फागुन २०८२ - गत असार २४ गते ल्हेन्दे खोला बाट आएको भीषण बाढीले ठूलो क्षति पु–याएपछि रसुवागढी नाका महिनौसम्म ठप्प रह्यो । नेपाल–चीन व्यापारको मुख्य प्रवेशद्वार मानिने रसुवागढी नाकालाई सञ्चालनको लागि फेरि पहल सुरु भएको छ । विशेषत:चीन सरकारले नै मितेरी पुल निर्माण गरिदिएपछि नाका सञ्चालनको आशा बढेको छ । तर ठाउँ ठाउँमा आइरहने सुख्खा पहिरोको अवरोधले यो नाकाको दीर्घकालीन सञ्चालन हुनेमा आशंका देखिएको छ ।
बारमबार बाढी, पहिरो र सुख्खा पहिरो जस्ता प्राकृतिक रसुवागढी नाकालाई काठमाण्डौ सम्म जोड्ने सडक संरचना, पुल, सवारीसाधन र मानव जीवनमा गम्भीर असर पु–याएको छ । क्षति पुगेका ती संरचनाको पुनःस्थापनाका प्रयासहरु भएपनि जटिल र कमजोर भूबनोटका यातायात सञ्चालनमा कठिन बनाइरहेको छ ।
यस वर्ष असारमा गएको बाढीले मितेरी पुल सहित नाकामा भएका भौतिक संरचना बाढीले सबै बगायो । निर्माणाधीन सुख्खा बन्दरगाह क्षेत्र डुबानमा प–यो । पार्किङ गरिएका दर्जनौँ विद्युतीय सवारीसाधन, मालवाहक कन्टेनर र कामदारका अस्थायी शिविर बगे । उक्त घटनामा सुरक्षाकर्मी, मजदुर र सर्वसाधारणसहित १८ जनाभन्दा बढी मानिस बगेका थिए । उद्धारका लागि खटिएका तीन सुरक्षाकर्मीसमेत बेपत्ता भए, जसमध्ये एक जनाको शव पछि नारायणी नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ भने अन्य अझै हराइरहेका छन् ।
बाढी आउने चेतावनी वनेडरमा रहेको सीमाचौकीबाट आएपछि उद्धार टोली खटिएको थियो । तर पानीको बहाव अनुमानभन्दा धेरै भएपछि उद्धारकर्ताहरू नै जोखिममा परे । घटनाले सीमाक्षेत्रको विपद् व्यवस्थापन तयारीको अवस्था कस्तो रहेछ भन्ने पनि उजागर ग–यो।
अस्तब्यस्त सीमा क्षेत्र
बाढीले व्यापारिक आवतजावतको मुख्य संरचना मितेरी पुल नै बगायो । पुल भत्किएपछि नेपाल–चीन सीमा नाका पूर्ण रूपमा बन्द भयो ।
सडक कटानका कारण रसुवागढीदेखि स्याफ्रुबेँसी सम्मको करिब १६ किलोमिटर सडक विभिन्न स्थानमा भासियो । कतिपय ठाउँमा मानिस हिँड्नसमेत नसक्ने अवस्था बनेपछि सुरक्षाकर्मीले डोरी टाँगेर मानिस वारपार गराएका थिए ।
सीमापार रहेका नेपाली चालक तथा कामदारलाई चिनियाँ पक्षले सुरक्षित रूपमा नेपाल फर्काएको थियो । यसले संकटका बेला सीमा–समन्वयको महत्व देखायो ।
बाढीले बन्दरगाहको आधाभन्दा बढी भाग बगाएको र बाँकी भाग बालुवा–ढुङ्गाले पुरेको थियो। गोदाम, पार्किङ क्षेत्र र उपकरणहरू क्षतिग्रस्त भए। अहिले भने नेपाल इन्टरमोडलको प्राविधिक सहयोगमा थुप्रिएको ढुङ्गा–बालुवा हटाउने, जमिन सम्याउने र अस्थायी संरचना बनाउने केहि काम भए ।
बाढी गएको नौ महिना पछि बन्दरगाह सञ्चालन गरिएको छ । ५०० कन्टेनर अट्ने क्षमता भएको बन्दरगाह निर्माण गरिएको भएपनि बाढीको क्षतिका कारण बढीमा ३०० कन्टेनरसम्म मात्र पार्किङ गर्न सकिने भन्सार कार्यालयले जनाएको छ । असहजताका बाबजुद भन्सार कर्मचारीले मालसामान झार्ने, परीक्षण गर्ने र कर असुल्ने प्रक्रिया सुरु गरेका छन् ।
