संखुवासभामा नयाँ भर्सेस पुराना दलको भिडन्त

माघ २०८२ - संखुवासभा प्राकृतिक स्रोत–साधनले सम्पन्न जिल्ला हो । मकालु–बरुण राष्ट्रिय निकुञ्ज, विश्वका आठ हजार मिटरभन्दा माथिका हिमाल, अरुण र तमोर नदी, जडीबुटी, धार्मिक तथा सांस्कृतिक सम्पदा । यी सबै यहाँको पहिचान र सम्भावना हुन् । तर दशकौँदेखि दोहोरिँदै आएको मतदाताको गुनासो उही छ । पूर्वाधारको अभाव, दुर्गम बस्तीमा आधारभूत सेवाको कमी, कमजोर सडक सञ्जाल, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा पहुँचको समस्या ।

संखुवासभा अहिले चुनावी माहोल तातेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा जिल्लाका चोक, बजार, गाउँबस्ती र सामाजिक सञ्जालमा एउटै प्रश्न गुञ्जिरहेको छ, यसपटक कसले जित्ला ?

यसपटकको निर्वाचनमा एक स्वतन्त्र सहित १५ राजनीतिक दलका उम्मेदवारसहित १६ जनाको प्रतिस्पर्धाले विशेष बनेको छ । सबैभन्दा रोचक पक्ष के भने चुनावी प्रतिस्पर्धामा रहेका सबै नयाँ अनुहार हुन । धेरैले यसपटकको निर्वाचनलाई ‘नयाँ अनुहारको चुनाव’का रूपमा विश्लेषण गरिरहेका छन् ।

केही नयाँ आशा बोकेका उम्मेद्वारका अगाडी पुरानै समस्याको चाङ् छ । यसले संखुवासभाको चुनावी मैदान थप रोचक भएको छ ।

संखुवासभामा प्रचुर संभावना भएपनि युवाहरू रोजगारीको खोजीमा खाडी मुलुक र सहरतर्फ पलायन भइरहेका छन् । कृषिमा निर्भर अधिकांश परिवार आधुनिक प्रविधि र बजार पहुँचको अभावमा संघर्षरत छन् । खाँदबारीका ८० बर्षीय मतदाता इन्द्रकिशान दाहाल भन्छन्, “संभावना त धेरै छन् । तर हामीले बर्षै देखि सुनेको विकास भाषणमै सीमित छ”, उनले भने, “अब परिणाम देख्न चाहियो ।”

चुनावी मैदानमा उत्रिएका अधिकांश उम्मेदवारका एजेन्डा समान छन् । पर्यटन प्रवद्र्धन, जलविद्युत् सम्भावनाको उपयोग, ग्रामीण सडक स्तरोन्नति, सुरक्षित खानेपानी, गुणस्तरीय शिक्षा र स्वास्थ्य, रोजगारी सिर्जना, सुशासन र पारदर्शिता यी सबै यहाँका उम्मेदवारका चुनावी नारा हुन् । तर मतदाताको प्रश्न एजेन्डाभन्दा व्यवहारमा केन्द्रित छ । योजना त सबैले राम्रो सुनाउँछन्, खाँदबारीका मतदाता रामकुमार खत्रीले भने, “तर पाँच वर्षपछि फर्केर हेर्दा के परिवर्तन देखिन्छ? मतदातापार्टीको नाममा मत हाल्ने अवस्थामा अब छैनन्, उनले भने उनीहरू परिणाम खोजिरहेका छन् ।”

प्रतिनिधि सभा निर्वाचनका लागि संखुवासभाबाट १६ उम्मेदवार भए पनि मतदाताहरु मुख्य भिडन्त नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र स्वतन्त्र पार्टी (रास्वपा) उम्मेद्वारको बीचमा हुने मतदाताको आकलन छ ।

