नेपालको रुद्राक्षमा भारत र चीनको हानथाप

भदौ २०८३ - खाँदबारी नगरपालिका पिप्लेका किसान मंगल तामाङको घर पछाडि रोपेको रुद्राक्षको बोटमा गएको वर्ष औसत भन्दा धेरै दाना फल्यो । ती फल मध्ये सबैभन्दा विशेष थियो, २१ मुख भएको दाना । दुर्लभ २१ मुखे रुद्राक्ष फलेको खबर गाउँमा फैलिए लगत्तै तामाङको घरमा स्थानीय व्यापारीको भीड लाग्यो ।

दुर्लभ दानाको खबर भरतीय र चिनियाँ व्यापारीसम्म पुग्यो । करिब एक साता लामे मोलमोलाई पछि तामाङले २१ मुखे रुद्राक्ष ५५ लाख रुपैयाँमा बिक्री गर्न सहमत भए ।

खाँदबारी नगरपालिका–२, चेवाका रुद्राक्ष व्यापारी सन्तोष कटुवालले पनि अर्का किसान सँग २१ मुखे रुद्राक्ष २६ लाख रुपैयाँमा खरिद गरी भारत पु¥याएर भारतीय व्यापारीलाई बिक्री गरेको बताए । यी केही उदाहरण मात्रै हुन् ।

संखुवासभाको रुद्राक्षको व्यापारमा चिनियाँ र भारतीय व्यापारीको हानथाप शुरु भएको छ । यसले पूर्वी नेपालमा रुद्राक्षको मूल्य र बजार दुवै फैलिएको छ ।

नेपाल रुद्राक्ष व्यवसायी संघका विदेश विभाग उपप्रमुख मनोज कटुवालले संखुवासभासँगै भोजपुरको दिङ्ला, धनकुटा, इलाम, पाँचथरलगायत जिल्लाका पहाडी भूभागमा रुद्राक्ष उत्पादन हुँदै आएको बताए । पछिल्ला वर्षमा भने रुद्राक्ष धार्मिक आस्थाको वस्तु मात्र नभएर किसानका लागि राम्रो आम्दानी दिने नगदे बालीका रूपमा समेत स्थापित हुँदै गएको उनले बताए ।

“रुद्राक्षको मूल्य एउटै हुँदैन,” उनले भने, “दानाको आकार, बनावट, प्राकृतिक स्वरूप, गुणस्तर र मुखीको संख्याले यसको मूल्य निर्धारणमा ठूलो भूमिका खेल्छ ।”

सामान्य रुद्राक्ष स्थानीय बजारमा सामान्य मूल्यमा बिक्री भए पनि दुर्लभ मुख भएका रुद्राक्ष लाखौँ रुपैयाँसम्ममा कारोबार हुने गरेका छन् ।

कटुवालका अनुसार २९ मुखी रुद्राक्ष करिब एक करोड रुपैयाँसम्ममा बिक्री भएको उदाहरणसमेत छ । यद्यपि, यस्ता कारोबार नियमित बजारमूल्य नभई विशेष कारोबार हुने भएकाले प्रत्येक दानाको मूल्यलाई एउटै मापदण्डमा राखिदैन ।

खाँदबारीका किसान तामाङको २१ मुखे रुद्राक्षको ५५ लाख रुपैयाँमा भएको कारोबारले पनि यही देखाउँछ । उनले भने, “रुद्राक्षको एउटा दाना नै किसानका लागि ठूलो आम्दानीको स्रोत बन्न सक्छ भन्ने उदाहरण पिप्लेमा देखिएको छ ।”

व्यवसायी राजीव श्रेष्ठका अनुसार एकमुखी अत्यन्त दुर्लभ मानिन्छ । त्यस्तै धेरै मुख भएका रुद्राक्ष पनि सहज रूपमा भेटिँदैनन् । त्यसैले यस्ता दानाको मूल्य सामान्य रुद्राक्षको तुलनामा धेरै माथि पुग्ने गरेको छ ।

भारतमा धार्मिक आस्था, चीनमा सजावट

नेपाली रुद्राक्षका प्रमुख बजार भारत र चीन हुन् । तर यी दुई देशमा रुद्राक्षप्रतिको आकर्षण भने केही फरक भएको व्यवसायीहरू बताउँछन् । भारतमा रुद्राक्षको माग मुख्यतः धार्मिक र आध्यात्मिक विश्वाससँग जोडिएको छ । हिन्दू धार्मिक मान्यताअनुसार रुद्राक्ष भगवान् शिवका आँसुबाट उत्पत्ति भएको पवित्र बीज मानिन्छ । यही धार्मिक विश्वासका कारण भारतमा रुद्राक्षको प्रयोग जपमाला, पूजा तथा धारण गर्ने परम्परासँग जोडिएको मनोज कटुवालले बताए ।

