भदौ २०८३ - भारतको सिलिगुडी घुम्न हिँडेका झापा मेचीनगरका युवराज दाहाल काँकडभिट्टाको मेची पुलबाटै फर्किनुप¥यो । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले परिचयपत्र मागेपछि उनले मोबाइलमा स्क्रिनसट गरेर राखेको नागरिकताको प्रीतिलिपि देखाए । तर, सुरक्षाकर्मीले त्यसलाई मान्यता दिएनन् । ‘मोबाइल से नहीँ होगा, जाओ असली लेके आयो,’ भन्दै फर्काइएपछि उनी भारत नछिरी घर फर्किन बाध्य भए ।
पूर्वी नाकामा कोभिड महामारीपछि सीमा वारपार गर्ने यात्रुमाथि अनिवार्य रुपमा परिचयपत्र जाँच कडाइ गरिएको छ । नेपाल–भारत शान्ति तथा मैत्री सन्धि १९५० को धारा ७ ले दुवै देशका नागरिकलाई एकअर्काको भूभागमा आवतजावत तथा बसोबासमा पारस्परिक समान सुविधा दिने व्यवस्था गरेको छ । तर, काँकडभिट्टा–पानीट्यांकी नाकाबाट वारपार गर्ने नेपाली तथा भारतीय नागरिकले परिचयपत्र देखाएर मात्रै आवतजावत गर्नुपर्ने अवस्था छ ।
दिल्लीबाट दार्जिलिङ घुम्न आएका भारतीय नागरिक रामचन्द्र जैन पनि नेपालतर्फ आउँदा एसएसबीलाई परिचयपत्र देखाउन बाध्य भए । दार्जिलिङबाट किनमेलका लागि धुलाबारी आउँदै गरेका उनले यस्तो जाँच आफूले यसअघि भोग्नु नपरेको बताए । ‘पहिला यस्तो लफडा भोग्नु परेको थिएन,’ उनले भने, ‘नागरिकलाई दुःख दिने यस्तो व्यवस्था भारत सरकारले किन गरिरहेको छ, थाहा छैन ।’
कोभिड महामारीका बेला लगाइएको लकडाउनपछि सुरु भएको परिचयपत्र ‘भेरिफिकेसन’ अहिले पनि निरन्तर छ । सुरुमा स्वास्थ्य तथा आवागमन नियन्त्रणसँग जोडिएको जाँचलाई त्यसपछि भारतले सुरक्षा निगरानीको नियमित अभ्यासका रूपमा अघि बढाएको देखिन्छ ।
कोलकातास्थित नेपाली महावाणिज्यदूतका एक अधिकारीका अनुसार सीमा वारपार गर्ने यात्रुसँग भारतीय पक्षले एकतर्फी रूपमा परिचयपत्र मागेको आफूले पनि देखेको बताए । ‘भेरिफिकेसनका नाममा एकतर्फी रूपमा भारतले जुन ढंगले जाँच गरिरहेको छ, त्यो अलि अनौठो देखिएको छ,’ उनले भने, ‘यो नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको भावनाअनुकूल देखिँदैन ।’
सीमान्त शहर काँकडभिट्टाका पुराना वासिन्दाहरुका अनुसार सीमा वारपार गर्न विगतमा यस्तो सकस थिएन । तर, अहिले त परिचयपत्र विना आउजाउ नै गर्न सक्ने स्थिति छैन । ‘पहिला हामी निर्धक्क पारि जान्थ्यौ, पारिका नागरिक त्यसरी नै आउथे’, स्थानीय शिक्षक शैलेस दाहाल भन्छन्, ‘यसले वारि–पारीको सम्वन्ध नै विथोलिएको छ ।’
‘चिकेन नेक’ को सुरक्षा चिन्ता
भारतीय सुरक्षा अधिकारीहरूका अनुसार पश्चिम बंगालको पानीट्यांकी–काँकडभिट्टा नाकालाई भारतले संवेदनशील क्षेत्रका रूपमा हेर्दै आएको छ । भारतको पूर्वोत्तर क्षेत्रलाई बाँकी भूभागसँग जोड्ने ‘सिलिगुडी कोरिडोर’ नामको साँघुरो भूभाग ‘चिकेन नेक’ नजिकै पर्ने भएकाले पनि यस क्षेत्रलाई रणनीतिक रूपमा महत्वपूर्ण मानिन्छ ।
भारत प्रवेशका लागि परिचय पत्र देखाउँन मेची पुलमा लागेको लाम । तस्बिर: पर्वत पोर्तेल
