माघ २०८२ - पूर्व गृहमन्त्री बालकृष्ण खाँणको आगामीे प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रतिस्पर्धामा छैनन् । उनको गृह क्षेत्र रूपन्देही–३ मा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट नयाँ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।
कांग्रेसले यस पटक खाँणलाई किनारा लगाएर उनको ठाउँमा रूपन्देही–३ का क्षेत्रीय सभापति सुशील गुरुङलाई उम्मेद्वार बनाएको छ । सिद्धार्थ नगरका बासिन्दा गुरुङ राजनीतिसँगै सामाजिक क्षेत्रमा क्रियाशील छन् ।
‘सामाजिक क्षेत्रमा क्रियाशील रहेकाले यहाँका समस्याबारे जानकार छु,’ गुरुङले भने, ‘ती सामस्या हल गर्ने गरी चुनावका एजेण्डा तयार गर्छु । कांग्रेसले युवालाई अवसर दिएकाले मतदातामा सकारात्मक सन्देश गएको छ ।’
विद्यार्थी राजनीतिको पृष्ठभूमीबाट आएक गुरुङले भैरहवाकास्थित विभिन्न संघ–संस्थाको नेतृत्व गरिसकेका छन् ।
यसअघि रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा निर्वाचन निर्वाचित वासुदेव घिमिरे एमालेको तर्फबाट चुनावमा होमिएका छन । तिलोत्तमा नगरपालिका प्रमुख भएर काम गरिसकेका उनी स्थानीय तहका समस्या बुझेका नेता हुन । उम्मेद्वारी दर्ता गर्नु अघि एमाले परित्याग गरेको घोषणा गरेका पूर्व सांसद एमाले नेतृत्वको आग्रहमा फेरि एमालेमा फकिएका हुन् । रुपन्देही जिल्लाकै भएपनि घिमिरे यस निर्वाचन क्षेत्रका नयाँ नेता हुन् भने अन्य प्रमुख राजनीतिक दलहरुले पनि नयाँ उम्मेदवारलाई प्राथामिकता दिएका छन् । नयाँ युवा उम्मेदवारको बाहुल्यताका कारण यो क्षेत्रले जिल्लाका अन्य निर्वाचन क्षेत्रभन्दा बढी ध्यान तानेको छ ।
एमालेले नगर प्रमुख र प्रतिनिधिसभा सदस्यका रूपमा काम गरिसकेको अनुभवलाई आधार मानेर वासुदेव घिमिरेलाई क्षेत्र नम्बर ३ मा उम्मेदवार बनाएको एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले बताए । स्थानीय सरकार प्रमुख भएको बेला केही राम्रा कामको विरासत छोडेर सांसद भएका घिमिरे स्थानीय समस्याको बारेमा जानकार छन् । २०७९ मा कांग्रेसका भरतकुमार शाहलाई पराजित गर्दै रुपन्देही–५ बाट निर्वाचित भएका थिए । त्यसअघि २०७४ मा उनी तिलोत्तमा नगरपालिकाका नगर प्रमुख थिए । घिमिरे नगर प्रमुखका रूपमा तिलोत्तमालाई राष्ट्रिय पहिचान दिलाएको दाबी गर्छन् । प्रतिनिधि सभा सदस्यको रुपमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन, मल–खाद, सिँचाइ, कृषि र पर्यटनका विषयमा निरन्तर आवाज उठाएर स्थानीय जनतासंग सम्बन्ध स्थापना गरेर बलियो उम्मेद्वारको रुपमा प्रस्तुत गरेको उनको बुझाई छ ।
