रानीसैन घटनाको तिब्बत कनेक्सन

जेठ २०८३ -गएको जेठ २ गते राती बाजुराको हिमाली गाउँपालिका वडा सदस्य पेमा गारा गुरुङ र उनकी श्रीमती लक्ष्मी गुरुङ माथि कुटपिट भयो । हुम्ला तर्फबाट आएका मानिसहरुले उनको घरमा भएको अन्नपात समेत लुटपाट गरेको गुरुङको आरोप छ । 

त्यो घटनाको अर्को दिन जाँचबुझको लागि गएको गाउँपालिकाको टोली माथि फेरि  आक्रमण भयो । हुम्लाको खार्पुनाथ गाउँपालिकातर्फबाट करिब ३–४ घण्टा हिँडेर आएको समूहले  ढुङ्गा, लठ्ठी र गुलेली प्रयोग गरेर आक्रमण गरे । आक्रमणबाट हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, सोही गाउँपालिकाडा वडा सदस्य पेमा गारा गुरुङ, उनकी श्रीमती लक्ष्मी गुरुङ, स्थानीय मिन कुँवर र प्रहरी सहायक हवल्दार रमेश धामी गम्भीर घाइते भए । 

पिठ्युँ, घाँटी, छाती र खुट्टामा गम्भीर चोट लागेका उनीहरुलाई हेलिकप्टर मार्फत जेठ ६ गते मात्रै उद्धार गरिएको थियो । हिंस्रक झडपपछि विकट क्षेत्रमा अलपत्र परेका घाइतेहरूको उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको थियो ।

गम्भीर चोट लागेका घाइतेको हेलिकप्टर मार्फत उद्धार गरिंदै। तस्वीर: वसन्तप्रताप सिंह

बाजुराको हिमाली गाउँपालिका वडा नं. ३ र हुम्लाको खार्पुनाथ गाउँपालिका–२ को सीमा क्षेत्रमा प्रहरी चौकी स्थापनाको विषयलाई लिएर भएको हिंसात्मक झडपको सिकार त्यहाँ पुगेका पर्यटकहरु पनि हुन पुगे । 

‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं’ अभियान लिएर अछामको रामारोशन हुँदै रानीसैन भ्रमणमा निस्केका धनगढी उपमहानगर मेयर गोपाल हमाल सहित ३८ जनाको टोलीलाई जेठ ५ गते दुव्र्यवहार र आक्रमण भयो । हमाल नेतृत्वको टोलीलाई बाजुराको लाम्पाटाबाट लखेटियो । 

‘रानीसैन पुग्न पाँच घण्टा मात्र बाँकी थियो, हामीलाई लाम्पाटाभन्दा अगाडि जान नदिएर हुम्लाका बासिन्दाले लखेटेर फर्काए,’ हमालले भने, ‘हामी फर्किने काठे पुल पनि भत्काइयो, धन्न कुटपिट हुनबाट जोगियौं । हामीमाथि निकै अत्याचार भयो ।’

सञ्चार सम्पर्कसमेत नहुने साइपाल हिमालको पूर्वी बेसक्याम्पमा पर्ने रानीसैन क्षेत्र गइरहेका धनगढीका मेयरको टोली मात्र नभई बाजुराका जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया र हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर मल्लको टोली माथि पनि आक्रमण भयो । धनगढीका मेयर हमालभन्दा अगाडि अध्यक्ष मल्लको टोली थियो । यो टोलीमा रहेका प्रमुख प्रशासकीय अधिकृत थापामाथि त कुटपिट समेत भयो । अध्यक्ष मल्लले भने आफू ज्यान जोगाएर फुत्किएको बताए । 

‘मुस्किलले ज्यान जोगाएर आइयो,’ जिल्ला समन्वय समिति प्रमुख रोकायाले भने ।

सुदूरपश्चिम र कर्णालीको सिमानामा लुकेको रानीसैन अनुपम प्राकृतिक भूदृष्यका कारण पछिल्लो समय चर्चाको शिखरमा छ । सुदूरपश्चिमको बाजुरा र कर्णालीको हुम्ला जिल्लाको काखमा अवस्थित यो क्षेत्र जैविक सम्पदाको जीवन्त सङ्गम पनि हो । साइपाल हिमालको पुर्वी बेसक्याप्स रहेको रानीसैन पुग्नेहरुका आँखा अगाडी प्रकृतिको एउटा जीवन्त क्यानभास खुल्छ । विशाल मखमली हरिया पाटनहरू, पृष्ठभूमिमा मुस्कुराइरहेका साइपाल हिमालको हिमशृङ्खला र आँगनमा निलो हिमतालको अदभुत संयोजनले रानीसैन पुग्ने जोकोहीलाई मोहित बनाउँछ ।

