साउन २०८३ - नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका जोड्ने बाह्रबिसे–कोदारी सडक हप्तौ देखि अवरुद्ध हुँदा उत्तरी नाकाको व्यापार ठप्प बनेको छ । सडक खुलाउन पहिरो पन्छाउनुपर्ने भए पनि पहिरो माथिका जोखिमपूर्ण बस्तीका कारण ठूला उपकरण प्रयोग गर्न नसकिदा सडक खुलाउने काम अनिश्चित बनेको हो ।
परिणामस्वरूप नेपाल र चीन दुवैतर्फ करोडौं रुपैया बराबरका सामान बोकेका सयौं कन्टेनर रोकिएका छन् भने सरकारको राजस्व संकलनमा समेत प्रत्यक्ष असर परेको छ । लगातारको वर्षापछि बाह्रबिसे–कोदारी सडकखण्डको इको र चारकिलो क्षेत्रमा ठाउँ ठाउँमा ठूला पहिरो खसेका छन् । सडक खुलाउन एक्स्काभेटर प्रयोग गर्नुपर्ने अवस्था भए पनि पहिरोमाथि रहेको बस्ती थप जोखिममा पर्ने भन्दै स्थानीयले उत्खनन गर्न दिएका छैनन् । सडक विभागले पनि बर्खायाममा स्थायी समाधान सम्भव नभएको जनाएको छ ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका कार्यसमिति सदस्य राजेश भण्डारीका अनुसार चीनतर्फ स्याउ, सुन्तला, अदुवा, रेडिमेड सामग्री, विद्युतीय उपकरणलगायतका सामान बोकेका करिब १ सय ५० कन्टेनर रोकिएका छन् । नेपालतर्फ पनि दर्जनौं कन्टेनर सडकमै अलपत्र छन् ।
“नेपालको सडक नखुल्दा चीनको न्यालाम र आसपासका क्षेत्रमा करोडौं रुपैयाँ बराबरका सामान लोड गरिएका ४५ भन्दा बढी कन्टेनर उतै रोकिएका छन्,” उनले भने, “सरकारले हाम्रो समस्या कहिले देख्छ ?”
व्यापार पूर्ण रुपमा ठप्प हुँदा व्यवसायीले दैनिक ठूलो आर्थिक क्षति बेहोर्नुपरेको छ । आयात रोकिँदा बजारमा सामान अभाव हुने चिन्ता बढेको छ भने भन्सार राजस्वमा पनि ठूलो गिरावट आएको छ ।
बस्ती कि सडक ?
भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठका अनुसार अहिले सबैभन्दा जटिल अवस्था चारकिलो क्षेत्रमा छ । पहिरोमाथि ५० भन्दा बढी घर रहेको बस्ती भएकाले भारी उपकरण चलाउँदा कम्पनका कारण गाउँ नै बग्ने जोखिम रहेको छ । “स्थानीयले आफ्नो बस्ती जोगाउन सडक उत्खनन गर्न दिएका छैनन्,” उनले भने, “यता सडक नखुल्दा व्यापार ठप्प छ, उता गाउँ जोगाउनुपर्ने बाध्यता छ ।”
उनका अनुसार इको पहिरो व्यवस्थापनको जिम्मा चिनियाँ पक्षको भए पनि चारकिलो क्षेत्रमा तत्काल समाधान निकाल्न कठिन देखिएको छ । इको क्षेत्रमा मात्रै करिब ६० परिवार प्रत्यक्ष जोखिममा छन् । जमिन निरन्तर भासिँदै गएको र भासिएको माटो भोटेकोशी नदीले बगाइरहेकाले बस्ती थप जोखिममा परेको उनले बताए ।
चारकिलोको पन्थली गाउँका ५० भन्दा बढी घर पनि पहिरोको उच्च जोखिममा छन् । स्थानीयका अनुसार बाह्रबिसेदेखि तातोपानीसम्म दर्जनभन्दा बढी सक्रिय पहिरो छन् । एउटा स्थान सफा गर्दैमा सडक सञ्चालन हुने अवस्था नरहेकाले तत्काल समाधान अझै टाढा देखिएको छ ।
मन्त्री पुगे, सडक खुलेन
पहिरो प्रभावित क्षेत्रको अनुगमन गर्न तातोपानी पुग्नुभएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल । तस्बिर: अनिश तिवारी
साउन १० गते तातोपानी पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम तथा सडक विभागका महानिर्देशक डा. विजय जैसीले बर्खायाममा स्थायी रूपमा सडक सञ्चालन सम्भव नभएको बताएका थिए । उनीहरुले वर्षा कम भई घाम लागेपछि मात्रै अस्थायी रूपमा सडक खुलाउने प्रयास गर्न सकिने बताएका थिए । इको पहिरोको दीर्घकालीन व्यवस्थापन चिनियाँ पक्षले गर्ने जानकारी पनि त्यसक्रममा दिइएको थियो । तातोपानी भन्सारमा मन्त्रीद्वय, सडक विभाग, भन्सार, अध्यागमन, जिल्ला प्रशासन र सुरक्षा निकायबीच पुनः छलफल भए पनि सडक खुलाउने विषयमा कुनै ठोस निष्कर्ष निस्कन सकेन । स्थानीयले उत्खनन गर्न अस्वीकार गरेपछि मन्त्रीहरुको टोली फर्किएको थियो ।
राजस्वमा ठूलो गिरावट
