भदौ २०८३ - गएको भदौ १० मा गएको विनाशकारी बाढीले नेपाल–चीनको महत्वपूर्ण व्यापारिक नाका रसुवागढी बगाएको छ । यससँगै चीनले संभावित विपद्को कारण देखाएर तातोपानी नाका पनि बन्द गरेको छ ।
पूर्वी नेपालबाट चीन सँग जोड्न बनाइएको किमाथाङ्का र गण्डकी प्रदेशको कोरला नाका सञ्चालन भएको घोषणा गरेपनि सडक पूर्वाधारको अबस्था अत्यन्त नाजुक छ । ती नाकामा आयात निर्यातका लागि सरकारी कार्यालय स्थापना भएका छैनन् ।
चीनले एक पछि अर्को नाका बन्द गर्दै जाने र सञ्चालन भएको घोषणा गरेका नाका पूर्वाधार अभावका कारण बन्दप्रायः भएपछि नेपाल र चीनको व्यापार सम्पर्क टुटेको छ ।
तिब्बतको ल्हेन्देखोलामा आएको विनाशकारी बाढीले रसुवाको उत्तरी सीमा क्षेत्रदेखि दक्षिणी भेगको बेत्रावती, नुवाकोटको त्रिशुली, देवघाट, गल्छि र तल्लो तटीय क्षेत्रमा पर्ने धादिङ, तनहुँ, चितवन र नवलपुरसम्म ठूलो मानवीय तथा भौतिक क्षति पु–याएको छ ।
हिमताल फुटेर आएको भनिएको तीव्र बहावको बाढीले रसुवागढी, घट्टेखोला, टिमुरे, स्याफ्रुबेँसी, पहिरेबेँसी, खाल्टे, कैदलटार हुँदै बेत्रावतीसम्म भोटेकोशी र त्रिशूली नदी आसपासका मानव बस्ती, सडक, पुल, सरकारी कार्यालय, सुरक्षा निकाय, व्यापारिक संरचना तथा निजी सम्पत्तिमा ठूलो क्षति पु–याएको स्थानीय ङवाङ तामाङले बताए ।
बाढीले गोसाइँकुण्ड गापा वडा नं २ का वडाध्यक्ष कामी छिरिङ तामाङ, वडा नं ५ का वडाध्यक्ष दावा मिङ्मर तामाङ, गोसाईकुण्ड गाउँपालिका उपाध्यक्ष प्रतिमा तामाङ र समाजसेवी दावा फिन्जो तामाङलाई बगाएको छ । दावा फिन्जोको स्याफ्रुबेशीस्थित घरमा रहेका जेठा छोरा फुर्पा पासाङ तामाङ, छोरा बुहारी, नाति तथा पनाति, टिमुरे घटटेखोलाका सुनाऔदी तामाङ पनि बाढीमा बेपत्ता भएको स्याफ्रुबेँसीका बासिन्दाले बताएका छन् ।
बाढीले केवल एउटा गाउँ वा एउटा नदी किनारलाई मात्र प्रभावित पारेको छैन । नेपाल–चीन सम्बन्धको महत्वपूर्ण प्रवेशद्वारको रुपमा रहेको रसुवागढी नाकादेखि दक्षिणतर्फको ठूलो भूभागका बस्ती र पूर्वाधारलाई नै तहसनहस बनाएको छ ।
बाढीले भग्नावशेषमा परिणत गरेको टिमुरे बजार । तस्बिर: ज्ञानेन्द्र न्यौपाने
स्थानीयका अनुसार ल्हेन्देखोलाको वारीपारीदेखि टिमुरे, घट्टेखोला, स्याफ्रुबेँसी र त्यसपछि भोटेकोशी तथा त्रिशूली नदीको तटीय क्षेत्रमा बाढीले ठूलो क्षति पु–याएको छ । बाढीको क्षति ०७२ सालको महाभूकम्प भन्दा निकै ठूलो रहेको बेत्रावतीका शंकर डंगोलले बताए ।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख अशोक थापाका अनुसार बाढीका कारण रसुवागढी, घट्टेखोला, टिमुरे, स्याफ्रुबेँसी, पहिरेबेँसी, खाल्टे, कैदलटार र बेत्रावतीलगायत क्षेत्रका दर्जनौ पुल तथा बस्तीसमेत व्यापक रूपमा बगेका छन् । नेपालतर्फ मात्रै होइन, ल्हेन्देखोलाको आसपास चीनतर्फ रहेका पूर्वाधारमा समेत ठूलो क्षति पुगेको बताइएको छ ।
व्यापारको ढोका बन्द