कांग्रेसबाट दीपनकुमार श्रेष्ठ चुनावी मैदानमा छन् । उनी पर्यटन, जलविद्युत् र स्थानीय रोजगारीलाई प्राथमिकतामा राख्ने बताउँछन् । मकालु–बरुण क्षेत्रलाई व्यवस्थित पर्यटन गन्तव्य बनाउने, धार्मिक स्थलको प्रचार–प्रसार गर्ने र जलविद्युत् आयोजनामा स्थानीयको स्वामित्व सुनिश्चित गर्ने उनको प्रतिबद्धता छ । “कांग्रेस अघिल्लो निर्वाचनमा विजयी भएको दल हो,” उनले भने, “संगठनात्मक आधार अझै बलियो छ, हामी चुनाव जित्छौ ।”

एमालेले नेपालका लागि पूर्व अमेरिकी राजदूत डा. अर्जुनकुमार कार्कीलाई उम्मेदवार बनाएको छ । लामो समय गैरसरकारी क्षेत्रमा रहेका काम गरेका कार्की जलस्रोत, धार्मिक पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर चुनावी अभियानमा छन् । “संखुवासभाको विकासका लागि पछि हट्दिन,” उनले भने, “समानुपातिक मततर्फ अघिल्लो निर्वाचनमा एमाले बलियो देखिएको थियो । त्यसैले एमालेले यसपटक नतिजा उल्ट्याउने रणनीति बनाएको छ ।”

नेपाली कम्युनिष्ट पार्टीबाट सरिता थापा खड्का मैदानमा छिन् । कोशी प्रदेशसभामा काम गरिसकेको अनुभवलाई आधार बनाएर उनी सुशासन, पारदर्शिता र जनउत्तरदायित्वको मुद्दा उठाइरहेकी छिन् ।

रास्वपाले कीर्तिमानी आरोही मिङ्मा शेर्पालाई उम्मेदवार बनाएको छ । यस अघि नेपाली काविश्वका १४ वटा आठ हजार मिटरभन्दा माथिका हिमाल आरोहण गरिसकेका पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय अनुभवलाई राजनीतिक पूँजी बनाउँदै उनी संखुवासभालाई ‘पर्यटनको विश्व मानचित्रमा’ उभ्याउने दाबी गर्छन् । रवि लामिछाने र बालेन्द्र शाह रास्वपा प्रवेश गरेपछि जिल्लामा यसको चर्चा उल्लेखनीय रूपमा बढेको छ ।

जेन–जी आन्दोलनपछि उदाएका नयाँ दलहरूले पनि जिल्लामा वैकल्पिक राजनीतिक धार निर्माण गर्ने प्रयास गरिरहेका छन् ।

श्रम संस्कृति पार्टीबाट उमादेवी राई उम्मेदवार छिन् । हर्क साम्पाङ नेतृत्वको यो पार्टी पूर्वी क्षेत्रमा विस्तार हुँदै गएको छ । राष्ट्रिय परिवर्तन पार्टीबाट घनश्याम वालिङ राई उम्मेदवार छन् । जेन–जी आन्दोलनमा खुट्टा गुमाएका राजेश पोर्तेल नेतृत्वको यो दल ‘त्याग र परिवर्तन’ को मुद्धासहित अघि बढिरहेको छ ।

यस्तै, नेपाल मजदुर किसान पार्टी, मंगोल अर्गनाइजेसन, जसपा नेपाल, नेपाल जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाली जनश्रमदान संस्कृति पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका दलले पनि आफ्ना एजेन्डा लिएर गाउँबस्तीमा सक्रियता बढाएका छन् । मादी नगरपालिका–४ का वासुदेव दाहाल स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् । यी दललाई प्रत्यक्ष जित कठिन भए पनि मत विभाजनमा प्रभाव पार्न सक्छन् ।

संखुवासभाबाट उठेका विभिन्न राजनीतिक दलहरुका उम्मेदवार । तस्बिर: दीपेन्द्र शाक्य

यस्तै, नेपाल मजदुर किसान पार्टी, मंगोल अर्गनाइजेसन, जसपा नेपाल, नेपाल जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाली जनश्रमदान संस्कृति पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका दलले पनि आफ्ना एजेन्डा लिएर गाउँबस्तीमा सक्रियता बढाएका

