असार २०८३ - गएको कार्तिकमा जिल्ला प्रहरी कार्यालय हुम्लाले ७ सय ३९ कार्टुन र ८ हजार ७४८ बोतल मदिरा बरामद गर्यो ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार कार्तिक १६ गते नाम्खा गाउँपालिका– ३ को ढाडकेर्मीबाट ३ सय ७८ कार्टुन र ४ हजार ५३६ बोतल मदिरा बरामद गरिएको थियो । त्यसको आठ दिन पछि नाम्खा गाउँपालिकाकै वडा नं. ३ को लामा खोल्सी गाउँबाट ३५१ कार्टुन मदिरा बरामद भयो ।
एकै हप्ताको अन्तरालमा बरामद भएको मदिरा प्रचलित बजार मुल्य अनुसार ३९ लाख ३६ हजार ६०० बराबर मुल्य रहेको प्रहरी नायब उपरिक्षक शंकर खड्काले बताए ।
जिल्ला प्रहरी कार्यालय हुम्लाबाट खटिएको तत्कालिन प्रहरी नायब उपरिक्षक शंकर खड्काकै नेतृत्वको टोलीले २०८२ साल कार्तिक महिनामा चीनको ताक्लाकोटबाट भित्रिएको अवैध चिनियाँ मदिरा बरामद गरेको थियो । बरामद भएको मदिरा आठ महिनासम्म जिल्ला प्रहरी कार्यालयमा राखेर हालै मात्र नष्ट गरिएको थियो ।
हुम्लाको सदरमुकाम सिमकोटदेखि नाम्खा गाउँपालिका–२ स्थित केर्मीसम्म २० किलोमिटर रहेको छ । पैदल मार्गबाट सो ठाउँमा करीव साढे ४ घण्टा समय लाग्ने गर्दछ । सोही ठाउँको ढांटकर्मी भन्ने स्थानमा हालसम्म सुरक्षाकर्मीको उपस्थिति छैन । सरकारले प्रहरी कार्यालय नै स्थापना गरेको छैन । सबैभन्दा नजिक सिमकोट गाउँपालिका–७ धारापोरीमा प्रहरी चौकी भएता पनि कर्णाली करिडोर अन्तरर्गतको धारापोरीको प्रहरी चौकी मुख्य राजमार्गमा नभएकोले नाम्खाको हिल्सा नाकाबाट लुकिछिपी चीनबाट तस्करी हुने मदिरा लगायतका समाग्री प्रहरीले फेला पार्न नसकेको हो ।
राजमार्ग एक तिर प्रहरी चौकी अर्को तिर रहेकोले चीनबाट आयत हुने कुनै पनि सामानको तथ्यगत विवरण उपलब्ध नहुने देखिएको छ । जसले गर्दा प्रहरी समेत तस्करी रोक्न असफल देखिएको छ ।
अवैध रुपमा ओसारपसार गरेको आरोपमा नियन्त्रण लिएको मदिरा नष्ट गर्नु अघि प्रदेश प्रहरी कार्यालयको अनुमति लिनु पर्ने भएकाले बरामद गरिएको मदिरा लामो समयसम्म यत्तिकै राखिएको थियो । निरन्तर अवैध मदिरा बरामद हुने र नष्ट गर्न प्रदेश कार्यालयको स्वीकृति कुर्नु पर्ने भएकाले अहिले जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयलाई नै अधिकार दिएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख अंगबहादुर कार्कीले बताउनुभयो ।
बरामद गरिएको मदिरा नष्ट गरिदै । तस्वीर: नरजन तामाङ
कार्कीका अनुसार मदिरा नष्ट गर्न लामो प्रशासनिक प्रक्रिया पुरा गर्नुपर्छ ।
प्रहरीका अनुसार हुम्लामा पछिल्लो समय प्रहरी प्रशासनको आँखा छलेर सधैजसो चिनियाँ मदिरा भित्रिने गरेको छ । मदिरा विशेषगरी नाम्खा गाउँपालिकाको सिमा क्षेत्रमा रहेको मुख्य हिल्सा नाका र लिमिलाप्चाबाट अवैध रुपमा भित्रिने गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै सिमकोट गाउँपालिकाको चुवा खोला र चंखेली गाउँपालिकाको टांके नाकाबाट पनि भन्सार छलेर अवैधानिक रुपमा चिनियाँ मदिरा भित्रिने गरेको छ । सरकारी कार्यालयको समन्वयको अभावमा बरामद गरिएको मदिरा सिमिकोटमा महिनौसम्म थन्कयाएर राखिएको हुन्छ । प्रहरीले बरामद गरेको मदिरा जिल्ला प्रहरी कार्यालय हुम्लामा ल्याएर भण्डारण गरिन्छ । कतिपय अबस्थामा सीमा नाका हुदै अवैध रुपमा आयात भएको समानको बारेमा सम्वन्धित निकायलाई जानकारी नै नदिएर राखिने प्रशासनिक लापरवाही पनि देखिएको छ ।
तिब्बतसंग सीमा जोडिएको हिमाली जिल्ला हुम्लामा हिल्सा, टाँके, चुवाँ खोला र लिमि लाप्चा नाका रहेका छन् । ती सबै नाका निकै उचाईमा पर्ने भएकाले धेरैजसो समय हिउँले भरिएका हुन्छन् । हिल्सा नाका समुद्र सतह देखि ३ हजार ६ सय ४० मिटरको उचाईमा छ ।
