भारतीय निर्यात अवरोधले नेपाली चिया उद्योग संकटमा

असार २०८३ - झापाको गिरीबन्धु चिया बगानमा ५८ वर्षीय कृष्ण वहादुर विश्वकर्माले तीन दशकभन्दा बढी समयदेखि चियाका कलिला मुना टिप्दै आएका छन् । हरेक बिहान बगान पुग्नु उनको दैनिकी थियो । तर, यतिबेला उनका हात खाली छन् । भारतले नेपाली चिया निर्यातमा प्रतिबन्ध लगाएपछि उनले काम गर्ने चिया उद्योग बन्द भएको छ । बगान पनि बन्द छ ।

विश्वकर्मा अहिले वेरोजगार भएका छन् । अहिले उनलाई परिवार कसरी पाल्ने भन्ने चिन्ता छ ।

‘चिया बगान बन्द भएपछि घर चलाउनै समस्या भएको छ,’ विश्वकर्मा भन्छन्, ‘गुजाराको एउटै बाटो थियो, त्यो पनि बन्द भयो ।’

गिरीबन्धुका विश्वकर्मा मात्र होइनन्, झापा र इलामका हजारौं चिया श्रमिक यतिबेला यस्तै संकट बेहोरिरहेका छन् । भारतले नेपाली चियामा नया अवरोध खडा गरेपछि असार १ गतेदेखि इलामका ५३ उद्योग बन्द भए । त्यसपछि झापाका ३० भन्दा बढी उद्योग र बगान पनि ठप्प भए । चिया उद्योग बन्द भएसंगै पूर्वी नेपालका ६० हजार श्रमिक प्रत्यक्ष प्रभावित भएको चिया उद्योगीहरुको भनाई छ ।

दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएका श्रमिकका लागि केही दिनको बेरोजगारी पनि ठूलो संकट हो । गिरीबन्धुकी श्रमिक सावित्री लिम्वु  भन्छिन्, ‘दिनभर काम गरेपछि साँझ चुलो बल्थ्यो, अहिले काम छैन । चुल्हो कसरी बाल्ने भन्ने चिन्ता छ ।’

कन्यामको एक चियाबगानमा चिया टिप्दै महिलाहरू । तस्विर: पर्वत पोर्तेल

नेपाल चिया उत्पादक संघका अनुसार भारतको इन्डियन टी बोर्डले लागू गरेको नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्योर (एसओपी) का कारण नेपाली चियाको निर्यात रोकिएको छ । गुणस्तर परीक्षणका नाममा तयारी चिया सीमामा थन्किए पछि चिया उद्योगहरूमा नगद प्रवाहको चक्र रोकिएकोे छ । उत्पादन भण्डारण गर्न कठिनाइ भएको छ  । त्यसको प्रत्यक्ष मारमा किसान, श्रमिक र उद्यमी परेका छन् ।

नेपाली चिया उद्योगका लागि यो पहिलो संकट भने होइन । विगत एक दशकयता भारतले विभिन्न बहानामा नेपाली चिया निर्यातमा अवरोध गर्दै आएको छ । कहिले गुणस्तरको प्रश्न त कहिले परीक्षण प्रक्रिया र कहिले लेबलिङ र कहिले कागजी झन्झटले गर्दा भारतमा चिया निर्यातको समस्या बल्झिरहेको छ । प्रश्न उठ्छ– नेपाली चिया किन बारम्बार एउटै समस्यामा फस्छ ?

उद्योगीहरूका अनुसार नेपाली अर्थोडक्स चियाको ठूलो हिस्सा भारतमा पुगेर दार्जिलिङ ब्रान्डमार्फत तेस्रो मुलुक निर्यात हुने गरेको छ । उत्पादन नेपालको, श्रम नेपालीको, तर बजारमा चिनिने नाम दार्जिलिङको हुन्छ ।

सन् १८५० को दशकमा सुरु भएको दार्जिलिङ चिया आज विश्व बजारमा ‘टी स्याम्पेन’ का रूपमा परिचित छ । सन् २००४ मा भारतले दार्जिलिङ चियालाई ‘जियोग्राफिकल इन्डिकेसन (जीआई)’ दर्ता गराएपछि यसको अन्तर्राष्ट्रिय ब्रान्ड थप बलियो बन्यो ।