छन् । मादी नगरपालिका–४ का वासुदेव दाहाल स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् । यी दललाई प्रत्यक्ष जित कठिन भए पनि मत विभाजनमा प्रभाव पार्न सक्छन् ।

२०७९ को निर्वाचनमा कांग्रेसका दीपक खड्काले ३२,१६१ मत ल्याएर निर्वाचित भएका थिए । एमालेका राजेन्द्रप्रसाद गौतमले २६,७२१ मत प्राप्त गरेका थिए । समानुपातिक मततर्फ एमालेले २४,९४८, कांग्रेसले २२,७३१ र माओवादीले ६,३५८ मत पाएका थिए । त्यतिबेला रास्वपाले १,१३६ मत मात्रै पाएको थियो ।

जेन जी आन्दोलन पछि जिल्लाको परिस्थिति फेरिएको छ । नयाँ अनुहार, नयाँ समीकरण र मतदाताको मनोविज्ञानमा आएको परिवर्तनले नतिजा अनुमान गर्न कठिन बनाएको छ । निर्वाचन आयोगमा दर्ता भएका १ लाख १९ हजार ६३० मतदाताले नै उम्मेद्वारको भाग्य र भविष्य निर्धारणकर्ता हुन ।

जिल्लामा मतदानका लागि १०९ मतदानस्थल र १६४ मतदान केन्द्र तोकिएका छन् । गाउँघर चियापसल र मेलापातका चुनावी बहसमा नयाँ दलप्रति आकर्षण छ । तर अनुभवप्रतिको भरोसा पनि कम छैन ।

मतदाता दाहालले भने, “हामीले धेरै परिवर्तन देख्यौँ । तर विकासको गति उस्तै छ । अब कसले काम गर्छ, त्यहीँलाई मत दिन्छौ ।” युवा पुस्ता भने रोजगारी, डिजिटल पहुँच, उद्यमशीलता र पारदर्शितामा बढी चासो राखेका छन् ।

जलविद्युत् सम्भावना विशाल भए पनि स्थानीय स्वामित्व, वातावरणीय सन्तुलन र लाभको न्यायोचित बाँडफाँट सुनिश्चित गर्नुपर्ने चुनौती उम्मेदवारलाई छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा संघीय बजेट ल्याउने मात्र होइन, पारदर्शी कार्यान्वयन र प्रभावकारी अनुगमन आवश्यक छ । फागुन २१ को निर्वाचनले प्रतिनिधि चयन गर्दैन, यो संखुवासभाको आगामी पाँच वर्षको दिशा तय गर्ने जनमत हो । नयाँ अनुहारको उत्साह, पुराना दलको अनुभव, वैकल्पिक शक्ति । यी सबै तत्व मिलेर यसपटकको चुनावलाई ऐतिहासिक मोडमा उभ्याएका छन् ।

सुशासन, पारदर्शिता र जनउत्तरदायी शासन प्रणाली स्थापना गर्ने विषय चुनावी बहसको केन्द्रमा छ । भ्रष्टाचार नियन्त्रण, जनताको सिधा पहुँच हुने प्रतिनिधि बन्ने र विकास योजनामा स्थानीयको सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता उम्मेदवारहरूले व्यक्त गरिरहेका छन् । जनताले दिएको मतको सम्मान गर्दै पाँच वर्ष जिम्मेवार प्रतिनिधिको भूमिका निर्वाह गर्छौं भन्ने वाचा अधिकांश उम्मेदवारको मुखबाट सुनिन्छ । मतदाताहरू नयाँ अनुहारको मूल्याङ्कन कसरी गर्ने भन्ने विषयमा चोक–चोक र चियापसलदेखि सामाजिक सञ्जालसम्म छलफलमा जुटिरहेका छन् । धेरै उम्मेदवार र उस्तै एजेण्डाबीच कसले व्यवहार, विश्वसनीयता र स्पष्ट योजनामार्फत मतदाताको विश्वास जित्ने हो भन्ने प्रश्नले संखुवासभाको चुनावी माहोललाई थप रोचक बनाएको छ ।

author

Dipendra Shakya

CESIF Fellow