रसुवागढी नाका नेपाल र चीनबीचको व्यापारिक सम्बन्धको महत्वपूर्ण आधार हो । केरुङ हुँदै चीनबाट नेपाल भित्रिने ठूलो परिमाणका सामान यही नाकाबाट राजधानी काठमाडौंलगायत देशका विभिन्न भागमा पुग्छन् । त्यस्तै नेपालका व्यवसायी, आयातकर्ता, चालक, मजदुर र सीमावर्ती क्षेत्रका हजारौँ नागरिकको आर्थिक गतिविधि पनि यही नाकासँग प्रत्यक्ष जोडिएको छ।
टिमुरे र रसुवागढी क्षेत्रमा दिनहुँ ठूलो संख्यामा कन्टेनर तथा मालवाहक सवारीसाधनको आवतजावत हुने गरेको थियो । चीनको केरुङ बजारबाट सामान बोकेर नेपालतर्फ आउने र नेपालबाट विभिन्न वस्तु तथा सामग्री लिएर चीनतर्फ जाने व्यवसायिक गतिविधिले सीमावर्ती क्षेत्रमा होटल, यातायात, ढुवानी, भन्सार, गोदाम, मजदुरी, पसल तथा अन्य व्यवसायलाई चलायमान बनाएको नेपाल केरूङ व्पापार सङ्घका पूर्वअध्यक्ष मान बहादुर तामाङ बताउनुहुन्छ।
बाढीले यही व्यापारिक जीवनको केन्द्रलाई क्षणभरमै उजाड बनाइदिएको छ । टिमुरे विद्यालयका प्रधानाध्यापक फुर्पु दोर्जे तामाङका अनुसार बाढी आउनुअघि टिमुरे क्षेत्रमा केरुङ जान र केरुङबाट नेपालतर्फ सामान बोकेर आएका ठूलो संख्याका कन्टेनर तथा सवारीसाधन देखिन्थे । तर बाढीले टिमुरे क्षेत्रका बलिया बस्तीसमेत बगाएपछि ती कन्टेनर, सवारीसाधन र तिनमा रहेका चालकसमेत बाढीमा परेका हुनसक्ने आशंका गरिएको छ ।
बाढीपछि चीनबाट आयात गरिएका ठूलो संख्याका विद्युतीय कारसमेत बगाएको भन्सार कार्यालय रसुवाले जनाएको छ । यसले विपत्तिको असर स्थानीय बस्तीमा मात्र नभई देशको अर्थतन्त्रमा समेत परेको व्यवसायी धर्म पौडेलले बताए ।
रसुवागढी नाकाको महत्व
रसुवागढी नाका केवल एउटा भन्सार कार्यालय वा सीमा पार गर्ने स्थान मात्र होइन । यो नेपाल र चीनबीचको आर्थिक तथा कूटनीतिक सम्बन्धलाई जोड्ने महत्वपूर्ण स्थल भएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।
काठमाडौंलाई केरुङसँग जोड्ने छोटो अन्तर्राष्ट्रिय व्यापारिक मार्गका रूपमा यसको महत्व बढ्दै गएको छ । चीनसँगको व्यापार विस्तार, पर्यटन प्रवद्र्धन, उत्तरी क्षेत्रमा पूर्वाधार विकास र नेपाललाई चीनसँग जोड्ने वैकल्पिक अन्तर्राष्ट्रिय व्यापारिक मार्गका दृष्टिले पनि रसुवागढीको रणनीतिक महत्व ठूलो रहदै आएको नागरिक अध्यक्ष तामाङको भनाई छ ।
रसुवागढी नाकाबाट हुने व्यापारले रसुवा मात्र होइन, काठमाडौं उपत्यका, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लाका व्यवसायी तथा उपभोक्तालाई प्रत्यक्ष प्रभाव पार्छ । चीनबाट आउने विद्युतीय सवारीसाधन, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, कपडा, फलफूललगायत विभिन्न वस्तुको आयातमा यो नाका महत्वपूर्ण बन्दै आएको थियो ।
नाकाको गतिविधिले स्थानीयस्तरमा पनि रोजगारी सिर्जना गरेको थियो । होटल तथा रेस्टुरेन्ट, यातायात, कन्टेनर ढुवानी, लोड–अनलोड, गोदाम, भन्सारसम्बन्धी सेवा, खुद्रा तथा थोक व्यापारलगायत सयौँ व्यवसाय यसै नाकाको गतिविधिमा निर्भर थिए ।