मुखको आधारमा रुद्राक्षलाई फरक–फरक धार्मिक तथा आध्यात्मिक महत्वसँग जोडेर हेर्ने गरिन्छ ।  धेरै मुख भएका तथा दुर्लभ प्रकृतिका रुद्राक्षको माग भारतीय बजारमा उच्च रहने गरेको व्यवसायीहरू बताउँछन् ।

चीनमा भने रुद्राक्षको प्रयोगको स्वरूप केही फरक देखिन्छ । चिल्लो तथा आकर्षक दाना माला, ब्रेसलेट, झोलाका सजावटी सामग्री, हस्तकला तथा विभिन्न सांस्कृतिक सजावटमा प्रयोग हुने गरेको उनले बताए । ठूलो आकार र राम्रो सतह भएका दाना सजावटी प्रयोजनका लागि रुचाइने गर्छन् ।

रुद्राक्षलाई आकर्षक र चिल्लो बनाउनका लागि बोटमै प्लास्टिकका साँचो लगाइएको। तस्बिर: दीपेन्द्र शाक्य

“चीनमा पुगेपछि नेपाली रुद्राक्ष मेसिनबाट प्रशोधन गरेर विभिन्न सामग्रीमा रूपान्तरण गरिन्छ,” कटुवालले भने, “ब्रेसलेट, माला र अन्य हस्तकलाका सामग्री बनाएपछि ती वस्तु अमेरिका, युरोप तथा अन्य अन्तर्राष्ट्रिय बजारमा समेत पुग्ने गरेका छन् ।”

पूर्वी नेपालका कतिपय ठाउँमा वर्षौंदेखि प्राकृतिक रूपमा रहेका रूखबाट रुद्राक्ष उत्पादन हुँदै आएको छ । पछिल्लो समय भने यसको व्यावसायिक महत्व बढेसँगै किसानहरूले योजनाबद्ध रूपमा रुद्राक्ष खेती गर्न थालेका छन् ।

“निजी बारीदेखि सामुदायिक वनसम्म रुद्राक्षका रूख देखिन थालेका छन् । कलमी बिरुवाको प्रयोग बढ्दै गएपछि व्यावसायिक उत्पादन विस्तार हुने अपेक्षा गरेका छौ,” कटुवालले भने, “रुद्राक्ष उत्पादनको मौसम सुरु भएपछि व्यापारीहरू स्थानीय तहसम्म पुग्ने गरेका छन् ।”

हरेक वर्ष भदौको दोश्रो साताबाट रुद्राक्ष खरिद बिक्री सुरु हुन्छ । कतिपय अवस्थामा व्यापारीले उत्पादनको अनुमानका आधारमा किसानसँग बोट वा उत्पादन नै ठेक्कामा लिने गर्छन् । कोशी प्रदेश रुद्राक्ष व्यवसायी संघका अध्यक्ष राजकुमार घिमिरेका अनुसार ठेक्का प्रथाले किसानलाई उत्पादन बजार सम्म पु¥याउन झन्झट कम भए पनि किसानले  वास्तविक मूल्य पाउन सकेका छैनन् ।

मकालु एग्रो एण्ड ट्रेडका सञ्चालक समेत रहेका घिमिरेले गत वर्षको पुसमा १२ मा ४ हजार ५ सय केजी रुद्राक्ष संखुवासभाको किमाथांका नाका हुँदै चिन पठाएका थिए । यसअघि काठमाण्डौ हुँदै वा भारतको बाटो प्रयोग गरेर चीन पठाइँदै आएको रुद्राक्ष अब भने सिधै उत्तरी नाका किमाथाङ्का हुँदै तिब्बत र बेइजिङसम्म पुग्न थालेको घिमिरेले बताए । यसले समय, लागत र रोजगारीमा सकारात्मक प्रभाव पारेको व्यवसायीहरू बताउँछन् ।

