नाका खुलेको दुई वर्षसम्म चिनियाँलाई नेपाल प्रवेशमा रोक

कार्तिक २०८३ - कोरोना संक्रमणका कारण २०७६ माघ ५ गतेदेखि बन्द भएको टिपताला भन्ज्याङ नाका २०८१ जेठ ११ मा खुल्यो । फक्ताङलुङ गाउपालिका ७ ओलाङचुङगोलाका ३३ जना नेपाली गलैंचा, छुर्पी लगायतका व्यापार सामग्री लिएर पहिलो चरणमा रिउ बजार पुगे । त्यससँगै अरु नेपाली पनि चिनियाँ नाका गए । यस वर्ष सिमावर्ती क्षेत्रका बासिन्दा मात्र नभएर ताप्लेजुङको सदरमुकाम फुङलिङका थप नेपाली पनि रिउ बजार पुगेर फर्किए ।

झण्डै पाँच वर्षपछि औपचारिक रुपमा खुलेको नाका भएर चीनको डिङ्जे काउण्टीमा रहेका आफन्त भेट्न नेपालमा विवाह गएर आएका सबैजसो चेली चीन पुगेर फर्किए । नेपाल र डिङ्जे काउण्टिका अधिकारी बीच सीमा बैठक पनि भयो । तर चिनियाँ अधिकारीदेखि सर्वसाधारण नागरिक भने नाका खुलेको दुईवर्ष चार महिनासम्म पनि स्थलमार्गबाट नेपाल आएका छैनन् ।

चीनको तिब्बतमा ५०औं बर्षदेखि ब्यापार गर्दै आएका दावा शेर्पाका अनुसार कोरोना महामारी फैलनु अघिसम्म नेपाल आउने चिनियाँ र चीन जाने नेपालीको संख्या बराबर जस्तै हुने गरेको थियो । चिनियाँ अधिकारीदेखि सर्वसाधारण नागरिकसम्म ओलाङचुङगोला र याङसम्म आउँथे । चिनियाँ ब्यापारीहरु त महिना दिनसम्म नेपालका बस्तिमा रहन्थे । नेपालका जडिबुटी लगायतका सामग्री खरिद गरेर लैजान्थे । पशुचौपायको त्यत्तिकै व्यापार हुन्थ्यो । नेपाल आएका चिनियाँले पशु चौपाय किनेर लैजान्थे र चिनियाँ पशुचौपायको पनि किनबेच हुन्थ्यो ।

ताप्लेजुङ र चीनको डिङ्जे काउन्टीका अधिकारीहरूबीच भएको औपचारिक सीमा बैठक । तस्बिर: आनन्द गौतम

अहिले चिनियाँ नागरिक नआउँदा ती सबै गतिविधि ठप्प प्राय रहेको छ । नेपालीहरु केवल त्यहाँ रहेका आफन्त भेट्न जाने र फर्कने गरेको फक्ताङलुङ गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष एवम् नेपाल र चीनका सरकारी अधिकारीबीच समन्वय गराउँदै आएका छेतेन लामा शेर्पा बताउँछन् ।

वडाध्यक्ष शेर्पा लामाले भने, “हामीले ओलाङचुङगोलामा बिदेशी नागरिकको तथ्याङक पनि राख्ने गरेका छौं, चिनियाँहरु चाहि एकजना पनि आएका छैनन् ।’ यसको जानकार उनी आफु पनि छैनन् । किन नआएको भनेर चाहि डिङ्जे काउण्टिका प्रशासन प्रमुखदेखि प्रहरी प्रमुखसम्मलाई सोध्ने गरेका छन् । ‘मैले तिमिहरुचाहि किन नआएको भनेर बारबार सोध्ने गरेको छु । पहिला टिपतालमा इमिग्रेसन नभएकाले छोड्न मिल्दैन भन्थे । मैले २० किलोमिटर ओलाङचुङगोलासम्म आउनलाई अध्यागमन किन चाहिन्छ र भनेर पनि सोधेँ । “त्यसबेला जान्छु भन्ने मान्छे नै छैन भनेर जवाफ दिए,” छेतेनले थपे, “खासमा उता (चीन)बाट त्यहाँको नागरिकलाई अनुमति दिएको छैन । पर्मिट नदिएका कारण नछोडेको चाँहि बुझ्न सकिन्छ ।”

टिपताला मात्र नभएर कोरोना महामारी यता स्थलमार्गबाट कुनै पनि चिनियाँलाई नेपाल प्रवेशको अनुमति दिइएको छैन । नेपाल आउन परे हवाईमार्गको प्रयोगलाई अनिवार्य गरिएको छ । चीन प्रवेश गर्न चाहने सीमावर्ती गाउँका नेपालीहरु भने स्थानीय प्रशासनले जारी गर्ने सीमा प्रवेश अनुमति पत्र लिएर ओहोरदोहोर गर्छन् ।

