Two Third Majority

दुइ तिहाईले जन्माएको प्रश्नस् भित्रैबाट सिर्जित अस्थिरतालाई के गर्ने ?

CESIF Nepal Blog / Article, Good Governance, Thematic Areas Leave a Comment

।१।
राजनीतिक अस्थिरता र पटक पटक बदलिईरहने सरकारलाई हामीले नेपालको अव्यवस्था, भ्रष्टाचार र कुशासनको कारक मान्दै आएका छौं । राजनीतिक स्थायित्व र स्थिर सरकारकै चाहनाले गर्दा गत निर्वाचनमा धेरैले कम्युनिष्ट गठजोडलाई सहयोग पनि गरेका हुन् ।

नेपालको राजनीतिलाई अस्थिर बनाउन भारतको चलखेल मूख्य रूपमा देखिएको छ । त्यसपछि नेताहरूको आफ्नै राजनीतिक आकांक्षाका कारण कहिले भारतसित मिल्ने र कहिले चीनसँग मिल्ने र बनिबनाउ सरकार गिराउने व्यवहार पनि देखिएको छ ।

संविधान निर्माणपछि भारतकै आडमा प्रचण्डले के पी सरकार ढालेको हामीले भोगेकै हो र कहिले मोदी र कहिले सी जिनपिंग सित नजीक हुन चाहेको पनि देखेकै हो। केहि हप्ता अगाडि देखिएको भेजेजुएला प्रकरण र झम्सीखेलको बैठकले ओलीलाई पनि झस्काएकै छ ।

दुई तिहाई समर्थन भएर पनि यो सरकार कमजोर र अस्थिर देखिएको छ । कमजोर प्रदर्शन र बढ्दो विरोधको सामना गर्न प्रधानमन्त्री ओलीले फेरि बाहिरतिरै फर्केर अरूलाई दोष दिन थालेका छन् । हुँदा हुँदा राज्यलाई जनता र नागरिकसमाजसँग बचाउनुपर्ने नीति अंगालेका छन् ।

अहिलेसम्मको राजनीतिक डिस्कोर्समा अस्थिरताका बाह्य श्रोतहरूको चर्चा हुँदैआएको छ । तर प्रधानमन्त्री के पी ओलीको एक वर्षको उपलब्धिको चर्चा हुँदै गर्दा नेपालको राजनीतिक डिस्कोर्समा भित्रैबाट आउने राजनीतिक अस्थिरताको श्रोतबारे चर्चा गर्ने बेला भएको छ ।

।२।
केहि दिन अघि मात्र म मेरो १२ बर्षको छोरासँग बसेर किशोरहरूका लागि बनाइएको एउटा यूट्यूव भिडियो हेर्दै थिएँ। द रूल्स फर रूलर्स ९शासकका लागि नियम० भन्ने त्यस भिडियोमा देशको समस्या हल गर्न कसरी तानाशाह बन्ने र किन अधिनायक बनेपछि पनि देशका समस्या हल गर्न सकिँदैन भनेर बताईएको थियो। अठार मिनेटको भिडियोमा नेपालसँग ठ्याक्कै मिल्ने कुराहरू थिए जुन मेरो बर्षौंको अध्ययनले पनि खोतल्न सकेको थिएन ।

त्यस भिडियोमा तानाशाहका लागि तीन नियम दिइएका थिए । पहिलो, कुनै पनि शासकले एक्लै शासन गर्न सक्दैन। उ आँफैले सडक बनाउन सक्दैन, पानीजहाज चलाउन सक्दैन, रेल चलाउन सक्दैन । उसलाई जहिलेपनि काम गर्नका लागि राज्य संयन्त्र चाहिन्छ । अझ भन्ने हो भने उसको लागि सेना, पैसा र कानूनी निकायहरू चाहिन्छ र यी राज्य संयन्त्र चलाउन बफादार सहयोगीहरू । यी व्यक्तिहरू नै अधिनायकको शक्तिका श्रोतहरू हुन् र नेताको काम यिनै सहयोगीहरूको प्रदर्शनमा निर्भर रहन्छ । त्यसैले रणनीतिक सहयोगीहरू आफ्नो पक्षमा राख्नु शासकको लागि सबैभन्दा पहिलो आवश्यकता हो । ती सहयोगीहरूलाई खुशी राख्नु शासकको दोस्रो आवश्यकता हो । सहयोगीहरू खुशी रहेनन् भने सरकारको प्रदर्शन फितलो हुने मात्र हैन सत्ता नै परिवर्तन हुन सक्छ ।