हवाई ढुवानी महँगो र एयरपोर्टबाट जहाजमार्फत रुद्राक्ष लैजाँदा धेरै महँगो पर्ने गरेको छ । काठमाण्डौबाट सिधै चीन पठाउँदा प्रतिकेजी ७ सय रुपैयाँसम्म ढुवानी खर्च लाग्ने गरेको घिमिरे बताउँछन् । भारत हुँदै लैजादा भने प्रतिकेजी करिब १ सय ५० रुपैयाँ खर्च भए पनि ढुवानीमा कम्तीमा दुई महिना लाग्ने समस्या छ ।

“दुर्लभ र उच्च मूल्यका रुद्राक्षको पहिचान गर्न सक्ने ज्ञान किसानमा नहुँदा कतिपय अवस्थामा मूल्य निर्धारण व्यापारीको हातमा जाने सम्भावना रहन्छ,” उनले भने, “त्यसैले किसानलाई रुद्राक्षको गुणस्तर, मुख पहिचान र बजारमूल्यबारे जानकारी दिन आवश्यक रहेको छ ।”

२१ मुखे रुद्राक्षले देखाएको सम्भावना

पिप्लेका किसान मंगल तामाङले २१ मुखे रुद्राक्षबाट ५५ लाख रुपैयाँ प्राप्त गरेको घटना एउटा व्यक्तिको सफलताको कथा मात्र होइन । पूर्वी पहाडी जिल्लामा कृषि उत्पादनको बजार सीमित हुने गरेको अवस्थामा रुद्राक्ष भने स्थानीय बजारमा मात्र निर्भर छैन । “यसको बजार देश बाहिरसम्म फैलिएको छ । यही कारण रुद्राक्ष खेतीबाट किसानले राम्रो आम्दानी लिन सक्ने सम्भावना देखिएको हो,” घिमिरेले भने ।

व्यवसायीहरूका अनुसार संखुवासभा र भोजपुरबाट मात्रै वार्षिक करिब दुई अर्ब रुपैयाँ बराबरको रुद्राक्ष अन्तर्राष्ट्रिय बजारमा पुग्ने गरेको छ । त्यसमध्ये करिब एक अर्ब १५ करोड रुपैयाँ बराबरको रुद्राक्ष भारततर्फ र करिब ७५ करोड रुपैयाँ बराबरको चीनतर्फ जाने गरेको उनीहरूको अनुमान छ ।

व्यवसायीका अनुसार नेपालबाट वार्षिक करिब १ लाख ५० हजार केजी रुद्राक्ष चीन र ४ लाख ५० हजार केजी भारत निर्यात हुने गरेको छ । चीनमा विशेषगरी ५ मुखे रुद्राक्ष को माग उच्च रहेको छ ।

चीन निर्यात गर्नका लागि तयार पारेको भन्सार प्रज्ञापन पत्र, जसमा संखुवासभाको किमाथांका नाका उल्लेख छ। तस्बिर: दीपेन्द्र शाक्य

तर यी जिल्लाबाट कति मूल्य बराबरको रुद्र्राक्ष बिक्री हुन्छ भन्ने आधिकारीक तथ्यांक भने कसैसँग छैन । बजारको वास्तविक कारोबार, उत्पादनको मात्रा, गुणस्तर र मूल्यअनुसार वर्षैपिच्छे परिवर्तन हुन सक्छन् । सरकारी तथ्यांक र व्यवसायीले अनुमान गरेको बजार कारोबारबीच पनि अन्तर हुन सक्ने भएकाले दुई अर्ब रुपैयाँको आँकडालाई व्यवसायीको अनुमानका रूपमा बुझ्न सकिने घिमिरेले बताए । पूर्वी नेपालमा रुद्राक्षको कारोबार सामान्य कृषि उपजको सीमाभन्दा धेरै पर पुगिसकेको उनको भनाई छ ।

नेपालबाट रुद्राक्ष कच्चा रूपमा भारत र चीन पुग्ने गरेको छ । त्यसपछि प्रशोधन, डिजाइन र ब्रान्डिङमार्फत यसको मूल्य बढ्ने गर्छ । यदि नेपालमै आधुनिक प्रशोधन उद्योग स्थापना गर्न सकियो भने किसानले उत्पादन गरेको रुद्राक्षबाट माला, ब्रेसलेट, धार्मिक सामग्री, सजावट सामग्री तथा अन्य हस्तकलाका वस्तु उत्पादन गर्न सकिन्छ, उनले थपे यसबाट एउटै दानाको मूल्य मात्र होइन, त्यससँग जोडिएको रोजगारी र व्यवसायको दायरा पनि बढाउन सकिने सम्भावना छ ।

