चिसो हुम्लामा चुनावी सरगर्मी: जेन जी आन्दोलन पछिको पहिलो चुनावमा कसले मार्ला बाजी ?

फागुन २०८२ - हिमाली जिल्ला हुम्लाको माथिल्लो क्षेत्रका बस्ती हिउँले छोपिएका छन् । हरेक हिउँदमा चिसो सुरु हुनु अघि सिमकोट हुँदै नेपालगञ्ज, सुर्खेत, काठमाण्डौ लगायतका क्षेत्रमा आइपुग्ने हुम्ली हिउँ नबिलाउँदै गाउँ फर्कन थालेका छन्, आगामी साता तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि । दलका नेता तथा कार्यकर्ताहरु बाक्लो डाउन ज्याकेट लगाएर हिउँले ढाकेका गाउँ बस्तीमा घर दैलो अभियान गरिरहेका छन् ।

भौगोलिक विकटता र चिसो मौसमका बाबजुद प्रतिनिधि सभा सदस्य निर्वाचनले हुम्लालाई छोइसकेको छ । जिल्लाका स्थापित दलका उम्मेद्वार सहित कार्यकर्ताहरु निर्वाचनमा मत आफ्नो पक्षमा पार्न मतदाताहरूको घरदैलोमा छन् । जेन जी आन्दोलन पछि चुनावी एजेन्डा लिएर नेपाली कम्युनिस्ट पार्टी नेकपा, नेपाली काँग्रेस, नेकपा एमालेले सिमकोट गाउँपालिका–५ को तल्लो गाउँको चौपाडीबाट घरदैलो अभियान सुरू गरेका थिए ।

तीन ठूला दल मानिएका नेपाली एमाले, नेपाली काँग्रेस र नेपाली कम्युनिष्ट पार्टी चुनावी एजेन्डा लिएर घरदैलो अभियानमा जुटेका छन । वैकल्पिक शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि दक्षिणको ताजाँकोट गाउँपालिकाबाट जनताको घरदैलो पुगिसकेको छ । रास्वपा हुम्लाकी उम्मेदवार टासी ल्हाजोमले आफ्नो पक्षमा मत माग्दै चुनावी अभियान थालेकी छन । ल्हाजोम सुशीला कार्की नेतृत्वको मन्त्री मण्डलकी सदस्यमा सहभागी हुने चर्चा भएपनि विरोधका कारण समावेश हुन पाएकी थिइन् । त्यसपछि रास्वपाले उनलाई समानुपातिक सूचीमा राखेको थियो । तर फेरि सार्वजानिक रुपमा कुनै कारण नखुलाई सूचीबाट हटाएको थियो ।

त्यसपछि पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत उनलाई उम्मेदवार बनाइएको थियो । दलका नेता कार्यकर्ता घरदैलो अभियान पुगेपनि हुम्लाका मतदाता भने चुनावप्रति खासै उत्साहित देखिएका छैनन् ।

निरन्तर फेरबदल

२०४६ मा बहुदलीय व्यवस्था पुनस्र्थापनापछि भएका संसदीय निर्वाचनहरूमा हुम्ली जनताले पटकपटक मत परिवर्तन गर्दै आएका छन् । ती निर्वाचनमा संयुक्त जनमोर्चा नेपाल देखि स्वतन्त्र हैसियतका उम्मे्दवार, नेपाली कांग्रेस, माओवादी र एमालेले पनि चुनाव जितेको इतिहास छ ।

बहुदल प्राप्ति पछिको पहिलो आम निर्वाचन २०४८ मा हुम्लाबाट संयुक्त जनमोर्चा नेपालका उम्मेदवार छक्कबहादुर लामा ४ हजार ६९५ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिदन्द्वी नेपाली कांग्रेसका चक्रबहादुर शाही ४ हजार ६८७ मत ल्याउँदै ८ मतले पराजित भएका थिए । यस्तै गरी ०५१ सालको मध्यावधि निर्वाचनमा कांग्रेसका चक्रबहादुर शाही ७ हजार ८८७ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उमेदवार अंगबहादुर लामाले ६ हजार ९९० मत पाएका थिए । नेकपा एमालेका गोरखबहादुर बोगटीले ५ हजार ७१९ मत पाएका थिए।

दुई पटक पराजित भएका नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमालेका) बोगटीले २०५६ सालमा भने बाजी मारे । उनी ११ हजार ८७१ मतसहित निर्वाचित भएका थिए । नेपाली काँग्रेसबाट टिकट नुर्वु लामालाई दिइयो तर फेरि लामाबाट फिर्ता लिएर नेपाली काँग्रेसले नरसुर बुढालाई दिएको थियो । काँग्रेसले टिकट नदिदा किट्ली चिह्न लिएर चक्रबहादुर शाही स्वतन्त्र उम्मेदवार भए । शाहीले ७ हजार ६६२ रबिरजंग शाही स्वतन्त्र ९६२ र राष्ट्रिय प्रजान्त्र पार्टीकी जयन्ती शाही ९३२ र नेपाल कम्युनिस्ट पार्टीबाट सोनाम ग्यालजन लामा ६९४ र नेपाली काँग्रेसका नरसुर बुढा १६३ मत ल्याए भने राष्ट्रिय जनमोर्चाबाट सोनाम गुरूङले १५२ मत र स्वतन्त्रमा अकबर भणडारीले ६२ मत ल्याएका थिए।

