हुम्लामा बढ्दैछ चिनियाँ मदिराको तस्करी

भदौ २०८३ - गएको साउन २८ गते हुम्लाको नाम्खा गाउँपालिका वडा नं. २ को नावलथाङबाट ५ सय ९४ कार्टुन चिनियाँ मदिरा बरामद भयो । सुरक्षाकर्मीका अनुसार त्यही बेला १ सय ९४ कार्टुन वडवाइजर बियर पनि बरामद भएको थियो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाबाट नियमित गस्तीमा निस्किएको सुरक्षाकर्मीको संयुक्त टोलीले नाम्खा गाउँपालिका ६ को लिमी लाप्चा नाका हुदै चीनबाट नेपाल ल्याउँदै गरेको गरेको चिनियाँ मदिरा बरामद गरेको हो । निरीक्षणका क्रममा हुम्ला जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाही, नेपाल प्रहरी हुम्लाका प्रहरी निरिक्षक युवराज ढकाल, सश्स्त्र प्रहरी बल हुम्लाका प्रहरी निरिक्षक खगेन्द्रबहादुर बिक लगायत २० जनाको टोलीले नाम्खा गाउँपालिका २ को नावलथाङबाट पुगेको थियो ।

५१ लख ९३ हजार ६ सय बराबर मूल्यकोे बरामद गरिएको अवैध चिनियाँ मदिरा लिमी लाप्चा हुदै सदरमुकाम सिमकोट तर्फ ल्याउदै गरेकोे रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर खडकाले जानकारी दिए ।

नाम्खा गाउँपालिका २ को नावलथाङको जंगलमा लुकाइछिपाइ राखिएको अवस्थामा ठूलो परिमाणको अवैध चिनियाँ मदिरा बरामद गरेको डिएसपी खडकाको भनाई छ । चीनबाट हुम्लाको सदरमुकाम सिमकोट ल्याउनका लागि जंगलभित्र त्रिपालले छोपेर राखिएको अवस्थामा जिल्लाबाट गएको सुरक्षाकर्मीको टोलीले मदिरा बरामद गरेको डीएसपी खड्काको भनाई छ ।

नाम्खा गाउँपालिका–२ को नावलथाङ नाम्खा गाउँपालिका ६ को लिमी लाप्चा जाने बाटोमा पर्दछ । सदरमुकाम सिमकोट देखि झण्डै ३ घण्टा लाग्ने नावलथाङमा सञ्चारको पहुँच समेत छैन । स्थानीयको बसोबास पनि छैन ।

नाम्खा गाउँपालिका १ हेप्का गाउँका दुई जना स्थानीयबासीहरुले त्रिपाल टाँगेर होटल सञ्चालन गरेका छन । तीन हजार ५ मिटरको उचाईमा रहेको यो क्षेत्र भौगोलिक रुपमा विकट छ । प्रहरी प्रशासनको उपस्थिति छैन । नाम्खा गाउँपालिका ४ को याल्वाङमा रहेको प्रहरीलाई त्यहाँ पुग्न एक घण्टा लाग्छ ।

सञ्चारमा पहुँच नहुँदा यहाँ पुग्ने जोकोहीलाई कुराकानी गर्न सकस हुने गरेको छ । अवैध चिनियाँ मदिरा तस्करी हुने नाम्खा गाउँपालिका –६ को लिमी लाप्चा ४ हजार १ मिटर उचाईमा रहेको छ । भौगोलिक रुपमा उच्च स्थानमा रहेकाले नाम्खा गाउँपालिका–६ को लिमी सुनखानी इलाका प्रहरीलाई यहाँ पुग्न ५ घण्टा लाग्छ । त्यहाँका प्रहरीलाई सञ्चार सुविधा छैन ।

जंगलमै बेवारिसे भेटियो मदिरा

जिल्ला प्रहरी कार्यालय हुम्लाबाट गएको टोलीले गत साउन २८ गते नाम्खा गाउँपालिका २ को नावलथाङमा जंगलमै छोडिएको अवस्थामा अवैध मदिरा फेला परेको छ । अवैध रुपमा जंगलमै लुकाइछिपाई राखेकोे जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । अवैध चिनियाँ मदिरा निर्यातमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर खडकाले बताए ।

हिल्सा नाका, टाँके नाका, च्वाखोला नाकाबाट अवैध चिनियाँ मदिरा भित्रिने गरेपनि यस वर्ष लिमी लाप्चा नाकाबाटै मदिरा भित्रिएको डिएसपी खडकाको भनाई छ ।         

