तिब्बतमा कडाई हुँदा यार्साको मुल्य घट्यो, जडीबुटी संकलकको जीविकामा समस्या

साउन २०८३ - हरेक बर्ष बैशाखमा साइपाल हिमालका फेदीतिर मानिसहरूको लर्को लाग्छ । पिठ्युको झोलामा खाद्यान्न र बन्दोबस्तीका सामान बोकेर उकालो चढिरहेका उनिहरुको आँखामा एउटै सपना हुन्छ, हिमालको काखमा उम्रिएको यार्सागुम्बा टिप्ने र त्यो बेचेर वर्षभरिको घरखर्च चलाउने ।

बझाङका हिमाली क्षेत्रका बासिन्दाको लागि यार्सागुम्बा जडीबुटी मात्रै होइन । यने उनीहरुको जीविकाको प्रमुख श्रोत पनि हो । कसैका लागि यार्सा छोराछोरीको पढाई खर्च हो भने, कसैका लागि खाद्यान्न, उपचार र लत्ताकपडा अनि कसैका लागि वर्षौं देखिको ऋण तिर्ने एउटा मात्रै आयश्रोतको आधार । तर पछिल्लो समय मुल्य घटेका कारण संकलकहरुको दैनिक जीवनचर्यामा अनेकौ समस्या आइरहेका छन । धेरै संकलकहरुले अघिल्लो वर्ष विक्री गरेको यार्सागुम्बाको रकम अहिलेसम्म पनि पाएका छैनन् । उधारोमा यार्सा बिक्री गरेका उनीहरू अहिले नगद अभावमा छन् । गाउँका पसलमा खाद्यान्न किन्नसमेत समस्या हुन थालेको छ । उपचार, विवाह, घरायसी खर्चदेखि दैनिक गुजारा चलाउनसम्म यार्साको आम्दानीमा निर्भर परिवारहरू समस्यामा परेका छन् ।

“गाउँका पसलमा सामान छैन भन्छन् । बाहिरबाट किनेर ल्याऊँ भने हातमा नगद छैन,” साइपाल गाउँपालिकाका यार्सा संकलक सिद्धु बोहराले भने, “यहाँ भोकमरी हुने अवस्था भइसक्यो । किरा (यार्सागुम्बा)को पैसा दिएका छैनन् ।”

बझाङको हिमाली भेगका लागि यार्सागुम्बा आम्दानीको मुख्य श्रोत हो । हिमाली क्षेत्रका धेरै परिवारको जीविकोपार्जन यसैमा निर्भर छ । वर्षमा एक बाली मात्र खेती हुने ठाउँमा यार्साको आम्दानीले वर्षभरिका आवश्यकता धान्ने गरिन्छ । त्यसैले वसन्त लागेपछि यहाँका मानिसहरू हिमालका पाटनतिर उक्लिन्छन् । हप्तौंसम्म चिसो, हुरी, हिमपात र कठिन भूगोलसँग जुध्दै यार्सा खोज्छन् । यार्साको सिजन सकिएपछि घर फर्किन्छन् र त्यसबाट आएको रकमले वर्षभरिका आवश्यकता पूरा गर्ने योजना बनाउँछन् ।

केही वर्ष पहिले यही जडीबुटीले हिमाली गाउँमा नगद अर्थतन्त्रको विकास भएको थियो ।

तर अहिले समय फेरिएको छ । 

हिमाली सुनका नामले चर्चित यो जडिबुटीको चमक अहिले भने धमिलिँदै गएको छ । एकातिर यार्सागुम्बाको मूल्यमा निरन्तर गिरावट आएको छ भने अर्कोतिर संकलकले उत्पादन बिक्री गरेपछि पाउनुपर्ने रकमसमेत समयमा पाउन सकेका छैनन् । तिब्बत तर्फको व्यापारिक पहुँचमा आएको कडाइले समस्या झनै जटिल बनाएको स्थानीय व्यापारीहरू बताउँछन् ।

