नयाँ भन्सार नीतिले चिनियाँ नाकामा हरायो व्यापारिक चहलपहल

असार २०८३ - सरकारले एक सय रुपैयाँ भन्दा माथिको सामानमा अनिवार्य करको व्यवस्था गरेपछि चिनियाँ बजारसम्म पुगेर सामान ल्याउने र नेपालमा बिक्री गर्ने झोलेपोके व्यापार रोकिएको छ । यसले सयौं परिवारको आयस्रोत संकटमा परेको छ ।

केही महिनाअघिसम्म बिहान उज्यालो नहुँदै तातोपानीको मितेरी पुलमा मानिसहरूको लाम लाग्थ्यो । कसैले खाली झोला बोकेका हुन्थे, कसैले ट्रली । सीमानाका भन्दा परको चिनियाँ बजार झाङ्मु पुगेर साँझ फर्कने बेला ती झोलाहरू लत्ताकपडा, चकलेट, बिस्कुट, जुससहित विद्युतीय सामग्री र घरायसी सामानले भरिएका हुन्थे ।

अचेल त्यही पुल सुनसान छ । रोजगारी जस्तै बनेको सीमापारिको सानो व्यापार रोकिएपछि तातोपानी र आसपासका बस्तीमा निराशा बढेको छ । तातोपानी भन्सार कार्यालयले यात्रु शाखाबाट खाद्य तथा प्लान्ट क्वारेन्टाइन अनुमति नभएका सामग्री ल्याउन रोक लगाएपछि वर्षौंदेखि चल्दै आएको झोलेपोके व्यापार एकाएक ठप्प बनेको हो ।

भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठका अनुसार नयाँ व्यवस्थाले सीमाक्षेत्रका धेरै परिवारको आयस्रोत नै बन्द गरिदिएको छ । ‘यहाँका धेरै घरको चुलो यही व्यापारले बलेको थियो,’ उनले भने, ‘अहिले आम्दानीको बाटो नै बन्द भएपछि धेरै परिवार समस्यामा परेका छन् ।’

भोटेकोशी गाउँपालिका र बाह्रबिसे आसपासका बासिन्दाका लागि झाङ्मु केवल बजार मात्र होइन, जीवन धान्ने आधार पनि थियो । सीमावर्ती तातोपानी, लिस्ती, फुल्पिङकट्टी, मार्मिङलगायत क्षेत्रका स्थानीय बिहान चीन प्रवेश गरेर सानो परिमाणमा सामान ल्याउँथे र गाउँघर तथा स्थानीय बजारमा बिक्री गर्थे । त्यसबाट आएको नाफाले घरखर्च चल्थ्यो, छोराछोरी पढ्थे र ऋणसमेत तिर्न सकिन्थ्यो ।

तर पछिल्लो एक महिनायता त्यो चक्र रोकिएको छ । गत फागुनमा भएको प्रतिनिधी सभा निर्वाचनमा झण्डै दुई तिहाई बहुमतको जगमा बनेको बालेन्द्र शाह नेतृत्वको सरकारले चीन र भारतसंग जोडिएका सीमा नाकामा कडाई गरेको छ । यस अघि खुला सीमानाको रुपमा रहेको नेपाल–भारत नाका भएर भारतीय बजारबाट निर्वाधरुपमा घरायसी र अन्य सामानको ओसारपसार गर्न पाइन्थ्यो । चीनसंगको नाकाबाट पनि घरायसी सामान ल्याउन कुनै अवरोध थिएन । तर अहिले भन्सार करमा कडाई गर्ने उद्देश्यले सीमा नाकामा एक सय रुपैयाँ भन्दा माथिको सामानका लागि अनिवार्य कर तिर्नुपर्ने नियम लगाइएको छ ।

‘हामी ठूलो व्यापारी होइनौं । दिनभरि दुःख गरेर बोकेको सामान बेचेर परिवार पाल्ने मान्छे हौं । अहिले त्यो पनि बन्द भयो ।,’ झोलेपोके व्यापार गर्दै आएकी सानुमाया श्रेष्ठले भनिन् ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा २ बाट चीन जोड्ने तातोपानी नाकाको भन्सार कार्यालय । तस्विर: अनिश तिवारी

सीमामा आएको यो परिवर्तनको असर नेपालतर्फ मात्र छैन । नेपाली ग्राहकको भरमा चलेका झाङ्मुका साना पसलमा समेत कारोबार घटेको स्थानीय बताउँछन् । कतिपय पसल दिनभरि ग्राहक कुरेर बस्न बाध्य छन् भने त्यहाँ काम गर्ने नेपाली श्रमिकले रोजगारी गुमाउन थालेका छन् । स्थानीय अगुवा दोर्जे लामाकाअनुसार भोटेकोशी क्षेत्रमा विकल्पको अभाव सबैभन्दा ठूलो समस्या हो । ‘न उद्योग छ, न प्रशस्त खेतीयोग्य जमिन,’ उनले भने, ‘सीमासँग जोडिएको सानो व्यापार नै यहाँका धेरै परिवारको जीवनरेखा थियो ।’