दार्जिलिङसँग सीमा जोडिएका इलाम, पाँचथर र धनकुटामा उत्पादित चियाको स्वाद, सुगन्ध र गुणस्तर दार्जिलिङसँग मिल्दोजुल्दो छ । चिया विज्ञ उदय चापागाईं भन्छन्, ‘ब्लाइन्ड टेस्टिङ गर्दा नेपाली अर्थोडक्स र दार्जिलिङ चियाको स्वाद छुट्याउन गाह्रो पर्छ ।’

तर, समस्या स्वादको होइन, ब्रान्ड र बजार नियन्त्रणको हो ।

दार्जिलिङ चिया विश्व बजारमा प्रिमियम ब्रान्ड भए पनि त्यहाँको उत्पादन सीमित छ । दार्जिलिङमा वार्षिक करिब ६ हजारदेखि साढे ६ हजार टन मात्रै उत्पादन हुन्छ । विश्व बजारको माग धान्न कठिन भएपछि नेपाली चिया मिसाएर बिक्री गरिने गरेको आरोप नेपाली उद्योगीहरूको छ ।

भारतले निर्यात अवरोध गरेपछि गोदाममा थन्किएका नेपाली चिया । तस्विर: पर्वत पोर्तेल

चिया विज्ञ डा.पृथ्वीविक्रम राई भन्छन्, ‘दार्जिलिङले विश्व बजारको माग धान्न सक्दैन । त्यसैले नेपाली चिया प्रयोग गरिन्छ । तर नेपाली चियाले अलग पहिचान बनाउने हो कि भन्ने डर भारतीय पक्षमा देखिन्छ ।’

सन् २०१७ मा दार्जिलिङ टी एसोसिएसनले तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई भेटेरै नेपाली चियाको आयात रोक्न ज्ञापनपत्र बुझाएको थियो । दुई वर्षपछि पश्चिम बंगाल विधानसभामा तत्कालीन सांसद शान्ता क्षेत्रीले नेपाली चिया गुणस्तरहीन रहेको भन्दै आयात रोक्न माग गरिन् ।

सन् २०२४ देखि भारतीय भन्सारले नेपाली चियाको शतप्रतिशत नमुना परीक्षण गर्न थालेपछि निर्यात झन् जटिल बन्यो । जुन २०२५ मा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले नेपाली चियाले दार्जिलिङ चियाको साखमा असर पारेको आरोप लगाइन् ।

उद्योगीहरू भने गुणस्तरभन्दा व्यापारिक प्रतिस्पर्धा मुख्य कारण भएको बताउँछन् ।

चापागाईं भन्छन्, ‘यदि साँच्चिकै गुणस्तरकै चिन्ता हो भने सीमामै आधुनिक प्रयोगशाला बनाउन सकिन्थ्यो । तर नमुना कोलकाता पठाएर दुई सातासम्म चिया रोक्नु भनेको व्यापारलाई निरुत्साहित गर्नु हो ।’

नेपाल चिया उत्पादक संघका अनुसार नेपालको कुल चिया निर्यातमध्ये ८० देखि ९० प्रतिशत भारतमै निर्भर छ । वार्षिक करिब ४ देखि ५ अर्ब रुपैयाँको चिया भारत निकासी हुँदै आएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा वार्षिक करिब २ करोड ७५ लाख किलो चिया उत्पादन हुन्छ । तर, अधिकांश चिया अझै पनि कच्चा रूपमा भारत निर्यात हुने गरेको छ ।

कन्यामको एक चियाबगानमा चिया टिप्दै महिलाहरू । तस्विर: पर्वत पोर्तेल

नेपाल चिया उत्पादक संघ झापाका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ता भन्छन्, ‘सुरुमा भारत सहज बजार थियो । अहिले त्यही निर्भरता पासो बनेको छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक कृति खतिवडाका अनुसार भारत नेपालका कुल वैदेशिक व्यापारको करिब ६५ प्रतिशत हिस्सा ओगट्ने प्रमुख व्यापारिक साझेदार हो । भौगोलिक सहजता, खुला सीमा र ऐतिहासिक सम्बन्धका कारण भारतसंगको व्यापार स्वाभाविक रूपमा गहिरो भए पनि अत्याधिक निर्भरताले जोखिम पनि बढाएको छ । द वायरमा खतिवडा लेख्छिन्, ‘गहिरो सम्बन्धले अवसरसंगै जटिलता पनि ल्याउँछ । त्यसैले द्विपक्षीय व्यापार व्यवस्था समयानुकूल सुधार र परिमार्जन भइरहनुपर्छ ।’