वसन्त र बर्खायाममा यहाँका पाटनहरू रङ्गीचङ्गी जङ्गली फूलहरूले ढाकिन्छन् । हिमाल पग्लिएर बग्ने कञ्चन खोलानाला र झरनाहरूको कलकल आवाजले यहाँको एकान्त र शान्त वातावरणलाई झनै सङ्गीतमय बनाउँछ । रानीसैनको सुन्दरतालाई यहाँको जैविक विविधताको हिमाली पारिस्थितिक प्रणाली सिंगारेको छ । यहाँ यार्सागुम्बा, पाँचऔँले, जटामसी, कुटकी, वनलसुन जस्ता बहुमूल्य र दुर्लभ जडीबुटीहरू पाइन्छन् । कस्तूरी मृग, हिउँ चितुवा, झारल र थार जस्ता वन्यजन्तुहरूको क्रिडास्थल रहेको यो क्षेत्रमा डाँफे, मुनाल र कालिज आदी दर्जनौ चराहरु पाइन्छन । 

वर्षायाम सुरु भएपछि बाजुरा र हुम्लाका स्थानियहरु आफ्ना भेडा, च्याङ्ग्रा र चौँरीका बथान लिएर यी फराकिला पाटनहरूमा उक्लिन्छन् । स्थानीय समुदायका लागि परापूर्वकाल देखि नै जीविकोपार्जनको मुख्य स्रोत रहेको यो क्षेत्रमा दुर्लभ जडिबुटीको पनि संकलन हुने गर्दछ । 

परापुर्वक काल देखि हुम्ला र बाजुराका स्थानियको लागि दुई जिल्लाका बासिन्दाहरू भेट हुने, सुख–दुःख साट्ने र आपसी भाइचारा साटासाट गर्ने साझा थलोकोरुपमा रहेको यो सुन्दर ठाउँ एकाएक हिंसक विवाद र वैमनस्यताको केन्द्र बनेको छ । 

रानीसैन कसरी झगडाको केन्द्र बन्यो त ? 

बाजुराको झण्डै ३८ प्रतिशत भुगोल ओगट्ने हिमाली गाउँपालिकाको वडा नं ३ र हुम्लाको खार्पूनाथ गाउँपालिका–२ को बीचमा रहेको यो क्षेत्र हुम्ला क्षेत्रका ब्यापारीले यस क्षेत्रको जडीबुटीमा रजगज गर्दै आएको बाजुरातर्फका बासिन्दाको आरोप छ । 

‘बाजुराका बासिन्दालाई कुटपिट र लुटपाट गर्ने, जडीबुटी संकलन गर्नै नदिने र संकलन गरिहाले पनि लुटेर लिने वा चाहेको मूल्यमा लिने गर्दै आएका हुन्,’ हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर मल्लले ‘यतिबेला हामीले अस्थायी प्रहरी पोष्ट राख्ने प्रक्रिया अघि बढाउँदा उनीहरुले आफ्नो अवैध ब्यवसायमा अवरोध हुने देखेर हिंसात्मक ब्यवहार गरेका हुन् ।’

सुदूरपश्चिम प्रदेश सरकारले लाम्पाटामा अस्थायी प्रहरी चौकी भवन निर्माणका लागि चालु आर्थिक वर्षको बजेटमा ४० लाख विनियोजन गरेको थियो । बजेटको कार्यान्वयनका क्रममा हिमाली–३ गुम्बा र लाम्पाटाका स्थानीयले उपभोक्ता समिति गठन गरेर चौकी भवन निर्माण गर्न लाग्दा आक्रमण भएको हिमाली गाउँपालिकाले जनाएको छ । आक्रमण गर्ने समुहले भवन निर्माण सामग्री नष्ट गर्नुका साथै चौकी स्थापनाको अगुवाई गरेका हिमाली–३ का वडासदस्य पेमा गारा गुरुङसहित उनकी श्रीमती लक्ष्मी गुरुङ, मिन कुँवरमाथि सांघातिक आक्रमण अध्यक्ष मल्लको भनाई छ । 

बाजुरा र हुम्लाको सिमानामा रहेको साइपाल हिमाल । तस्वीर: वसन्तप्रताप सिंह

यस क्षेत्रसँग हुम्लाका सर्केगाड गाउँपालिकाको रिप गाउँ, नाम्खा गाउँपालिकाको खगालगाउँ, खार्पुनाथ गाउँपालिकाको राय र थाली गाउँको भूगोल जोडिएको छन् । यी गाउँका स्थानीयको रानीसैन मुख्य चरिचरनको क्षेत्र पनि हो । 

खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल दुई जिल्लाको सिमाना कवाडी खोला भएको दाबी गर्छन् । ‘प्रहरी चौकीको निर्माण बाजुराले आफ्नोतिर गरेमा वा हाम्रो पनि सहमति लिएर गरेको भए कुनै विवाद नै हुने थिएन,’ उनले भने ‘हाम्रो क्षेत्र कब्जा गर्ने उद्देश्यले चौकी राख्न लागिएकोमा हाम्रो आपत्ति हो ।’

उनले चौकी भवन निर्माण गर्न लागेको जानकारी पाइसकेपछि नगर्नका लागि प्रधानमन्त्री कार्यालयमासमेत ज्ञापन दिइएको दाबी गरे । त्यो क्षेत्र हुम्लाको थला सामुदायिक वन क्षेत्र भएको उनले बताए । ‘पहिलाका फैसला र प्रमाणहरु हाम्रो हुम्लातर्फ छन् । तर पछिल्ला कागजातहरु बाजुराले देखाइरहेको छ,’ अध्यक्ष राववले भने ‘सरकारले छानबिन गरेर छिनोफानो गरे हाम्रो मञ्जुरी छ । संरक्षित क्षेत्र बनाए पनि हाम्रो विमति छैन ।’

हुम्लाको खार्पुनाथले लाम्पाटास्थित आफ्नो क्षेत्रमा प्रहरी चौकी निर्माण गर्न लागिएको दाबी गरे पनि सत्य नभएको बाजुरा पक्षले जनाएको छ । ‘सिमाना विवादको कुनै साइनो सम्बन्ध नै छैन । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटा भन्दा धेरै टाढा साक्या लाग्ना भन्ने ठाउँमा पर्छ,’ बाजुराका प्रदेश सांसद नरेशकुमार शाहीले भने ‘रानीसैन, गुम्बा, लाम्पाटासहित त्यो क्षेत्र बहुमूल्य जडीबुटी र वन्यजन्तुको भण्डार हो । त्यसमा हुम्लाका केही ब्यापारी राजनीतिकर्मीले वर्षौंदेखि अधिपत्य जमाउँदै आएका छन् । अहिले प्रहरी चौकी स्थापना भए अवरोध हुने उनीहरुको डर हो ।’

तिब्बत कनेक्सन 

हुम्ला र बाजुराबासीले आफ्नो भूगोल भएको दाबी गरे पनि प्रहरी चौकी स्थापना गर्न खोजे पछि सीमाको सवाल उठाएर भएको यो विवादको भित्री पाटो यतिमै सिमित छैन । बहुमूल्य जडीबुटी र वन्यजन्तुको भण्डार रानीसैनमा भएको विवादको कनेक्सन बझाङ हुँदै छिमेकी मुलुक चीनको तिब्बतसम्म जोडिएको छ । जसको केन्द्रमा जडिबुटी र वन्यजन्तुका अंगको अवैध ओसार पसार रहेको छ । डिभिजन वन कार्यालय बाजुराका प्रमुख सुरेशचन्द्र डीसीले लाम्पाटा घटना आवरणमा सीमा विवाद भए पनि उक्त क्षेत्रमा हुने गरेको अवैध गतिविधि मुख्य कारण भएको बताए । 

‘बाजुराको आवश्यकता बमोजिम त्यहाँ प्रहरी चौकी बन्न थालेको थियो । चौकी बनेपछि वर्षौंदेखि चल्दै आएको बहुमूल्य जडीबुटीको अवैध ओसारपसारमा अंकुश लाग्नेवाला थियो । जडीबुटी व्यापारीको उक्साहटमा यो लफडा मन्चन गरिएको हो । त्यहाँ तस्करीमा कस्ता मान्छेको हात छ भन्ने कुरा धेरैलाई थाहा छ ।’ 

बझाङको साइपाल गाउँपालिकामा निर्माण हुँदै गरेको प्रहरी चौकी । तस्वीर: वसन्तप्रताप सिंह

वन अधिृकत डिसीले भने जस्तै यो क्षेत्रमा सुरक्षा उपस्थितीको माग केही स्थानियले पहिले देखि नै गर्दै आइरहेका थिए । यहाँको प्राकृतिक श्रोत उपयोग गर्नेमा बाजुरा तर्फको जनसंख्या कम र हुम्ला तर्फको बढी रहेको छ । यद्यपी जडिबुटी संकलन, चोरी सिकार र अबैध ओसार पसारमा दुवै जिल्लाका स्थानियहरु बर्षाै देखि  संलग्न छन । रानीसैनबाट करिब छ घण्टाको पैदल यात्रा पछि बझाङमा रहेको साइपाल हिमालको पश्चिमीबेस क्याम्प साइपाल गाउँपालिकाको राइढुगी पुगिन्छ । राइढुगीबाट चार दिनको पैदल दुरीमा नेपाल र चीनको सिमा क्षेत्र उरै भञ्जाङ छ । हुम्लाकै चाला, यारी, जौमले, टौवेन हुदै पनि उरै सम्म जान सकिन्छ । 

