पूर्व–सूचना नहुँदा बाढीले ध्वस्त रसुवागढी नाकामा व्यापार ठप्प

Image description

मङ्सिर २०८२ - रसुवाको केरुङ नाका भएर हुने नेपाल–चीन व्यापार ठप्प भएको पाँच महिना भन्दा बढी भएको छ । गएको असार २४ गते तिब्बतमा रहेका दुई हिमताल फुटेर आएको बाढीले मितेरी पुल बगाउँदा सीमा क्षेत्रमा मालबाहक सवारी साधनको आवातजावात ठप्प छ । रसुवागढी नाका खण्डहर भएको छ ।

रसुवागढीबाट करिव २५ किलोमिटर पूर्वमा रहेको चिनियाँ ल्हेन्देगाउँ भन्दा माथि रहेका हिमताल फुटेर आएको बाढीले मितेरी पुल, टिमुरे सुख्खा बन्दरगाह र अन्य सरकारी कार्यालयका साथै रसुवागढीदेखि स्याफ्रुबेँसी सम्मको १६ किमी सडक संरचना र बस्तीमा पुर्याएको क्षतिले व्यापार व्यवसाय चौपट भएको हो ।

दुई देश बीचको कारोवार पहिलेकै अबस्थामा फर्काउन नेपाल तर्फको सडक गल्छी, मैलुङ, स्याफ्रुबेँसी, रसुवागढी सडक सुधार आयोजना र रसुवागढी हाइड्रो पावरले संयुक्त रूपमा यातायात सुचारू गराएको भएपनि मितेरी पुल अझै बनेको छैन । नेपाल सरकार अग्रसर नभएपछि चीनले मितेरी पुल निर्माणको कार्य शुरु त गरेको छ तर सम्पन्न भइसकेको छैन ।

“पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ,” प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले भने, “चिनियाँ पक्षले सम्पन्न भए पछि भारबहन क्षमता परिक्षण गर्ने र हामीलाई खबर गर्नेछौं भनेका छन् ।”

नाका सुचारु हुने आशमा कन्टेनर पार्किङका लागि नेपाल ईन्टर मोडल ट्रान्सपोटेशन संस्थाले बाढीले पुरेको सुख्खा बन्दरगाहलाई सफा गरेर केही गाडी अट्ने पार्किङ लट तयार गरेको छ ।

सार्वजानिक भौतिक संरचनाका साथै बाढीले रसुवागढीमा रहेका सयौँ व्यवसायीलाई ठूलो क्षति पुर्याएको छ ।

चीनबाट असार २३ गते साँझसम्म नेपाल प्रवेश गरेका ४० भन्दा बढी मालबाहक कन्टेनर र सयौ विद्युतीय सवारीसाधन बगेका थिए । सुरक्षाकर्मी, सवारी चालक तथा भन्सार सुख्खा बन्दरगाह क्षेत्रमा निर्माणका काम गरिरहेका ६ जना चिनियाँ नागरिक बाढीमा बेपत्ता भएका थिए । भन्सार यार्डमा नियमित काम गर्ने हजारौ मजदुर र ढुवानीमा संलग्न सयौ सवारी चालक र साना व्यापारी बेरोजगार भएका छन् ।

असार २४ गते राती २:३० बजे रसुवागढीबाट सिमा क्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मीले ल्हेन्दे खोलामा ठुलो बाढी आइरहेको जानकारी सिमा प्रहरी चौकी टिमुरेलाई दिएका थिए ।

बाढीको खबरले खोला आसपासका बासिन्दालाई सुरक्षित स्थान तर्फ लाग्न रसुवाका तत्कालिन प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले आपतकालीन उर्दी जारी गरे । खोला नजिकका स्थानीय व्यक्ति सुरक्षित ठाउँमा सरेर जोगिए ।

टिमुरेमा कार्यरत सुरक्षाकर्मीका अनुसार भन्सार यार्डमा मालबाहक डिब्वा भित्र सुतेका सवारी चालक तथा सुख्खाबन्दरगाहमा सुतेका चिनियाँ नागरिक जोगाउन गएका तीन सुरक्षाकर्मी र चालकहरु संगै बाढीमा बेपत्ता भए ।

