कहिले पुग्ला याङ्मामा सञ्चार सुविधा ?

चैत २०८२ - २०७९ सालको भदौमा फक्ताङलुङ गाउँपालिका ६ लेलेपका ७४ वर्षीय फुछिरिङको मृत्यु भयो । यही पालिकाको वडा नं ७ याङमामा बस्दै आएकी पासाङफुटी शेर्पाले उनका बुवाको मृत्युको खबर ६ दिनपछि मात्रै पाइन् ।

भदौ महिनाको ३१ गते दिउँसो पासाङफुटीका छिमेकीले उनलाई दुखद खबर सुनाएका थिए । फुछिरिङको २५ गते दिउँसो देहान्त भएको थियो । जेठी छोरी भएकाले पासाङफुटीलाई कतैबाट खबर गर्न सकिएला कि भनेर उनका भाई तेन्जिङ शेर्पाले २७ गतेसम्म अन्तेष्टिका लागि पर्खिए । तर, ६ छोरी र एक छोरा मध्ये अरु छोरीहरु भारतको सिक्किम, फक्ताङलुङकै घुन्सा देखिका आफन्त भेला भएपनि उनले बुवाको मुख अन्तिम पटक हेर्ने मौका जुरेन ।

२०८० सालमा याङमाकी फुटिक शेर्पा भोटियालाई बारम्बार आमाको झल्को आयो । चीनको तिब्बतस्थित डिङ्जे काउण्टिको रिउवाट विवाह गरेर नेपाल आएकी उनले सपनामा पनि आमालाई देखिरहिन् । हरेक दिनजसो आमाको झल्को आएपछि छिमेकी लाक्पा शेर्पालाई लेजुङ डाँडामा गएर उनकी आमालाई सन्चो बिसन्चो भएको सोधिदिन आग्रह गरिन् । लाक्पाको पनि काठमाण्डौंमा आफन्तसंग सम्पर्क गर्नुपर्ने भएकाले डाँडातिर गए । तर उनले फर्कदा फुटिक शेर्पाका लागि सुखद सन्देश ल्याउन सकेनन् । फुटिककी आमाको १४ दिन अघि नै मृत्यु भइसकेको रहेछ ।

तिब्बतमा रहेका माइतीले आमा बितेको सन्देश याङमामा पुर्याइदिन काठमाण्डौंमा रहेका फुटिकका आफन्तलाई पहिल्यै खबर गरिसकेका थिए । नराम्रो खबर लैजानुपर्ने भएकाले काठमाण्डौंबाट फेरि तिब्बतमा फोन गर्न लगाएर मात्रै लाक्पा फर्किएका थिए । अझ स्पष्ट हुन लामो समय कुरेर पटक पटक फोन गरेर गाउँ फर्किएका थिए ।

आमा जिवित हुँदै स्वास्थ्य लाभको कामना गर्न र अन्तिम पटक भेट्न नपाएकी उनले आफ्नो जातीय संस्कार अनुसार बत्ती बाल्ने समय पनि पाइनन् । हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा र भोटे समुदायमा आमाबुवा परलोक भएको दिनदेखि हरेक छोराछोरीले ४९ दिनसम्म २४ सै घण्टा ननिभ्नेगरी दियो बालेर प्रार्थना गर्ने चलन छ ।

८० सालमा बुवाआमासंगै चौरी गोठमा गएकी याङमाकी निमाफुटी घाइते भइन् । उनलाई आपतकालीन उपचारको आवश्यकता थियो । तर उनको बस्तीमा न उपचारका लागि स्वास्थ्यकर्मी थिए न त कुनै औषधी ।

खुट्टामा गम्भिर चोट लागेपछि उपचारमा लानु आवश्यक थियो । गाउँमा बोक्ने युवाहरु नभएकाले हेलिकप्टरबाट लैजाने सोच अभिभावकले बनाए । तर, उनको गाउँमा सञ्चार सुविधा नभएकाले हेलिकप्टर बोलाउन बेलाबेला फोन लाग्ने लेजुङ डाँडामा गएर दुईदिन सम्म गाउँलेले प्रयास गरे । सफल भएनन् ।

त्यसपछि निमाफुटीका बुवा तेञ्जिङ शेर्पा ओलाङचुङगोला गएर टेलिफोन गरे र हेलिकप्टर झिकाए । निमाफुटीलाई हेलिकप्टरले उपचारका लागि काठमाण्डौं लगे । उपचारमा ढिला भएकाले उनले एउटा खुट्टा गुमाइन् । उनी अपांग भइन् ।