यार्सागुम्बाको मूल्यमा गिरावट र तिब्बत व्यापारमा कडाइका कारण चिन्तित व्यापारी। तस्बिर: वसन्तप्रताप सिंह

गत वर्ष साउनमा बझाङको साइपाल गाउँपालिकामा पर्ने उरै भञ्जाङ हुँदै तिब्बती भूमिमा प्रवेश गरेका सात जना युवा चिनियाँ सुरक्षाकर्मीको केरकारमा परे । ताक्लाकोट लैजान खोजिएको ४० किलो यार्सागुम्बा उनीहरूबाट जफत गरियो । चिनियाँ प्रहरीको निगरानीमा पर्नेमा पाँच जना हुम्ला र दुई जना बझाङका थिए ।

हुम्ला र बझाङमा प्रतिकिलो करिब १२ लाख रुपैयाँका दरले खरिद गरिएको यार्सा तिब्बत पुर्‍याउन सके प्रतिकिलो २० देखि २५ लाख रुपैयाँसम्ममा बिक्री गर्न सकिने उनीहरूको अपेक्षा थियो । तर तिब्बत प्रवेश गर्न नपाएपछि उनीहरूले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्‍यो । उरै नाकाबाट यार्सागुम्बा जफत गरिएको यो घटना पहिलोपटक भएको स्थानीय व्यापारीहरू बताउँछन् । त्यसयता यार्सा र अन्य जडीबुटी लिएर ताक्लाकोट जाने व्यापारीहरू जोखिम मोल्न डराउन थालेका छन् ।

साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष समेत रहेका जडीबुटी व्यापारी राजेन्द्र धामीका अनुसार त्यसको असर व्यापारीमा मात्र परेको छैन, यार्सा संकलन सम्म पनि परेको छ ।  “त्यो घटनापछि यार्सा र अरू जडीबुटी लिएर व्यापारीहरू ताक्लाकोट जान डराइरहेका छन्,” उनले भने, “यसको असर व्यापारीलाई मात्रै होइन, सबै यार्सा संकलकलाई पनि परेको छ ।”

विगतमा ठूला व्यापारीले डिभिजन वन कार्यालयबाट स्वीकृति लिएर वैधानिक बाटोबाट यार्सा लैजाने गरे पनि सीमा क्षेत्रका कतिपय व्यापारी र संकलकले उरै नाकाबाटै तिब्बत पुर्‍याउने गरेको उनी बताउँछन् । कोभिड महामारीपछि चीनले सीमामा अपनाएको कडा नीतिसँगै पुरानो व्यापारिक सम्बन्धमा पनि असर परेको स्थानीयको भनाइ छ । तिब्बतसँगको अनौपचारिक व्यापारिक मार्गमा निगरानी बढेपछि यार्सा बेच्ने पुरानो सहज बाटो साँघुरिएको छ ।

यार्सागुम्बा खोज्दै संकलकहरू। तस्बिर: वसन्तप्रताप सिंह

एकातिर सोझै तिब्बत लैजाने मार्गमा कडाई हुनु र अर्काे तर्फ यार्साको मुल्य घट्दा यसको मार संकलकलाई परेको हो । गत साउनको पहिलो साता बझाङका व्यापारीले संकलकबाट प्रतिकिलो १२ लाख २० हजार रुपैयाँका दरले यार्सा उधारोमा खरिद गरेका थिए । जिल्लाभरका करिब २० हजार संकलकबाट तीन सय किलोभन्दा बढी यार्सा उधारोमा खरिद गरिएको व्यापारीहरूको भनाइ छ ।

बझाङका व्यापारीहरूले संकलकबाट खरिद गरेको यार्सा काठमाडौं पुर्‍याएर चिनियाँ व्यापारीलाई बिक्री गर्ने गर्छन् । तर काठमाडौंमा आफूले तिरेको मूल्यभन्दा कममा मात्र चिनियाँ व्यापारीले खरिद गर्न खोजेपछि यार्सा बिक्री गर्न नसकिएको उनीहरूको भनाइ छ ।