विगत दुई वर्षमा प्रहरीले वरामद गरेको मदिरा तथ्याङ्क

आर्थिक वर्ष

कार्टुन

बोतल

अनुमानित रकम

०८२/०८३

८७९

१०,५६४

५,२८२,०००

०८३/०८४

१२००

१४,४००

७,२००,०००

हुम्लाको उत्तरी चिनसँग जोडिएको नाम्खा गाउँपालिका वडा नं. ५को हिल्सा नाकाबाट आर्थिक वर्ष ०८२/०८३ मा ८७९ कार्टुन अवैध चिनियाँ मदिरा भित्रिएपछि प्रहरी बरामद गरी नष्ट गरेको तथ्यांकमा छ । दश हजार ५ सय ६४ बोतल चिनियाँ मदिराको हुम्लामा प्रतिबोतल ५०० का दरले ५२ लाख ८२ हजार बराबरको रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

नाम्खा गाउँपालिका–२ को छुङसामा लुकाइछिपाइ राखिएको अवैध चिनियाँ मदिरा । तस्बिर: नरजन तामाङ

चार नाकाको तस्करी

हुम्लाको नाम्खा गाउँपालिका ५ को हिल्सा नाका नाम्खा गाउँपालिका ६ को लिमी लाप्चा र सिमकोट गाउँपालिका १ को च्वाखोला नाका र चंखेली गाउँपालिका ५ को टाँके नाकाबाट हरेक वर्ष अवैध चिनियाँ मदिरा निर्यात हुने गरेको छ । कोरोना महामारी पछि हुम्लाको सिमकोट गाउँपालिका १ को च्वाखोला नाका ठप्प बन्द छ । चंखेली गाउँपालिका ५ को टाँके नाका गत वर्ष खुले पनि यस वर्ष बन्द रहेको छ । लिमी लाप्चा र हिल्सा नाका खुलेपछि अवैध चिनियाँ मदिरा भित्रिने गरेको छ ।

हुम्लाको उत्तरी हिल्सा नाकामा सिमा सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल बिओपी स्थापना भएको छ । तर हिउँदमा चिसो भएर ती सुरक्षाकर्मी सिमकोट नै फर्किन्छन् ।

सुरक्षा चासो

वर्षेनी अवैध चिनियाँ मदिरा विभिन्न नाकाहरु बाट भित्रिए पछि प्रहरीको गस्ती बढाइएको हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले बताए । हालै कार्यालय सम्हालेका गुरागाईले सीमा सुरक्षा बारे कम जानकार भएकाले बिस्तारै बुझिरहेको बताए । “भर्खरै आएको छु । अगामी दिनहरुमा स्थानीय तहसँग आवश्यक समन्वय गरी नाकाबाट भित्रिन नदिने पहल हुनेछ,” प्रजिअ गुरागाईले भने ।

उत्तरी चीनको स्वाशाषित क्षेत्र तिब्बत स्थित पुराङ काउन्टीमा पर्ने लोलुङजोङ भन्ने स्थानमा परम्परागतदेखि वस्तु विनिमय तथा व्यापार मेला लाग्ने गथ्यो । कोराना महामारी पछि यो लोलुङजोङमा नेपाल–चीनको परम्परागत रुपमा वस्तु विनिमय तथा व्यापार ठप्प भयो ।

नाम्खा गाउँपालिका–२ को छुङसामा लुकाइछिपाइ राखिएको अवैध चिनियाँ मदिरा । तस्बिर: नरजन तामाङ

२०७७ सालमा हुम्लाको लिमी लाप्चाको विषयमा नेपाल–चीन बिच सीमा विवाद चकिएपछि लोलुङजोङ नेपाल–चीन व्यापार मेला रोकियो । कोरोना महामारी सामान्य भएर नाम्खा गाउँपालिकाले व्यापार मेला सञ्चालन गरे संगै यो नाका भएर चिनियाँ मदिरा तस्करी हुन थालेको हो । लुगा कपडा, मैदा, घिउ, भोट चियाँ लगायतका दैनिक उपभोग्य वस्तु निर्यात नभएर चिनियाँ मदिरा तस्करी गर्न नाकाका रुपमा प्रयोग हुदै आएको छ ।

author

Narjan Tamang

CESIF Fellow