ताप्लेजुङ सदरमुकाम फुङलिङवाट तीन दिनको पैदलमा रहेको याङमा नेपाल र चीनको सिमाना टिप्ताला भञ्ज्याङ नजिकैको गाउँ हो । 

यो गाउँमा अहिले जम्मा १० घर परिवार बस्दै आएका छन् । गएको फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा यहाँ १३ मत खसेको थियो । यसअघिको प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा १४ जनाले मतदान गरेका थिए । यहाँ अहिले घरधुरी गणना गर्ने हो भने १७ वटा छन् । ती मध्ये ९ घरपरिवारले मात्रै बसोबास गरेका छन् ।

दुर्गम याङ्मा गाउँको दृश्य, जहाँ भौगोलिक कठिनाइले सेवा पहुँचलाई सीमित बनाएको छ। । तस्बिर: आनन्द गौतम

गोरेटो र घोरेटो बाटो मात्रै भएको यस गाउँमा पुग्न ताप्लेजुङको ओलाङचुङगोलाबाट एक दिन पैदल हिड्नुपर्छ । घुन्साबाट पनि जान सकिन्छ । तर घुन्साबाट त्यहाँ पुग्न डेढ दिन लाग्छ । त्यहाँ पुग्नेले झोलामा खानेकुरा बोकेर जानुपर्छ । यो नेपाल चीन सीमा रक्षकहरुको गाउँ पनि हो । यहाँबाट नेपाल र चीनको सिमाना टिप्ताला भन्ज्याङ पुग्न एकदिनको पैदल यात्रा गर्नुपर्छ । समुद्र सतहदेखि ४२०० मिटर उचाइको रहेको याङमा जिल्लाको सबैभन्दा उचाईमा रहेकोे मानव बस्ती हो । स्थानीयका अनुसार यो गाउँमा सयौं वर्ष अघिदेखि बसोबास हुँदै आएकोे छ । बिडम्बना यहाँ अहिलेसम्म सञ्चार, स्वास्थ्य र शिक्षा जस्ता आधारभुत सेवा सुविधा पुगेका छैनन् । आधारभूत सुविधाको अभावमा यहाँका नागरिकले पलपल पीडा भोगिरहन्छन् ।

फक्ताङलुङ गाउँपालिका ७ का वडाध्यक्ष छेतेश शेर्पा लामा यो बस्तीलाई देख्दा जनप्रतिनिधि हुँ भन्नपनि लाज लाग्ने बताउँछन् । ओलाङचुङगोलाका बासिन्दा छेतेशले भने, “मेरो वस्तिमा (ओलाङचुङगोला) पनि चार पाँच वर्ष अघिसम्म यस्तै नै थियो । फोन थिएन । बल्लतल्ल टावर जोडेर फोन सम्म लाग्छ, अझैपनि  फोरजी (4G) त जोडेकै छैन । टु जी (2G) बाट अलिअलि समाचारहरु हेर्न सम्मलाई नेट चल्छ,” छेतेनले भने, ‘याङमालाई टेलिफोन दिनुहोस भनेर कति धायौं कति । खै दिदैंनन् ।’ नेपाल टेलिकमले सामाजिक उत्तरदायीत्व अन्तर्गतको रकमबाट टेलिफोन सुविधा दिए दुर्गमका नागरिकलाई राहत हुने छेतेनको माग छ ।

स्थानीय जीवनको झलक, जहाँ नागरिकहरू अझै न्यून पूर्वाधार र सीमित सेवामा निर्भर छन्। तस्बिर: आनन्द गौतम

यहाँका बासिन्दा मौसम खुलेको मौकामा फोन गर्न लेजुङ डाँडा जाने गरेका छन् । दिन राम्रो भएर मौसम खुल्यो र कतै कुहिरो लागेन भने सादा फोन सेटबाट टेलिफोन सम्पर्क हुन्छ । ‘कहिले मज्जाले बुझिन्छ, कहिले मधुरो हुन्छ’ छेतेनले भने । यहाँका नागरिकलाई यो डाँडामा पुग्न कम्तिमा तीन घण्टा लाग्छ ।

लेक लाग्ने भएकाले बाहिरबाट गएकाहरु सात घण्टासम्म पैदल हिड्नुपर्छ । मौसम खुल्दापनि दुःख नपाइयोस फोन सम्पर्क होस् भनेर स्थानीयहरु घरमा धुप हालेर शुभ साइत पारेर फोन गर्न जाने गरेको छेतेन बताउँछन् ।