त्यसैले अहिले आएको बाढीले सडक र कार्यालय मात्र बगाएको छैन, सीमा व्यापारमा आधारित एउटा ठूलो स्थानीय अर्थतन्त्रलाई नै गम्भीर धक्का दिएको छ ।
गोसाइँकुण्ड गाउँपालिका–२ का पूर्ववडाध्यक्ष दावा दोर्जे तामाङका अनुसार चीनको तिब्बततर्फ हिमताल फुटेर आएको भनिएको बाढीले टिमुरे तथा घट्टेखोलाका दुई गाउँका करिब ७५० घर बगाएको प्रारम्भिक अनुमान छ ।
विदेशमा रहेका तथा काठमाडौंमा बसोबास गरिरहेका व्यक्तिलाई अलग राख्दा स्थानीयस्तरमा १४६ जना र बसाइँसराइ गरेर आएका ४६ जना गरी जम्मा १९२ जना सम्पर्कविहीन रहेको प्रारम्भिक अनुमान गरिएको छ । बाढीबाट उद्धार गरिएका टिमुरेका ६८ जना बासिन्दालाई काठमाडौंको स्वयम्भूनजिकै रहेको एक गुम्बामा राखिएको छ ।
क्षतिको पूर्ण विवरण अझै संकलन भइनसकेकाले सम्पर्कविहीन व्यक्तिको संख्या बढ्न वा घट्न सक्ने अवस्था छ । पहाडी तथा नदी किनारका बस्तीमा सञ्चार तथा यातायात सम्पर्कसमेत प्रभावित भएकाले आफन्तसँग सम्पर्क हुन नसकेका मानिसको यकिन अवस्था पत्ता लगाउन कठिन भइरहेको छ ।
भौतिक संरचनामा क्षति
बाढीले नेपाल तिब्वत युद्वको समयमा निर्माण भएको ऐतिहासिक गढीपर्खाल, रसुवागढीको एकीकृत तथा सुरक्षा भवन, घटृेखोलाको पक्की पुल, टिमुरेको बगरमा रहेको सुख्खा बन्दरगाह र टिमुरे गाउँको उत्तर तर्फ रहेको कार्यालयको भवन बगाएको छ । नेपाल प्रहरीको ईलाका प्रहरी भवन, रसुवागढी चेकपोष्ट, टिमुरे स्थित सशस्त्र प्रहरीको चेक पोईन्ट, श्रीश्रीनाथ गणको टिमुरे प्रहरी चेकपोष्ट गोसाइँकुण्ड गापा वडा नं २ को वडा कार्यालय, टिमुरे स्वस्थ्यघ चौकी पालिका वडा नं ५ स्याफ्रुबेँसी स्थित प्रहरी चौकी, स्वास्थ्य चौकी , गोसाइँकुण्ड गाउँ पालिका भवन, लाङटाङ राष्ट्रिय निकुन्जको पोष्ट पनि बगेकोे जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
कालिका गापा वडा नं १ मैलुङक्षेत्रमा रहेको प्रहरी तथा सैनिक पोष्ट, उत्तरगया गापाको सलेटारको विद्यालय, बेत्रावती प्रहरी चौकी, खाल्टेस्थित उत्तरगया गाउँपालिकाको भवन, बेत्रावतीको राममन्दिर समेतका संरचना बाढीले बगाएको जिल्ला समन्वय समितिले जनाएको छ ।
२०७२ सालको भूकम्पबाट विस्थापित भई खाल्टेमा आश्रय दिइएको विस्थापित क्याम्प समेत बगाई लगेको उत्तरगया गाउँपालिका अध्यक्ष माधव अर्यालले जानकारी दिनुभयो । रसुवागढी देखि बेत्रावती सम्म करिव एक दर्जन पक्की पुल समेत बाढीले बगाएको छ ।
सवारी साधनको क्षति
सामान आयातकर्ता धर्म पौडेलका अनुसार ठुलो संख्यामा कन्टेनर बगाएको र आफ्नो पनि ७ वटा माल बाहक बगाएको र अर्बाै रुपैयाँको नोक्सान भएको छ । चीनको केरूङबाट प्राप्त जानकारी अनुसार उत्पादक कम्पनीबाट रसुवागढी सम्म सामान ढुवानी गर्ने चिनको मुसा ट्रान्सपोर्टको ठुलो नोक्सानी भएको छ । उक्त कम्पनीका प्रवन्ध निर्देशक ज्याङ्सेपिङ्का अनुसार चिनियाँ युएन ३१ लाख बरावरको क्षति भएको हो ।
