फाल्गुन २०८२ - भारत र चीनसँग सीमा जोडिएको ताप्लेजुङ्को बासिन्दाले आवधिक निर्वाचनका बेला उम्मेद्वारहरुले सीमाक्षेत्रका नागरिकले निरन्तर भोग्दै आएका समस्याको उपेक्षाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
फक्ताङलुङ गाउँपालिका – ६ लेलेपको घुन्सा पुग्नका लागि यतिवेला निकै सास्ती बेहोर्नु पर्छ । सेकाथुम देखि अम्जिलेसा सम्मको पैदलमार्ग जोखिमपूर्ण रहेको छ । घुन्सा खोलाले बिगारेको पैदलमार्ग बनाउन स्थानीय आफैंमा क्षमता छैन । स्थानीय जनप्रतिनिधिलाई सुनाए पनि सम्बोधनमा निस्किएका छैनन् ।
प्रतिनिधिसभाको निर्वाचन नजिकिदै जाँदा दलका नेता र उम्मेद्वारलाई सुनाउने उत्कट चाहना यहाँका नागरिकमा छ । तर उनीहरुको गुनासो सुन्न अहिलेसम्म न त उम्मेद्वार नै पुगेका छन् नत उनीहरु अर्थात राजनीतिक दलका प्रतिनिधि नै ।
ग्याब्लाकी पेम्बाडोमा शेर्पा मतदान स्थल राख्ने ठाउँ कस्तो छ भनेर घुन्साबाट हेर्न आएको प्रहरी टोली बाहेक अहिलेसम्म भोट माग्ने र २१ गते मतदान गर्नुपर्छ भनेर एक जना पनि सरकारी कर्मचारी नआएको बताउँछिन् । “अब भोट हाल्न त जानु नै होला नि, तर हामी थोरै छौं भनेर होला दलको मान्छेपनि कोही आउँदैन, कसरी भोट हाल्ने भनेर सिकाउने सरकार पनि देखेको छैन” उनले भनिन् ।
फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोला र याङमाका मतदाताको गुनासो पनि यस्तै छ । कार्यपालिका सदस्य फुपुलमु शेर्पा राजनीतिक दलका प्रतिनिधि आएनन् भनेर जनताले धेरैनै मन दुखाएको बताउँछिन् । यहाँ (ओलाङचुङगोला) का वडाध्यक्ष र सदस्यहरु स्वतन्त्रबाट उम्मेद्वारी दिएर निर्वाचित भएका हुन् । “यहाँ दल नेपाली काग्रेस, नेकपा एमालेका पनि छन्, तर उनिहरुले पनि अहिलेसम्म गाउँमा पसेर भोट मागेका छैनन्,” फुपुलमुले भनिन् ।
धेरैले थोरै मतदाता छन् भनेर आफुहरुलाई बेवास्ता गरेको गुनासो गर्ने गरेको उनले सुनाइन् ।
नेपालका दुई जिल्ला पश्चिमको दार्चुला र पूर्वको ताप्लेजुङ चीन र भारत दुवै देशसँग सिमाना जोडिएका जिल्ला हुन् । उत्तरमा रहेको ओलाङचुङगोला र याङमा छिमेकी देश चीनको तिब्बतसँग सिमाना जोडिएका बस्ती हुन् । पूर्वको सिरिजङगा गाउँपालिका ८ याम्फुदिन, सिदिङ्वा गाउँपालिका १ कालिखोला, २ सादेवा, ७ सुरुमखिम भारतको सिक्किमसँग जोडिएका छन् । समग्रमा जिल्लाको ९१ किलोमिटर क्षेत्र चीन र भारतसँग जोडिएका छन् । सिमावर्ती जिल्ला भएकाले सिमानाका समस्या लागायतका विषय यतिबेला उल्लेख्य मात्रामा उठ्नु पर्ने हो ।
तर त्यस्तो अवस्था नरहेको उद्योग बाणिज्य संघका महासचिव कमल लिम्बू बताउँछन् । “पहिलो कुरा त उम्मेद्वारहरु सिमावर्ती क्षेत्रमा पुग्दै पुग्दैनन् दोश्रो सम्वन्धित मान्छेले नभइ अरुले उठाएको इस्युमा खासै बहस नहुने नै रहेछ,” लिम्बूले भने ।