वेपत्ता हुनेमा रामेछाप जिल्ला लिखु तामाकोसी गाउँपालिका ४ घर भई सिमा प्रहरी चौकी टिमुरेमा कार्यरत प्रहरी सहायक निरिक्षक लाल बहादुर श्रेष्ठ, बारा जिल्ला फेटा गाउँपालिका वडा नं १ का २४ वर्षीय प्रहरी जवान मुन्ना ठाकुर, बझाङ जिल्ला बुङ्गल नगरपालिका वडा नं ९ का प्रहरी जवान लोकेन्द्र बोहोरा, निर्माणाधीन भन्सार यार्डमा कामगर्ने मकवानपुर कैलास गाउँपालिका ५ भुबन सिंह मोक्तान, दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नं २ का सुदिप घिसिङ, बाग्लुङ जिल्ला तामाखोला गाउँपालिका १ कानरेन्द्र विक र सिन्धुपाल्चोक जिल्ला भोटेकोसीका फुर्वा लामा तामाङ र नाम नखुलेका ६ जना चिनियाँ नागरिक रहेका छन् ।

बाढीमा परि बेपत्ता भएकामध्ये १० जनाको मानव अंग फेला परेको र अन्यको फेला नपरेको जिल्ला प्रहरी कार्यालय रसुवाको तथ्याङ्कले देखाउँछ ।

ल्हेन्दे खोलामा बाढी आएको बेला नेपाल चीनको सीमा क्षेत्रमा पानी परेको थिएन । तर हिमताल विस्फोटको बाढीले सीमामा तहसनहस बनाएको थियो । विपद्जन्य सूचना आदानप्रदानले नागरिकको जीउधनको सुरक्षा गर्न सकिने भएपनि चिनियाँ पक्षले समयमै सूचना नदिएको जल तथा मौसम विज्ञान विभागको गुनासो छ ।

बाढीले क्षतिग्रस्त रसुवागढी स्थित सीमाक्षेत्र । तस्बिर: ज्ञानेन्द्र न्यौपाने

असार २४ गते विहान खोला बाढी आउदा टिमुरे स्थित भन्सार यार्डमा रहेका कन्टेनर डिब्बामाथि चढेर जोगिएका ९ जनालाई विपद् उद्वार टोलीले सुरक्षित तवरले उद्वार गरेको थियो भने १० जनाका शवको मानव अंग चितवनको नारायणी सम्मका नदि किनारमा फेला परेको थियो । चिनियाँ नागरिक समेत १८ जनालाई भन्सार यार्ड क्षेत्रबाट बाढी बगाएको थियो ।

रसुवागढी पारिको खोला बगर भूभागमा निर्मित एक चिनियाँ होटल बगाउँदा त्यसमा रहेका ११ जना चिनियाँ नागरिक समेत बगाएको चिनियाँ पक्षले जनाएको छ ।

बाढीको जानकारी पाउने बित्तिकै शसस्त्र प्रहरी बल २० नम्वर गुल्म टिमुरेमा कार्यरत प्रहरी निरिक्षक प्रकाश पाण्डेले टिमुरेदेखि रसुवागढी सम्म माइकिङ गरेर बाढी बारे जानकारी गराएपछि सीमावर्ती क्षेत्रका बासिन्दा सजग भएको गोसाइँकुण्ड गाउँपालिका वडा नं २ का वडाध्यक्ष कामी छिरिङ तामाङले बताए ।

रसुवागढी विनाशको प्रत्यक्षदर्शी तामाङले काठका मुढा मिसिएर आएको बाढीले भन्सार यार्डमा पसेर पार्किङ गरेका मालबाहक तथा चीनबाट आयात गरिएका विद्युतीय सवारी साधन बगाएको बताए ।

चीनबाट आएको बाढीले मितेरी खोलापारी बगरको आडमै रहेको होटल पनि बगाएर ल्याएको थियो । मितेरी पुल बीच भागको पिलर पनि भाँचिदा भयावह हुन पुगेको सिमा क्षेत्रमा बसोबास गर्ने गोसाइकुण्ड गाउँपालिका वडा नं. २ का वडाध्यक्ष कामी छिरिङ तामाङले जानकारी दिए । चिनियाँ पक्षले जोखिममा रहेका हिमतालको पहिचान गर्न नसक्दा बाढीबाट ठूलो क्षति व्यहोर्नु परेको समेत अध्यक्ष तामाङले बताउनुभयो ।

