फाल्गुन २०८२ - रसुवा जिल्ला यतिबेला प्रतिनिधि सभा सदस्य निर्वाचनको उत्साहले तातेको छ ।
अर्को साता हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्लाबाट १२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । ती मध्ये नौ जना राजनीतिक दलको प्रतिनिधिका रुपमा उम्मेदवारी दिएका छन भने तीन जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन । उनीहरु बीचको चुनावी प्रतिस्पर्धाले स्थानीय राजनीतिक वृत्त थप सक्रिय बनेको छ ।
लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण चरण मानिने निर्वाचनले यहाँका नागरिकमा विकास, सुशासन र प्रतिनिधित्वको नयाँ अपेक्षा जगाएको छ ।
दलगत प्रतिस्पर्धा र स्वतन्त्र उम्मेदवारको उपस्थित चुनावी मैदानमा रहेका दलहरूमा नेपाली कांग्रेसबाट मोहन आचार्य, नेकपा एमाले प्रेम तामाङ, नेपाली कम्युनिष्ट पार्टीका माधवप्रसाद लामिछाने, प्रगतिशील लोकतान्त्रिकबाट दावा मिङ्मर तामाङ, मंगोल नेशनल अर्गनाइजेशनबाट विनोद थिङ्, राप्रपाबाट हरिप्रसाद घिमिरे, रास्वपाबाट बसन्त भट्ट, उज्यालो नेपालबाट मानबहादुर तामाङ र नेकपा माओवादी (विप्लव)बाट होमप्रसाद आचार्य रहेका छन् । स्वतन्त्रतर्फ चित्रकुमारी देवकोटा, शागर लामा र दावा मिङ्मर तामाङ उम्मेदवार बनेका छन् ।
रसुवामा प्रत्यक्ष तर्फ महिलाको सहभागिता न्यून हुने परम्परागत अवस्थाबीच चित्रकुमारी देवकोटाको उम्मेदवारीले महिला मतदातामा उत्साह थपिएको देखिन्छ । पहिलेका चुनावमा नेपाली कांग्रेस र एमालेको बीचमा प्रतिस्पर्धा हुँदै आएकोमा रास्वपा नयाँ शक्तिको रुपमा देखिएको छ । प्रतिस्पर्धा नेपाली कांग्रेस र एमाले बीच हुने देखिए पनि यस अघि नेकपा (एमाले)को तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका जर्नादन ढकाल नेपाली कांगेसमा प्रवेश गरेकाले चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ ।
२०६४ सालमा नेकपा माओवादीका प्रेम तामाङले ११ हजार १ सय ९२ मत ल्याएर विजयी भएका थिए । संविधान सभाको दोश्रो निर्वाचनमा नेकपा एमालेका जर्नादन ढकालले ६ हजार ६ सय २८ मतका साथ विजयी भएका थिए । माओवादीका प्रेम तामाङ ६ हजार १ सय ९२ ल्याएर आचार्यको निकटतम प्रतिद्वन्द्वी रहे ।
२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेस र माओवादीको चुनावी गठबन्धन भयो । त्यतिबेला गठबन्धनका उम्मेद्वार नेपाली कांग्रेसका मोहन आचार्यले १४ हजार ४ सय ५३ मत ल्याएर एमालेका जर्नादन ढकाललाई पराजित गरे । ढकालले ७ हजार ८ सय २२ मत ल्याएका थिए ।
गत निर्वाचनमा एमालेले छ्वाङ तेन्जिन तामाङलाई उम्मेद्वार बनाएको थियो । छ्वाङले ८ हजार ६ सय १४ ल्याएर दोश्रो स्थानमा रहँदा नेपाली कांग्रेसका मोहन आचार्यले १८ हजार २ सय ३५ ल्याएर विजयी भएका थिए । यस पटक ढकाल आफै नेपाली कांग्रेसमा प्रवेश गरेकाले चुनावी रौनक थपिएको छ ।
चुनावी प्रतिस्पर्धा एमाले र कांग्रेसका उम्मेद्वार हुने आकलन गरिएको भएपनि युवाहरुको साथ रास्वपालाई देखिएको छ । मतदातको मनस्थिति बदलिएको अबस्थामा कसको पल्लाभारी होला भन्ने आकलन गर्न कठिन छ ।