राजनीतिक अस्थिरताको श्रोत पनि त्यहि नै हो । एकातिर राज्यको श्रोत र साधनमाथि विरोधीहरूले आँखा गाडीरहेका हुन्छन् भने अर्कोतिर ती सहयोगीहरूका पनि आफ्नै सहयोगीहरू हुन्छन् जसलाई पद र पैसा बाँड्नुपर्ने हुन्छ । त्यसैले तेस्रो नियम हो सहयोगीहरूको सँख्या कम गर्ने । सहयोगीहरू जति कम हुन्छन् उनीहरूले त्यति नै बढी पैसा पाउँछन् र अधिनायक सफल हुन्छ ।

।३।
के पी ओली सरकारको आन्तरिक अस्थिरताको कारक चौरतन्त्र हो ।

चौरतन्त्र भनेको भ्रष्टाचारको बलियो संजाल मार्फत सत्ता कब्जा गर्ने र देश र जनताको सम्पत्ति लुट्ने परिपाटी हो । नेपालमा चौरतन्त्रको लागि नेता, प्रशासन, नीजि क्षेत्र र अन्तर्राष्ट्रिय रूपमा संलग्न चरित्रहरूको संलग्नता छ । यसबारे फेरि अर्को कुनै लेखमा चर्चा गरिनेछ ।

यहाँ हामीले बुझ्नुपर्ने के हो भने हाल नेपालमा चौरतन्त्रले चार प्रकारका धन सम्पत्तिमा आँखा गाड्ने गर्छ ।

चौरतन्त्रको पहिलो तारो आमजनता र उपभोक्ताको धन हो । यसको लागि राज्य र निजी क्षेत्रको मिलेमतो आवश्यक पर्छ । त्यसैले नेपालको शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, श्रम क्षेत्र र उपभोक्ता क्षेत्र शोषणको लागि सबैभन्दा आकर्षक क्षेत्र हुन् र धेरै नेताहरूको लगानी यिनै क्षेत्रमा छ । राज्यका नियामक निकायहरूले यी क्षेत्रको नियमन गर्ने भन्दा पनि दोहनका लागि निजी क्षेत्रलाई सघाउने काम गर्छन् ।यसैसँग सरोकार राख्ने अर्को श्रोत नागरिकहरू हुन् । राज्यले समेत नागरिकहरूलाई लाईसेन्स, पासपोर्ट, नम्बरप्लेट जस्ता अत्यावश्यकीय सेवाहरूमा बारम्बार मनपरि शुल्क लिएर शोषण गर्ने गर्छन्। यसबाट उठ्ने प्रत्यक्ष लाभ कर्मचारी, नेता र निजी क्षेत्रले भागवण्डा गर्छन् ।

चौरतन्त्रले आँखा गाड्ने अर्को धन राज्यले कर वा अन्य राजश्व मार्फत जनतासँग उठाएको रकम हो । यसको सबैभन्दा ठुलो गठबन्धन राजश्व प्रशासनमा रहने गरेको छ । कर फर्छ्यौट आयोग देखि राजश्व अनुसन्धान विभाग र कर कार्यालयहरूमा चौरतन्त्रको ठुलो सन्जालले काम गरिरहेको छ । यसबाट राज्यले पाउनु पर्ने अर्बौंको धन हिनामिना हुने गर्छ । एनसेलको कर प्रकरण पनि यसैको एउटा उदाहरण हो । राज्यको अर्को प्रकारको लुट खरीदमा वा राज्यको बजेट संचालनमा हुने गर्छ । बजेट संचालनमा राज्य प्रशासनले सीधै राज्यको पैसा लुट्ने गर्छ भने खरीदमा वा टेन्डरमा निजी क्षेत्र वा अन्तराष्ट्रिय गिरोहसँग मिलेर राज्यको पैसा लूटिन्छ ।