नेपाल, भुटान र बंगलादेशसँगको निकटता तथा पूर्वोत्तर भारततर्फको आवागमनका कारण सीमा क्षेत्रमा हुन सक्ने अवाञ्छित गतिविधिमाथि निगरानी बढाइएको भारतीय सुरक्षा अधिकारीहरूको भनाइ छ । रोहिङ्ग्या, पाकिस्तानी आतंकवादी वा चिनियाँ नागरिकको सम्भावित अवैध प्रवेशलाई समेत सुरक्षा चुनौतीका रूपमा हेरिएको उनीहरूको दाबी छ ।
‘यो नाका चिकेन नेक हो,’ एक भारतीय सुरक्षा अधिकारीले भने, ‘त्यही कारण केन्द्र सरकारको निर्देशनअनुसार परिचयपत्र भेरिफिकेसन गरिएको हो ।’
सुरक्षा चासो बढिरहेकै बेला पछिल्लो समय पूर्वी नाकामा विदेशी नागरिकसँग सम्बन्धित केही घटना पनि सार्वजनिक भएका छन् ।
गत वर्ष प्रहरीले झापाको धुलाबारीबाट भारतीय आधार कार्ड बोकेका जयन्त सिंहलाई नियन्त्रणमा लियो । उनी विगत चार वर्षदेखि धुलाबारीमा बस्दै आएको प्रहरीको भनाइ छ । उनको आधार कार्डमा ठेगाना पश्चिम बंगालको खोरीबारी उल्लेख छ ।
प्रहरीका अनुसार सिंह बंगलादेशी नागरिक हुन सक्ने सूचनाका आधारमा उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको थियो । उनले आफू बंगलादेशी रहेको स्वीकारेका थिए ।
प्रहरी स्रोतका अनुसार झापाका सीमावर्ती सहर तथा ग्रामीण क्षेत्रमा बंगलादेशी नागरिक भारतीय परिचयका साथ बसोबास गरिरहेको आशंका छ । उनीहरू कतिपय उद्योग तथा कलकारखानामा श्रमिकका रूपमा काम गरिरहेको समेत प्रहरीको भनाइ छ । भारतीय आधार कार्ड बनाइदिने गिरोह सीमावर्ती क्षेत्रमा सक्रिय रहेको आशंका रहे पनि त्यसबारे थप अनुसन्धान आवश्यक रहेको प्रहरी अधिकारीहरू बताउँछन् ।
पानीट्यांकीमा अफगानी नागरिक पक्राउ
यही नाकाबाट नेपाल प्रवेश गर्न खोजेको आरोपमा गत ९ भदौमा मेचीपारि भारतको पानीटंकीमा अफगानी नागरिक पक्राउ परेको घटनाले पनि भारतीय सुरक्षा निकायको चासो थप बढाएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार अफगानिस्तानको नंगरहार प्रान्तका २६ वर्षीय अब्दुल्लाह खानलाई पानीट्यांकीस्थित अध्यागमन कार्यालयबाट एसएसबीले नियन्त्रणमा लिएको थियो । उनी लामो समयदेखि भारतको कोलकातास्थित हावडा क्षेत्रमा बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ ।
खानलाई नेपाल प्रवेश गराउन सहयोग गरेको आरोपमा एक भारतीय नागरिकलाई समेत नियन्त्रणमा लिइएको थियो । उनीबाट भारतीय आधार कार्ड, मतदाता परिचयपत्र, बैंक खाताको विवरण, ड्राइभिङ लाइसेन्स र भारतीय पासपोर्टलगायत कागजात भेटिएको भारतीय प्रहरीले जनाएको छ । तीमध्ये केही कागजात नक्कली वा शंकास्पद रहेको प्रहरीको दाबी छ ।
वैध राहदानी, भिसा वा नेपाल प्रवेशका लागि आवश्यक कागजात नभएको आरोपमा खानविरुद्ध अध्यागमन तथा विदेशीसम्बन्धी कानुनअन्तर्गत मुद्दा चलाइएको छ । उनलाई सिलिगुडी अदालतमा पेस गरी थप अनुसन्धानका लागि हिरासतमा राख्न माग गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।
यी घटनाले काँकडभिट्टा–पानीट्यांकी नाकामा मानिसको सामान्य आवतजावतसँगै तेस्रो मुलुकका नागरिकको सम्भावित अवैध प्रवेश र परिचय लुकाउने गतिविधिप्रति दुवै देशका सुरक्षा निकायको चासो बढाएको देखिन्छ ।
अब सुरक्षाकर्मीको छातीमै क्यामेरा