अहिले कच्चा पदार्थ निर्यात गरेर विदेशमा प्रशोधन भएपछि महँगो मूल्यमा तयार वस्तु पुनः विश्व बजारमा बिक्री हुने अवस्था छ । नेपालमै प्रशोधन उद्योग स्थापना गर्न सकिए मूल्य अभिवृद्धिको ठूलो हिस्सा स्वदेशमै राख्न सकिने व्यवसायीहरू बताउँछन् । यसका लागि गुणस्तर प्रमाणीकरण, ब्रान्डिङ, आधुनिक प्रशोधन प्रविधि, बजार सूचना र निर्यात व्यवस्थापनमा सरकारी सहयोग आवश्यक देखिन्छ अध्यक्ष घिमिरेले भने ।

वैज्ञानिक खेती र अवैध औषधीको प्रयोग

“रुद्राक्षको बजार बढ्दै जाँदा उत्पादन बिस्तार मात्र पर्याप्त हुँदैन”, व्यवसायी राजीव श्रेष्ठले भने, “गुणस्तर कायम गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । रुद्राक्षको आकार, बनावट र मुखीअनुसार बजारमूल्य फरक पर्ने भएकाले किसानलाई वैज्ञानिक खेतीसम्बन्धी ज्ञान आवश्यक हुन्छ ।” उनका अनुसार कुन क्षेत्रमा कुन जातको बिरुवा उपयुक्त हुन्छ, कसरी बिरुवा उत्पादन गर्ने, रोग तथा किराको व्यवस्थापन कसरी गर्ने र उत्पादनको गुणस्तर कसरी कायम गर्ने भन्ने विषयमा प्राविधिक सहयोग आवश्यक छ ।

बजारमा रुद्राक्षको माग बढ्दै जाँदा यसको गुणस्तर र प्राकृतिक अवस्थाबारे पनि प्रश्न उठ्ने गरेका छन् । विशेषगरी उच्च मूल्यका रुद्राक्षको कारोबारमा दानाको वास्तविकता, प्राकृतिक रूपमा बनेको हो कि होइन भन्ने विषयमा विश्वास कायम गर्नु महत्वपूर्ण हुने व्यवसायीहरु बताउँछन् । त्यसैले भविष्यमा रुद्राक्षको गुणस्तर परीक्षण र प्रमाणीकरण गर्ने प्रणाली विकास गर्न सके नेपाली रुद्राक्षको अन्तर्राष्ट्रिय बजारमा विश्वसनीयता अझ बढ्न सक्छ, उनले भने यसले गाउँका बारीमा रहेका रुद्राक्षका रूखको आर्थिक सम्भावनातर्फ संकेत गर्छ ।

परम्परागत रूपमा फल्ने रुद्राक्षमा केही काँडा हुने भएकाले त्यसलाई चिल्लो र आकर्षक बनाउन चीनबाट आयात गरिएको फलफूलमा प्रयोग हुने औषधि लगाउने गरिएको व्यापारीहरूले बताएका छन् । व्यापारी कटुवालका अनुसार ‘पीबीओजी’ नामको उक्त औषधिको प्रयोग गर्दा परम्परागत रूपमा फल्नेभन्दा केही ठूलो आकारको रुद्राक्ष उत्पादन हुने गरेको छ । आकर्षक र ठूलो आकारको रुद्राक्षको माग बढेपछि किसान तथा व्यापारीले औषधिको प्रयोग बढाउँदै गएको उनले बताए ।

भारतमा भने काँडेदार रुद्राक्षकै माग बढी छ । “भारतीयले काँडेदार मन पराउँछन्, चिल्लो दानालाई प्रयोग गर्न मान्दैनन् । तर नेपालमा ठूलो र चिल्लो रुद्राक्षको माग भएकाले औषधिको प्रयोग बढेको हो । उनका अनुसार चीनबाट वार्षिक रूपमा १० करोड रुपैयाँभन्दा बढी मूल्यको यस्तो औषधी आयात हुने गरेको छ,” उनले भने ।

औषधीको प्रयोगबाट केही वर्ष किसानले राम्रो आम्दानी गर्न सके पनि लामो समयसम्म प्रयोग गरेपछि त्यसलाई छाड्दा रुद्राक्षको उत्पादनमा गिरावट आउने गरेको कटुवालले बताए । “औषधी प्रयोग गर्दा केही वर्ष उत्पादन र आम्दानी राम्रो हुन्छ,” उनले भने, “तर प्रयोग गर्न छाडेपछि रुद्राक्षको उत्पादन घट्ने गरेको छ ।