भारतसँगको सिमावर्ती क्षेत्र कालिखोला, सादेवा, सुरुमखिममा उम्मेद्वार पुग्ने भएपनि स्थानीयले सीमा क्षेत्रको विषय खासै नउठाउने सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादुर राई वताउँछन् । “हाम्रोमा त्यै गाउँको बाटो, खानेपानी यस्तै उस्तै सामान्य खाले कुरा गछर्न, ठुलो ठुलो बिषयहरु त देख्न पनि पो देख्दैनन्,” राईले भने, “हामी स्थानीय जनप्रतिनिधिसँग उठाउने सवाल संघीय, प्रदेशको उम्मेद्वारलाई पनि सुनाएको देख्छु ।” बेला बेला त जनतासँग पनि पो एजेण्डा नै छैन कि जस्तो आभास आफुलाई हुने गरेको राईले सुनाए ।
नवयुवाहरुको आन्दोलनपछि हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा १३ राजनीतिक दलका १३ जना उम्मेद्वार चुनावी मैदानमा छन् । पुराना राजनीतिक दलहरु एमाले, कांग्रेस , नेकपा सङ्गठनात्मक हिसाबले जिल्लाका सबै पालिका र वडामा पुगेका छन् । जिल्लामा एक नगरपालिका र आठ गाउँपालिका रहेका छन् । ६१ वटा वडा रहेका छन् । यसवर्ष स्वतन्त्र उम्मेद्वार नभएकाले दलगत रुपमै उम्मेद्वारको उपस्थिति रहेको छ ।
संघियतापछिका दुई निर्वाचन एमालेका नेता योगेश भट्टराईले जितेका थिए । २०७९ सालको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र नेकपा एस समेतगरी तीन राजनीतिक दल मिल्दा समेत भट्टराईले २ सय ८ मतले जितेकाले एमाले त्यही आधारमा आफ्नो जित सुनिश्चित रहेको दावी गरिरहेको छ । सबै दल आफ्नै ढङ्गले चुनाव लढिरहेको र एमालेका धेरै कार्यकर्ता अन्यत्र पलायन भएकाले यस पटक एमालेको बिरासत भत्काएर आफ्नो उम्मेद्वार विजयी हुने दावी कांग्रेसको छ ।एमालेले क्षितिज थेवे र कांग्रेसले गजेन्द्र प्रसाद तुम्याहाङलाई उम्मेद्वार बनाएको छ । थेवे युवक सङ्घका केन्द्रीय अध्यक्ष हुन् भने तुम्याहाङ कांग्रेस जिल्ला कार्य समितिका सभापति हुन ।
नेकपाले भट्टराईसँग झिनो मतले पराजित खेलप्रसाद वुढाक्षेत्री परागलाई उम्मेद्वार बनाएको छ । पहिलो पटक प्रतक्ष तर्फ उम्मेद्वार उठाएका रास्वपाले बीरेन्द्र श्रेष्ठ, उज्यालो नेपालले किर्तिमान मादेन, श्रम संस्कृति पार्टीले सन्तोष राई र नेकपा माओवादीले नरपति पौडेललाई उम्मेद्वार बनाएका छन् । राप्रपावाट इन्द्र प्रसाद थापा, जनमुक्ति नेपालबाट इन्द्र कुमार लिम्बू, जसपा नेपालबाट सुर्य तमु गुरुङ, जसपाबाट अरुण सुब्बा लेछर्वो, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मुक्साम लाबुङ र मंगोल नेशनल अर्गनाइजेसनबाट सन्तबहादुर लिम्बू उम्मेद्धार छन् ।
