सुनशान लार्के भन्सार, शून्य आम्दानी

गोरखा - तिब्बत–गोरखा अन्तरदेशीय व्यापारको राजश्व संकलनका लागि स्थापना भएको लार्के भन्सार कार्यालको आम्दानी चारवर्षदेखि शून्य छ । सीमा क्षेत्रबाट ३७ कोषको दूरीमा रहेको कार्यालयले विगत चार आर्थिक वर्षदेखि राजश्व संकलन गर्न नसकेको हो । लार्के भन्सारको कार्यालय चुमनुव्री गाउँपालिका–३ सिर्दिवासस्थित जगतमा छ । कोभिड महामारीपछि चीन सरकारले एक तर्फी नाका बन्द गरेपछि त्यसयता कार्यालयले राजश्व संकलन गर्न सकेको छैन ।

आर्थिक वर्ष २०७७/०७८ देखि २०८०/०८१ सम्म कार्यालयको आम्दानी शून्य रहेको कार्यलयका प्रमुख रुद्रप्रसाद पन्तले बताए । ‘चीनसँग सीमा जोडिएको नाका खुल्दा केहि आम्दानी हुन्थ्यो, अहिले बन्द छ, राजश्व संकलन पनि छैन,’ उनले भने । कोभिड महामारी अघि पनि कार्यालयले निकै न्यून राजश्व संकलन गर्‍थ्यो । कार्यालयको अभिलेख अनुसार आर्थिक वर्ष २०७६/०७७ मा दुइ लाख ४८ हजार नौ सय २४ रुपैयाँ राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०७२/०७३ मा चार हजार सात सय ६७, आब २०७३/०७४ मा नौ हजार ६ सय ९९, आब २०७४/०७५ मा ५७० रुपैयाँ मात्र राजस्व संकलन भएको कार्यालयको अभिलेखमा उल्लेख छ ।

 ‘वर्षमा दुइ चोटी नाका खुल्दो रहेछ, त्यो समयमा भन्सार राजश्व काट्ने गरिएको रहेछ,’ उनले भने,‘ कोभिडपछि एक पटक मात्र नाका खुलेको रहेछ, त्यो बेला पनि राजश्व संकलन छैन ।’ सडक सञ्जालको विस्तार नहुँदा पनि भन्सारको काम प्रभावकारी बन्न नसकेको उनले बताए । ‘अब चलायमान बनाउनुपर्छ भनेर माथिबाट निर्देशन छ, नाका खुलेको बेला उत्तरी क्षेत्रबाट जाने यार्सागुम्बा लगायतका जटिबुटीको राजश्व संकलन गर्ने तर्फ लाग्छौँ,’ पन्तले भने ।

चुमनुव्री–१ सामागाउँ स्थित रुइला र चुमनुव्री–७ को छेकम्पारस्थित ङुइलामा घुम्ती रुपमा सेवा दिएर कार्यालय चलायमान बनाउने योजना रहेको उनले सुनाए । कोभिड महामारी सुरु भएसँगै २०७६ पुसबाट उत्तरी क्षेत्रको नाका चीन सरकारले एकतर्फी रुपमा बन्द गरेको थियो । गत असारमा छेकम्पार तर्फको ङुइला नाका एक महिना र सामागाउँ तर्फको रुइला नाका १५ दिनका लागि खुलेको थियो । कोभिड अघि सम्म ङुइलानाका बाह्रै महिना खुल्ला  हुँदै आएको थियो । नाका खुलेको अवधिमा सीमाक्षेत्रको तिब्बती बजारबाट स्थानीयले उपभोग्य सामाग्री खरिद गरेका थिए । तिब्बतबाट व्यापारिक प्रयोजनका सामाग्री पैठारी गरिएपनि यो वर्ष कार्यालयले राजश्व संकलन गर्न सकेन । कार्यलयमा कर्मचारी अभाव तथा भौगोलिक दूरी टाढा पर्दा पनि राजश्व संकलन प्रभावित बन्दै आएको छ । जगतमा रहेको भन्सार कार्यालयबाट चुमनुव्री–१ सामागाउँको रुइला नाका पुग्न झण्डै तीन दिन लाग्छ भने छेकम्पारको ङुइला नाका पुग्न दुई दिन पैदलयात्रा गर्नुपर्छ ।

