असार २०८३ - ‘यसबारे माथिल्लो तहतप्कामा जानकारी गराउने काम भएको छ, काम बन्द भएको छ छैन यसबारे स्थलगत रुपमा हेर्नुपर्ने हुन्छ,” प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे ।
राजधानी काठमाडौंबाट चीनको व्यापारिक क्षेत्र खासा १ सय २४ किलोमिटर र रसुवागढी १ सय ६४ किलोमिटरको दूरीमा पर्छन् । केरुङभन्दा तातोपानी नाकाबाट सिगात्से ३० किलोमिटर कम दूरीमा पर्छ । चीनको जुनसुकै बजारका या कम्पनीबाट झिकाएका सामग्री भए पनि खासाबाट तातोपानी आइपुग्न बढीमा १५ दिन लाग्छ ।
भोटेकोसी गाउँपालिका वडा नं. २ का अध्यक्ष कुमार श्रेष्ठकाअनुसार नजिकैको दूरीमा रहेको छिमेकी देश चीनले तातोपानी नाकाप्रति वेवास्ता गर्दै आएको छ । विगतको तुलनामा अहिले पराईको जस्तै व्यवहार गरेको देखिन्छ । ‘विगतका चिनियाँ व्यवहार होस् या मितेरी पुलको बिचमा राखिएको चिनियाँ फलामे गेट, चीनले मौन रुपमा पेलेको अनुभव भइरहेकोे देखिन्छ,’ वडा अध्यक्ष श्रेष्ठले भने ।
आहिले नेपाल–चीन सीमा तोक्ने नदी धर्मकोशी अर्थात् भोटेकोशी नदी किनारामा चिनियाँ पक्षले आफुखुशी ढलान गरेर तटबन्ध बनाइरहेको छ । श्रेष्ठका अनुसार चिनियाँ तटबन्धका कारण नदीले लिपिङ बजारलार्ई लगातार कटान गरिरहेको छ । मितेरी पुलभन्दा केही पर रहेको भूकम्पले ध्वस्त बनाएको व्यापारी भवनको संरचनाको केही भाग नदी किनारबाट उठाएपछि नेपाल तर्फ झन् जोखिम बढेको उनले बताए ।
श्रेष्ठले केही समयअघि सीमा अवलोकनमा पुगेका सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी र सुरक्षाकर्मीसहितको प्रशासनिक टोलीलाई यसबारे विवरण दिएको जानकारी दिए । ‘त्यस समस्या र घटनाबारे जानकारी गराएकै हो ,तर उता चीनले कुनै काम रोकेको छैन्, नदी किनारमा संरचना बनाउँदा वारी कटानको जोखिम बढेको गुनासो जताततै बाट आएको छ,’ उनले भने ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २ बाट चीन जोड्ने उत्तरी नाका तातोपानीको अवलोकनमा पुगेको प्रमुख जिल्ला अधिकारीसहितको टोली । तस्विर: अनिश तिवारी
चिनियाँ अत्याधुनिक उपकरणसहित कामदार भवन, सडक बेसदेखि अनेक पूर्वाधार निर्माणमा तल्लिन देखिन्छन् । चीनले आहिले प्रशासनिक, व्यापारिकदेखि विभिन्न कम्पनीको कामलाई प्राथामिकता दिएको छ । चिनियाँ अधिकारीकानुसार दर्जनौ अत्याधुनिक उपकरण प्रयोग गरेर पहिरो र बाढी निरोध शैलीका आइरन वाल प्रविधि प्रयोग गरिएको छ । ०७२ को भूकम्पमा ध्वस्त बनेका यहाँका भव्य संरचनालाई ०७३ असार २१ को भोटेकोसी बाढीमा वारी ६२ र चीनतर्फ दुई दर्जन संरचना बगाएको थियो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले यसबारे गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरिएको बताए । ‘यो दुई देशको संवेदनशिल र गहिरो कुरा हो ,यस जनगुनासो र समस्याबारे गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयसहित माथिल्लो तहतप्कामा जानकारी गराउने काम भएको छ, काम बन्द भएको छ छैन यसबारे स्थलगत रुपमा हेर्नुपर्ने हुन्छ,’ प्रमुख जिल्ला अधिकारी घिमिरेले भने ।
मितेरी पुलको बीचमा चीनले एकतर्फी रुपमा सुरक्षा र चेकजाँच गेट राखेको एक वर्ष बढी भइसकेको छ । यसबारे चिनको मनमौजी संरचना पर्खाल र तटबन्द बनाउँदा जोखिम भएको भन्दै केही स्थानीय आक्रोशित पनि बनेका छन् । तर यसबारे नाकामा असर पर्र्ला भनेर सीमाक्षेत्रका गापा अध्यक्षसहित अन्य जनप्रतिनिधि मौन बसेको केही स्थानीयले आरोप समेत् लगाएका छन् ।
जेन–जी आन्दोलनको प्रभाव र नयाँ राजनीतिक शक्ति रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा सरकार गठन भएकाले चीनले नेपालप्रति यसअघिको चिसो व्यवहार झन् बढाउँदै लगेको देखिन्छ । भूकम्प र पछिल्लो कोरोना महामारीपछि व्यापार क्रमशः सामान्यतर्फ फर्किए पनि निर्यात लगभग ठप्प छ ।