यत्तिका विधि उम्मेद्वार हुँदापनि सिमावासीको समस्या बुझ्न र भलाकुसारी गर्न कोहीपनि नआएको गुनासो ओलाङचुङगोलाका नुपु शेर्पाको छ । सबै उम्मेद्वारले सामाजिक सञ्जाल, फोन, रेडियो र स्थानीय कार्यकर्ताहरु परिचालन गरेर मतदानका लागि अनुरोध गर्दै आएका छन् ।
हिउँले ढाकेको ओलाङ्चुङगोला बस्ती । तस्बिर: आनन्द गौतम
भौगोलिक हिसावले डोल्पा र हुम्लापछिको तेश्रो जिल्लाको उक्तरी टिपताला भन्ज्याङसम्म सडकको ट्रयाक खुलेको छ । २०८१ सालको हिउँदमा खुलेको ट्रयाकको सहारामा त्यही वर्ष ट्याक्टर र साना सवारी सिमानाका सम्म पुगेका थिए । त्यसपछि भने यातायात चल्न सकेको छैन । सदरमुकाम फुङलिङबाट लेलेपकको इलाडाँडा सम्म मात्रै सवारी आवागमन हुने गरेका छन् । सिमावर्ती क्षेत्रका बासिन्दाको पहिलो चाहना सदरमुकामदेखि सिमानासम्मको सडक निर्वाध रुपमा चल्ने खालको होस् भन्ने रहेको फक्ताङलुङ गाउँपालिका ७ का वडाध्यक्ष छेतेन शेर्पा लामा बताउँछन् । उम्मेद्वारले अरुबाट यो सुनेका छन्, आफ्नो प्रतिबद्धता पत्रमा उल्लेखपनि गरेका छन्, तर प्रत्यक्ष रुपमा प्रभावित वा आकांक्षीको मुखबाटै चाँही सुन्न नपाएको वडाध्यक्ष छेतेन बताउँछन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार यसवर्ष ९० हजार २ सय मतदाता छन् । २०७९ सालमा एमालेले समानुपातिक तर्फ १९ हजार मत पाएको थियो । कांग्रेसले १५ हजार, तत्कालिन माओवादीले ५ हजार र नेकपा एमाले १५ सय मत पाएका थिए ।

नेपाल-चीन सीमा स्तम्भ । तस्बिर: आनन्द गौतम
पुराना राजनीतिक दलले त्यही मतलाई जितको आधार बनाइरहँदा रास्वपा, श्रम संस्कृति पार्टीले मतदाता फेरिएकाले आधार आफुहरुको बनिरहेको दावी गरिरहेका छन् ।
मतको बिश्लेषण गरिरहेकाहरुले भने पुराना तीन र नयाँ दुई गरी यीनै पाँच दल पहिलो देखि पाँचौंसम्म हुने तर्क गरिरहेको सुनिने गैर सरकारी संस्था महासंघका अध्यक्ष खड्ग बिक्रम सुवेदी बताउँछन् ।
कांग्रेस उम्मेद्वार गजेन्द्र प्रसाद तुम्याहाङ ठुलो भूगोलमा प्रचारको समय थोरै हुँदा मन भएरपनि सबै क्षेत्रमा पुग्न कठिन हुने बताउँछन् । “म आफैंलाई ओलाङचुङगोला, घुन्सा पुग्न नपाएकोमा चिन्ता छ,” उनले भने, “टिपताला भन्ज्याङसम्म पुगेको छु, स्थानीयको समस्या देखे सुनेको पनि छु खाली उम्मेद्वार भएपछि पुग्न नभ्याएको मात्रै हो तर स्थानीयसँग फोन सम्बादचाँही गर्छु ।”
एमाले उम्मेद्वार थेवेको तर्कपनि यस्तै छ । “समयको चापका कारण पुग्न नसकेको मात्रै हो, तर मेरो पार्टी कमिटी मार्फत त्यहाँका जनतासँग जोडिएको छु र त्यहाँका समस्या सुनेको छु त्यसैले उहाँहरुको समस्याबाट किञ्चित बाहिर छैन,” थेवेले भने ।