सडक जोखिममा, वर्षा चुनौती
नदी कटानले क्षतिग्रस्त बनाएका सडकहरूमा सामान्य ट्रयाक खुलिसकेको छ । तर वर्षायाममा बीच बीचमा सुख्खा पहिरो खसेर सडक सञ्चालनमा अवरोध भइरहेको छ । यस सडकखण्डको केही ठाउँमा माथिबाट चलिरहेका सवारी साधनमा ढुङ्गा खसिरहन्छन् । वर्षाको समयमा बाढीको जोखिम त कायमै छ हिउँदमा पनि सुख्खा पहिरो नियमति भएको छ ।
बन्दरगाहा र सीमा नाकामा पनि विपद्को जोखिम कायमै छ । स्थानीय बासिन्दा र चालकहरूका अनुसार पर्खाल, तटबन्ध र स्थायी संरचना निर्माण नगरे पुन: नाका क्षेत्र प्रभावित हुन सक्ने खतरा छ।
विपद् जोखिमलाई सम्बोधन गरेर नाका सञ्चालनलाई दिर्घकालीन बनाउन सरकारले ठोस योजना सार्वजनिक नगरेको स्थानीयको गुनासो छ ।

नेपाल - चीन सीमानाकामा पार्किङमा रहेका कन्टेनरहरु । तस्बिर: ज्ञानेन्द्र न्यौपाने
रसुवागढीनाका प्राचीनकालदेखि व्यापारिक मार्गका रूपमा परिचित मानिन्छ । ऐतिहासिक कथन अनुसार राजकुमारी भृकुटी तिब्बत गएदेखि नै यो मार्ग प्रयोग हुँदै आएको छ । ऐतिहासिक महत्वको यो नाकालाई आधुनिक व्यापारिक केन्द्रको रूपमा २०७२ मंसिर १५ गतेदेखि सुरु भएको हो ।
खासगरी २०७२ सालको भूकम्प र बाढीले प्राचीन तातोपानी नाकामा क्षति पुगेपछि चीनले विकल्पको यसलाई अगाडि सारेको हो । त्यसयता रसुवागढी नाकामा नेपाल–चीन व्यापार सहजीकरणका लागि सीमाक्षेत्रमा पुल, सडक र भन्सार संरचना निर्माण गरिएको थियो।
रसुवागढीदेखि स्याफ्रुबेँसीसम्मको सडक चीन सरकारको सहयोगमा निर्माण गरिएको हो । त्यसलाई स्तरोन्नति गरी फराकिलो बनाउने काम अघि बढिरहेको छ ।
नाका सञ्चालनलाई सहज बनाउने प्रयास भइरहेको बेला असारमा गएको बाढी र सुख्खा पहिरोले थप कठिनाई भइरहेको छ ।
रसुवागढी क्षेत्रमा एकीकृत भन्सार कार्यालय निर्माण सुरु भएको १० वर्ष बितिसक्दा पनि पूर्ण सम्पन्न हुन सकेको छैन। कार्यालयका अनुसार अधूरो संरचनाका कारण एकीकृत रूपमा सेवा सञ्चालन गर्न कठिनाइ भइरहेको छ।
यता बन्दरगाह निर्माणमा पनि प्राविधिक कमजोरी रहेको स्थानीयको दाबी छ । उनीहरूका अनुसार नदी किनारमा तटबन्ध बनाउँदा जग खन्दै नखनी संरचना बनाइएकाले बाढीको दबाबले सजिलै बगाएको हुन सक्छ। यद्यपि यसको औपचारिक प्राविधिक अध्ययन सार्वजनिक भएको छैन ।

प्राकृतिक विपद्द्वारा क्षतिग्रस्त सडक। तस्बिर: ज्ञानेन्द्र न्यौपाने
रसुवागढी क्षेत्र भौगोलिक रूपमा भिरालो भएकाले वर्षायाममा ढुंगा खस्ने, पहिरो जाने र सडक बन्द हुने जोखिम उच्च छ । हुम्ला भएर कैलाश–मानसरोवर तीर्थयात्रामा जाने भारतीयलाई चीनले कडाई गरेपछि अधिकांश तीर्थयात्रीले यही बाटो प्रयोग गर्दै आएका छन् । त्यसका लागि सडक सुरक्षा महत्वपूर्ण भएपनि सुख्खा पहिरो र प्राकृतिक विपद्ले यो बाटो भएर हिड्नेहरुका लागि जोखिमपूर्ण बनाएका छन् । स्थानीयले दिर्घलीन सुरक्षात्मक संरचना निर्माण गर्न सरकारसँग माग गरेका छन् ।
सीमाक्षेत्रको सामाजिक रूपान्तरण