ठूलो क्षति

बाढी अनियन्त्रित भएपछि सडक भत्किए । १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युतको बाँध क्षतिग्रस्त भए । केरूङबाट ल्याएकोतर समय अभावले नेपाल प्रवेश गर्न नसक्दा रसुवागढीको भन्दा परको चिनियाँ भू–भाग केरूङखोला आसपासमा पार्किङ गरिराखेका तीन दर्जन भन्दा बढी मालबाहक कन्टेनर बाढीमा डुबेका थिए । पुलको अभावमा चिनियाँ क्षेत्रमा डुबेका गाडी चालकलाई भने चीन सरकारले तातोपानी नाकाबाट नेपाल पठायो तर लामो समयसम्म चिसोमा रहेका कारण धेरै सामान बिग्रिएका थिए ।

भन्सार यार्डमा रहेका माल सामग्रीको विश्लेषण गर्दा ठुलो परिमाणमा सम्पति क्षति भएको प्रमुख भन्सार अधिकृत तुलसी प्रसाद भट्टराईले जानकारी दिए । चीन सरकारको सहयोगमा निर्माण भएको भन्सार यार्ड पनि क्षतिग्रस्त भएको छ ।

चीन सरकारको सहयोगमा भन्सार यार्ड तथा सो यार्डमा जाने सहायक मार्ग निर्माण भएको भएपनि निर्माणमा संलग्न तिब्वतफुलि कन्ट्रक्शन निर्माण कम्पनीले भोटेकोसीको पानीलाई अर्को धारमा पठाई लगाइएको सिमेन्ट तटबन्धमा जग नखनी शेरवाल लगाइएका कारण बाढीले पर्खाल सजिलै भत्किएको स्थानीयको भनाई छ ।

बाढीले फ्याँकेका ती डल्ला अहिले पनि भोटेकोशी बगरमा यत्रतत्र छरिएको देख्न सकिन्छ ।

प्राविधिक रेखदेख सहित अनुगमन गर्ने जिम्मा समेत रहेको नेपाल इन्टरमोडेल ट्रान्सपोटेशन संस्था जवाफदेही हुनुपर्ने आवाज उठ्न थालेको छ ।

बाढीका कारण छ अर्ब ६२ करोड ८० लाख ५८ हजार लागतको पुर्वाधार तथा माल सामग्री नष्ट भएको र १११ मेगावाट क्षमताको रसुवागढी जल विद्युत् आयोजना समेत प्रभावित भएको रसुवाका वर्तमान प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिनुभयो। १११ मेघावाट रसुवागढी जलविद्युत आयोजनाको उत्पादनबाट असार २४ देखि मंसिरसम्म रु एक अर्ब ८५ करोड ७३ लाख थप नोक्सान भएको रसुवागढी जलविद्युत कम्पनीका कार्यकारी निर्देशक सत्यराम ज्याख्वाले जानकारी दिए । अहिले जलविद्युत आयोजनाबाट ३७ मेघावाटको एउटा युनिट सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।

बाढीले क्षतिग्रस्त रसुवागढी स्थित सीमाक्षेत्र । तस्बिर: ज्ञानेन्द्र न्यौपाने

बाढीले रसुवामा निर्माणाधिन भन्सार भवनको संरचान ८१ लाख ५० हजार रुपैयाँ क्षति गरेको छ । त्यसैगरी, रसुवागढी जल विद्युत् आयोजनामा तीन अर्ब ५१ करोड छ लाख २९ हजार ३ सय ४२ भन्सार यार्डमा ९१ करोड २० लाख ९४ हजार २५९, स्याफ्रुबेँसी रसुवागढी सडक ६८ करोड ९८ लाख ४१ हजार सात सय बराबरको क्षति पुगेको समेत प्रजिअ पन्थीले जानकारी दिए ।

सोही बाढीले विद्युतिय सवारी साधन चार्जिङ सेन्टरमा रू ६८ लाख , भन्सार यार्डमा पार्किङ भएका सवारीसाधन, माल सामग्री र दूरसञ्चार यन्त्रको रू १४ लाख आठ हजार ४७९, भन्सार यार्डमा रहेका मालबाहक सवारी साधन, माल सामाग्री तथा यान्त्रिक उपकरण समेत रु ७० करोड, ५१ लाख, ६ हजार नोक्सान भएको क्षति मुल्याङ्क समितिका सदस्य एवम् सहायक प्रमुख जिल्ला अधिकारी धुर्ब प्रसाद अधिकारीले बताए ।

