झापा ५ः ओलीको ‘लालकिल्ला’मा बालेन्द्रको धावा

माघ २०८२ - झापा–५ मा यसपटकको चुनाव जित–हारको प्रतिस्पर्धा मात्रै हुने छैन । यो पुरानो राजनीतिक निरन्तरता र नयाँ राजनीतिक प्रयोगबीचको टकरावको रुपमा रहने छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले झापा निर्वाचन क्षेत्र नम्बर–५ लाई राष्ट्रिय राजनीतिको केन्द्रमा उभ्याएको छ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र भएकै कारण चर्चामा रहने यो भूगोल यसपटक अर्को कारणले थप तातिएको छ, काठमाडौंका पूर्वमेयर बालेन्द्र शाहको अप्रत्याशित प्रवेशले ।

दुई ‘हेभिवेट’ नेताको भिडन्तले झापा–५ को चुनावलाई क्षेत्रीय प्रतिस्पर्धा मात्रै नभई राष्ट्रिय बहसको विषय बनाएको छ । चिया पसलदेखि भट्टीसम्म, चोकदेखि चौतारासम्म एउटै प्रश्न गुञ्जिरहेको छ—ओलीले आफ्नो ‘गढ’ जोगाउने कि बालेनले नयाँ पुस्ताको लहर ल्याउने ?

गत माघ ६ को मनोनयन दर्ताका क्रममा दमकमा देखिएको बालेन्द्र समर्थकको भीडले राजनीतिक तापक्रम अझ बढाएको छ । एमालेका केन्द्रीय सदस्य तथा प्रदेश सांसद होमबहादुर थापाले भने, ‘एमालेका मतदाताहरु भिडको पछि दौडिदैनन्, विचारको पछि दौडिन्छन्।’

मनोनयन दर्तापछि उनको झापा आउजाउ बाक्लिएको छ । विशेषतः एमाले र कांग्रेसका असन्तुष्ट युवालाई आकर्षित गर्न उनी प्रयासरत छन् । देहातदेखि सहरका गल्लीगल्लीमा मत माग्न थालेका छन् । केही ठाउँका मतदाताहरुसंग त्यो क्षेत्रको समस्या बारे छलफल समेतमा उनी जुट्न थालेका छन् । दमक कांग्रेसका सभापति प्रकाश प्रसाईंले पार्टी त्यागेर समर्थन घोषणा गरिसकेका छन् । कांग्रेसका महेन्द्र बुढाथोकी, एमालेनिकट युवा संघका छवि खतिवडा र विजय तामाङ रास्वपामा प्रवेश गर्नुले प्रभाव फेरिने संकेत दिएको छ ।

झापा–५ एमालेको ‘लालकिल्ला’ मानिन्छ । २०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ गरी ६ पटक ओली यहि क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका छन् । २०५६ मा त झापाका दुई क्षेत्रबाट उठेर दुवैमा विजयी भएका थिए । २०६४ मा देशभरि आएको माओवादी लहरले ओलीको ‘लालकिल्ला’ पनि भत्किएको थियो । सशस्त्र विद्रोह पछि शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको माओवादीको प्रभावका कारण २०६४ ओली विश्वदिप लिङ्देनसंग पराजित भएका थिए ।

२०७९ मा उनले देशकै सबैभन्दा बढी ५२ हजार ३ सय १९ मत ल्याएका थिए । कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७ सय ४३ मत पाएका थिए भने रास्वपाका सुरेशकुमार पोखरेल ११ हजार ७ सय ४८ मतसहित तेस्रो बनेका थिए । तर, त्यो चुनावमा एमाले–राप्रपा–माओवादी गठबन्धनको साथ थियो । यसपटक सबै प्रमुख दल एक्लाएक्लै मैदानमा छन् ।

 

झापा ५ मा उम्मेदवारी दर्ता गर्ने पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह । तस्बिर: पर्वत पोर्तेल

