य जुली महतो (महासेठ), चिनियाँ दूतावासका डिसिएम वाङ झिन, सिएफआरडी नेपाल कार्यालयकी निर्देशक जोउ झिकियांग, मधेशी आयोगका संस्थापक अध्यक्ष विजय दत्त लगायत नेकपा एमालेका अन्य स्थानीय नेताहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै, २७ जुनमा चिनियाँ राजदूतावासले जनकपुरधाम–८, ज्ञानकुप स्थित श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयमा 'स्वच्छ पानी अभियान' परियोजना अन्तर्गत पानी शुद्धीकरण संयन्त्र स्थापना गरेको छ । पानी ट्यांकी सहित तीन वटा धारा जडान गरिएको छ । सो परियोजनाको लागि याज्ञवल्क्य विद्यालयलाई कसरी छनौट गरियो भन्ने विषयमा उक्त विद्यालयका प्रधानाध्यापक सुनिल झाले भने, ‘जेठ महिनातिर हाम्रो विद्यालय भ्रमणमा चिनियाँ दूतावासको डिपूटी चिफ मिशन र मधेशी आयोगको संस्थापक अध्यक्ष विजय दत्तजी आउनु भएको थियो । उहाँहरुले हाम्रो विद्यालयमा के-कस्ता सहयोगको आवश्यकता छ भनी सोध्नु भएको थियो । हामीले विद्यालय भवन, डेस्कबेन्च जस्ता आवश्यकताहरू उहाँ समक्ष राख्यौं । विद्यालयलाई खानेपानी आवश्यक थियो र चिनियाँ दूतावासको निर्धारित परियोजना तहमा हाम्रो विद्यालयमा खानेपानी मेशिन जडान भयो ।’
यस परियोजनाबारे ८ नम्बर वडा कार्यालयबाट अनुमति लिइएको थियो । यसको हस्तानान्तरण कार्यकक्रममा मधेश प्रदेश सरकारका भौतिकमन्त्री एवं नेकपा एमाले मधेश प्रदेशको संसदीय दलका नेता सरोज यादव प्रमुख अतिथिको रुपमा उपस्थित थिए । चिनियाँ दूतावासका डिसीएमको पनि उपस्थिति थियो ।
यस परियोजनाको लागतबारे याज्ञवल्क्यका प्रधानाध्यापक सुनिल झा र वडा अध्यक्ष दिनेश सिंह समेतलाई कुनै आधिकारिक जानकारी छैन । यो परियोजनाको लागत अनुमानित ६–७ लाखको हुनसक्ने प्रअले जानकारी गराए । चिनियाँ दूतावासले विद्यालयसँग कुनै किसिमको लिखित सहकार्य गरेको छैन ।
समाजको स्वास्थ्य, स्वच्छता र जीवनस्तरमा दीर्घकालिन सुधार ल्याउने उद्देश्यले सुरु गरेको यो परियोजना अन्तर्गत जनकपुर उपमहानगरपालिका वडा नं. ११ को एक दलित बस्तीमा समेत ‘पानी शुद्धीकरण संयन्त्र’ जडान गरेको थियो । यहाँ पनि वडा कार्यालय र चिनियाँ दूतावासबीच विजय दत्तले समन्वयकर्ताको रुपमा भूमिका खेलेका थिए ।
दत्तले चिनियाँ दूतावासका डीसीएम र वडा अध्यक्ष अर्जुन चौधरीबीच भेटघाट गराएका थिए । भेटघाटमा अध्यक्ष चौधरीले वडामा शिक्षा, स्वास्थ्य, पर्यटन जस्ता क्षेत्रमा सहयोगको आवश्यकताबारे दूतावासका डीसीएमलाई सुनाए र तत्कालका लागि ‘तत्मा टोल’मा खानेपानी मेशिन जडान गरिदिन मञ्जुरी दिए ।
वडा कार्यालयको लिखित मञ्जुरीबाट सम्पन्न योजनाको लागतबारे अध्यक्षले अनविज्ञता प्रकट गर्दै यसको अनुमानित लागत १२ देखि १४ लाखसम्म हुनुपर्ने अनुमान गरे । चिनियाँ दूतावासले उक्त परियोजना कार्यान्वयन सम्बन्धि कुनै सम्झौता पनि गरेको छैन ।
२७ जुनमा गरिएको परियोजना हस्तान्तरण कार्यक्रममा झण्डै सय जना सहभागी थिए । तर व्यक्तिगत कार्यले जनकपुर बाहिर जानुपर्ने भएकाले वडा अध्यक्ष चौधरी उपस्थित हुनसकेका थिएनन् । तत्मा टोलको परियोजना हस्तान्तरणमा पनि मधेश प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री रमेश लेखी प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए । दूतावासको तर्फबाट डीसीएम र 'स्वच्छ पानी अभियान' का परियोजना प्रमुख इन्जिनियर शिवाङ्ग दत्तको पनि उपस्थिति थियो ।