खतिवडाका अनुसार व्यापार प्रक्रियामा देखिने समस्याले सधैं सम्बन्ध बिग्रिएको संकेत गर्दैन, बरु सहज व्यापार सहजीकरणका लागि दुवै पक्ष पर्याप्त रूपमा तयार नभएको पनि देखाउन सक्छ । त्यसैले नेपाल–भारत आर्थिक सम्बन्धलाई व्यावहारिक ढंगले व्यवस्थापन गर्न आवश्यक छ ।

भारतीय चिया बोर्डले हाल नेपाली चियाको नमुना भारतका प्रमुख व्यापारिक केन्द्र सिलिगुडी र कोलकाताका गोदामबाट संकलन गरी परीक्षण गर्दै आएको छ । उद्योगीहरूका अनुसार परीक्षण प्रतिवेदन आउन १० देखि १५ दिन लाग्ने र त्यस अवधिमा चिया बिक्री गर्न नपाइने व्यवस्थाले सम्पूर्ण आपूर्ति प्रणाली नै प्रभावित भएको छ ।

कृति खतिवडाका अनुसार ‘गुणस्तर परीक्षण बजार सुनिश्चित गर्ने माध्यम हुनुपर्छ, व्यापार अवरोध गर्ने साधन होइन । परीक्षण प्रक्रिया पारदर्शी, पूर्वानुमानयोग्य र समयबद्ध हुनुपर्छ ।’

उनी थप्छिन्, ‘यदि गुणस्तर परीक्षणका लागि लामो समय चिया रोक्ने हो भने त्यसले उद्योग, किसान, श्रमिक र निर्यात प्रणाली सबैलाई प्रत्यक्ष असर पार्छ ।’

व्यवसायीहरूका अनुसार नेपालले भारतलाई प्रतिकिलो करिब ५ सय रुपैयाँमा चिया बेचिरहेको छ । त्यही चिया भारतमा प्याकिङ, ब्रान्डिङ र प्रशोधन भएर युरोप र अमेरिकामा कैयौं गुणा महँगो मूल्यमा बिक्री हुन्छ ।

यसले नेपाली चियाको वास्तविक मूल्य, पहिचान र लाभ सबै कमजोर बनाएको छ ।

अर्थशास्त्री डा. वेदराज आचार्यका अनुसार आफ्नै ब्रान्ड विकास, प्याकेजिङ उद्योग विस्तार र वैकल्पिक बजार खोज्न नसकेसम्म यस्ता संकट दोहोरिरहनेछन् ।

आचार्यले नेपालले उत्पत्तिको प्रमाणपत्रको डिजिटल प्रणाली, आधुनिक गुणस्तर परीक्षण प्रयोगशाला, साझा कानुनी संरचना तथा भारतीय मापदण्डसँग समन्वित गुणस्तर प्रणाली विकास गर्नुपर्नेमा जोड दिएका छन् । उनका अनुसार सीमावर्ती पूर्वाधार, भन्सार प्रक्रिया र ढुवानी प्रणाली आधुनिकीकरण नगरेसम्म व्यापार सहजीकरण सम्भव छैन ।

भारतले आयातमा कडाइ गरेका कारण १ सय ५० भन्दा बढी उद्योग, २६ हजार किसान र ८० हजारभन्दा बढी श्रमिक प्रभावित हुनेछन् । चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुली भन्छन्, ‘निर्यात अवरोधका कारण बार्षिक ५ देखि ७ अर्व घाटा व्यहोर्नु पर्ने अवस्था आउन सक्छ ।’ 

चिया विज्ञ राई भन्छन्, ‘समस्या उत्पादनको होइन, नीति, ब्रान्ड र कूटनीतिक कमजोरीको हो ।’

इलामको कन्यामा होस् या झापाको टोकलामा चिया बगानमा अहिले पनि दुई पात एक सुइरो लहलहाइरहेका छन् । तर, ती पात टिप्ने प्रक्रिया रोकिएको छ । चिया उद्योग बन्द भएपनि त्यहाँ कार्यरत मजदुर बेरोजगार भएका छन । निर्यात अवरोधले चियाको मुनासंगै हजारौं श्रमिकको जीविकाको आधार अन्योलमा पारेको छ ।

author

Parwat Portel

CESIF Fellow