रुद्राक्षमा प्रयोग गरिने उक्त औषधिलाई कृषि ज्ञान केन्द्रले भने विषादीका रूपमा हेरेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख छत्रबहादुर विश्वकर्माका अनुसार रुद्राक्षमा प्रयोग हुने यस्तो औषधि आयात र प्रयोगका लागि कसैलाई पनि अनुमति दिइएको छैन ।  “व्यापारीहरूले आफैं लुकिछिपी औषधि ल्याएर प्रयोग गर्ने गरेका छन्,” विश्वकर्माले भने, “कति मात्रामा आयात हुन्छ र जिल्लाका कुनकुन ठाउँमा प्रयोग भइरहेको छ भन्नेबारे यकिन विवरण छैन ।”

उनका अनुसार रुद्राक्षका किसान र व्यापारीले लुकिछिपी ल्याएर प्रयोग गर्ने उक्त औषधिले रुद्राक्षको आकार बढाउनुका साथै बढी फूल फुलाउने काम गर्छ । तर यसको दीर्घकालीन प्रभाव र उत्पादनमा पार्ने असरबारे भने थप अध्ययन तथा निगरानी आवश्यक रहेको उनले बताए ।

“किसानका लागि रुद्राक्ष दीर्घकालीन आम्दानीको स्रोत बन्न सक्छ,” रुद्राक्ष व्यवसायी संघ कोशीका अध्यक्ष घिमिरे भन्छन्, “व्यापारीका लागि यो सीमापार व्यापारको माध्यम बनेको छ ।”

नेपालका लागि भने विदेशी मुद्रा आर्जन गर्ने सम्भावनायुक्त वनजन्य उत्पादनका रूपमा यसको विकास भएको उनले दाबी गरे । विशेषगरी संखुवासभा र भोजपुरमा उत्पादन हुने रुद्राक्षको बजार भारत र चीनसम्म फैलिएको छ । भारतमा धार्मिक माग र चीनमा प्रशोधन तथा सजावटी सामग्रीको बजारले नेपाली रुद्राक्षका लागि फरक–फरक अवसर सिर्जना गरेका छन् ।

संखुवासभाका पहाडमा रुद्राक्षका रूखहरू अझै प्रशस्त छन् । यी दूइ जिल्लामा करिब ४ लाख रुद्राक्षका रुख रहेको अनुमान व्यवसायीले गरेका छन् । ती रूखको वैज्ञानिक व्यवस्थापन, उत्पादनको गुणस्तर सुधार, किसानलाई उचित मूल्यको सुनिश्चितता र अन्तर्राष्ट्रिय बजारसँग प्रत्यक्ष पहुँच विस्तार गर्न सकिए रुद्राक्ष पूर्वी नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार बन्ने उनले बताए ।

रुद्राक्षको कथा धार्मिक आस्थाबाट सुरु भएर कृषि, व्यापार र अन्तर्राष्ट्रिय बजारसम्म पुगेको छ । अब नेपालले सोच्नुपर्ने विषय ‘रुद्राक्ष कति मूल्यमा बिक्री भयो?’ भन्ने मात्र होइन । ‘रुद्राक्षबाट सिर्जना हुने सबैभन्दा ठूलो मूल्य नेपालमै कसरी राख्न सकिन्छ?’ उनले भने ।

“किसानको बारीबाट निस्किएको रुद्राक्ष नेपालमै प्रशोधन भएर विश्व बजारमा ब्रान्डका रूपमा पुग्न सके त्यसको लाभ किसान, व्यापारी र समग्र अर्थतन्त्रले लिन सक्छ”, उनले भने “त्यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारले नीति, प्रविधि, लगानी र बजार व्यवस्थापनमा जोड दिन आवश्यक छ ।” पूर्वी नेपालको पहाडमा लुकेको रुद्राक्ष एउटा यस्तो उत्पादन हो, उनले भने यसले स्थानीय बालीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न सक्छ ।

रुद्राक्ष निकासी गर्दा डिभिजन वन कार्यालयबाट छुट पुर्जी लिनु पर्ने व्यवस्था छ । प्रदेश शुल्क स्वरूप ५ प्रतिशत तिर्नु पर्ने हुन्छ भने आन्तरिक राजस्व कार्यालयमा मूल्यको साढे २ प्रतिशत राजश्व बुझाउनुपर्छ ।

author

Dipendra Shakya

CESIF Fellow