दमकका युवा अभियन्ता सन्तोष दुलालका अनुसार विगतमा ओली मतदाताहरुप्रति ढुक्क हुन्थे । तर, यसपटक उनी बेचैन छन् । त्यही भएर गत २३ माघमामनोनयन दर्ता गराएपछि पार्टी अध्यक्ष ओली झापामा केन्द्रित भएका छन् । झापा बसाईका क्रममा उनका गतिविधी पूर्णरुपमा मतदाता केन्द्रित बनाएका छन् । दुलाल भन्छन्, ‘यसपटक ओली पहिलेझैं ढुक्क देखिदैनन् । बालेन्द्रको आगमनले उनको चैन हराएको छ ।’

यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन्द्रको क्रेज देशैभर देखिन्छ । जसले ओली मात्रै हैन अन्य ठूला दलका हेभिवेट भनिनेहरु पनि संगै उछिट्याउने सम्भावना रहेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

सीमावर्ती क्षेत्रको मत बदलिने संकेत

झापा–५ मा दमकका १० वटै वडा, कमल गाउँपालिकाका ७ वटै वडा, गौरादहका १–८ वडा र भारतको बिहारसंग सिमाना जोडिएको गौरीगञ्ज गाउँपालिकाका ३–६ वडा पर्छन् । कुल मतदाता १ लाख ६३ हजार ३ सय ७९ छन् । यसपटक ९ हजार ९० नयाँ मतदाता थपिएका छन् । थपिएका मतदाताले चुनावी निरन्तरतालाई परिवर्तनको संकेत गरेका छन् । सीमावर्ती गौरीगञ्ज–६ का ६८ वर्षीय बुटन राजवंशी भन्छन्, ‘धेरै चुनाव देखियो । पुरानालाई धेरै भोट दिइयो । तर, गाउँको हालत उस्तै छ । यसपटक नयाँलाई मौका दिनुपर्छ जस्तो लागेको छ ।’

राजवंशीका अनुसार, सीमामा बस्ने आदिवासी र किसान समुदाय रोजगारी, सिंचाइ र सीमा–सुरक्षाका मुद्दामा स्पष्ट योजना खोजिरहेका छन् । गौरीगञ्ज–४ की ३५ वर्षीया शान्ति मुर्मू भन्छिन्, ‘नेता चुनावताका मात्रै आउँछन् । सीमा क्षेत्रमा बाटो, स्वास्थ्य चौकी र बजार व्यवस्थापनको समस्या पुरानै छ । जसले हाम्रो कुरा सुन्छ, उसैलाई भोट दिन्छौं । नाम होइन, काम चाहियो ।’

कमल गाउँपालिकाका २ का किसान हर्कराज राईको भनाइ पनि फरक छैन, ‘हामीलाई पार्टीभन्दा नीति चाहियो । मल–बीउ, बजार र बाढी नियन्त्रण कसले गर्छ, त्यो हेर्छौं ।’

प्रधानमन्त्री आकांक्षीको प्रत्यक्ष भिडन्त

रास्वपाले बालेन्द्रलाई ‘भावी प्रधानमन्त्री’को रूपमा प्रस्तुत गरेको छ । एमालेले पनि ओलीलाई प्रधानमन्त्रीकै दाबेदारका रूपमा अघि सारेको छ ।

कमल गाउँपालिकाका जेन्जी मतदाता क्षितिज लिम्बू ठट्टा गर्छन्, ‘जसले जिते पनि हाम्रो क्षेत्रबाट प्रधानमन्त्री बन्ने सम्भावना छ । यसपटक चुनाव रमाइलो हुनेवाला छ ।’

झापा ५ मा उम्मेदवारी  दर्ता गर्ने क्रममा पूर्व प्रधानमन्त्री के.पी शर्मा ओली। तस्बिर: पर्वत पोर्तेल

कांग्रेसले मन्दरा चिमरियालाई उम्मेदवार बनाएको छ । राप्रपाबाट लक्ष्मीप्रसाद संग्रौला, नेकपाले रञ्जित तामाङ, श्रम संस्कृति पार्टीबाट समिर तामाङ मैदानमा छन् । यो क्षेत्रमा २४ जना मैदानमा छन् ।

जसमा स्वतन्त्र उम्मेदवार मात्रै ९ जना छन् । स्वतन्त्र उम्मेदवार रन्जना गौतम भन्छिन्, ‘जित्नकै लागि मैदानमा ओर्लिएकी छु ।’