चिनियाँ पशु चौपाया पनि नेपाल आएका छैनन् ।

यता हाम्रोबाट गएकोलाई पनि पहिला (कोरोना अघि) जस्तो जताततै घुम्न दिएको छैन,’ वडाध्यक्ष छेतेनले थपे, “हाम्रोबाट जानेले पास देखाएर जानुपर्छ । निश्चित तोकिएको ठाउँ छ त्यहाँ बस्नुपर्छ । उतावाट आउनेले पनि पास देखाएर मात्रै आउनुपर्छ नियम कानुन बराबरी हुन्छ भनेको थिए ।”

तर नाका खुले यता एकजना पनि आएनन् । अहिलेसम्म एकजना पनि चिनियाँ नआएका कारण वडाध्यक्षको प्रस्ताव कार्यान्वयनमा आएको छैन । “हाम्रो मान्छेहरुलाई चाँहि गलैंचा, घिउ बिक्रि गर्ने हतारो पनि थियो,’ छेतेनले थपे, ‘नाका खुल्नासाथ यताको सवैजसो मान्छे गएर आफन्त भेटे । उनीहरु (चिनियाँ)लाई हतार नभएको हुनसक्छ ।”

तिब्बत पुगेर नेपाली गलैँचा तथा व्यापारिक सामग्रीको खरिद-बिक्रीबारे छलफल गर्दै नेपाली व्यापारीहरू । तस्बिर: आनन्द गौतम

कोरोना संक्रमण अघिसम्म डिङ्जे काउण्टिका जनसरकार प्रमुख, सुरक्षा अधिकारी गाडि नै लिएर ओलाङचुङगोलाको बस्तिसम्म आउने गरेका थिए । ‘कतियौं पटक उहाँहरुले यही (ओलाङचुङगोला)सम्म आएर गाडिमा चढाएर यताको मान्छे लिएर जानुभयो,’ निवर्तमान वडाध्यक्ष छेतेन शेर्पा भोटेले भने, ‘ताप्लेजुङको सिडिओहरुलाई उताको डिएसपी नै आएर यही गोलावाटै गाडिमा लिएर पनि गए । तर अहिलेचाहिँ किन नआएका हुन् हामी पनि अचम्मित छौ ।”

ओलाङचुङगोला, याङमा, घुन्सा, तोक्पेगोलाका बासिन्दा निरन्तर उता जाने गरेका छन् । गलैचा, घिउ, जडिबुटी रिउ बजार पु¥याएर बिक्री गर्छन् । रिउवाट नुन, पिठो, कपडा लगायतका सामान ल्याउने गरेका छन् । तर, चीनका नागरिकलाई आफ्नो बस्तिमा स्वागत गर्न नपाएकोमा चिन्तित छन् ।

ओलाङचुङगोलाकी डोङ्गला शेर्पाले भनिन्, ‘सम्बन्ध दोहोरो हुनुपर्ने रहेछ । हामी गएपछि उहाँहरु पनि आउनु भयो भने मज्जा हुने रहेछ । आफु मात्रै जान चाहिँ किन होला जस्तो भन्ने भएको छ ।’  यहाँका पशुपालकले चौंरी, याक, नाक बिक्री गर्न पाएका छैनन् । चीनका अधिकारी आए आफ्नो समस्या सुनाउन पाइन्थ्यो र समाधान पनि निस्कन्थ्यो कि भन्ने उनीहरुलाई लाग्ने गर्छ । नुपुले थपे, ‘पहिला उहाँहरु आउनु हुन्थ्यो । बस्तिका सवै मानिस भेला भएर खादा लगाइदिएर धुन्ज्याङ (नाचगान) गथ्र्यौ । हाम्रा राम्रा कुरा पनि सुनाउथ्यौं समस्या पनि सुनाउथ्यौं । समस्यामा उहाँहरुले एउटा निकास दिनुहुन्थ्यो । अहिले त्यो किसिमको दोहोरो सम्बाद हुन पाएको छैन ।’