रूपन्देही–३ बाट रास्वपाले न्युरो चिकित्सक लेखजङ्ग थापालाई उम्मेदवार बनाएको छ । यसअघि यसै क्षेत्रमा तोकिएको उपनिर्वाचनमा थापालाई उम्मेदवार घोषणा गरिएको थियो तर जेन जी आन्दोलनका कारण तोकिएको स्थानीय निर्वाचत हुन सकेन । थापा पहिलोपटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हुन् । स्वास्थ्य र शिक्षा क्षेत्रमा आमूल परिवर्तन जरुरी रहेकाले आफू राजनीतिमा होमिएको थापाले बताए । ‘चिकित्सक भएकाले रूपन्देहीको सिमावर्ती क्षेत्रका बासिन्दालाई कसरी भरपर्दो उपचार सेवा गर्ने भन्नेबारे चिन्तित छ,’उनले भने, ‘चुनावमा पनि शिक्षा, स्वास्थ्य र रोजगारका एजेण्डामा जोड दिन्छु ।’राजनीतिसंगै लामो समयदेखि स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका थापाले पूर्वाधार र सम्भावनाले भरिपूर्ण हुँदाहुँदै पनि क्षेत्र नम्बर ३ पछाडि परेकाले यसको राष्ट्रिय पहिचानका लागि आफू उम्मेदवार बनेको बताएका छन्।
रूपन्देही–३ बाट राप्रपाले वरिष्ठ विमान चालक गौरव बोहरालाई मैदानमा उतारेको छ । गौरब ०७९ मा यसै निर्वाचन क्षेत्रबाट विजयी दिवंगत राप्रपा नेता दीपक बोहराका जेठा छोरा हुन् । उपनिर्वाचन घोषणा भएदेखि राप्रपाबाट गौरव र उनका भाइ प्रज्वलले उम्मेदवारीमा चासो देखाइरहेका थिए । इन्जिनियर प्रज्वललाई राप्रपाले रूपन्देही–१ बाट उम्मेदवार बनाएको छ । ३० वर्षदेखि हवाई उडानमा संलग्न गौरव अहिले प्रशिक्षक पाइलट हुन् । ‘उड्यन क्षेत्रमा लामो समय बिताए,’ उनले भने, ‘अहिले बुवाकै निर्वाचन क्षेत्रमा चुनाव लड्न आएको छु, बुवाबाट सिकेको राजनीतिले मलाई पनि सहयोग गर्ने विश्वास लिएको छुँ ।’
बुवाको प्रचारका क्रममा मतदातासित घुलमिल हुने अवसर पाएकाले चुनाव नौलो नहुने उनले बताए ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो क्षेत्रमा दल र स्वतन्त्र गरी ३६ जनाको उम्मेदवारी परेको छ । १ लाख ४ हजार ३५ मतदाता रहेको उक्त क्षेत्रमा ठूला दलबाट नेपाली कांग्रेसका तर्फबाट सुशील गुरुङ, एमालेबाट वासुदेव घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डा. लेखजंग थापा, राप्रपाबाट गौरव बोहरा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट फैज अहमद खाँ र जसपा नेपालबाट श्रीनिवास यादव उम्मेदवार बनेका छन् ।
जनमत पार्टीले यसपटक भैरहवाका युवा विशाल गुप्तालाई उम्मेदवार बनाएको छ। उनी जेनजी समूहका युवामाझ लोकप्रिय मानिन्छन् । रोचक पक्ष के छ भने यस क्षेत्रबाट यसअघि प्रतिनिधिसभामा उम्मेदवार बनेका केही अनुहार दोहोरिएका छन् ।
यस क्षेत्रमा भैरहवाका युवा राजनीतिकर्मी गोपाल भण्डारीले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन । उनी २०७९ मा प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर पराजित भएका थिए ।
२०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट बहाल गृहमन्त्री बालकृष्ण खांणलाई राप्रपाका उम्मेदवार दीपक बोहराले पराजित गरेका थिए । बोहराले २०७४ मा पनि कांग्रेससँग र २०७९ मा एमालेसँग तालमेल गरेर निर्वाचन जितेका थिए ।
गृहमन्त्रीबाट हटे लगत्तै नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल गएका खाँण अहिले राजनीतिमा त्यति सक्रिय छैनन् । निर्वाचनमा खाँणको समर्थन र सक्रियता, जेन जी आन्दोलनको प्रभाव र दलीय प्रतिस्पर्धाले मत परिणामलाई निर्धारण गर्नेे आँकलन छ ।