आधार भएकाले यसलाई सकारात्मक संकेतका रूपमा हेरिएको छ ।
विकासका साझा एजेन्डा
उम्मेदवारहरूका घोषणापत्र फरक भए पनि मुख्य एजेन्डा प्रायः उस्तै छन्—खानेपानी, सिंचाइ, सडक, पर्यटन, स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी र विपद् नियन्त्रण । जिल्लामा प्रशस्त जलस्रोत हुँदाहुँदै पनि ग्रामीण बस्तीमा शुद्ध खानेपानी अभाव हुनु स्थानीयको प्रमुख गुनासो हो। त्रिशुली नदीमा गोसाइँकुण्डबाट बग्ने पानी सदरमुकाम धुञ्चेसम्म ल्याउन सके खानेपानी समस्या समाधान हुने नागरिकको धारणा छ । यसका साथै ग्रामीण सडकको स्तरोन्नति, पहिरो नियन्त्रण, कृषि आधुनिकीकरण, गुणस्तरीय स्वास्थ्य सेवा, निःशुल्क शिक्षा र युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने विषय उम्मेदवारहरूले जोडतोडले उठाइरहेका छन् ।
जिल्लाको उत्तरी सीमा क्षेत्रमा रहेको रसुवागढी नाका व्यापारिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ । स्थानीय व्यवसायी र नागरिकका अनुसार नाकामा आधुनिक भन्सार संरचना, गोदाम, सडक र यातायात पूर्वाधार विस्तार गर्न सके जिल्ला मात्र नभई राष्ट्रिय अर्थतन्त्रलाई पनि टेवा पुग्नेछ । त्यस्तै धुञ्चेदेखि गोसाइँकुण्डसम्म प्रस्तावित केबुलकार, पदमार्ग विस्तार र धार्मिक पर्यटन प्रवद्र्धनका योजनालाई पनि मतदाताले प्राथमिकतामा राखेका छन् ।
निर्वाचन सुरक्षा व्यवस्था
निर्वाचनका लागि जिल्लाभर ५७ मतदान केन्द्र तोकिएका छन्, जसमध्ये १४ सामान्य, ३८ संवेदनशील र ५ अति संवेदनशील क्षेत्र निर्धारण गरिएको छ । कारागारमा रहेका बन्दीका लागि छुट्टै अस्थायी मतदान केन्द्र रहने जानकारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको छ ।
भौगोलिक विकटता, कच्ची सडक र दुर्गम बस्तीका कारण सुरक्षालाई प्राथमिकतामा राख्दै सुरक्षाकर्मी परिचालन गरिएको छ । विशेष गरी दुर्गम गाउँपालिका क्षेत्रमा मतदान सामग्री ढुवानी र मतदान प्रक्रिय रसहज बनाउन विशेष तयारी गरिएको जनाइएको छ ।
२०७९ सालको निर्वाचनमा करिब ४० हजार ५ सय मतदाता रहेको जिल्लामा २०८२ सम्म आइपुग्दा संख्या ९ सय ७१ मात्र बढेको छ। युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम तीव्र भएकाले मतदाता वृद्धि न्यून भएको अनुमान गरिएको छ । कुन देशमा कति युवा छन् भन्ने एकिन तथ्याङ्क भने उपलब्ध छैन ।
स्थानीय तहअनुसार मतदाता संख्या पनि सार्वजनिक गरिएको छ—आमा छोदिङ्मो गाउँपालिकामा ५५४७, कालिका गाउँपालिकामा ९३१६, नौकुण्डमा ११४०६, उत्तरगयामा ८७९३ र गोसाइँकुण्ड गाउँपालिकामा ६४०९ मतदाता रहेका छन्।
लोकतन्त्र केवल मतदान प्रक्रिया मात्र नभई नागरिकको सहभागिता, पारदर्शिता र जवाफदेहिताको प्रणाली हो। विश्वका विकसित लोकतान्त्रिक देशहरू जस्तै स्विट्जरल्यान्ड, नर्वे र न्यूजिल्याण्डमा नागरिकले चुनेका प्रतिनिधिले स्थानीय आवश्यकतामा आधारित नीतिहरू लागू गर्दा समृद्धि हासिल भएको उदाहरण पाइन्छ। ती देशहरूमा निर्वाचनपछि पनि नागरिक–प्रतिनिधि संवाद निरन्तर रहने भएकाले विकास योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन्छन्।