२०६४ सालको संविधानसभा निर्वाचनमा भने तत्कालीन माओवादी केन्द्रका कर्णजित बुढाथोकी १३ हजार ३ सय १८ मत ल्याई निर्वाचित भए ।

उनका निकटतम प्रतिदन्द्वी नेपाली कांग्रेसका जीवनबहादुर शाहीले ५ हजार १९६ मत पाए भने एमालेका बोगटीले ३ हजार २९० मत ल्याएका थिए । २०७४ सालमा भने हुम्लाबाट स्वतन्त्र उम्मेदार छक्कबहादुर लामाले जिते । ८ हजार ४९१ मत ल्याउँदै लामा निर्वाचित हुँदा निकटतम प्रतिदन्द्वी कांग्रेसका मंगलबहादुर शाहीले ८ हजार ४४४ ल्याएका थिए ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन भयो । जसमा माओवादी केन्द्रका छिरिङ दम्डुल लामा (कार्चेन) १४ हजार ३७१ मत ल्याएर निर्वाचित भए । यो निर्वाचनमा एमालेका दल रावलले ९ हजार ५१६ मत ल्याएका थिए।

गत निर्वाचनमा समानुपातिकतर्फ कांग्रेसले ८ हजार १९२, माओवादी केन्द्रले ७ हजार ३६३, नेकपा एमालेले ५ हजार ९०७ र एकीकृत समाजवादीले १०२१ मत पाएका थिए ।

को कति बलियो ?

जेन जी आन्दोलन पछि पहिलो पटक हुन लागेको यस पटकको निर्वाचनमा हुम्लाबाट प्रतिनिधि सभा सदस्यको लागि कसले बाजी मार्ला भन्ने विषयलाई निकै चासोपूर्वक हेरिएको छ ।

यस अघिको माओवादी पार्टीमा विभिन्न साना दलहरु समाहित भएर बनेको नेपाली कम्युनिस्ट पार्टीले हुम्लामा दीपेन्द्र रोकायालाई उम्मेदवार बनाएको छ । उनी लामो समयदेखि माओवादी आन्दोलनमा सक्रिय थिए । नेपाली काँग्रेस हुम्लाको तर्फबाट उम्मेद्वार बनाइएका जयपती रोकाया दुई पटक नेपाली काँग्रेस जिल्ला सभापति भईसकेका स्थानीय नेता हुन् ।

नेकपा एमालेले दल फडेरालाई उम्मेद्वार बनाएको छ । उनी २०७२ सालको स्थानीय तहको निर्वाचनमा अदानचुली गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । पछिल्ला पटक प्रदेश सभा निर्वाचनमा पराजित भएर त्यसपछि फेरि दोस्रो कार्यकालय अदानचुली गाउँपालिकामा अध्यक्ष उम्मेदवार बनेर पराजित हुन । यस पटक प्रतिनिधि सभामा पनि उम्मेदवार बनेका छन् ।

प्रत्येक निर्वाचनमा मत फेरबदल गर्दै आएका हुम्लाका जनताले आगामी निर्वाचनमा कसलाई मत देलान् भन्ने सर्वत्र चासो छ । २१ फागुनको निर्वाचनमा हुम्लामा कांग्रेस, एमाले र नेकपालाई बीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । तर ती दललाई रास्वपा र प्रलोपाले चुनौती दिएका छन् ।

कांग्रेसबाट जयपति रोकाया, एमालेबाट दल फडेरा, नेकपाबाट डा. दीपेन्द्र रोकाया र रास्वपाबाट टासी ल्हाजोम उम्मेदवार छन् ।

यसैगरी प्रगतिशील प्रजातन्त्र पार्टी (प्रलोपा)ले जटिल कार्की, नेत्रविकम चन्द निकट माओवादीले कुम्भ बुढा र राष्ट्रिय प्रजातन्त्र पार्टीले छक्क बुढालाई उम्मेदवार बनाएको छ ।

हुम्लाको प्रदेश (क) बाट १९ हजार ४१९ र प्रदेश (ख) बाट १४ हजार ९५३ मत छ। जम्मा ३४ हजार ३७२ मत रहेको छ। विशेष गरि मत सर्भेक्षण गर्दा ताजाँकोट गाउँपालिका–३ हजार ८६९ मत,अदानचुलीमा ४ हजार ८८९ र चंखेली ३ हजार ६८० र सर्केगाड गाउँपालिकामा ६ हजार ९८१ र खार्पुनाथ ४ हजार १६९सिमकोट गाउँपालिकामा ७ हजार २५९ मत र नाम्खा गाउँपालिका ३ हजार ५२५ मत रहेको छ।

हुम्लाका तीन ठूला दल नेपाली काँग्रेस , नेकपा (एमाले),नेपाली कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय स्वतन्त्र पार्टी प्रगतिशिल लोकतान्त्रिक पार्टी प्रलोपा,राप्रपा , नेत्र विकम चन्द निकट माओवादी हुम्लाका गाउँगाउँमा मत माग्दै हिडेका छन् ।

नेकपा एमाले, काँग्रेस र रास्वपा उम्मेद्वारको बीचमा प्रतिस्पर्धामा हुने देखिएको छ ।

author

Narjan Tamang

CESIF Fellow