सीमाका गुल्जार बजार, अहिले छैन बहार

भदौ २०८२

झापा - एक समय थियो, पूर्वको व्यापार, प्रशासन र आवागमनको मुटुका धड्कन थिए सीमाक्षेत्रका बजारहरू । धान चामलका ठूलठूला मिल र गोदामदेखि सरकारी अड्डासम्मको चहलपहलले बजार गुल्जार हुन्थे ।

तर, कुनै बेलाका चर्चित यी बजारहरू अचेल सुस्ताएका छन् । इतिहासका पानामा सीमित हुँदै छन् । ती बजारहरूलाई अहिले सेवा र सुविधाले राजमार्ग छेउ र उत्तरतिर धकेलेको छ ।

झापाकाे भद्रपुर र मोरङकाे रंगेली कुनै समयका चर्चित सहरको रुपमा चिनिन्थे । अहिले यी अन्यको तुलनामा सहर होइन समान्य गाउँले बजारजस्तो छन् । किनकी यो भन्दा ठूला सहर राजमार्ग क्षेत्रसम्म बनिसके । तर, अहिले तिनै सहर फेरि आफ्नो पहिचान फर्काउन खोज्दैछन् ।

भद्रपुर : एउटा ‘मृत सहर’को पीडा

भद्रपुर कुनै बेला धान, चामल र चियाको व्यापारिक केन्द्र मात्र होइन, झापाको पहिचान थियो । २००८ सालमै नगरपालिका बनेको यो सहर भारतको बिहारतर्फबाट आउने व्यापारीहरूको मुख्य गन्तव्य थियो ।

यहाँको बजार फुटपाथबाट सुरु भएर विस्तारित भएको इतिहास छ । २०२० को दशकअघि भद्रपुर झापाकै मुख्य व्यापारिक केन्द्र थियो । सधै‌जसो गुल्जार हुन्थ्यो ।

जसै पूर्व–पश्चिम राजमार्गको रेखांकन भयो, भद्रपुरको ओरालो यात्रा सुरू भयो । पश्चिम बंगालसँग साँधसीमा जोडिने पूर्वी नाका काँकडभिट्टाबाट पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग बन्ने भयो । भद्रपुर त्यसको सिधा पहुँचबाट टाढा पर्‍यो । यही टाढोपन उसको अवनतिको कारण बन्यो ।

‘राजमार्ग नजोडिनु भद्रपुरको दुर्भाग्य भयो,’ झापा उद्योग वाणिज्य संघ, भद्रपुरका पूर्वअध्यक्ष राजेन्द्र घिमिरे भन्छन्, ‘यदि महेन्द्र राजमार्ग भद्रपुरबाट सुरू भएको भए अहिले अवस्था अर्कै हुन्थ्यो ।’

उनका अनुसार २०३४ सालसम्म भद्रपुरमा प्रमुख भन्सार कार्यालय थियो । तर, पछि त्यो काँकडभिट्टामा स्थानान्तरण भयो र विस्तारै सहरको सौर्य हरायो । भद्रपुरका पुराना पत्रकार गोपाल गिरी भन्छन्, ‘यदि राजमार्ग यहिँबाट जोडिएको भए, मूल भन्सार नसरेको भए भद्रपुरको समृद्धि अर्कै हुने थियो ।’

तर, उत्तरतिरबाट राजमार्ग बन्न सुरू भएपनि भद्रपुरको आशाको उज्यालो झ्याप्पै निभ्न पुग्यो ।

जब पूर्व–पश्चिम राजमार्ग बन्न थाल्यो, काँकडभिट्टा, धुलावारी, विर्तामोड, सुरुङ्गा, दमक जस्ता बजारहरु चम्किन थाले । सँगै दक्षिणतिरको भद्रपुर, राजगढ, झापा बजारदेखि मोरङको रंगेली सम्मका बजार र झापाकै उत्तरतिरका नकलवन्दा, शनिश्चरे जस्ता पुराना बजार मुर्झाउन सुरू भए ।

शनिश्चरे : कहाँ हरायो त्यो चहलपहल ?