सुरक्षाकर्मीका संरचना पनि बाढीमा
विपत्तिको समयमा नागरिकको उद्धारमा खटिनुपर्ने सुरक्षा निकायसमेत बाढीको प्रत्यक्ष चपेटामा परेको छन् ।
जिल्ला प्रशासन कार्यालय रसुवाका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार रसुवागढी, टिमुरे, स्याफ्रुबेँसी तथा मैलुङलगायत क्षेत्रमा ड्युटीमा रहेका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीसमेत प्रभावित भएका छन् ।
उहाँका अनुसार नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरीका १३ जना गरी ठूलो संख्यामा सुरक्षाकर्मी सम्पर्कविहीन वा विस्थापित भएको जानकारी प्राप्त भएको सुरक्षा अंगले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भूकम्पपछि पुनर्निर्माण गरिएका टिमुरे इलाका प्रहरी कार्यालय, स्याफ्रुबेँसी, बेत्रावती, मैलुङ तथा रसुवागढीलगायतका प्रहरी चौकीसमेत बाढीले बगाएको छ ।
स्वास्थ्य संस्था, गोसाइँकुण्ड गाउँपालिकाका संरचना तथा अन्य सरकारी एवं गैरसरकारी कार्यालयसमेत बाढीको चपेटामा परेका छन् ।
जलविद्युत् आयोजनामा ठूलो असर
रसुवागढी क्षेत्रमा रहेको १११ मेगावाटको रसुवागढी जलविद्युत् केन्द्रमा समेत बाढीले गम्भीर असर पारेको छ । आयोजनाका इन्जिनियर टीका पौडेलका अनुसार केन्द्रका प्रमुख सन्तोष अधिकारीसहित कार्यरत ५१ जना तथा ठेकेदार कम्पनीका समेत जम्मा ९३ जनासमेत हराइरहेको जानकारी दिएका छन् । भूमिगत संरचनाको १११ मेगावाट रसुवागढी, २० मेगावाट चिलिमे जल विद्युतकेन्द्र, २० मेगावाट लाङ्टाङ खोला, ५ मेगावाट मैलुङ खोला, ६० मेगावाट क्षमताको माथिल्लो थ्रि ए जल विद्युत आयोजना पुर्णरूपमा क्षति भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । २१६ मेगावाट अपर त्रिशुली १ पुरिएको छ ।
११६ शव फेला, पहिचानको काम जारी
बाढीपछि बेपत्ता मानिसको खोजी तथा शव संकलन कार्यलाई प्राथमिकतामा राखिएपनी शव कुहिन थालेका छन । समुदायमा दुर्गन्ध फैलिएको छ ।
जिल्ला प्रहरी प्रमुख अशोक थापाका अनुसार मंगलवार साँझसम्म बेत्रावतीबाट ११, टिमुरेबाट ९८ र स्याफ्रुबेँसीबाट १० गरी जम्मा ११६ वटा शव फेला परेको थियो । संकलित शवको पहिचान खुलेको छैन ।
शवको संख्या र पहिचानको प्रक्रिया अझै जारी रहेकाले मृतकको अन्तिम संख्या यकिन हुन बाँकी छ । तर महामारी रोकथामका ब्यवस्थापन गर्न हेलिकोप्ट मार्फत नुवाकोट पठाउन थालिएको छ ।
जिल्ला प्रशासन कार्यालयले सम्पर्कविहीन भएका व्यक्तिको खोजी तथा पहिचानका लागि आफन्तलाई उनीहरूको हुलिया विवरण उपलब्ध गराई सहयोग गर्न आग्रह गरेको छ ।
सबै बजार क्षेत्र बगे