भोटेकोशी चेम्बर अफ कमर्सका अध्यक्ष फुनु शेपाले स्थानीय, व्यवसायी र सरोकारवालाबीच समस्या समाधानका लागि छलफल भइरहे पनि ठोस निकास ननिस्किएको बताए । तातोपानी नाका यसअघि पनि धेरै पटक संकटमा परेको थियो । २०७२ सालको भूकम्प, त्यसपछिका बाढीपहिरो, कोभिड महामारी र विभिन्न प्राकृतिक विपत्तिले यहाँको व्यापार पटक–पटक अवरुद्ध बनायो । जब अवस्था सामान्य बन्दै गएको थियो त्यही बेला लागु भएको नयाँ व्यवस्थाले फेरि सीमाक्षेत्रको अर्थतन्त्रलाई झट्का दिएको स्थानीयको भनाइ छ । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडाल भने सरकारले तोकेको नियम कार्यान्वयन मात्र गरिएको बताउँछन् ।

‘खाद्यजन्य सामग्रीमा क्वारेन्टाइन अनिवार्य गरिएको छ’, उनले भने, ‘आवश्यक प्रक्रिया पूरा गरेका व्यवसायिक फर्मले आयात गर्न सक्छन् । भन्सार प्रक्रिया पूरा नगरी कुनै सामान छाडिएको छैन ।”

तर सीमावर्ती बस्तीका बासिन्दाको प्रश्न फरक छ—ठूला व्यापारीका लागि बनाइएको नियमले साना जीविकोपार्जन गर्ने परिवारलाई कहाँ राख्छ ? मितेरी पुलमा अहिले न त बिहानको भीड छ, न बेलुकाको चहलपहल । पुल उस्तै छ, बाटो उस्तै छ, खुला छ सीमा पनि । तर सीमापारिबाट झोला बोकेर फर्किने मानिसहरूको भीडभाड हराएको छ । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका सूचना अधिकारी तुलबहादुर पाण्डेले आर्थिक वर्ष ०८२–०८३ को आहिलेसम्म १२ अरब ५३ करोड राजस्व संकलन भएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा २ बाट चीन जोड्ने तातोपानी नाका। तस्विर: अनिश तिवारी

यसमा नँया नियमले झोलेपोकेबाट राजस्वमा वृद्धी भएको छैन् । ‘यस वर्ष २४ अर्ब २८ करोड संकलनको लक्ष्य थियो, बरु उल्टै झोलेपोके र घरायाशी सामान लिन आउजाउ गर्ने कम भएको अवस्था देखिन्छ, अनुमानित राजस्वमा झोलेपोकेबाट २ देखि ३ लाख संकलनका भएको भन्न सकिन्छ,’ भन्सारका सुचना अधिकारी पाण्डेले भने ।

अघिल्लो वर्ष करिब ४,५०० कन्टेनर आयात भएकोमा चालु वर्षमा घटेर करिब ३,६०० मा सीमित भएको छ । दैनिक रुपमा २५–३० कन्टेनर आउने क्रम कहिलेकाहीँ एकल अंकसम्म झर्ने गरेको तथ्यांकले देखाउँछ । पछिल्ला महिनामा चिनियाँ पक्षले जाँच प्रक्रिया कडा बनाएको, आवतजावत सीमित गरेको र कन्टेनर आवागमन घटेको तथ्यांकले देखाउँछ ।

खासा खुल्ने आश

झिलीमिली बत्ती हालिएका आलिसान भवन । व्यापारी र यात्रुको ठेलमठेल । सामानका पोकापन्तुरा लिन कुरिरहेका कन्टेनर र अन्य सवारीको लर्को सम्हाल्न सुरक्षाकर्मीलाई परिरहेको हम्मेहम्मे । पारिको खासा, वारि लोभलाग्दो लिपिङ बजारमा दिनहुँजसो मेलाझैं देखिने वातावरण ।