लार्के भन्सार कार्यालयमा ४ जनाको दरबन्दी छ । हाल नायव सुब्बा पदका पन्त मात्र कार्यरत छन् । एक खरिदार र दुई जना कार्यलय सहयोगीको दरबन्दी रहेपनि कर्मचारी छैनन् । एक कार्यलय सहयोगी करारमा राखिएको उनले बताए । ‘१ जना कार्यलय सहयोगी खटाएको भन्ने सुनेको छु, आइपुग्नुभएको छैन,’ उनले भने, ‘अब माथिबाट जे निर्देशन आउँछ सोहि अनुसार अघि बढ्छौँ ।’ भन्सारको पुरानो भवन पनि जीर्ण बन्दै गएको छ । हाल भाडाको घरमा कार्यलयका सामाग्री राखिएको छ । दश वर्षे सशस्त्र द्धन्द्ध अघिसम्म निकै चलायमान भन्सार अहिले लथालिङ्ग बनेको चुमनुव्री गाउँपालिका–३ का वडा अध्यक्ष रामकुमार गुरुङले बताए । ‘पुरानो भवन बस्नै नमिल्ने गरि जीर्ण बनेको छ, भाडाको घरमा सामाग्री राखेर बोर्ड मात्र झुण्डाएको कार्यलय छ,’ उनले भने,‘यो कार्यालयमा कर्मचारी छन्, छैनन् हामीसँग समन्वय पनि छैन ।’ तीन दशकअघि सम्म भन्सार निकै चलायमान रहेको गुरुङले बताए । ‘पोको भन्सार भन्थ्यो, बर्खाको बेला कागजपत्र लिएर सीमा क्षेत्रमा कर्मचारी जान्थे, जाडो बढेपछि यहाँ जगत फर्कन्थे,’ उनले भने,‘त्यो बेला छुट्टै चहलपहल थियो, चीनको सामान तल आउँथ्यो, यताबाट जडिबुटी जान्थ्यो, काँटा राखेर सामान जोख्थे, सुब्बा, खरिदार लगायत कर्मचारी थिए ।’ संकटकालपछि कार्यालयमा कर्मचारी बस्न छाडेपछि लथालिङ्ग बन्दै गएको स्थानीवासी समेत रहेका गुरुङले बताए । ‘संकटकाल पछि चाहिँ कर्मचारी बसेनन्, ठप्पै भयो,’ उनले भने । नाका चलायमान बन्दा चीनबाट जिम्बु, नुन लगायतका सामाग्री खरिद गरेर ल्याउने गरिएको उनले सुनाए । जगतको लार्के भन्सार २०१३ सालमा स्थापना भएको हो । तत्कालीन समयमा तिब्बतबाट आउने उन र छालाको व्यापारीले भन्सारमा राजश्व तिर्थे, गोरखाको उत्तरीक्षेत्रका स्थानीयवासीले चीन निकासी गर्ने भेडाको उन, छाला, वन लसुन, सतुवा, जडिबुटी लगायतका सामाग्रीको राजस्व उक्त कार्यालबाट संकलन हुँदै आएको थियो ।