गोसाइँकुण्ड गाउँपालिका–६ को कार्यालयका अनुसार साविक स्याफ्रु वडा नं. १ को पुरानो बजार क्षेत्रमा मात्रै २९ जना सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ । कोमिनतर्फ पर्ने साविक वडा नं. ९ सडकतर्फको बजार क्षेत्रको तथ्याङ्क भने संकलन भइरहेको जनाइएको छ । बाढीबाट गोसाईकुण्ड गापा उपाध्यक्ष प्रतिमा तामाङ पनि सम्पर्क विहिन भएको भएको उहाँका पिता कर्नेल तामाङले जानकारी दिनुभयो । गोसाइँ गापा वडा नं ५ का वडाध्यक्ष दावा मिङ्मर तामाङ र गाउँपालिका लेखा अधिकृत कैसाङ तामाङ (धुन्चे रिसवाङ्दीको छोरा) बगाएको बताइएको छ ।
बाढीले केवल नदीको किनारमा रहेका केही घरलाई मात्र नभई वर्षौँदेखि व्यापारिक तथा आवासीय केन्द्रका रूपमा विकास भएका पुराना बजारसमेत प्रभावित बनाएको देखिन्छ ।
चालक र कन्टेनरको अवस्था अझै अन्योल
रसुवागढी–केरुङ व्यापारिक मार्गमा निर्भर यातायात व्यवसाय पनि बाढीबाट ठूलो संकटमा परेको छ । टाटासुमो यातायात प्रालिका सञ्चालक साधुराम खड्काका अनुसार यात्रु बोकेर गएका दर्जनौँ चालकसमेत बेपत्ता भएको जानकारी प्राप्त भएको छ ।
टिमुरे क्षेत्रमा सामान लिनका लागि केरुङ जाने तथा केरुङबाट सामान बोकेर नेपाल आउने सयौँ कन्टेनर र मालवाहक सवारीसाधन नियमित रूपमा सञ्चालनमा थिए । बाढी आएको समयमा सडक तथा बजार क्षेत्रमा रहेका यस्ता सवारीसाधनको अवस्था अझै पूर्ण रूपमा यकिन हुन सकेको छैन। क्षेतिको विवरण लिनेकाम अझैअगाडि बढेको छैन ।
यसले आगामी दिनमा व्यापारिक मालसामानको क्षति, सवारीसाधनको क्षति र चालक तथा मजदुरको अवस्थाबारे थप गम्भीर विवरण आउन सक्ने देखाएको छ।
भन्सार संरचना पनि ध्वस्त
बाढीले रसुवागढीमा निर्माणाधीन एकीकृत भन्सार संरचना, टिमुरेका दुईवटा भन्सार कार्यालय तथा भन्सार यार्डसमेत बगाएको प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले जानकारी दिनुभयो ।
भन्सार कार्यालयका करिब १५ कर्मचारी सम्पर्कविहीन रहेको जानकारीसमेत प्रमुख ढुङ्गानाले दिए । त्यस्तै प्लान्ट क्वारेन्टिन टिमुरेका तीन कर्मचारीसमेत बेपत्ता भएको कार्यालय प्रमुख नवीन शर्माले जानकारी दिनुभयो ।
यसरी हेर्दा बाढीले निजी घर तथा बस्ती मात्र होइन, नेपाल–चीन व्यापार सञ्चालन गर्ने राज्यका प्रमुख संयन्त्रलाई समेत प्रत्यक्ष क्षति पु–याएको छ ।
रसुवागढी नाका नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्धको एउटा महत्वपूर्ण प्रतिक पनि हो । हिमालयको कठिन भूगोललाई छिचोल्दै दुई देशबीच मानिस, सामान, पर्यटन र आर्थिक गतिविधिको आवागमन गराउने यस नाकाले पछिल्ला वर्षमा थप महत्व पाउँदै आएको थियो ।
चीनसँगको व्यापारिक सम्बन्धलाई थप विस्तार गर्न उत्तरी नाकाहरूको पूर्वाधार विकास, सडक सञ्जाल विस्तार र सीमावर्ती क्षेत्रको क्षमता अभिवृद्धि आवश्यक छ । तर प्राकृतिक विपत्तिले बारम्बार यही क्षेत्रमा पूर्वाधार कमजोर बनाइदिँदा नेपाल–चीन व्यापारको निरन्तरतामै प्रश्न उठ्ने गरेको छ ।
नसुनिएको चेतावनी