भद्रपुरसँगै शनिश्चरेको नियति पनि फरक छैन । इलाम जाने छोटो र सिधा बाटो भएको हुनाले शनिश्चरे पहिल्यै व्यापार र आवतजावतको केन्द्र थियो । तर, राजमार्गको डिजाइनले यसलाई बेवास्ता गर्‍यो । पुराना बासिन्दा साहित्यकार कृष्ण बराल भन्छन्, ‘यदि माथिल्लो रुटबाट राजमार्ग खनेको भए, शनिश्चरे अहिलेको विर्तामोड हुन्थ्यो ।’ तर उनी आशावादी छन्, ‘यदि सडक सञ्जाल पुनर्जीवित गरियो भने शनिश्चरे फेरि उठ्न सक्छ ।’

रंगेलीः मणि हराएको सर्प

एक समय तीन जिल्ला झापा, मोरङ र सुनसरीको मुख्य केन्द्र थियो- रंगेली । राणाकालदेखि नै सरकारी अड्डा, व्यापार, धान चामल मिल र सीमावर्ती सम्बन्धले यो सहरलाई पूर्वको प्रमुख केन्द्र बनाएको थियो ।

वि.सं. १९२७ मा विजयपुरबाट मोरङको सदरमुकाम रंगेली सारिएको थियो । तर, १९७१ मा विराटनगर सारिएपछि रंगेलीको अधोगति सुरु भयो ।

‘राणाकालबाट सुरु भएको यो ओझेल लोकतन्त्रसम्म पनि कायमै रह्यो,’ पूर्वप्रधानाध्यापक सुरेश मिश्र भन्छन् ।

माओवादी द्वन्द्व, मधेस आन्दोलन र बसाइँसराइको लहरले रंगेलीलाई थप कमजोर बनायो । उर्लाबारी, पथरी, विराटनगरतिर सरेका मानिसहरूसँगै यहाँको ऊर्जा पनि सरेको महसुस गरिन्छ ।

तर, रंगेली अझै ‘बूढो बाघ’ हो । मौन तर शक्तिशाली ।

‘हामी अब इतिहासको गौरवसँगै भविष्यको सम्भावनालाई समात्दै अघि बढिरहेका छौं’, रंगेली नगरपालिकाका मेयर दिलीप अग्रवाल भन्छन्, ‘पुरानो रंगेलीलाई फेरि व्युँत्याउँदैछौं ।’

नगरमा नापी, मालपोत, अस्पताल, बैंकहरू पुनर्स्थापित भइसकेका छन् । जब २०५० को दशकतिर हुलाकी राजमार्गको रेखांकन भयो, त्यसपछि यी सहरहरुमा थोरै आशाको दियो बल्यो ।

हुलाकी राजमार्ग निर्माण जारी छ । राजमार्ग निर्माणपछि पुरानो साख फर्काउन यी सहरहरु अग्रसर बन्दै गएका छन् ।

कोशी प्रदेशसभा सदस्य गयानन्द मण्डल गनगाई भन्छन्, ‘राणाकालमा अधिकार खोसिएको रंगेली अब संघीय गणतन्त्रमा फस्टाउने विश्वास गरेका छौ ।’

यी सहरको पीडा केवल भूगोलको हैन, व्यवस्थापन र नजरको हो । राजमार्ग बने—तर कतिपय ऐतिहासिक केन्द्रहरू नजरअन्दाज भए । नयाँ सहर बने—तर पुरानाहरू ओझेलमा परे ।

तर, फेरि उठ्न सकिन्छ । भद्रपुर, रंगेली र शनिश्चरेजस्ता सहरहरूसँग इतिहास छ, सघन बसोबास छ, सीमावर्ती पहुँच छ । अब मात्रै दृष्टिकोण र पूर्वाधारको जरुरत छ । ‘अब हामीले सबथोक सकियो भनेर बस्ने बेला होइन’, पूर्वप्रधानाध्यापक मिश्र भन्छन्, ‘सिंहदरबार अधिकारसहित घरमै आएको छ, अब जिम्मेवारी हाम्रै काँधमा छ ।’

भद्रपुरवासी  तथा मेची क्याम्पसका  पूर्व प्रमुख  चिन्तामणि दाहालका  अनुसार सहरको  भाग्य केवल भूगोलले बनाउँदैन । यो बनाउने र बिगार्ने काम सोच र नेतृत्वले गर्छ ।

‘भद्रपुर र रंगेलीलाई बिर्सनु केवल ती दुई सहरलाई होइन—पूर्वको आत्मालाई बिर्सनु हो’, दाहाल भन्छन्, ‘तर, आशा बाँकी छ । इतिहाससँगको सम्बन्ध, वर्तमानको आत्मबल र भविष्यप्रतिको भरोसा यी सहरहरूलाई फेरि आफ्नो पहिचान फर्काउने माध्यमहरु हुन् ।’

author

Parwat Portel

CESIF Fellow