सीमापारि भारतीय सुरक्षा अधिकारीले गोप्रो क्यामेरामार्फत सुरक्षा निगरानी गर्दै आएका छन् । तर, नेपालतिरका सुरक्षाकर्मी भने ‘छामछुम’ को भरमा जाँच गर्दै आएका थिए । तर, अव भने नेपाली सुरक्षाकर्मीले पनि छातीमा क्यामेरा वोकेर सुरक्षा निगरानी गर्ने भएका छन् ।
सीमामा निगरानी बढाउने क्रममा सशस्त्र प्रहरीले प्रविधिको प्रयोग थालेको छ । झापास्थित सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गणले सीमा क्षेत्रमा परिचालित सुरक्षाकर्मीलाई ‘गोप्रो क्यामेरा’ उपलब्ध गराएर गस्ती तथा सूचना संकलन सुरु गरेको हो ।
नेपालतिर गोप्रो क्यामेरा प्रयोग गरी सुरक्षा जाँच गर्दै नेपाली सुरक्षाकर्मी । तस्बिर: पर्वत पोर्तेल
गणसँग रहेका दुईवटा गोप्रो क्यामेरा हाल प्रयोगमा ल्याइएको गणका प्रवक्ता डीएसपी मदनकुमार रसाइलीले बताए । विशेषगरी काँकडभिट्टामा परिचालित ‘बोर्डर इन्टरएक्सन टिम’ ले क्यामेरा प्रयोग गरिरहेको छ ।
सीमा क्षेत्रमा हुने आवतजावत, शंकास्पद गतिविधि तथा सम्भावित अवैध कारोबारको निगरानीसँगै घटनाको दृश्य प्रमाण संकलन गर्न क्यामेरा प्रयोग गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
‘क्यामेरामा कैद हुने दृश्यले कुनै घटना वा गतिविधिको अभिलेख राख्न तथा आवश्यक परे अनुसन्धानका क्रममा प्रमाणका रूपमा प्रयोग गर्न सहज हुन्छ,’ रसाइलीले भने ।
सशस्त्र प्रहरीका अनुसार नियमित गस्तीका क्रममा सुरक्षाकर्मीले आफूसँगै क्यामेरा बोकेर हिँड्नेछन् । तस्करी नियन्त्रण, अवैध आवतजावत र शंकास्पद गतिविधिको निगरानीमा प्रविधिको प्रयोग बढाउने योजना रहेको गणले जनाएको छ ।
गणपति एसपी सचिन कर्माचार्यको नेतृत्वमा झापामा सीमा सुरक्षा तथा तस्करी नियन्त्रणका गतिविधिलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको सशस्त्र प्रहरीको दाबी छ । स्थानीयबाट प्राप्त सूचना र सुरक्षाकर्मीको निगरानीलाई एकीकृत गरी सीमा अपराध नियन्त्रण गर्ने प्रयास भइरहेको जनाइएको छ ।
सुरक्षा निगरानी बढाइए पनि त्यसको प्रत्यक्ष प्रभाव भने सीमा वारपार गर्ने सर्वसाधारणले खेपिरहेका छन् । केही समयअघिसम्म परिचयपत्र देखाउन यात्रुले घण्टौं लाइनमा बस्नुपर्ने अवस्था थियो । अहिले लाइन केही सहज भए पनि परिचयपत्रबिना भारततर्फ प्रवेश गर्न कठिन छ ।
एसियन राजमार्गअन्तर्गतको नयाँ ६ लेनको मेची पुलबाट साना तथा ढुवानीका सवारी सञ्चालनमा आएपछि पुरानो पुलको चाप भने केही घटेको छ । त्यसअघि यात्रु र सवारीको अत्यधिक चापले पुरानो पुलमा लामो जाम हुने गरेको थियो ।
मेची भन्सार कार्यालयका एक अधिकारीका अनुसार कोभिडपछि भारतले तेस्रो देशका पर्यटकको आवागमनमा गरेको कडाइसँगै नेपाली तथा भारतीय नागरिकको आवतजावतमा समेत परिचयपत्र जाँच बढाउँदा व्यापार र पर्यटन प्रभावित भएको थियो ।
यसरी एकातिर तेस्रो मुलुकका नागरिकको सम्भावित अवैध प्रवेश, नक्कली परिचयपत्र र सीमा अपराधप्रति सुरक्षा निकायको निगरानी बढ्दै गएको छ भने अर्कोतिर यही निगरानीको भार सामान्य नेपाली तथा भारतीय यात्रुले समेत खेपिरहेका छन् । पूर्वी नाका सुरक्षाका दृष्टिले संवेदनशील बन्दै जाँदा सुरक्षा र सहज आवागमनबीच सन्तुलन कसरी कायम गर्ने भन्ने प्रश्न भने झन् पेचिलो बनेको छ ।