यस्तै अभ्यास स्थानीय तहमा स्थापित गर्न सके रसुवामा पनि दीर्घकालीन विकास सम्भव हुने जानकारहरू बताउँछन्। विशेषतः पारदर्शी योजना छनोट, बजेटको प्रभावकारी प्रयोग र भ्रष्टाचार नियन्त्रण लोकतान्त्रिक सफलताको आधार मानिन्छ ।
प्राथामिकतामा विपद् पुनर्निर्माण
गएको असार २४ गते आएको ल्हेन्देखोला बाढीले जिल्लामा ठूलो क्षति पु–याएको थियो। बाढीले सडक, पुल, खेतीयोग्य जमिन र बस्तीमा असर पारेपछि पुनर्निर्माण कार्यलाई प्राथमिकता दिनुपर्ने मतदाताको माग छ। नागरिक समाजका प्रतिनिधिहरूका अनुसार निर्वाचित हुने प्रतिनिधिले पहिलो काम नै विपद् प्रभावित संरचना पुनर्निर्माण गर्न पहल गर्नुपर्नेछ ।
निर्वाचन प्रचारका क्रममा सवारी साधन प्रयोग गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था छ । अनुमतिपत्र बिना प्रचारमा प्रयोग गरिएका सवारी साधनलाई कारबाही पर्नसक्ने बताइएको छ ।
निर्वाचन अधिकारीहरूका अनुसार दल र उम्मेदवारले आचारसंहिता पालना गर्नेमा उनीहरू विश्वस्त छन् ।
यसैगरी अशक्त, अपाङ्गता भएका र हिँड्न नसक्ने ज्येष्ठ नागरिकलाई मतदान केन्द्रसम्म पु–याउन स्थानीय प्रशासनको अनुमति लिएर सवारी प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ, जसले समावेशी मतदान वातावरण सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।
मतदाताको बदलिएको मनस्थिति
स्थानीय मतदाताका अनुसार यसपटक कसले जित्छ भन्ने अनुमान गर्न कठिन छ। धेरै उम्मेदवारको घोषणापत्र समान प्रकृतिका भएकाले मतदाताले व्यक्तिगत विश्वसनीयता, विगतको काम, पहुँच र स्थानीय सम्बन्धलाई आधार बनाएर निर्णय गर्ने संकेत देखिएको छ।
गाउँगाउँमा उम्मेदवारहरू घरदैलो कार्यक्रम गर्दै मत मागिरहेका छन्। उनीहरू विकास, रोजगारी, शिक्षा र स्वास्थ्य सुधारका आश्वासन दिँदै मतदाता विश्वास जित्ने प्रयासमा छन्।
विश्लेषकहरूका अनुसार प्रतिस्पर्धात्मक निर्वाचन लोकतन्त्रको स्वास्थ्यको संकेत हो। धेरै उम्मेदवार हुनु विकल्पको विस्तार हो, जसले मतदातालाई आफ्नो प्राथमिकता अनुसार प्रतिनिधि चयन गर्ने अवसर दिन्छ। साथै स्वतन्त्र उम्मेदवारको उपस्थितिले राजनीतिक दलहरूलाई पनि आफ्नो कार्यशैली सुधार्न दबाब सिर्जना गर्छ।
रसुवाको प्रतिनिधि सभा निर्वाचन केवल राजनीतिक प्रतिस्पर्धा मात्र होइन, स्थानीय विकासको दिशानिर्देश तय गर्ने ऐतिहासिक अवसरका रूपमा हेरिएको छ । भौगोलिक विकटता, पूर्वाधार अभाव, युवापलायन, स्वास्थ्य–शिक्षा समस्या र विपद् जोखिम जस्ता चुनौती समाधान गर्न सक्षम नेतृत्व चयन गर्नु अहिलेको प्रमुख आवश्यकता हो ।
जनताले चुनेका प्रतिनिधिबाट पारदर्शी, उत्तरदायी र दीर्घकालीन योजना कार्यान्वयन हुने अपेक्षा व्यापक छ । लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई आत्मसात् गर्दै सबै उम्मेदवारको सम्मानजनक प्रतिस्पर्धा र मतदाताको विवेकपूर्ण निर्णयले मात्र जिल्लालाई समृद्धिको बाटोमा अघि बढाउन सक्ने विश्वास स्थानीय नागरिकमा देखिन्छ ।
