थुदामः आधारभुत सुविधा वञ्चित नेपाली सीमावर्ती गाउँ

चिनियाँ सीमा नाकासंग जोडिएको संखुवासभाको भोटखोलाको विकट थुदाम गाउँमा पाँच जना स्थानीय बसोबास गर्दै आएका छन् । आधारभुत सुविधाको अभावमा उनीहरुको जीवन आफैंमा संघर्षको पर्याय बनेको छ ।

वैशाख २०८३ - थुदामको पहिलो दृश्य नै अनौठो लाग्छ । चीनसंग सीमा जोडिएको विकट नेपाली गाउँमा घर छन्, तर मानिस छैनन् । २२ घरपरिवार रहेको यस गाउँमा वर्षभर बस्ने मानिसको संख्या भने पाँच जना मात्रै छ । सरकारको आधिकारिक तथ्याङ्कमा पुरै गाउँको जनसंख्या ६३ जना देखिए पनि वास्तविकता भने सुनसान छ । गाउँका अधिकांश मानिस शिक्षा, स्वास्थ्य र रोजगारीको खोजीमा खाँदबारी, काठमाडौं, धरान र विराटनगर जस्ता शहरमा बसाइँ सरेका छन् ।

संखुवासभाको उत्तरी हिमाली काखमा, भोटखोला गाउँपालिका–२ मा अवस्थित थुदाम गाउँ नेपालको दुर्गम भूगोलको कथा हो । करिब ३४ सय मिटर उचाईमा रहेको यो बस्ती भौगोलिक रूपमा मात्र होइन विकासका आधारभूत सुविधाबाट पनि उति नै टाढा छ । यहाँ पुग्नु आफैमा साहस, धैर्य र सहनशीलताको परीक्षा हो । चार दिनसम्म उकालो–ओरालो, खोलानाला, हिमाली जंगल पार गरेपछि मात्र थुदाम गाउँ पुगिन्छ ।

थुदाममा बाँकी रहेका पाँच वृद्धहरू यस गाउँका जीवित इतिहास हुन् । थुदाममा हरेक दिन ५३ बर्षीया लमुभुटिक, ६९ बर्षीय लुन्डुक भोटे, ७१ बर्षीय थाच्चे भोटे, ६३ बषर््ीया धिजे शेर्पा र ४२ बर्षीया ङिसा भोटे भेटिन्छन् । ७१ वर्षीय थाप्चे भोटे बिहान उठेर गाउँको अवस्था हेर्छन्, पुराना घरहरू सम्झन्छन् र दिन बिताउँछन् । उनी भन्छन्, “पहिला गाउँमा मान्छेको चहलपहल हुन्थ्यो, अहिले त हावा मात्रै बोल्छ । मानिस छैनन् ।”

उनको दिनचर्या सरल छ । चिया पिउने, घाम ताप्ने, कहिलेकाहीँ नजिकै खोलासम्म पुगेर घुम्ने अनि घर फर्किने । काम गर्ने उमेर बितिसकेको भए पनि गाउँ छोड्न मन छैन । उनले भने, “मेरा लागि थुदाम बस्ने ठाउँ मात्र होइन, जीवनका अहिलेसम्म बिताएका सबै सम्झनाहरूको घर हो ।”

बिहान घामले हिमाल छोएपछि थुदाम बिस्तारै जाग्छ । चिसो हावा चलिरहेको हुन्छ, तर गाउँमा खासै गतिविधि देखिँदैन । पाँच वृद्धहरू आ–आफ्नो घरबाट निस्कन्छन् अनि घाम ताप्छन् । यहीबाट उनीहरुले दिनको सुरुवात गर्छन् ।

थुदाममा स्वास्थ्य चौकी छैन । सामान्य ज्वरोदेखि गम्भीर रोगसम्म सबैका लागि एउटै उपाय छ । “चार दिन पैदल हिँडेर खाँदबारी पुग्ने,” उनले भने, “यदि अवस्था जटिल भयो भने हेलिकप्टरबाट काठमाडौं लैजानु पर्छ, जुन अधिकांशका लागि खर्चिलो र असम्भवजस्तै छ ।”

घरखेत धितो राखेर हेलिकप्टर मगाउनु पर्दा झनै खर्च बढ्छ । विद्यालयको अवस्था पनि उस्तै कमजोर छ । बालबालिका शिक्षाका लागि गाउँ छोड्न बाध्य छन् । यही कारणले युवा पुस्ता गाउँमा टिक्दैन ।सञ्चार सेवा नहुँदा गाउँ बाहिरी संसारसँग लगभग विच्छेद भएको छ । मोबाइल नेटवर्क टिप्दै टिप्दैन । इन्टरनेटको त कल्पना पनि गर्न गाह्रो छ, रेडियो पनि सबै चल्दैन । सूचना नपुग्दा चुनावजस्ता राष्ट्रिय गतिविधिहरू समेत यहाँ प्रभावकारी रूपमा सञ्चालन हुन सक्दैनन्, अरुको त कुरै छाडौ ।

