संकटमा सहज मानिएको तातोपानी नाका संकटमा सधै बन्द

नेपाल–चीनबीचको दोस्रो ठूलो व्यापारिक नाका तातोपानी चीनले अर्को सूचना नभएसम्मका लागि पूर्ण रुपमा ठप्प गरेपछि सीमाक्षेत्र महिनादिनदेखि सुनसान छ । दशै नजिकिँदै गर्दा नजिकको नाकाबाट कन्टेनरको आउजाउ रोकिएको छ । भोटेकोशी बाढी पछि नेपाल र चीन बीचको प्रमुख व्यापारिक नाका रसुवागढी ठप्प छ । यो नाका निकट भविष्यमा खुल्छ कि खुल्दैन भन्ने प्रष्ट छैन ।

रसुवागढी नाका बन्द भएपनि पुरानो र वर्ष भरी सञ्चालन गर्न सकिने नाकाको रुपमा रहेको तातोपानी नाका नियमित होला कि भन्ने धेरैले अपेक्षा गरेका थिए । विडम्बना, चीनले विपद् जोखिमको संभावना रहेको कारण देखाएर तातोपानी अनिश्चितकालका लागि बन्द गरिदियो । 

यस अघि भूकम्प, कोरोना महामारी र सडक निर्माणको बाहनामा बन्द भएको नाका यसपालि रसुवामा गएको भोटेकोशी बाढीको बाहनामा बन्द गरिएको छ । यसले सीमावर्ती क्षेत्रका व्यवसायी र स्थानीय हताश बनेका छन् ।

रसुवाको टिमुरे हुँदै भोटेकोशीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटका विभिन्न बस्तीमा ठूलो क्षति पुर्‍याउनुअघि नेपालले चीनसँग तातोपानी, टिमुरे र कोरला नाकाबाट व्यापार गर्दै आएको थियो । पछिल्लो वर्षाले मुस्ताङ्को कोरला नाका पनि हिमपातका कारण अवरुद्ध भएको छ । यसले चाडपर्वका लागि आवश्यक सामान आयात गर्न व्यवसायी तातोपानी खुल्ने प्रतीक्षामा छन् ।

राजधानी काठमाडौंलाई चीनको खासा जोड्ने तातोपानी नाका भौगोलिक रुपमा केरुङभन्दा छोटो दूरीमा पर्छ । काठमाडौं–खासा दूरी करिब १ सय २४ किलोमिटर छ भने काठमाडौं–रसुवागढी दूरी करिब १ सय ६४ किलोमिटर । खासाबाट काठमाडौंसम्म सामान आइपुग्न सामान्य अवस्थामा कम्तीमा १२ देखि १५ दिन लाग्ने व्यवसायी बताउँछन् । सिगात्से पनि केरुङभन्दा तातोपानीतर्फबाट करिब ३० किलोमिटर नजिक पर्छ । तर, भौगोलिक रुपमा नजिक रहेको चीनसँगको प्रमुख व्यापारिक नाकाप्रति चिनियाँ व्यवहार भने अपेक्षाअनुसार नभएको स्थानीय जनप्रतिनिधि र व्यवसायीको गुनासो छ ।

भोटेकोशी गाउँपालिका–२ का अध्यक्ष कुमार श्रेष्ठका अनुसार विगतदेखि नै तातोपानी नाकालाई लिएर नेपाली व्यवसायी र सीमावासीले असहजता भोग्दै आएका छन् । यसअघि मितेरी पुलको बीचमा राखिएको चिनियाँ सुरक्षा तथा जाँच गेटदेखि हाल सीमा क्षेत्रमा निर्माण भइरहेका संरचनासम्मका विषयमा पनि स्थानीयले प्रश्न उठाउँदै आएका छन् ।

“चाहे विगतमा होस् या हाल विपत्तिमा तातोपानी नाका सधै बन्द हुन्छ, भूकम्प, भोटेकोसी बाढी या कोरोना जतिखेर पनि आपतविपतमा चीनले अनेक बहाना बनाएर बन्द गरेको उदाहरण देखिन्छ,” श्रेष्ठले भने ।

चीनले अर्को सूचना नभएसम्मका लागि पूर्ण रुपमा ठप्प गरेपछि सुनसान बनेको तातोपानी नाका तथा सीमाक्षेत्र । तस्बिर: अनिश तिवारी