रसुवाले यसपटक मात्र यस्तो विपत्ति भोगेको होइन । गत वर्ष असार २४ गते आएको विनाशकारी बाढीले समेत भोटेकोशी तथा आसपासका क्षेत्रमा ठूलो क्षति पु–याएको थियो । त्यसपछि गत वर्षकै साउन १४ गतेमा पनि आएको अर्को बाढीले पनि उत्तरी रसुवाका पूर्वाधारमा थप क्षति पु–याएको थियो । यस वर्ष पुरानो जस्तै हुन्छ भनी बाढीलाई ख्याल ख्याल गरि अग्लो स्थानमा नभाग्दा ठुलो संख्यामा मानिस बगाएको वेत्रावतीका शिव डंगोलले बताए । उनले भने, “बाढी आउदा म वेत्रावतिमै थिएँ । बाढी आउदा भागेर अग्लो स्थानमा पुगेँ, आफु बाँचे, घर धन सम्पती सवै बगायो ।”
गत वर्षको बाढीबाट क्षति पुगेका संरचना पूर्ण रूपमा पुनर्निर्माण तथा सुरक्षित रूपमा व्यवस्थापन हुन नपाउँदै फेरि ठूलो विपत्ति आउनुले सीमावर्ती क्षेत्रको पूर्वाधार निर्माणमा दीर्घकालीन सोच आवश्यक रहेको देखाएको छ ।
हरेक वर्ष बाढी आएपछि सडक खुलाउने, अस्थायी संरचना बनाउने र तत्कालीन क्षति मर्मत गर्ने परम्पराले मात्र समस्या समाधान नहुने स्थानीयको भनाइ छ ।
ल्हेन्देखोला, भोटेकोशी तथा त्रिशूली नदी प्रणालीसँग जोडिएका बस्ती र व्यापारिक केन्द्रको जोखिमको वैज्ञानिक अध्ययन गरी जोखिमयुक्त बस्तीको व्यवस्थापन, नदी नियन्त्रण, सुरक्षित सडक, पुल तथा व्यापारिक पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ ।
बेत्रावतीसम्म पुगेको विनाश
बाढीको प्रभाव उत्तरतर्फको रसुवागढी र टिमुरेमा मात्र सीमित रहेन । तीव्र बहावले दक्षिणतर्फ स्याफ्रुबेँसी, पहिरेबेँसी, खाल्टे, कैदलटार हुँदै बेत्रावतीसम्मको तटीय क्षेत्रलाई समेत प्रभावित बनाएको छ ।
दक्षिणी रसुवाका प्रभावित बासिन्दामध्ये बेत्रावती तथा कैदलटार क्षेत्रका विस्थापितहरू काठमाडौंको तार्केश्वर नगरपालिका क्षेत्रमा रहेको शान्तिटोलमा आश्रय लिइरहेको समाजसेवी बासु लामिछानेले बताए ।
रसुवागढी नाका बन्द हुँदा त्यसको असर रसुवामा मात्र पर्दैन । चीनबाट आयात हुने सामानको आपूर्ति, व्यापारीको कारोबार, ढुवानी व्यवसाय, रोजगारी, सरकारी राजस्व र उपभोक्तासम्मको आपूर्ति प्रणालीमा यसको प्रत्यक्ष प्रभाव पर्छ ।
नेपाल–चीनबीचको व्यापारिक सम्बन्धलाई अझ बलियो बनाउने हो भने प्राकृतिक विपत्तिबाट नाका र त्यसतर्फ जाने सडकलाई सुरक्षित बनाउनु आवश्यक छ । सीमावर्ती क्षेत्रको पूर्वाधारलाई सामान्य ग्रामीण सडक वा स्थानीय संरचनाको मापदण्डबाट मात्र हेरेर पुग्दैन । यो अन्तर्राष्ट्रिय व्यापारिक मार्ग भएकाले त्यसैअनुसारको दीर्घकालीन र दिगो पूर्वाधार आवश्यक छ ।
बाढीपछि टिमुरे सुनसान छ । व्यापारिक गतिविधिले भरिने सडकमा कन्टेनरका लस्कर छैनन् । बस्तीमा चहलपहल छैन । कतिपय परिवार आफ्ना आफन्तको खोजीमा छन् । कतिपय विस्थापित भएर काठमाडौं पुगेका छन् । सरकारी कार्यालयका संरचना छैनन् । सुरक्षा निकायका चौकीहरू बगेका छन् । “व्यापारिक सम्पत्ति र निजी घरबारको पुरै क्षति भएको छ,” गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए, “तर यो केवल विनाशको कथा होइन । यो पुनर्निर्माणको अवसर पनि हो ।”