बझाङको साइपाल गाउँपालिकामा पर्ने सिमाक्षेत्र उरै भञ्जाङ नाकामा भन्सार कार्यालय र सुरक्षा पोष्ट समेत छैन । यही कमजोरीको फाइदा उठाउदै बझाङ, हुम्ला र बाजुराका स्थानियले बर्षेनी ठुलो परिमाणमा जडिबुटी यो बाटो भएर अबैध निकासी गर्दै आएका छन् । 

‘रानीसैनबाट भेडामा जडिबुटीहरु राइढुगी ल्याएर त्यहाँबाट चाइना लैजाने पुरानै चलन हो । साइपाल गाउँपालिका रुन्छे बोहरा भन्छन, ‘बझाङ हुम्ला र बाजुरा मात्रै होइन, मुगु कालिकोटका व्यापारीहरु पनि यही बाटो प्रयोग गर्छन उनीहरुले उरै भञ्जाङ हुँदै तिब्बती भुमीमा रहेका वैकल्पिक बाटोको प्रयोग गरेर ताक्लाकोट नजिक सामान पुर्‍याउने गरेको बताए । 

नेपाल र चीनको सिमा स्तम्भ रहेको उरै भञ्जाङ नजिक ठाडोढुङा भन्ने भण्डारण गरेर राखिएको जडिबुटी, बन्यजन्तुको अखेटोपहार र रक्त चन्दन लगायतका प्रतिबन्धित सामाग्रीहरु चैत देखि कार्तिकसम्म तिब्बतको सिमावर्ती बजार ताक्लाकोट ओर्साने काम हुने गरेको पुर्व साइपाल गाउँपालिका पूर्वअध्यक्ष राजेन्द्र धामी बताउछन । जडिबुटीमा बढी जसो रातो च्याउ, पाँचऔले, कटुकी, सतुवा, जटामसी, वनलसुन यो बाटो भएर तिब्बत जाने गरेको उनले बताए । 

राइढुगी हुदै रानीसैन पुग्ने यो बाटो जडिबुटी तिब्बत निकासीका लागि मात्रै नभएर भारत पुर्‍याउनका लागि पनि प्रयोग भएको उदाहरण छ । २०७०–०७२ सालमा भारतमा बढी  निकासी हुँदै आएको बहुमुल्य जडिबुटी बन लसुन र सतुवा संकलनमा जिल्ला परिषदले रोक लगाएको थियो । यद्यपी व्यापारीहरुले अवैध रुपमा बझाङ जिल्लामा संकलन गरिएको ठुलो परिमाणको बन लसुन र सतुवा बझाङको राइढुगींबाट रानिसैन हुँदै हुम्ला पु¥याएर जहाज मार्फत नेपालगञ्ज पठाएका थिए । ‘बझाङ जिल्लाबाट निकासी गर्दा वनले छोडपुर्जी नदिने र संकलन भएको जडिबुटी जफत हुने भए पछि जिल्लाभरीको बन लसुन र सतुवा राइढुगीं हुँदै हुम्ला लगिएको थियो त्यो घटना बारे जानकारी राख्ने त्यो बेला एकजना जडिबुटी व्यापारी गंग खड्काले भने, ‘मैले सुने अनुसार सिमिकोटबाट जहाज चार्टर गरे त्यो जडिबुटी नेपालगंज पठाइएको थियो लगातार दुइ वर्षसम्म यसरी बझाङबाट जडिबुटी हुम्ला गएको उनले बताए ।

जडिबुटी र वन्यजन्तुका अंगहरुको ओसारपसारको हब बनेको बझाङको सिमा उरैमा पनि सिमा सुरक्षाको लागि प्रहरी राख्नु पर्ने माग बर्षाै देखि उठ्दै आएको छ । बझाङको यो नाकामा भन्सार कार्यालय खोलिनु पर्ने र हिमाली क्षेत्रमा पर्ने भएकोले विषेश सुविधा सहित ससस्त्र प्रहरीलाई खटाइनु पर्ने भनेर साइपाल गाउँपालिका मात्र नभएर जिल्लामै पटक पटक आवाज उठ्ने गरेको छ । चुनाव ताका उम्मेदवारहरुको एजेन्डा बन्ने गरेको यो नाकामा भन्सार कार्यालय र सुरक्षा व्यवस्था गर्नका लागि तत्कालिन बझाङ जिल्ला परिषदले पटक पटक निर्णय गरेर केन्द्रमा पठाएको र यसको सुनुवाई नहुदा उरै नाका तस्करका लागी सहज वन्दै गएको बझाङका अधिकारीहरु बताउँछन् ।

author

Basanta Pratap Singh

CESIF Fellow