सडक अवरुद्ध भएसँगै तातोपानी नाकाबाट हुने आयात व्यापार पूर्ण रूपमा ठप्प भएको छ । स्थानीय र व्यवसायीले सरकारले समयमै प्रभावकारी पहल नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । व्यवसायीका अनुसार गत आर्थिक वर्ष तातोपानी भन्सारबाट १४ अर्ब ५२ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । चालु आर्थिक वर्षका लागि २५ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएको छ । साउन महिनामै १ अर्ब ७६ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य भए पनि शुक्रबारसम्म जम्मा २ करोड ८९ लाख रुपैयाँ मात्रै उठेको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले सडक खुलाउन सरकारी प्रयास अत्यन्त कमजोर रहेको बताए । “नेपालतर्फ मात्र होइन, चीनतर्फका गोदाम र सडकमा रोकिएका मालसामानसमेत नेपाल भित्रिन सकेका छैनन्,” उनले भने ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल हिमालय सीमापार वाणिज्य संघलगायत संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै उत्तरी नाकाको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्न सरकारसँग माग गरेका छन् ।
दशक देखिको दिक्दारी
लगातारको वर्षापछि अवरुद्ध भएको नेपाल–चीन सीमा जोड्ने तातोपानी नाका संञ्चालनमा आउन सकेको छैन । तस्बिर: अनिश तिवारी
२०७२ सालको भूकम्पपछि बाह्रबिसे–तातोपानी (२६ किलोमिटर) सडक पूर्ण रूपमा स्तरोन्नति हुन सकेको छैन । रणनीतिक महत्वको यो सडक हरेक वर्ष बर्खामा अवरुद्ध हुने क्रम दोहोरिँदै आएको छ । वडाध्यक्ष श्रेष्ठका अनुसार चिनियाँ अनुदानमा चिनियाँ कम्पनीले निर्माण गर्ने भनिए पनि सडकको अवस्था दशक बित्दासमेत उल्लेख्य रुपमा सुधारिएको छैन । भूकम्पपछि कोदारी राजमार्ग पुनर्निर्माण तथा पहिरो नियन्त्रणका लागि चीन सरकारले विभिन्न चरणमा ठूलो आर्थिक सहयोग घोषणा गरेको थियो । तत्कालीन राष्ट्रपति रामवरण यादवको चीन भ्रमणका क्रममा २०७१ चैतमा चिनियाँ राष्ट्रपति सी चिनफिङले ९० करोड चिनियाँ युआन (करिब १६ अर्ब २० करोड रुपैयाँ) बराबरको सहयोग घोषणा गरेका थिए । यसअघि पनि चीनले करिब ४८ करोड ४९ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको थियो । सोही सहयोगअन्तर्गत सडक स्तरोन्नति र कालोपत्रेको जिम्मा चाइना रेलवे फोर्थ कन्स्ट्रक्सन ब्युरो ग्रुप कम्पनी लिमिटेड (सीआरसीसी) ले पाएको थियो । तर, एक दशक बित्न लाग्दा पनि सडकका धेरै खण्ड जोखिमपूर्ण अवस्थामै छन् । गत वर्ष पनि पहिरोका कारण तातोपानी नाका करिब तीन महिना बन्द भएको थियो । त्यसपछि पहिरो नियन्त्रणका लागि ४८ करोड ४९ लाख रुपैयाँ बजेट विनियोजन गरिए पनि कामले गति लिन सकेन ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा २ बाट चीन जोड्ने तातोपानी नाकाको लिपिङ बजारमा थन्किएका कन्टेनर । तस्बिर: अनिश तिवारी
सडक डिभिजन कार्यालयका प्रमुख भण्डारीका अनुसार नेपाली कम्पनीसँग भएको ठेक्का सम्झौता करिब १५ प्रतिशत काम सम्पन्न भएपछि परराष्ट्र मन्त्रालयको पत्रका आधारमा रद्द गरिएको थियो । त्यसपछि चिनियाँ कम्पनीमार्फत निर्माण गर्ने निर्णय भए पनि कार्यान्वयन सम्झौता अझै टुङिगिएको छैन । वर्षायामपछि चिनियाँ कम्पनीले इको क्षेत्रमा स्थायी पहिरो नियन्त्रणको काम सुरु गर्ने अपेक्षा गरिएको छ । तर त्यसअघि सडक कहिले सञ्चालनमा आउँछ भन्ने निश्चित छैन । नेपाल हिमालय सीमापार वाणिज्य संघका कार्यकारिणी सदस्य शारदाप्रसाद पराजुलीका अनुसार वर्षेनी सडक अवरुद्ध हुने समस्या दोहोरिएकै कारण केही व्यवसायीले स्याउ बोकेका कन्टेनर केरुङ नाकातर्फ मोड्न थालेका छन् ।
“भोटेकोशी नदीको कटानले भन्सार यार्डसमेत जोखिममा परेको छ,” उनले भने, “पहिरो हटाउन सम्बन्धित निकाय समयमै सक्रिय नहुँदा कतिपय अवस्थामा व्यापारी आफैंले खर्च जुटाएर सडक मर्मत गर्नुपर्ने अवस्था आउँछ ।”
जोखिममा रहेका बस्ती सुरक्षित राख्ने कि तत्काल व्यापार सञ्चालन गर्ने भन्ने दोहोरो चुनौतीबीच तातोपानी नाका अझै अनिश्चितताको चिसो बजारमा उभिएको छ ।