चौरतन्त्रको तेस्रो तारो राज्यमा रहेको प्राकृतिक स्रोतको दोहन हो । यसमा पनि चौरतन्त्रले संरक्षित गरेका पात्रहरूले देशका स्रोतहरूको दोहन गर्छन् जसको प्रत्यक्ष लाभ न राज्यले पाउँछ न जनताले । त्यसैगरेर चौरतन्त्रको चौथो आर्थिक स्रोत राज्यले नियमन गरेका क्षेत्रहरू हुन् जहाँ व्यापार व्यवसाय गर्न इजाजत आवश्यक पर्छ । यी क्षेत्रहरूमा नाफा कमाउने प्रशस्त संभावना हुन्छ । तर राज्यका निकायहरूले आम व्यवसायीलाई यस क्षेत्रबाट निषेधित गरेर चौरतन्त्रसँग नजीक रहेका व्यापारी र व्यवसायीहरूलाई मात्र इजाजत दिने गर्छन् ।

।४।
यसको एउटा उदाहरण राजनारायण पाठक हुन् ।

घुस खाएको प्रमाण सार्वजनिक भएपछि अख्तियारका आयुक्त राजनारायण पाठक राजीनामा गर्न वाध्य भएका छन् । व्यक्तिगत लाभको लागि राज्यले प्रदान गरेको शक्ति र श्रोत दुरूपयोग भए नभएको निगरानी गर्ने जिम्मेवारी बोकेका पाठक स्वयं भ्रष्टाचारमा संलग्न हुनु जनताको विश्वासमा कुठाराघात हो । तर राज्य संचालकहरूका लागि पाठकको गल्ती घुस खानु हैन, खराब आचरण पनि हैन, घुस खाँदै गरेको भिडियो खिच्दासमेत थाहा नपाउनु थियो।

को मान्छे असल र को मान्छे खराब भन्ने कुरा उसँग संगत गर्ने सबैलाई थाहा हुन्छ । धेरैलाई पाठकको चरित्रबारे उनी आयुक्त बन्नु अघि नै थाहा थियो । डा गोविन्द केसीले त उनको खुलासा केहि वर्ष अघि नै गरेका थिए । तैपनि पाठक र लोकमानसिंह जस्ता चरित्रहरूको नेपालको राज्यव्यवस्थामा हालीमुहाली रहने गर्छ । भ्रष्ट र चाकरीबाजहरूको राज्यमा उन्नति प्रगति हुन्छ । इमान्दार र क्षमतावान मानिशहरू सँधै पछि पर्ने गर्छन् । किनरु

नेपाल राज्यका निकायहरूमा हुने राजनीतिक नियुक्तिको आधार कहिले पनि चरित्र र क्षमता थिएन । न यो भविष्यमा हुनेछ ।नियुक्तिहरूको पहिलो आधार नेताहरूको आफ्नो राजनीतिक शक्ति संरक्षण हो । दोस्रो आधार नेताहरूले खडा गरेको चौरतन्त्र ९राज्यको माध्यमबाट जनता र देश लुट्ने परिपाटी० को संरक्षण हो । भ्रष्ट संजालको संरक्षणका लागि ठुला नेताहरू अख्तियारमा, अदालतमा, प्रहरीमा, राजश्व प्रशासनमा र राज्यका प्रमुख कानूनी निकायमा आफ्ना मान्छे नियुक्त गर्छन् ।

यो परिपाटी कहिले पनि बदलिने छैन ।

।५।
नेपालको लोकतान्त्रिक व्यवस्थामा शक्ति संकलन र शक्ति संचय गर्ने तरिका अधिनायकवादको भन्दा खासै फरक छैन ।
नेताहरूलाई राजनीतिमा स्थापित हुन जनताको मत आवश्यक पर्छ । तर हाल निर्वाचन पद्दति र शैलीमा यति धेरै विकृति छ कि राजनीतिक शक्ति र आर्थिक शक्ति हुनेहरू सजिलै निर्चाचित हुने गर्छन् । उनीहरू पक्कै पनि आफ्नो क्षेत्रको जनताको लागि केहि गर्छन् । तर त्यो भन्दा बढी उनीहरू देशलाई हानि हुने काम गर्छन् । अर्थात एउटा निर्वाचन क्षेत्रमा विकास देखाएर सम्पूर्ण देशलाई हानि हुने काम गरिरहेका हुन्छन् ।

निर्वाचनमा विजयी हुनको लागि तीनवटा चीज आवश्यक पर्छन् । निर्वाचन क्षेत्रका जनतालाई काम गरेको देखाउने, पैसाको खोलो बगाउने र पैसा र राजनीतिक शक्तिका आडमा कार्यकर्ता र सहयोगी खटाउने ।