चिनियाँ दूतावासले जडान गरेको खानेपानी प्लान्ट भन्दा पहिला सो ठाउँमा चापाकल (ह्याण्डपम्प) रहेको थियो तर पिउन सक्ने खालको पानी आउँदैन्थ्यो । कल सुक्ने समस्या पनि उतिकै थियो । उक्त टोलका स्थानीय लाभार्थीहरुका अनुसार ‘अटोमेटेड मेशिन’बाट अहिले सफा पानी निरन्तर आइरहेको भएता पनि मेशिनमा ‘कुलिङ सिस्टम’ नभएको कारण गर्मीको मौसममा पानी खान नसकिने जानकारी गराएका थिए । ‘कुलिङ सिस्टम’ को कमीबारे याज्ञवल्क्य विद्यालयका प्रधानाध्यापक सुनिल झाले पनि असन्तुष्टि जनाएका थिए ।
चिनियाँ दूतावासले मधेश प्रदेशको राजधानी जनकपुरमा अनावरण र हस्तानान्तरण गरेका यी परियोजनाहरु सञ्चालन गर्दा मौखिकरुपमा केही पत्रकारहरुलाई कार्यक्रमबारे समाचार सम्प्रेशन गरिदिन भनिएको भएता पनि पत्रकार महासंघ धनुषालाई कुनै आधिकारिक जानकारी गराइएको थिएन ।
जनकपुरमा सञ्चालित खानेपानी परियोजनाबारे जनकपुर उपमहानगरपालिकाको कार्यालयसँग कुनै किसिमको समन्वय वा सहकार्य नगरिएको गुनासाबारे परियोजना प्रमुख शिवाङ्गले भने,‘हामीले सञ्चालन गरेको परियोजनाहरुको लागि सम्बन्धित वडाबाट अनुमति लिएका छौँ । कार्यक्रममा प्रदेशको मन्त्रीको समेत उपस्थिति रहेको थियो ।’
आगामी दिनमा प्रदेशका अन्य जिल्लाहरुमा पनि यो परियोजनाको विस्तार होला– भन्ने प्रश्नमा शिवाङ्गको जवाफ छ-, ‘मधेशका सामुदायिक विद्यालय जसमा दलित विद्यार्थीहरुको संख्या अधिक हुन्छ वा कुनै दलित वस्ती जहाँ शुद्ध खानेपानीको आवश्यकता छ त्यस्ता ठाउँहरुबाट सहयोगको लागि प्रस्ताव आयो भन्ने हामी सहयोग गर्नेछौँ ।’
मधेश प्रदेशमा रुचिका साथ प्रवेश गरेको चिनियाँ दूतावासले प्रदेशमा भित्र्याएका परियोजनासँग सम्बन्धित कार्यक्रमहरुमा नेकपा एमालेका संघदेखि प्रदेशसम्मका नेताहरुको भूमिका देखिएता पनि मधेश प्रदेश सरकारसँग समग्रतामा कुनै आधिकारीक छलफल वा समन्वय समेत गरिएको देखिँदैन ।
यसै सन्दर्भमा मधेश प्रदेश सरकारमा शिक्षामन्त्री रहेकी रानी शर्मा तिवारी भन्छिन्, ‘शिक्षा क्षेत्रमा व्यापक सुधार ल्याउनको लागि हामीले जति सहयोगी हातहरु पायौँ त्यति राम्रो । तर चिनियाँ दूतावासद्वारा मधेश प्रदेशको विभिन्न विद्यालयहरुमा गरिएको सहयोगबारे प्रदेशको शिक्षा मन्त्रालयसँग समन्वय समेत गर्दैन र यथोचित पारदर्शिताको कमी देखिन्छ ।’
चिनियाँ दूतावास मधेश केन्द्रित दलहरुसँग सहकार्यको प्रयत्नमा विगत एकदशक देखि लागेको बुझिन्छ । चिनियाँ दूतावासका कर्मचारीहरुले तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) को काठमाण्डौस्थित पार्टी कार्यालयमा गई अध्यक्ष महन्थ ठाकुरलाई भेटेर २०७० को निर्वाचन हुनुभन्दा केही समय अघि १ सय ५० सेट मोबाइल र केही थान ल्यापटप हस्तान्तरण गरेको थियो ।
त्यस्तै २०७४ सालमा आएको बाढीको बेला पनि चिनियाँ दूतावासबाट राहत सामग्री दिइएको थियो । यद्यपी ती राहत सामग्रीहरु वितरण गर्दा चिनियाँ दूतावासका कर्मचारीहरु आफैं पनि राहत वितरणमा मधेश झर्न चाहन्थे जुन सम्भव भएको थिएन ।
मधेश प्रदेशमा पछिल्लो समय खासगरि २०७९ को निर्वाचनबाट नेकपा एमाले संख्यात्मक हिसाबले अग्रीम स्थान ओगटेदेखि प्रदेशमा चिनियाँ दूतावास आफ्नो सक्रिय उपस्थिति देखाउन सफल भएको हो । मधेश प्रदेशका अन्य राजनीतिक दल नेताहरुसँग संवाद गर्दा, चिनियाँ दूतावासले कुनै अमुक दललाई काँखी च्यापेर परियोजना संचालन गर्नुलाई अनुचिति कदम भन्ने गरेका छन् । त्यस्तै, तीन तहको प्रशासनिक संरचना अन्तर्गत पर्ने संघ, प्रदेश र स्थानीय तहसँग यथोचित समन्वयको अभाव देखिन्छ ।