०७२ सालमा भूकम्प र परकम्पले यहाँको भौतिक संरचना ध्वस्त भएपछि भत्किएका घर छोडेर भागाभाग भयो । धेरैले च्यापिएर ज्यान गुमाए  । तर त्यही आपतकालीन क्षणमा चीनले एकाएक नाका बन्द गरिदियो । बन्द गर्ने कारण नखुलाए पनि नाका बन्द भएलगत्तै यहाँका अधिकांश व्यापारी विस्थापित भए । २०७३ असार २१ को भोटेकोसी बाढीले कटानमा पार्दा भूकम्पपछि तंग्रिँदै गरेको सीमाको लिपिङ बजार झनै सुनसान भयो । चीनको खासा र कुतीको बीचमा रहेको छेपसाङमा पहिरो गएपछि कोसी थुनिँदा आएको बाढीले यहाँका ८० वटा घर बगायो । त्यतिबेला झन् अत्यावश्यक सहयोग र उद्धारको क्षणमा फेरि यत्तिकै नाका बन्द गरियो ।

त्यसयता ०७४ सालमा बर्खे पहिरो, ०७६/०७७ सालमा कोरोना महामारीबीच तिब्बत सरकारले पहिलो चरणमा आठ दिनका लागि नाका बन्द गर्ने निर्णयअनुरुप ०७७ असोजमा बन्द भयो । ०७७ साल साउनमा तिब्बतको स्थानीय प्रशासन नेलाम काउन्टीले खासाभन्दा करिब ३५ किमिमाथिको क्यानोन कु र  केरुङ छ्यो ताल फुट्ने खतरा भएकाले तातोपानी नाकाबाट कारोबार नगर्न भन्दै नागरिकलाई सूचना जारी गरेपछि नाका बन्द थियो । २०७७ माघमा मितेरी पुल मर्मत, ०७८ मा बर्खे पहिरो र त्यसयताका बाढीपहिरो र अनेकौ बहानामा जोखिमपूर्ण र आपतकालिन अवस्थामा झन् पटकपटक नाका बन्द गरिएको थियो । नेपालतर्फ लिपिङ क्षेत्रमा पहिरोको जोखिम बढेको कारण देखाउँदै चीनले अहिले व्यापारिक प्रयोजनका लागि तातोपानी नाका बन्द गरेको हो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार भन्सार बन्द रहे पनि पर्यटक आउजाउका लागि नाका खुुला रहेको छ । तातोपानी गत साउनको सुरुदेखि करिब तीन सातासम्म पूर्ण रुपमा बन्द थियो । लगातारको पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएपछि चीनसँगको सीमापार व्यापार ठप्प भएको थियो । “नाका कहिले खुल्छ भन्नेबारे पनि अन्योल थियो । यस नाकाबाट साउन तेस्रो साता सीमित रूपमा यातायात सञ्चालनमा आए पनि करिब १० दिनपछि रसुवामा गत बुधबार आएको भीषण बाढीपछि चिनियाँ पक्षले फेरि अर्को सूचना नभएसम्म तातोपानी नाका बन्द गरेको छ,” उनले भने ।

नाकाबन्दीले करोडौंको क्षति

२०७७ सालको पुसमा खासा र न्यालम क्षेत्रमा हिमपात भएपछि कन्टेनर आवतजावत रोकिएको थियो । खुला ट्रेलरमा ल्याइएका स्याउलगायत सामग्री हिउँमा परेपछि कुहिने र बिग्रिने समस्या भएको व्यवसायी बताउँछन् । कोरोना महामारीका बेला २०७७ असोजमा समेत नाका दुई पटक बन्द गरिएको थियो । त्यसबेला सयौं कन्टेनर चीनतर्फ रोकिँदा नेपाली व्यवसायीले करोडौं रुपैयाँ घाटा बेहोर्नुपरेको थियो । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजकुमार बस्नेतका अनुसार भूकम्प, बाढी, पहिरो, हिमपात र कोरोना संक्रमणलगायतका कारण देखाउँदै चीनले पटक–पटक नाका बन्द गर्दै आएको छ । “नेपाललाई समस्या परेको बेला नाका बन्द हुने र सहज अवस्थामा मात्रै खुल्ने प्रवृत्ति देखिन्छ,’ उनले भने।

भूकम्पपछि सयौं कन्टेनर सामान खासा–तातोपानी सडकखण्डमा महिनौं अलपत्र परेका थिए । कतिपय कन्टेनर पहिरोले पुरिएका थिए भने कतिपय सामान वर्षाको पानीले बिग्रिएका थिए । “त्यतिबेला व्यवसायीलाई आफ्नै सामान हेर्नसमेत सहज थिएन,” बस्नेतले भने, धेरै सामग्री कुहिए, म्याद सकियो र धेरै व्यवसायी पेशाबाटै विस्थापित भए,” भूकम्पको चार वर्षपछि एकतर्फी आयातका रुपमा मात्रै खुलाइएको तातोपानी नाका अझै पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको व्यवसायी बताउँछन् । सीमित संख्यामा मात्रै कन्टेनर प्रवेश पाउने व्यवस्थाले व्यापार प्रभावित हुँदै आएको उनीहरुको भनाइ छ । व्यवसायी दोर्जे लामाका अनुसार तातोपानीबाट चीनतर्फको निर्यात लगभग ठप्पजस्तै छ । ‘आयातमा पनि विभिन्न समस्या छन्, निर्यात व्यवसाय त लगभग शून्यजस्तै भएको छ,” उनले भने । 