सामान्यतया जनता र देशप्रति इमान्दार रहेका र उच्च नैतिक चरित्र भएका व्यक्तिहरूलाई चौरतन्त्रमा भिजेका प्रतिद्वन्द्वीको सामना गर्न कठिन हुन्छ । विशेष गरेर भर्खरै एकता हुँदै गरेको नेपाल कम्युनिष्ट पार्टीमा एकथरी नेताहरू अनैतिक काम गरेर आँफुलाई स्थापित गर्ने र एकथरि नैतिकता र जनताको पक्षमा रहेर काम गर्ने अन्तर्विरोध देखिएको छ । यसले पार्टीभित्र नै ठुलो असन्तुष्टी सिर्जना गरेको छ ।

पैसा र सामन्तवादी शैली नेपालको राजनीतिमा हावी भएको छ । सामन्तवाद सत्ता संचालनको एउटा परिपाटी हो । यो माथि उल्लेख गरिएको शासकको शैली अनुसरण गर्छ । तर लोकतन्त्र र पूँजीवादी फस्टाउँदै गएको हाम्रो देशमा चौरतन्त्रका केहि फरक परिपाटी देखिएका छन् । यसले सामन्तवाद र पैसाको महत्वलाई सिर्जनशील तरिकाले उपयोग गरिरहेको छ ।

।।६।।

प्रधानमन्त्री के पी ओलीले जतिसुकै समृद्धिको पक्षमा र भ्रष्टाचारको विपक्षमा कुरा गरेतापनि उनलाई राज्यसंचालनमा सहयोग गर्ने निष्ठावान सहयोगीहरूको आवश्यकता पर्दछ । ती सहयोगीहरूमध्ये केहि व्यापारी छन्, केहि ठेकेदार छन्, केहि नेता छन् र केहि प्रशासक छन् ।

सहयोगीहरूलाई खुशी राख्नको लागि प्रधानमन्त्री ओलीले उनीहरूलाई राज्यको सुविधा र पैसा कमाउने मौका उपलब्ध गराउनु पर्दछ । त्यसैले सबैभन्दा ओलीको लागि ठुलो चुनौती आफ्ना सहयोगीहरूलाई राज्यको पैसा बाँड्ने, त्यसपछि बचेको पैसा मतदाताहरूलाई बाँड्ने र त्यसपछि बचेको पैसाले मात्र देश विकास गर्ने र सुशासन प्रदान गर्ने हो ।

शासकको शैलीबाट सिक्नुपर्ने प्रमुख कुरा हो—के पी ओलीले मात्र भ्रष्टाचार नसुनेर वा नदेखेर हुँदैन, उनलाई सत्तामा टिकाउने सहयोगीहरूले पनि भ्रष्टाचारलाई त्याग्न सक्नुपर्दछ । बिचार कमजोर रहेको अवस्थामा राजनीतिक निष्ठा किन्नुपर्छ ।

तर यदि के पी ओलीका सहयोगीहरूलाई चौरतन्त्रबाट अलग्याउने हो भने भोली प्रधानमन्त्री ओली नै सत्ताबाट च्यूत हुनु पर्दछ । नेपालको वर्तमान राजनीतिक संरचना र शैलीका कारण उनले नचाहेर पनि चौरतन्त्रलाई संरक्षण गर्नुपर्ने वाध्यता छ ।

यो वाध्यताबाट मुक्ति पाउन नेपालको राजनीतिमा सुधार आवश्यक छ । यो सुधार राजनीति र पैसाको सम्बन्धलाई नियन्त्रण गर्ने र दलहरूभित्रै लोकतान्त्रिक पद्दति सिर्जना गर्ने कुरासँग सम्बन्धित छन् । नभए दुइ तिहाईको सरकार भएर मात्र पुग्दैन । आफ्नै पार्टीभित्र रहेको असन्तोष र लोकतान्त्रिक परिपाटीलाई बलियो बनाउनु पर्दछ । आफ्नै सहयोगीबाट लोकतन्त्रलाई बचाउनु पर्दछ ।

Author: Ajaya Bhadra Khanal

Photo: Sushma Bhatta

Leave a Reply

Your email address will not be published. Required fields are marked *