“हामीले जिल्लामै १२ लाख २० हजार तिर्ने सर्तमा किरा उठायौं,” बझाङ उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका यार्सा व्यापारी दानबहादुर सुर्मेलीले भने, “यहाँ आएर १० लाखभन्दा बढी पाइएको छैन । घाटा खाएर बेच्ने कुरा भएन ।” यार्सा बिक्री नभएपछि आफूहरूसँग पनि संकलकको रकम तिर्ने नगद नभएको उनले बताए । “सबै रकम नदिए पनि चामल त पठाइदिनुस् भनेर संकलकहरू सताइरहेका छन्,” उनले भने, “हामीसँग पनि रकम छैन । चामलसम्म पनि दिन सक्ने अवस्था छैन।”

गाउँमा नगद संकट

यार्साको पैसा नआएपछि यसको असर संकलकको घरसम्म मात्र सीमित छैन । त्यसले गाउँको सिंगो अर्थतन्त्रलाई प्रभावित गर्न थालेको छ । सुर्मा गाउँपालिकाका भिम बोहराका अनुसार यार्साको रकम नपाउँदा कतिपय परिवारले चामलसमेत किन्न सकेका छैनन् ।

“रकम नपाएका कारण यहाँका मान्छेले चामलसमेत किन्न पाएका छैनन्,” उनले भने, “बाहिर जिल्ला रिफर गरेका बिरामीलाई उपचार गराउन समस्या भएको छ । कसै–कसैका विवाह समेत रोकिने अवस्था छ ।”

गाउँमा नगदको संकट गहिरिएर सामान्य खर्चका लागि समेत सापटी पाउन मुस्किल भएको उनी बताउँछन् ।

यार्सा बिक्रीबाट आउने रकमले नै गाउँमा नगद प्रवाह बढाउने भएकाले संकलकको पैसा रोकिँदा त्यसको असर स्थानीय व्यापारमा पनि परेको छ । गाउँका पसलहरूले थोक व्यापारीबाट उधारोमा सामान ल्याएर संकलकलाई पनि उधारोमै बिक्री गर्दै आएका थिए । अहिले त्यो चक्र नै रोकिएको छ ।

यार्सागुम्बा संकलनका लागि हिमाली क्षेत्रमा बनाइएका अस्थायी पालहरू तस्बिर: वसन्तप्रताप सिंह

साइपालको धलौनमा दैनिक उपभोग्य सामग्रीको पसल चलाउँदै आएका जंग धामीले यही कारण पसल बन्द गरेर बसेका छन् । “थोक पसलबाट उधारो ल्यायो, गाउँमा पनि उधारोमै बिक्री गर्‍यो । नगद आउने छाँटकाँट नै छैन,” उनले भने, “तिर्नुपर्ने र उठाउनुपर्ने उधारो लाखौं भइसक्यो । अब त थोकवालाले सामान नै दिन छोडे । पसल बन्द गरेर आएको छु ।”

अर्का व्यापारी गोरख बोहराका अनुसार यार्सा संकलनमा जाने समयदेखि नै गाउँमा उधारो कारोबार चलिरहेको थियो । “यत्रो समय उधारोमै कारोबार कसरी धान्नु?” उनले प्रश्न गरे । यार्साको रकम समयमा नआएपछि हिमाली क्षेत्रका धेरै साना व्यापारी पनि आर्थिक संकटमा परेको उनको भनाइ छ ।