चीनसँग सीमा जोडिने संखुवासभाको विकट थुदाम गाउँ । तस्बिर: दीपेन्द्र शाक्य

चौरीसँग जोडिएको जीवन

थुदामको अर्थतन्त्रको मेरुदण्ड हो चौरीपालन । यहाँका प्रत्येक परिवारसँग २० देखि ३० वटा चौरी हुन्छन् । दूध, घ्यू, छुर्पी र मासुबाटै उनीहरूको जीवन चल्छ ।

तर यो पेशा पनि जोखिममुक्त छैन । हिमपात, चिसो र जंगली जनावरहरू सधैं खतरा बनेका छन् । ५३ वर्षीय लमुभुटिक भोटे भन्छन्, “हिउँ चितुवा आएपछि चौरी जोगाउन गाह्रो हुन्छ, रातभर जाग्राम बस्नुपर्छ ।”

चौरीसँगै जीवन बिताउने उनीहरू वर्षको अधिकांश समय खर्कमा बस्छन् । त्यसैले गाउँ प्रायः खाली हुन्छ । चौरीलाई पानी खुवाउन नजिकैको छुजुङ खोलामा लैजानुपर्छ । भिरालो भएकाले त्यहाँ पुग्न पनि जोखिम हुन्छ ।

थुदाममा चिसोका कारण खेतीपाती शून्यप्रायः छ । जमिन चिसो, कठोर र हिउले ढाकिएको हुन्छ । त्यसैले खाद्यान्न बाहिरबाट ल्याउनुपर्छ । तर यातायात नहुँदा सबै सामान मान्छे वा चौरी र खच्चडको भरमा बोकेर ल्याइन्छ, जसले मूल्य अत्यन्त महँगो बनाउँछ । थुदाम हुँदै चौेरी चराउन खर्क हिडेका आफन्तले महिनाको एकदुई पटक खानेकुरा ल्याइदिन्छन् । त्यसैलाई बचाएर खानु पर्ने बाध्यता रहेको भोटेले बताए । थुदाममा पसल छैन । लत्ताकपडक र खानेकुरा हटियाको स्याक्सिलाबाट ल्याउनुपर्छ ।

“एक किलो चामलको मूल्य ३०० रुपैयाँ पुग्छ । दाल, तेल, नुन सबै महँगो छ”, उनले भने, “हरियो तरकारी त दुर्लभ छ । त्यसैले यहाँको मुख्य भोजन चौरीको मासु र दुग्धजन्य पदार्थ हुन् ।”

थुदाममा खानेपानीको मुख्य स्रोत छुजुङ खोलो हो । खोलाको धमिलो पानी खानुको विकल्प छैन । स्थानीयहरू दैनिक त्यहीँबाट पानी ल्याउँछन् । चिसो मौसममा खोला जम्ने हुँदा पानी पाउन झन् कठिन हुन्छ । बिजुलीको अवस्था पनि अस्थिर छ । कहिले आउँछ, कहिले जान्छ, निश्चित छैन । केन्द्रिय प्रशारण लाईन पुगेको छैन । सौर्य ऊर्जा केही ठाउँमा प्रयोग भए पनि पर्याप्त छैन ।

चीनसँग सीमा जोडिने संखुवासभाको विकट थुदाम गाउँ। तस्बिर: दीपेन्द्र शाक्य

जडीबुटी जीवनको आधार

हिमाली क्षेत्रमा पाइने जडीबुटी थुदामका लागि अर्को महत्वपूर्ण आयस्रोत हो । यार्सागुम्बा, जटामसी, कुट्की जस्ता बहुमूल्य जडीबुटी संकलन गरेर स्थानीयहरूले बेच्ने गर्छन् । वर्षको तीन महिना उनीहरू लेकजंगलमा जडीबुटी खोज्न बिताउँछन् । बाँकी नौ महिना ती जडीबुटी बेच्न खाँदबारी, धरान र विराटनगर झर्छन् । यही आम्दानीले उनीहरूको घरखर्च चल्छ, छोराछोरी पनि पढाउँछन् । जाडो याममा अत्यधिक चिसो हुने भएकाले अधिकांश स्थानीय तराईतर्फ झर्छन् ।

गर्मी सुरु भएपछि पुनः गाउँ फर्किन्छन् । यसरी बसाइँसराइ गर्ने परम्पराले गाउँलाई स्थायी रूपमा बसोबासयोग्य बन्न दिएको छैन । गाउँभन्दा खर्क र शहर उनीहरूको जीवनको हिस्सा बनेका छन् ।