याङमा र घुन्सा पुगेर फर्कन कम्तिमा तीन र ओलाङचुङगोला, ग्याब्लाकालागि दुई दिनको पुरै समय छुट्याउनु पर्ने भएकाले मनोनयन दर्तापछि दलहरु अन्यत्रै ब्यस्त हुने गरेको पार्टीका नेता बताउँछन् ।
ओलाङचुङगोलाबासीले भने आफुहरुले पालेका याक चौंरी चिनको बजारमा बिक्री गर्न नपाएको, जडिबुटी संकलन र बिक्रीका लागि सहज वातावरण नभएको, टेलिफोनको टावर राम्रो नभएको, इन्टरनेटको पहुँच नभएको जस्ता समस्या र गुनासा सुनाउने गरेका छन् ।
जानी नजानी हिमाली क्षेत्रका समस्यालाई दलका घोषणा पत्रमा उल्लेख गरिए पनि कार्यान्वयन नभएको उनीहरुको गुनासो छ । निर्वाचन अघि मात्रै नभएर जितिसके पछि पनि सांसदहरुले फर्किएर आफ्नो क्षेत्रमा नगएकोे, गइहाले हेलिकप्टरबाट त्यहाँ पुग्ने र स्थानीयसँग भलाकुसारी नगरी फर्कने गरेको उनीहरुको गुनासो छ ।
“सबैले चुनावी एजेन्डा मात्रै बनाएका छन् तर नाका सहज बन्न सकेको देखिदैन । खासा खुल्न सकेको छैन, न निर्यात छ, खासा बजारसम्म नाका नचलेसम्म नाका बन्द भए बराबर हो । नेताले मत माग्ने मेलो गरिरहेका छन् । हामीलाई आफ्नै पीडा छ,” स्थानीय पासाङ शेर्पाले भनिन् ।
हाल सीमा छुट्याउने मितेरी पुल नजिकै रहेका करिब दुई दर्जन साना पसलमा पुगेपछि मात्रै सीमावासीले घरायसी सामग्री किन्न पाउँछन् । सिन्धुपाल्चोकका स्थानीयलाई घरायसी खरिद प्रयोजनका लागि मात्र चिनियाँ क्षेत्रसम्म पुग्न अनुमति छ । निर्यात ठप्पप्राय: छ ।
राजधानी काठमाडौंबाट चीनको व्यापारिक क्षेत्र खासा १ सय २४ किमि र रसुवागढी १ सय ६४ किलोमिटरको दूरीमा पर्छन् । केरुङभन्दा तातोपानी नाकाबाट सिगात्से ३० किलोमिटर कम दूरीमा पर्छ ।
चीनको जुनसुकै बजारका या कम्पनीबाट झिकाएका सामग्री भए पनि खासाबाट तातोपानी आइपुग्न कम्तीमा १२ देखि बढीमा १५ दिन लाग्छ । नजिकैको दूरीमा रहेको छिमेकी देश चीनले तातोपानी नाकाप्रति देखाएका यी व्यवहार भने एकदमै टाढाको जस्तै रहेको शेर्पाको बुझाइ छ ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले नाका ठप्प हुँदा करोडौँ रुपैयाँ बराबरका सामग्री बोकेका कन्टेनर रोकिँदा व्यवसायी थप निराश भएकोे बताए । “खासा, न्यालमसहित सीमा क्षेत्रका सडकमा झन्डै चार सय कन्टेनर अलपत्र छन्,” उनले भने । बाह्रबिसे–तातोपानी २६ किलोमिटर सडक खण्ड गर्मीमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने भएकाले कन्टेनर आवतजावत थप जोखिमपूर्ण बनेको छ । मितेरी पुल भन्दा पर बाढीले क्षति पुर्याएका क्वारेन्टाइन, पार्किङस्थल, खासा जोड्ने सडक र सुरुङ पुनर्निर्माणकै क्रममा छन् । यसैबीच चीनले दैनिक ७ देखि १२ कन्टेनर मात्र छाड्न थालेपछि व्यवसायी झन् समस्यामा परेका छन् ।