पाहुनालाई खादा लगाइदिएर गुनासो सुनाउन पाए निकास निस्कन्छ भन्ने आकाङ्क्षा सिमावर्ती क्षेत्रका बासिन्दाको छ । सिमानामा प्रशासनिक भवन बनाएको डिङ्जे काउण्टिले बोर्डरमा पुग्ने नेपालका जनप्रतिनिधि, राजनीतिक दल, उच्च पदका कर्मचारी, सन्चारकर्मीलाई स्वागत सम्मान गर्ने गरेका छन् । खाजा र खाना खुवाउने गरेका छन् । उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष नारान थापा आफुहरु टिपताला भन्ज्याङ घुम्न जाँदा पनि राम्रो सम्मान पाएको बताउँछन् । ताप्लेजुङका व्यवसायी सडकको ट्रयाक खुलेपछि आफ्नै सवारी लिएर सिमानासम्म पुगेका थिए । त्यसअघि माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् ताप्लेजुङ इन्चार्ज खेलप्रसाद वुढाथोकी, नेपाली काग्रेस जिल्ला कार्य समितिका सभापति गजेन्द्रप्रसाद तुम्याहाङ सहितको टोलीलाई पनि खादा लगाएर आफ्नै प्रशासनिक भवन परिसरमा स्वागत गरेका थिए । ३५ किलोमिटर टाढाबाट गाडिमा खाना ल्याएर उनीहरुलाई खुवाएको सहजकर्ता छेतेन बताउँछन् । 

नाका खुल्नुअघि सिमानामा पुगेका तत्कालिन प्रमख जिल्ला अधिकारी हिरादेवी पौडेल, गोमादेवी चेम्जोङलाई पनि यसरी नै सम्मान गरेका थिए । २०८१ चैतमा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा नेतृत्वको टोली चीनको डिङ्जे काउण्टि पुगेर सिमा बैठकमा सहभागी भएर फर्किएका थिए । नाका बन्दको अवस्था भएकाले सिमासम्म मात्रै पुगेर फर्किए । प्रजिअ शर्मा नेतृत्वको नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखको टोलि भनें सिमा रिउमा सिमा बैठक गरेर फर्किए । भर्खर नाका खुलेकाले तपाईहरु किन नआउने भनेर चाहि त्यो बैठकमा कुरा नभएको दोभासे छेतेन बताउँछन् ।

तिब्बतको रिउ बजार नजिकै आयोजित मेलामा सहभागी भएका स्थानीय तथा नेपालीहरू। तस्बिर: आनन्द गौतम

दुई देशका अधिकारी सिमानामा भेला हुँदा ओलाङचुङगोलाका बासिन्दाले पनि खादामाला लगेर सम्मान जनाउने गरेका छन् । टिपताला भन्ज्याङ नाका ५२ सय मिटर उचाईमा छ । प्रशासनिक भवन बनाए पनि चिनियाँ अधिकारी समेत ढुक्कै बस्दैनन् । बोर्डरमा सिसिभिटी क्यामरा राखेर रिउवाट नियमन गर्छन् । पक्की सडक भएकाले चिनियाँ अधिकारी रिउबाट बढीमा ४५ मिनेटमा पुग्ने गरेको सिमाका नेपाली बताउँछन् ।

जिल्ला प्रशासन कार्यालयले यात्रा अनुमति पत्र (पास) जारी गरेका बाहेकका मानिसले जान पाउदैनन् । 

सवारी साधन मार्फत टिपताला भन्ज्याङ पुगेर फर्कन ताप्लेजुङ सदरमुकाम फुङलिङबाट दुई दिन लाग्छ । तर अहिले तत्कालका लागि भनें सडक बिग्रिएकाले यातायात ठप्प छ । सदरमुकाम फुङलिङबाट फोरह्विल गाडिमा एकदिनमा सिमानासम्म पुगिन्छ । जानेले भनें पहिलो दिन सदरमुकामबाट ओलाङचुङगोलाको बस्तिसम्म पुग्ने, दोश्रोदिन सिमानासम्म पुगेर घुमेर बस्तिसम्म फर्कने र तेश्रोदिन सदरमुकाम फर्कने गरेका छन् । बर्खाले सडक बिगारेको र ठाडा खोलामा पानीको बहाव नघटेकाले लेलेपको इलाडाँडादेखि माथि गाडि लिन सकिदैन । तमोर नदीमा बिना पुल दुई ठाउँमा तर्नुपर्ने र खोलामा पानीको सतह नघटेकाले यातायात चल्न मंसिरसम्मै पर्खनुपर्ने ओलाङचुङगोला वडा कार्यालयका कर्मचारी तेन्जिङ वालुङ बताउँछन् । ‘यहाँ (ओलाङचुङगोला) आएपछि बाटो रोकियो भने लामो समय यतै बस्नुपर्ने भएकाले गाडिधनीले हमेसा ल्याउनै मान्दैनन्,’ उनले भने, ‘तमोर नदीमा पनि पानीको सतह नघटेकाले जोङगीन र गोलामाथि तार्नलाई समस्या छ ।’ धेरै कठिन हुने सुकेपानीमा भने बेलिब्रिज निर्माण भइसकेको छ । 

author

Ananda Gautam

CESIF Fellow