कोभिड अघिसम्म पनि उत्तरी क्षेत्रका जडिबुटी चीन निकासी हुने गरेको स्थानीयवासी बताउँछन् । नाका चलायमान बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा पटक/पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नभएको वडा अध्यक्ष गुरुङ बताउँछन् । ‘कतिपटक सिडिओलाई भन्यौं, हाम्रो मागको सुनुवाई नै भएन,’ उनले भने,‘पहिले बैंक थिएन भनेर भने, अहिले कुमारी बैंक पनि आइसकेको छ, पैसा राख्न पनि कुनै समस्या थिएन, कर्मचारी आएर नाका खुलेको बेला राजश्व संकलन गरे आम्दानी पनि हुन्थ्यो, कार्यालय भएको औचित्य पनि हुन्थ्यो ।’ चुमनुव्री क्षेत्रमा यार्सागुम्बा लगायतका जडिबुटी प्रशस्त पाइने भएकाले राजश्व संकलन गरि निकासी, पैठारी गर्दा वैध पनि हुने स्थानीयवासी बताउँछन् । ‘भन्सार चलायमान भए चोरीनिकासी पनि कम हुन्थ्यो,’ उनले भने,‘कार्यालय पनि जीर्ण अवस्थामा छ, यसको पनि सुधार गर्नुपर्‍यो,’ उनले भने । वन लसुन, सतुवा, यार्सागुम्वा, चिराइतो, कुट्की लगायतका जडिबुटी बिक्रीमा सहजताका लागि भन्सार कार्यालय चलायमान बन्नुपर्ने स्थानीयवासी बताउँछन् । ‘राजश्व नकाटी पठाउँदा त गैरकानुनी हुने भयो नी, पठाउन पनि मिलेन,’ उनले भने ।

सीमा पनि खुल्ने र भन्सार कार्यालयलाई पनि चलायमान बनाउका लागि पहल थाल्ने चुमनुव्री गाउँपालिकाको योजना छ । नाका नखुल्दा भन्सार कार्यालय चलायमान हुन नसकेको गाउँपालिका अध्यक्ष निमा लामाले बताए । ‘चीन सरकारले नाका खुल्ला गर्ने भनेपनि उत्तरी गोरखाका नाका यो वर्ष सिमित अवधिका लागि मात्र खुल्यो, नाका खुल्ला गर्न पहल गरेर भन्सार कार्यालय चलायमान बनाउने पहलकदमी बढाउँछौँ,’ उनले भने । नाका खुलेको अवधिमा छेकम्पार र सामागाउँ दुवैतर्फ भन्सारको कर्मचारी राख्न सकिए चलायमान बनाउन सकिने उनले बताए । ‘२०४५ साल आसापास यो नाका भएर चामल लगायतका सामाग्री चीन जान्थ्यो, गलैंचादेखि राडीपाखी सम्मका सामाग्री चीनबाट आउँथ्यो, चीनबाट त्यो बेला नुन र उन बढी आउँथ्यो, पहिले त भन्सार कार्यालय चलायमान थियो,’ उनले भने । सडक सञ्जाल विस्तार नभएकाले सीमा क्षेत्रका बासिन्दालाई उपभोग्य सामाग्री खरिदका लागि तिब्बतको बजार नजिक पर्ने भएकाले नाका सहज बनाउन पहल गर्ने उनले बताए । ल्हो र सामागाउँका स्थानीय कोरोना जोखिम अघि तिब्बतको कोङ्थान उपभोग्य सामाग्री खरिदका लागि पुग्थे ।

चुम्चेत र छेकम्पारका स्थानीय गाउँबाट दुई दिन पैदल यात्राको दूरीमा रहेको तिब्बतको स्या बजारबाट उपभोग्य सामाग्री खरिद गर्थे । गोरखाको तल्लो बजार क्षेत्रभन्दा तिब्बतको बजारबाट सामाग्री खरिद गर्दा ढुवानी भाडा सस्तो पर्ने स्थानीय बताउँछन् । गोरखाको तल्लो बजार अन्तर्गत माछाखोलाबाट सामागाउँमा उपभोग्य सामाग्री खच्चडमार्फत ढुवानी गर्दा प्रतिकेजी ८० रुपैँया सम्म लाग्ने गरेको छ । माछाखोलाबाट छेकम्पार खच्चडको प्रतीकेजी ढुवानी भाडा ६० रुपैयाँ सम्म पर्छ । आफ्नै याक र घोडा मार्फत तिब्बती बजारबाट उपभोग्य सामाग्री ढुवानी गर्दा ढुवानी लागत घट्ने स्थानीयवासी बताउँछन् ।

author

Hariram Upreti

CESIF Fellow