विद्युत् आयोजना क्षेत्रमा २० मेगावाट लाङ्टाङ खोलामा निर्माणाधिन (राष्ट्रिय निकुञ्जको क्षेत्र भित्र) एक करोड १२ लाख, २२ मेगावाट क्षमताको चिलिमे जल विद्युत् केन्द्रमा ८९ लाख, ३२ हजार, ६ सय ६५, ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत केन्द्रमा ३२ लाख, २४ हजार, ५ सय ९९, राष्ट्रिय प्रशारण लाइनको थ्री बी हवको रू २० करोड, ५५ लाख क्षति भएको तथ्याङ्क छ ।

निर्माणाधीन २१६ मेगावाट अपर त्रिशुली–१ मा २० करोड ९० लाख १४ हजार दुई सय, नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रमा ६३ लाख ३० हजार ४ सय ५५, गोसाइँकुण्ड गाउँपालिको संरचनामा ७० लाख र उत्तरगया गाउँपालिकामा दुई करोड २६ लाख बाढीले नोक्सान पुर्याएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

रसुवागढी सीमानाकामा निर्माणाधीन बेली ब्रिज । तस्बिर: ज्ञानेन्द्र न्यौपाने

व्यापार व्यवसाय ठप्प हुँदा गतवर्षको तुलनामा सामग्रीबाट आयापत वापत उठ्ने भन्सार करबाट २० अर्ब भन्दा बढी नोक्सान भइसकेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

मितेरी पुलको पुनः निर्माण कार्य चीन सरकारले गरिरहेको छ ।मजदुर तथा उपकरण दुवैको सहायताले बेलीब्रिज बनाउने कार्य भइरहेको अवस्थामा केरूङमा काम गरिरहेका नेपालीलाई चिनियाँ अधिकारीले ल्हेन्दे खोलाबाटै आउन सहज गरेका कारण रसुवालीलाई स्वदेश फर्कन सहज भएको छ । नेपाल चीन सीमा क्षेत्रका बासिन्दालाई अध्यागमन कार्यालयबाट प्रदान गरिने सीमापास भएका नागरिकले मात्र केरूङ जान पाउने र सो पास रसुवा जिल्लाको नागरिकले मात्र पाउने गरेका छन् ।अन्य जिल्लाको नागरिकलाई यो सुविधा नभएकाले केरूङबाट माल सामग्री ल्याउन रसुवा जिल्लाको चालकले मात्र काम पाउने गरेका छन् । चीन सरकारले माल सामान आयातकर्ता अन्य जिल्लाका मानिसलाई केरूङ जान दिएको छैन ।

व्यापारी व्यवसायीले भन्छन्, “अरबौ रूपयाँ लगानी गरेर सामान आयात गर्छौ तर केरूङ गोदाममा आएपछि बजारको माग अनुसार कुन सामान छिटो ल्याउने भन्ने विषयमा लोड गराउन जान समेत पाइदैन ।” सधै अर्काको भरमा मात्र काम गर्नुपर्दा मर्का परेको व्यवसायी धर्म पौडेलले बताए ।

व्यवसायीले बाढीको मारमा रसुवागढीका मात्र नभई समग्र देशवासी नै प्रभावित भएकाले तत्काल नाका सुचारु गर्न पहल गर्नुपर्ने बताए । रसुवागढीमा व्यावसाय गर्ने स्थानीय भन्दा रसुवा बाहिरका बढी छन् । तर रसुवा बाहिरका व्यवसायी सीमा पार गरेर केरुङसम्म जान पाउदैनन् । नेपाल राष्ट्रिय व्यवसायी संघका निवर्तमान अध्यक्ष कुमार कार्कीले नेपाली व्यवसायी आफ्नो गाडी लिएर केरूङसम्म जाने व्यवस्था मिलाउन जिल्लाका प्रमुख जिल्ला अधिकारी देखि परराष्ट्र मन्त्रालय सम्म पुगेर आग्रह गर्दा कुनै सुनुवाई नभएको बताए ।

“कम्तिमा रसुवागढी नाकाबाट केरूङ जान व्यापारी व्यवसायी र सवारी चालकलाई वान– डे पास उपलव्ध गराईदिनुपर्छ,” कार्कीले भने ।

author

Gyanendra Neupane

CESIF Fellow