२०७२ को भूकम्पअघि तातोपानी नाकाको दृश्य यस्तै थियो । नेपाली व्यवसायीले चीनको खासा क्षेत्रका कम्पनी र अन्य बजार गएर दुई सय कन्टेनरसम्ममा सामग्री ल्याउन पाउँथे । भूकम्प र पराकम्पले ध्वस्त हुनुअघि भोटेकोसी गाउँपालिका–२ लिपिङ बजारबाट चीन जोड्ने तातोपानी नाका देशभर चर्चामा थियो । ‘ऊ बेलाको चर्को व्यापारिक केन्द्र, कैलाश मानसरोवर जाने मुख्य मार्गको त्यो समय अहिले व्यवसायीलाई सपनाजस्तै लाग्छ । अहिले सुनसान र उराठलाग्दो छ नाका । यहाँ चरोमुसो कोही आउँदैन, अब कहाँ पहिले जस्तो छ र,’ भोटेकोसीको तातोपानी क्षेत्रका पूर्वगाविस अध्यक्ष अमृत खड्काले भने । २०४९ सालयता १० वर्षसम्म गाविस अध्यक्ष बनेका खड्का अनेक शैक्षिक, व्यावसायिक अभियानमा आबद्ध छन् । तातोपानी बजार ‘हिरो’ देखि ‘जिरो’ बन्दासम्मका साक्षी हुन् उनी । भूकम्पअघि नाका चल्दा लिपिङ क्षेत्रमा करिब १ सय ५० घरटहरा र ६० होटल थिए । ५ वटा बैंकसहित अन्य दर्जनौं सहकारी, संघसंस्था सञ्चालनमा थिए । भूकम्प र पराकम्पले यहाँको भौतिक संरचना ध्वस्त तुल्याएपछि नाका बन्द भएलगत्तै यहाँका सबै विस्थापित भए । २०७३ असार २१ को भोटेकोसी बाढीले कटानमा पार्दा भूकम्पपछि तंग्रिँदै गरेको सीमाको लिपिङ बजारलाई झनै शून्यमा झारिदियो ।

चीनको खासा र कुतीको बीचमा रहेको छेपसाङमा पहिरो गएपछि कोसी थुनिँदा आएको बाढीले यहाँका ८० वटा घर बगायो । बीचैमा सुक्खा पहिरो, खण्डहर बजार, छियाछिया भएर आधा भत्केका क्षतिग्रस्त घरटहरा, ढलेका बोर्ड, तलबाट भास्सिँदै गइरहेको डरलाग्दो सडक । हाल पनि खासा नाका पूर्ण रूपमा खुल्ने आशामा बसेका मानिस अहिले सामान्य घरायसी सामान ल्याउन पनि नपाउने अवस्थामा पुगेपछि हताश बनेका छन् । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल हिमालय सीमापार वाणिज्य संघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल ट्रक कन्टेनर ढुवानी लिमिटेडलगायतका संघसंस्थाले यसअघिदेखि तातोपानी भन्सारसँग खासा खुलाउन माग गर्दै चीनसँग संवाद अघि बढाउन दबाब दिइरहेका छन् । उता तातोपानी भन्सारका अनुसार नेपाली पक्षले बारम्बार कुटनीतिक अनुरोध पठाइरहे पनि चिनियाँ पक्षले खासा क्षेत्र पुनर्निर्माणको काम पूरा नभएको जानकारी दिएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा २ बाट चीन जोड्ने तातोपानी नाका । तस्विर: अनिश तिवारी

‘सबैको आश खासा खुल्ला र नाका पहिलेजस्तो बन्ला भन्ने हो, तर झन् झोलेपोके समेत बन्द भएको छ, सस्तो मूल्यमा सामान ल्याएर उपभोक्ता लाभान्वित भए मात्रै नाका खुल्नु अर्थपूर्ण हुनेछ,’ उनले भने ।

अहिले पुनर्निर्माण जारी रहेका कारण खासामा सवारी–ढुवानी अनिश्चित रहेको छ । नेपालले नाका सहज बनाउन कुटनीतिक पहल तीव्र पारे पनि खासा पूर्ण सञ्चालन कहिले सम्भव हुने भन्नेमा दुवै पक्षबाट स्पष्ट संकेत आएको छैन ।

भूकम्पपछि खासा बजारले पनि ठूलो क्षति व्यहोरेको थियो । तिब्बतको न्यालम जिल्ला अन्तर्गत पर्ने पूर्व–खासा (जाङ्मु पोर्ट) अहिले मिनी सहरको मोडेलमा पुनर्निर्माण हुँदैछ । निजी तथा सरकारी भवन भत्काउनेदेखि सडक विस्तारसम्मका काम तीव्र गतिमा अगाडि बढिरहेका छन् । नयाँ जाङ्मु सहरमा सडक तीन मिटरले फराकिलो पार्ने, निजी तथा सरकारी संरचनाहरू छुट्टाछुट्टै स्थानमा निर्माण गर्ने र मालबाहक कन्टेनर तथा भ्यानलाई मुख्य सहरमा प्रवेश नदिन रणनीति बनाइएको छ । पहिलाको खासा भन्सारभन्दा मुनिबाट रमिते बजारको तल्लो क्षेत्रमा दुई सय ७० मिटर लामो जाङ्मु पुल बन्दै छ ।

author

Anish Tiwari

CESIF Fellow