यसअघि सीमा छुट्याउने मितेरी पुल नजिकका चिनियाँ झा्ङमु बजारका करिब दुई दर्जन साना पसलमा पुगेपछि मात्रै सीमावासीले घरायसी सामग्री किन्न पाउथे । हाल नयाँ भन्सार नियमले त्यो पनि बन्द भएपछि नाका उराठलाग्दो बनेको छ ।
संकटका बेला नाका बन्द
तातोपानी नाका पटक–पटक विभिन्न बहानामा बन्द हुँदै आएको व्यवसायीहरूको गुनासो छ । २०७७ पुसमा खासा र न्यालम क्षेत्रमा हिमपात भएपछि कन्टेनर आवतजावत रोकियो । खुला ट्रेलरमा ल्याइएका स्याउ तथा अन्य सामग्री हिउँले ढाकिँदा कुहिने र बिग्रिने समस्या भयो ।
चीनको एकतर्फी सीमा अवरोधका कारण अड्किएका कन्टेनर । तस्विर: अनिश तिवारी
कोरोना महामारीका बेला २०७७ असोजमा नाका दुई पटक बन्द गरियो । त्यसबेला सयौं कन्टेनर चीनतर्फ रोकिँदा नेपाली व्यापारीले करोडौं रुपैयाँ घाटा बेहोर्नुपरेको थियो । २०७६ जेठमा तिब्बतको न्यालम प्रशासनले ‘क्यानोन कु’ ताल फुट्न सक्ने जोखिम देखाउँदै तातोपानी नाकाबाट व्यापार नगर्न सूचना जारी गरेपछि पनि लामो समय नाका अवरुद्ध रह्यो । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजकुमार बस्नेतका अनुसार भूकम्प, बाढी, पहिरो, हिमपात, कोरोना संक्रमणलगायत कारण देखाएर चीनले पटक–पटक नाका बन्द गर्दै आएको छ । ‘नेपाललाई समस्या परेको बेला नाका बन्द हुने र सहज अवस्थामा मात्रै खुल्ने प्रवृत्ति देखिन्छ,’ उनले भने । २०७२ सालको भारतीय नाकाबन्दीका बेला पनि भूकम्पपछिको क्षति देखाउँदै तातोपानी नाका लामो समय बन्द राखिएको थियो।
नाकाबन्दीले करोडौंको क्षति
भूकम्पपछि सयौं कन्टेनर सामान खासा–तातोपानी सडक खण्डमा महिनौं अलपत्र परेका थिए। कतिपय कन्टेनर पहिरोले पुरिए भने कतिपय सामान वर्षाको पानीले बिग्रिए । ‘त्यतिबेला व्यवसायीलाई आफ्नै सामान हेर्नसमेत सहज थिएन,’ बस्नेतले सम्झिए, ‘धेरै सामग्री कुहियो, म्याद सकियो र धेरै व्यवसायी पेशाबाटै विस्थापित भए ।’ भूकम्पको चार वर्षपछि एकतर्फी आयातका रूपमा मात्रै खुलाइएको तातोपानी नाका अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । व्यवसायी दोर्जे लामाका अनुसार सीमित कन्टेनर मात्रै प्रवेश पाउने व्यवस्थाले व्यापार प्रभावित बनेको छ । ‘निर्यात व्यवसाय लगभग शून्यजस्तै भएको छ । आयातकर्ता पनि चिनियाँ नीतिको तनावमा छन्,’ उनले भने ।
विगत वर्षमा लिपिङ पुल भासिँदा सामान एक कन्टेनरबाट अर्को कन्टेनरमा सार्नुपरेको र त्यसले ढुवानी खर्च झण्डै दोब्बर बनाएको उनको भनाइ छ ।
ज्ञापनपत्र बुझाउँदै हैरान
भोटेकोशी चेम्बर अफ कमर्सका अध्यक्ष फुनु शेर्पाका अनुसार तातोपानी नाका नाममात्र खुला भए पनि सञ्चालन सहज छैन । ‘चिनियाँ पक्षको मनपरीका कारण नाका पूर्ण क्षमतामा चल्न सकेको छैन । भौतिक संरचना सुधार र सहज सञ्चालनका लागि पटक–पटक ज्ञापनपत्र बुझाएका छौं,’ उनले भने ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरी कार्कीका अनुसार भूकम्प, बाढीपहिरो र कोरोना महामारीलाई आधार बनाएर चीनले स्थलमार्ग व्यापारलाई निरुत्साहित गरेको देखिन्छ । ‘उत्तरी नाकाबाट सामान ल्याउँदा ढुवानी खर्च कम पर्छ र समय पनि बचत हुन्छ । तर दिनमा १०–१२ वटा मात्रै कन्टेनर छाडेर व्यापार सहज हुँदैन,’ उनले भने । गत महिना ल्हासास्थित नेपाली महावाणिज्य दूतावासमा नेपाल र चीनका अधिकारीबीच कार्गो आयात बढाउने विषयमा छलफल भए पनि त्यसको ठोस परिणाम नआएको व्यवसायीहरू बताउँछन् ।
चीनले स्थान अभाव, कोरोना महामारी र मौसम प्रतिकूलता जस्ता कारण देखाउँदै तत्काल कन्टेनर संख्या नबढाउने जानकारी दिएको छ । यसले तातोपानी नाकामार्फत व्यापार गर्ने व्यवसायीहरूमा निराशा थपिएको छ ।