यस नाकाको दिर्घकालीन सञ्चालनमा केही कठिनाई देखिएपनि यसले टिमुरे र आसपासका गाउँमा उल्लेखनीय परिवर्तन आएको छ । पहिले सामान्य तामाङ समुदायको बसोबास रहेको क्षेत्र अहिले व्यापारिक गतिविधिले चहलपहल भएको बजारमा परिणत भएको छ ।
जग्गाको मूल्य आकासिएको छ । कच्ची घरहरू ढलान भवनमा रूपान्तरित भएका छन् ।
होटल, लज, गोदाम र पसलहरू खुलिरहेका छन् । स्थानीयका अनुसार व्यापार बढेसँगै रोजगारीका अवसर पनि बढेका छन् । अहिले दैनिक ५०० भन्दा बढी नेपाली केरूङ क्षेत्रमा पुगेर सीमापार व्यापार गर्ने गरेका छन् ।
भन्सार कार्यालयका अनुसार हाल दैनिक औसत १५–२० कन्टेनर सामान आयात भइरहेको छ। चालू आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म चीनबाट आयातित वस्तुमा लाग्ने करबाट २ अर्ब ९४ करोड १७ लाख रुपैयाँ राजस्व संकलन भएको प्रमुख भन्सार अधिकृत तुलसी प्रसाद भटृराइले जानकारी दिएका छन् ।
सोही अवधिमा ४२ अर्ब ३४ करोड रुपैयाँ बराबर आयात र २ अर्ब ५६ करोड ३३ लाख बराबर निर्यात भएको तथ्यांक छ। यी तथ्यहरूले नाकाको आर्थिक महत्व स्पष्ट पार्छन् ।
पूर्वाधार असमानता र अपेक्षा
स्थानीय व्यवसायी भन्छन्—सीमापार चीनतर्फ आधुनिक गोदाम, पार्किङ र भण्डारण सुविधा प्रशस्त छन्, तर नेपाली पक्षमा अझै पर्याप्त संरचना छैन। सामान राख्न कहिलेकाहीँ त्रिपालकै भर पर्नुपर्ने अवस्था छ ।
चालकहरूले पनि नीति सुधारको माग गरेका छन्। हाल सीमित चालकलाई मात्र केरूङसम्म जाने अनुमति रहेको भन्दै सबै चालकलाई समान अवसर दिन कूटनीतिक पहल आवश्यक भएको उनीहरूको भनाइ छ ।
सीमाक्षेत्रको पुन:सञ्चालनले स्थानीय अर्थतन्त्र चलायमान बनाएको छ । होटल व्यवसाय, ढुवानी सेवा, गोदाम व्यवस्थापन, खुद्रा व्यापार र मजदुरीका अवसर बढेका छन् । स्थानीय युवाहरू रोजगारीका लागि विदेश जानुको सट्टा सीमाक्षेत्रमै काम गर्न थालेका छन्।

नेपाल - चीन सीमानाकामा रहेको गोदाम । तस्बिर: ज्ञानेन्द्र न्यौपाने
यो नाका केवल व्यापारिक मार्ग मात्र होइन, दुई देशबीचको सहकार्य र विश्वासको प्रतीक पनि हो। संकटका बेला सीमापार सहयोग, सडक निर्माणमा सहयोग, र संरचना विकासले द्विपक्षीय सम्बन्धलाई बलियो बनाएको छ ।
भविष्यमा पूर्वाधार विस्तार, व्यापार सहजीकरण र भन्सार प्रणाली आधुनिकीकरण भएमा यो नाका नेपालकै प्रमुख आर्थिक प्रवेशद्वार बन्न सक्ने सम्भावना छ ।
असारको बाढीले रसुवागढी क्षेत्रलाई ठूलो धक्का दियो—मानवीय क्षति, भौतिक विनाश र आर्थिक अवरोध। तर पुनर्निर्माण, सफाइ र सञ्चालन प्रयासले अहिले आशा फर्काइरहेको छ ।
यदि बाँकी संरचना शीघ्र निर्माण गरिए, सडक सुरक्षित बनाइए र नीतिगत सुधार गरिए भने रसुवागढी सुख्खा बन्दरगाह केवल पुनर्जीवित मात्र होइन, नेपाल–चीन व्यापारको शक्तिशाली केन्द्र बन्न सक्छ ।
स्थानीयको अपेक्षा स्पष्ट छ—पूर्वाधार समयमै बनोस्, व्यापार सहज होस्, रोजगारी बढोस्, र सीमाक्षेत्र समृद्धिको नमुना बनोस् ।