यो क्षेत्रमा २०७४ र २०७९ मा एमाले–राप्रपावीच तालमेल भएको थियो । जसले ओलीलाई जित्न सहज भएको थियो । तर, यसपटक विगतको जस्तो समीमरण छैन । सवै दलहरु एक्ला एक्लै उम्मेदवार वनेका छन् । राप्रपाले मार्वल व्यवसायी संघका अध्यक्ष लक्ष्मीप्रसाद संग्रौलालाई उठाएको छ । राप्रपा झापाका

अध्यक्ष केशव ओझा भन्छन्, ‘एमालेसंग तालमेल नहुने पक्का भएपछि आफ्नै उम्मेदवार उठाएका हौं । यो क्षेत्र अब बहुदलीय प्रतिस्पर्धाको मैदान बनेको छ ।’

युवामा पुस्तान्तरणको बहस

यसपटकको चुनावी बहसको केन्द्रमा ‘पुस्तान्तरण’ छ । एमालेकै एक युवा नेता भन्छन्, ‘नेतृत्व परिवर्तन स्वाभाविक प्रक्रिया हो । तर, अनुभव र राष्ट्रिय हैसियत पनि मूल्यवान हुन्छ ।’

कांग्रेस निकट एक युवा नेता भने सावधानी सुझाउँछन्, ‘पुस्तान्तरण आवश्यक छ, तर त्यो स्थानीय संघर्षबाट आएको नेतृत्वमार्फत हुनुपर्छ । लोकप्रियता मात्रै दीर्घकालीन राजनीति हुँदैन ।’

रास्वपाका युवा नेता देवीप्रसाद पाठक दाबी गर्छन्, ‘बालेन हचुवाको भरमा आएका होइनन् । क्षेत्र घुमेर, मतदाता सुनेर मात्र निर्णय गरिएको हो ।’

झापा–५ को चुनाव अब अंकगणितभन्दा पनि मनोविज्ञानको लडाई बन्दै गएको छ ।

सीमावर्ती क्षेत्रदेखि सहरसम्म एउटै प्रश्न उठिरहेको छ, नेतृत्व परिवर्तन नाममा मात्र हुने कि सोच र कार्यशैलीमै परिवर्तन आउने ?दमक–९ का व्यवसायी अर्जुन बस्नेत भन्छन्, ‘ओलीको अनुभव र पहुच छ । तर, युवाले उठाएको प्रश्न पनि बेकार छैन । यसपटक भोट हाल्दा धेरै सोच्नुपर्ने भएको छ ।’

गौरीगञ्ज–५ का युवा कृषक रञ्जित राजवंशीको भनाइ अझ स्पष्ट छ, ‘हामीलाई भाषण होइन, बजार र रोजगारी चाहियो । जसले हाम्रो पुस्तालाई यही बस्न सक्ने बनाउँछ, उसैलाई भोट दिन्छौं ।’

झापा–५ मा यसपटकको चुनाव जित–हारको प्रतिस्पर्धा मात्रै हुने छैन । यो पुरानो राजनीतिक निरन्तरता र नयाँ राजनीतिक प्रयोगबीचको टकरावको रुपमा रहने छ ।

 

झापा ५ मा चुनाव प्रचारप्रसारका लागि पुगेका नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार पूर्व प्रधानमन्त्री के.पी शर्मा ओली। तस्बिर: पर्वत पोर्तेल

झापामा ओलीको राजनीतिक विरासत छ । त्यहीको बासिन्दा भएकाले स्थानीयको समर्थन पाउने उनको आशा छ । जेनजी आन्दोलनपछि सत्ताबाट बाहिरिएका ओली फेरि सत्तामा फर्कन खोजिरहेका छन् । जेनजी आन्दोलनको लहरपछि थप लोकप्रिय भएका बालेन सांगठानिक शक्ति आर्जन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेर ओलीलाई चुनौति दिन मैदानमा उभिएका छन् ।

गौरादहका मतदाता खड्गवहादुर विश्वकर्मा भन्छन्, ‘अबको मुल प्रश्न कसले जित्छ भन्ने भन्दा पनि कस्तो राजनीतिले जित्छ भन्ने हो ।’

author

Parwat Portel

CESIF Fellow