हिउँले ढाकेको चार/पाँच महिना फोन सम्पर्क हुदैन । फोन नलाग्दाका पीडा मात्रै छ । २०७९ सालमा यहाँका फिञ्जो शेर्पालाई बारी जोत्ने क्रममा याकले हान्यो र सिङले लागेर गम्भीर घाइते भए । घाँटीमा गम्भीर चोट लागेका उनलाई बस्तीबाट बाहिर लैजान सम्भव भएन । उनलाई बोकेर लैजानसक्ने युवा पुस्ता गाउँमा थिएनन् । फिञ्जोका आफन्तले लेजुङ डाँडामा गएर तत्कालिन वडाध्यक्ष छेतेन शेर्पा भोटेलाई फोन गरेर स्वास्थ्यकर्मी पठाइदिन आग्रह गरे ।

वडाध्यक्ष भोटे ओलाङचुङगोलाबाट स्वास्थ्यकर्मी लिएर भोलिपल्ट आफै गाउँमा पुगे । ओलाङचुङगोलाबाट गएका स्वास्थ्यकर्मीले उपचार गरे ।

अहिले यहाँ २५ जनाको हाराहारीमा नियमित बस्छन् । उनीहरुका लागि बाहिरको संसारसंग सम्पर्क विच्छेद छ । शिक्षाका लागि गाउँपालिकाले बाल शिक्षकको व्यवस्था गरेको छ । ठुलो कक्षा पढ्न ओलाङचुङगोला नै आउनुपर्छ । संघियता आउनु अघिसम्म दुईजना शिक्षकको दरवन्दी थियो । पहुँच भएका शिक्षक यही गाउँमा दरबन्दी राखेर घरमै बसेर तलब खान्थे । शिक्षक गाउँमा नबसी तलव खाएको सूचना पाएपछि गाउँपालिकाले याङमा, फले र ग्याब्लामा बाल कक्षा राखेर अरु विद्यालय खारेज गरिदियो ।

स्थानीय जीवनको झलक, जहाँ नागरिकहरू अझै न्यून पूर्वाधार र सीमित सेवामा निर्भर छन्। तस्बिर: आनन्द गौतम

संघीय सरकारले स्वास्थ्य चौकि राख्ने निर्णय गरेको वर्षौ भएपनि कार्यान्वयन भएको छैन । नेपाल टेलिकम प्रदेश नम्वर एक प्रादेशिक निर्देशनालयका तत्कालिन निर्देशक लक्ष्मण महर्जनले यस्ता दुर्गम बस्तीका लागि स्याटलाईट टेलिफोन सुविधा प्रवाह गर्न सकिने बताएका थिए । तर उनको आश्वासन कार्यान्वयनमा आएन । न त वडाध्यक्ष छेतेनले टेलिकमले सामाजिक उत्तरदायित्व अन्तर्गतको रकमबाट राखिदिन गरेको औपचारिक पत्राचारले काम गरेको छ ।

“हामीले सांसद, पार्टीका नेतालाई भन्न छोडेका छैनौं, सदरमुकाम आएको बेला भनिनै रहन्छौं, याङमाका तेन्जिङ भोटियाले भने, तर खै फोन सम्ममा बोल्न पनि पाइएन ।” याङ्माका बासिन्दा मंसिर पुसको चिसो छल्न तल्लो भेगमा पर्ने चेने जान्छन् । माघ महिनामा फर्किएर बाँकी समय त्यही गाउँमा बस्छन् । चौरी, याक पालन गर्छन् । आलु खेती लगाउँछन् । चीनको स्वसाशित क्षेत्र तिब्बत आउजाउ गरिरहन्छन् ।

याङमाकै जस्तो पीडा नभएपनि सञ्चार, स्वास्थ्य, शिक्षाको पीडा ओलाङचुङगोला, मिक्वाखोलागाउँपालिका ५ को तोक्पेगोला, मेरिङदेन गाउँपालिका ६ को चाँगा लगायतका हिमाली गाउँका बासिन्दाले सास्ती भोगिरहेका छन् । यी गाउँमा शेर्पा जातीको बाहुल्यता छ । यहाँको समस्या सम्वोधनका लागि आफुले सकेसम्मको पहल गर्ने सांसद मिङमा डेभिड शेर्पाले बताए ।

रास्वपाबाट निर्वाचित सांसद शेर्पाले केही दिन अघि प्रधानमन्त्री बालेन्द्र शाहसंगको भेटका क्रममा याङ्मा लगायतका हिमाली गाउँका बासिन्दाले भोगिरहेका समस्याको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए । “कुरा राखेका छौ । हेरौ अब समस्या सामाधान होला,” मिङ्माले भने ।

author

Ananda Gautam

CESIF Fellow