नेपाली तथा चिनियाँ अधिकारीहरूको संयुक्त टोलीद्वारा बन्द रहेको तातोपानी नाकाको स्थलगत निरीक्षण । तस्बिर: अनिश तिवारी

नेपाल हिमालय सीमापार वाणिज्य संघका कार्यसमिति सदस्य राजेश भण्डारीले रसुवागढीमा बाढीले र तातोपानी मनखुशले बन्द भएपछि नेपाल–चीन व्यापार मुस्ताङको कोरला नाकामा सरेको बताए । “तर यहाँ पनि अवस्था दुखद छ, कामको चाप बढेपछि भन्सारले थप कर्मचारी पठाएको छ, तर कारेन्टाइन सेवा टेन्टमा संञ्चालन भइरहेको छ ,उता भन्सार र कारेन्टाइनमा इन्टरनेट राम्रोसँग चल्दैन्, यो समस्याले हामी आजित बनेका छौ,” भण्डारीले भने ।

यसअघि सडक खुलाउन सरकारी प्रयास अपर्याप्त भएको भन्दै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल हिमालय सीमापार वाणिज्य संघलगायत व्यापारिक संघसंस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले उत्तरी नाकाप्रति बेवास्ता गरेको आरोप लगाएका छन् । राजस्व संकलनमा मात्रै केन्द्रित भएर व्यापार सहजीकरणका लागि दीर्घकालीन समाधानतर्फ सरकारले चासो नदिएको उनीहरुको आरोप छ ।

दसैंअघि खुल्ला त तातोपानी ?

तातोपानी नाका सञ्चालनमा आए दसैं–तिहारका लागि आवश्यक सामग्री राजधानीलगायत बजारमा ल्याउन सहज हुने सरकारी अधिकारीको भनाइ छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार मंगलबार परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्का, नेपालस्थित चिनियाँ राजदूतावासका उपनियोग प्रमुख चोउफानसहित नेपाली तथा चिनियाँ अधिकारीको टोलीले तातोपानी नाकाको स्थलगत निरीक्षण गरेको थियो । टोलीमा अर्थ, भन्सार विभाग, सडक डिभिजन र वाणिज्य मन्त्रालयका प्रतिनिधिसमेत थिए । सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण शर्माका अनुसार टोलीले सडकको अवस्था र नाका संञ्चालनको सम्भावनाबारे स्थलगत जानकारी लिएको हो । “सडकको अवस्था र नाका सञ्चालनको सम्भावनाबारे स्थलगत जानकारी लिन टोली आएको हो,” उनले भने ।

अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–लिपिङ २६ किलोमिटर सडकखण्डका कोदारी, इको, घट्टेखोला र डाक्लाङमा पहिरो गएपछि ३१ असारदेखि सडक अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय चरिकोटले पहिरो पन्छाएर सडक संञ्चालनमा ल्याए पनि चीनले इमेलमार्फत तातोपानी नाका बन्द गरेको थियो ।

अहिले काठमाडौं–तातोपानी–लिपिङ सडकखण्डमा आवागमन गर्न समस्या नरहेको सडक डिभिजन कार्यालय चरिकोटका सिनियर डिभिजन प्रमुख नारायणदत्त भण्डारीले बताए । उनका अनुसार चिनियाँ कन्टेनर भन्सारसम्म ल्याउन सकिने अवस्था छ । “लिपिङको, घट्टेखोला र डाक्लाङको पहिरो पन्छाएर सडक तयार गर्‍यौं । तर नाका बन्द भयो, अहिले वान–वे सडक सञ्चालनमा छ, तत्कालै दुईतर्फी सडक सञ्चालन गर्न सकिन्छ,” उनले भने ।

तातोपानी भन्सार सञ्चालनमा आउने प्रतीक्षामा कर्मचारी तयारी अवस्थामा रहेको भन्सार अधिकृत रमेशबहादुर शाहले बताए । स्थलगत निरीक्षणपछि चिनियाँ प्रतिनिधिले सडकको अवस्थाबारे आफ्नो माथिल्लो निकायलाई जानकारी गराउनेछन् । त्यसपछि नाका खोल्ने वा नखोल्ने निर्णय हुने नेपाली अधिकारीहरुको भनाइ छ ।

author

Anish Tiwari

CESIF Fellow