लिमि लाप्चा नाका ४ हजार ९ सय मिटर देखि ५ हजार १ सय ३३ मिटरसम्मको उचाईमा छ । टाँके नाका ४ हजार ६ सय मिटर र चुवाँखोला नाका ४ हजार ३ सय २५ मिटर उचाइमा रहेका छन् ।
जिल्लाको सातवटा गाउँपालिका मध्य नाम्खामा दुई वटा सीमा नाका छन् । सिमकोट र चंखेलीमा एक÷एक वटा सीमा नाका रहेका छन् ।
हिल्सा नाका बाहेक अन्य नाकाहरूमा प्रहरी चौकी राखिएको छैन । चिसो र हिडेर जान समय लाग्ने भएकाले अवैध तस्करी रोक्न सुरक्षाकर्मीहरु पनि गस्तीमा निस्कदैनन् । हिल्सा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरेर करीव ५० जनाको सुरक्षाकर्मी खटाइएको छ । तर हिल्सामा अत्याधिक चिसो हुने भएकाले त्यहाँ खटिएका प्रहरीहरु पनि ठण्डी मौसममा एक दिनको मोटरबाटो चढेर जिल्ला सदरमुकाम सिमकोट आइपुग्छन् ।
चिसोमा बस्न नसकिने भएपछि उनीहरु चौकी छोडेर केही महिना जिल्ला सदरमुकाममै रहन्छन् । स्थानीयका घर भाडामा लिएर राखिएका प्रहरी चौकीमा चिसोमा बस्न उपर्युक्त कपडा र हिउँबाट जोगिन न्यानोको व्यवस्था छैन ।
हिमाली जिल्ला हुम्लाको सीमा नाकामा प्रहरी प्रशासनको उपस्थिति नहुँदा चीनबाट अबैध रुपमा मदिरा लगायतका समानको ओसारपसार भइरहेको छ ।
हिल्सा नाकामा विओपी रहेको र नेपाल प्रहरीले सुरक्षा दिएको र अन्य तीनवटा नाकामा प्रहरीले सुरक्षा दिएको छैन । हिल्सा नाकाबाट समेत अवैध रुपमा चोरी, तस्करी अवैध सामग्री ओसारपसार भईरहेको छ । अन्य तीनवटा नाकाबाट झन् बढी अवैध सामग्री ओसारपसार हुने गरेको स्थानीयको भनाई छ ।
नाम्खा गाउँपालिका–६ को सुनकाखानी इलाका प्रहरीचौकीका सुरक्षाकर्मीहरू १२ महिना मध्य छ महिना सदरमुकाम सिमकोट र छ महिना कार्यस्थलमा बस्दै आएका छन् । उक्त स्थान हिउँदको समय अत्याधिक चिसो हुने भएकोले बस्न कठिनाई हुने गर्दछ ।
तोकिएको स्थानमा सुरक्षाकर्मी बस्न नसक्ने समयमा अवैध सामान ओसारपसार नहुने भएकोले छ महिना त्यस्तो कुनै गतिविधि हुदैन । उक्त समय अबैध सामान ओसार पसारको संभावना रहँदैन ।
हिल्सामा प्रहरीको आफ्नै भवन नभएकाले अरुको घरमा भाडामा बस्नु पर्ने बाध्यता रहेको प्रहरी नायव उपरिक्षक शंकर खड्काले बताउनुभयो । “प्रहरीलाई आवश्यक सामग्री सहजै उपलव्ध नहुनु, चिसोका कारण स्वास्थ्यमा असर पर्नु लगायतका समस्याहरू प्रहरीले भोगिरहेको छ ।”े प्रहरी उपरिक्षक खड्काले भने ।
यी विभिन्न नाकाहरूबाट कमजोर सुरक्षा व्यवस्थाका कारण मदिराका साथै अन्य सामाग्रीको पनि अवैध ओसारपसार हुने गरेको छ । गत भदौ १० गते हुम्लाको उत्तरी हिल्सा नाकाबाट ४० हजार थान विद्युतीय चुरोट भेप आयत भएको थियो । डिभिजन बन कार्यालय हुम्लाका बन अधिकृत लोकजंग शाहीले नेपालगन्जसम्मका लागि जाँच पास गरेर पठाएको कन्टेनरमा सशस्त्र प्रहरीले दैलेख जिल्लाबाट नियन्त्रणमा लिएको थियो ।
नियन्त्रमा लिएको उक्त कन्टेनरमा राजस्व भन्सार सहितको टोलीले खोलेर हेर्दा चीनबाट तस्करी गरि भित्रिएको ३९ हजार ९ सय थान भेप २ हजार ४ सय केजी सेतो चिनी फेला परेको थियो ।
हिल्सा हुदै दैलेख पुगेर बरामद गरिएको भेप १० करोड रुपियाँ बराबरको रहेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
हुम्लामा पछिल्लो समय दैनिक दिन लुकीछिपि गरेर चिनियाँ मदिरा भित्रिने गरेको छ ।
अवैध आयातका कारण सरकारले राजश्व गुमाइरहेको छ । निरन्तर भइरहेको अवैध वस्तुको ओसारपसारले सीमा नाकामा नेपालको कमजोर उपस्थितिको पनि उजागर गरेको छ ।