यार्साको समस्या मूल्यमा मात्र सीमित छैन । बजारको संरचना नै बदलिँदै गएको स्थानीय व्यापारीहरू बताउँछन् । कुनै समय तिब्बतबाट आउने व्यापारीले बझाङ, हुम्ला र आसपासका हिमाली क्षेत्रमै यार्साको मूल्य तय गर्थे । प्रतिस्पर्धा हुँदा संकलकले पनि तुलनात्मक रूपमा राम्रो मूल्य पाउँथे । अहिले तिब्बततर्फको आवागमन र व्यापारमा आएको कडाइले त्यो सम्बन्ध कमजोर भएको छ । तिब्बततर्फको बजारमा प्रत्यक्ष पहुँच घटेपछि स्थानीय व्यापारी काठमाडौं हुँदै कारोबार गर्न बाध्य छन् । बीचमा थपिने ढुवानी, जोखिम र व्यापारिक खर्चले पनि मूल्यमा असर पार्छ । त्यसमाथि यार्साको माग र मूल्यमा आएको गिरावटले संकलक र व्यापारी दुवैलाई दबाबमा पारेको छ ।

“पहिले कसले बढी मुल्य दिने भन्ने खालको प्रतिश्पर्धा हुन्थ्यो ।  मूल्य तय गथ्र्यो, अहिले खरिदकर्ताले भनेको मुल्यमा दिनु परेको छ” एक स्थानीय व्यापारी बसन्त खड्काले भने । यही कारण हिमालमा जोखिम मोलेर यार्सा खोज्ने संकलकको श्रम र बजारमा त्यसको मूल्यबीच ठूलो अन्तर देखिन थालेको छ ।

यार्सागुम्बा खोज्दै संकलकहरू। तस्बिर: वसन्तप्रताप सिंह

बझाङका स्थानीयले पुस्तौंदेखि तिब्बतसँग व्यापार गर्दै आएका छन् । उरै भञ्जाङ हुँदै ताक्लाकोटसम्म पुग्ने बाटो उनीहरूका लागि व्यापारिक मार्ग मात्रै होइन । धार्मिक र सांस्कृतिक सम्बन्ध जोड्ने बाटो पनि हो । सात बर्ष पछि बझाङका स्थानियले हस्तकला र कृषी उत्पादन ताक्लाकोटमा बिक्री गर्नका लागि खुला गरिए पनि जडिबुटी भने लैजान नदिएको स्थानिय बताउँछन् ।

धार्मिक र चरिचरन सम्बन्धमा समस्या

तिब्बतमा जडीबुटी लैजान कठिन हुनुका साथै स्थानीयको परम्परागत धार्मिक गतिविधि र चरिचरनमा समेत समस्या आएको स्थानीय बताउँछन् । मानसरोवरको जल ल्याएर कुलपूजा गर्ने परम्परा सात वर्षदेखि रोकिएको छ । बर्खामा तिब्बत तर्फका वनमा भेडाच्याङग्रा र चौरी चराउन लैजाने पुरानो अभ्यासमा समेत अवरोध र असहजता बढेको स्थानीयको भनाइ छ । यसरी भोटको बाटो बन्द हुँदा हिमाली समुदायको पुस्तौंदेखिको जीवनशैलीसँग जोडिएका धेरै बाटा साँघुरिँदै गएका छन् ।

उरैजस्ता नाकामा भन्सार र अध्यागमन कार्यालय स्थापना गरेर  व्यवस्थित र कानुनी व्यापारिक मार्गका रूपमा विकास गर्नु पर्ने माग बर्षौै देखी उठ्दै आएको भए पनि यसको अहिले सम्म सुनुवाई हुन सकेको छैन ।  यो नाका औपचारीक रुपमा खोल्न सके अवैध कारोबारमा कमि आउने तथा हिमाली क्षेत्रका स्थानीय उत्पादनले नयाँ बजार पाउने सम्भावना छ । चीनसँग औपचारिक रूपमा जडीबुटी व्यापार विस्तार गर्न सके स्थानीय संकलकले बिचौलियामा निर्भर हुनुपर्ने अवस्था पनि घट्न सक्छ ।

author

Basanta Pratap Singh

CESIF Fellow