थुदामका बासिन्दाहरू भोटे भाषा बोल्छन्, नेपाली भाषाको खासै ज्ञान छैन । धेरै वृद्धहरूले नेपाली राम्रोसँग बोल्न सक्दैनन् । यसले बाहिरी मानिससँग संवाद गर्न कठिन बनाउँछ । तर यही भाषा उनीहरूको साँस्कृतिक पहिचान हो । चाडपर्व, परम्परा र जीवनशैली सबै हिमाली संस्कृतिमा आधारित छन् । भोटे परम्परा अनुसार संस्कार गरिन्छ । आधुनिकता नपुगेकाले मौलिकता जोगिएको छ । चीनको तिव्बत संग जोडिएको गाउँपालिका भएपनि विकास भने भएको छैन । भूगोलका कारण उनीहरु तिव्बतको चाँगा र देन्दांङसम्म पनि जान सक्दैनन् ।

चीनसँग सीमा जोडिने संखुवासभाको विकट थुदाम गाउँ। तस्बिर: दीपेन्द्र शाक्य

लोकतन्त्र र थुदाम

थुदाममा चुनाव गराउनु आफैंमा चुनौतीपूर्ण काम हो । मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्र नजिकै पर्ने यो गाउँमा कर्मचारीहरू चार दिन पैदल हिँडेर मतदान केन्द्र पुग्छन् । मतदाताहरूलाई चुनावको जानकारी नै नपुग्ने अवस्था छ । तर यति कठिन परिस्थितिमा पनि केही स्थानीय मतदान गर्न आउँछन् ।

मकालु बरुण राष्टिय निकुञ्जका नायब सुव्बा सुशील सिटौलाका अनुसार यहाँ मानिसभन्दा चौरी धेरै छन् । सदरमुकाम खाँदबारी बाट पैदल हिँड्दा थुदाम पुग्न चार दिन लाग्छ । बाटो भनेको कच्ची पदमार्ग, खोला, भीर र हिमाली जंगलको हो । कतिपय ठाउँमा पाइला राख्नसमेत डर हुन्छ । मौसम अचानक बदलिन्छ । “घाम, हिउँ, हावा सबै एकैदिनमा भोग्नुपर्छ । यो यात्रा भौतिक दूरी पार गर्ने होइन, यो मानसिक तयारीको परीक्षा पनि हो,” सिटौलाले भने, “थुदाम पुग्नु भनेको नेपालकै अर्को संसारमा पाइला टेक्नु हो ।”

थुदामबासी अहिलेपनि सडक सदरमुकामसम्म जोडियोस् भन्ने आशामा छन् । “यदि सडक पुग्यो भने स्वास्थ्य, शिक्षा, व्यापार सबै क्षेत्रमा सुधार आउन सक्छ”, उनले भने, “तर हिमाली भूगोलका कारण पूर्वाधार निर्माण अत्यन्त कठिन छ । सरकारका योजना कागजमा छन्, तर कार्यान्वयनमा चुनौती छ ।” स्थानीयहरू भन्छन्, “हामीलाई ठूलो विकास चाहिँदैन, सामान्य सुविधा भए पुग्छ ।”

थुदामको कथा केवल तथ्यांक होइन, भावनाको कथा पनि हो । यहाँका मानिसहरू प्रकृतिसँग दैनिक संघर्ष गर्छन्, भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले भने चिसोसँग, भोकसँग, एक्लोपनसँग, तर उनीहरू हार मान्दैनन् । बिहान घाम लाग्दा उनीहरूको अनुहारमा मुस्कान देखिन्छ, उनले भने त्यो मुस्कानले भन्छ “जीवन कठिन छ, तर सम्भव छ ।” थुदामबासी सडकको, सुविधाको, र साँचो विकासको पर्खाईमा छन् ।”

त्यो पर्खाइका बीच पनि यहाँ जीवन चलिरहेको छ । रित्तिदै गएको सीमावर्ती गाउँका बासिन्दाको दैनिकी संघर्षसँगै अघि बढिरहेको छ ।

“थुदाम नेपालको हिमाली भेगमा बस्ने हजारौँ मानिसहरूको प्रतिनिधि कथा हो, अध्यक्ष भोटेले भने, “यहाँ विकास अझै पुग्न बाँकी छ, तर जनजीवन भने रोकिएको छैन । यहाँका बासिन्दाका लागि लोकतन्त्र, राजनीति वा विकासका ठूला नारा भन्दा महत्वपूर्ण बाँच्नु हो ।”

author

Dipendra Shakya

CESIF Fellow