हुम्ला सीमामा चीनको सिन्डीकेटै सिन्डीकेट

हुम्ला, माघ २०८१ - उत्तरी चीनको स्वाशासित क्षेत्र ताक्लाकोट पुग्न हुम्लाको सदरमुकाम सिमकोटदेखि ९५ किलोमिटर कच्ची सडक पार गर्नुपर्छ । हिल्सा नाका ०६० पछि स्थापित भएको हो । यो नाका हुम्लाको मुख्य व्यापारिक केन्द्र पनि हो । स्थानीय प्रशासनले सीमा पासको अनुमति दिएपछि सीमा क्षेत्रबाट ३० किलोमिटर दूरीमा चीनको ताक्लाकोट बजार पुगिन्छ ।

बर्सेनि हुम्लाबाट नेपालीहरू चीनको ताक्लाकोट बजारमा मजदुरीदेखि व्यापार व्यवसाय गर्न जाने गरेका छन् ।

यही ताक्लाकोट बजार नै हुम्लीबासीको मुख्य व्यापार व्यवसायका लागि मात्रै नभएर दैनिक मजदुरी गरी आफूलाई आवश्यक दैनिक उपभोग्य वस्तु लिन चीनको ताक्लाकोट बजारसँग निर्भर छन् हुम्ली । तर, चीनको ताक्लाकोटमा नेपालीहरूले सहजै कामसमेत नपाउने गरेको सर्केगाड गाउँपालिका ६ का रणबहादुर बुढाथोकीले गुनसो गरे ।

"ताक्लाकोटमा पहिलाका वर्षभन्दा यस वर्ष काम पनि फाटफुट मात्रै पाइएको छ। खर्च गर्न कठिन भएको छ," उनले बताए । "कहिलेकसो काम पाएपछि २ हजार ३ हजार मात्रै आम्दानी हुन्छ दुई तीन सय जना मजदुर हुन्छन् । काम पाउन साह्रै मुस्किल छ," बुढाथोकीले बताए । मजदुरी गरेर दुईचार पैसा होला भनेर चीनको ताक्लाकोट पुगेपनि काम नपाउँदा घर फर्किने खर्चको समेत जोहो गर्न गाह्रो भएको उनको भनाइ छ ।

"ताक्लाकोट बजारमा नेपालीले खासै काम पाउँदैनन् बर्खाको समय अलिकति काम पाउछन् हिउँदको समय काम नै पाउँदैनन्," नाम्खा गाउँपालिका १ का नरबहादुर तामाङले बताए ।

ताक्लाकोट बजारमा एक दुई हजार नेपालीहरू छन् । होटल-पसलदेखि मजदुरी गर्न पहिले सहजै काम पनि पाइन्थ्यो हाल काम पाउन समेत मुस्किल छ । "दार्चुला बझाङबाट आएका केटीहरूले मात्रै होटलमा काम पाएका छन् । त्यता त दिनभर घाम ताप्ने बस्ने मात्रै काम छ ।" तामाङ भन्छन् । चीनको ताक्लाकोट बजारमा नेपालीका लागि होटल वा पसल आदि व्यवसाय गर्न छुट्टै बजारको चीन सरकारले व्यवस्था गरेको कैलाश हुम्ला व्यापारी संघका अध्यक्ष नाङमा छिरिङ लामाले जानकारी दिए । नाम्खा गाउँपालिकाका अधिकांश वडा र सिमकोट गाउँपालिकाका केही वडाका नागरिकले चीनको ताक्लाकोट बजारमा होटेल गरी जीविकोपार्जन गर्दै आएको अध्यक्ष तामाङको भनाइ छ । २ सय भन्दा बढी होटेल मात्रै छन् कामदार ४ वा ५ सय छन् । उनका अनुसार पहिलाजस्तो व्यापार व्यवसाय पनि छैन ।

चीनको सिन्डीकेट

नेपाल र चीनबीच भएको द्विपक्षीय सम्झौताअनुसार, चीनसँग सीमा जोडिएका जिल्लाका नागरिकलाई तिब्बतको निश्चित स्थानसम्म निर्वाध रूपमा आवागमन गर्न दिने व्यवस्था छ। यसलाई व्यवस्थित गर्न गृहमन्त्रालयले अध्यागमन नियमावली २०५१ को नियम ४४ (क) द्वारा प्रदान गरिएको अधिकारअनुसार कार्यविधि तयार गरेको छ।

उत्तरी सीमावर्ती १५ जिल्लाका नागरिकलाई चिनीयाँ बजारसम्म आऊजाऊ गर्न सीमापास  दिने  व्यवस्था  छ ।  सीमावर्ती  क्षेत्रका बासिन्दाले जिल्ला प्रशासन कार्यालयबाट १ वर्षे अस्थायी प्रवेश पास लिएर चीनतर्फ ३० किलोमिटर आऊजाऊ गर्दै आएका छन् । त्यसभन्दा बढी दुरीका लागि भिसा चाहिन्छ । 

तिब्बतसँग सिमाना जोडिएका हुम्ला, मुगु र डोल्पामा तीनवटा नाका नै कोरोना महामारीदेखि ठप्प थियो । हुम्लाको हिल्सा नाका मुगुको नाक्चेलाग्ना र डोल्पाको मोरिल्ला नाकाबाट व्यापारिक गतिविधि हुँदै आएको छ । हुम्लाको हिल्साको समृद्धिको आधार भनेकै उत्तरी नाका हो । यद्यपि, हिल्सा नाकाबाट हुम्लीले लाभ लिन सकिरहेका छैनन् । दैनिक मजदुरीका लागि चीनको ताक्लाकोट जाने मजदुरहरूलाई चिनीयाँ पक्षबाट सिन्डीकेट लगाइएको छ । मन लागे चीनतर्फको ढोका खुल्छ मन नलागे बन्द हुने गरेको स्थानीयले बताउने गरेका छन् ।

६७ सयले लिए सीमापास

स्थानीय प्रशासनको रेकर्डमा ६ हजार ७ सय नेपालीहरूले जिल्ला प्रशासन कार्यालय हुम्लबाट सीमापास पाएका छन् । 

छिमेकी चीनसम्मको सीमा जोडिएका बासिन्दाका लागि ३० किलोमिटर परसम्म जाने अनुमति भएपछि जिल्ला प्रशासन कार्यालयबाट कोराना महामारीपछि ६७ सय नेपालीले चीनको ताक्लाकोट सम्मका लागि सीमापास दिएका हुन् । 

गत वैशाख महिनादेखि हालसम्म जिल्ला प्रशासन कार्यालय हुम्लाले ६७ सय जनालाई हिल्सा नाकाहुँदै चीनको ताक्लाकोट पुग्ने सीमा पास दिएको छ ।

खाद्यान्न लुकाएर ल्याउँछन् 

चीनको ताक्लाकोटबाट हिल्सा नाका हुँदै भित्रिने मैदा, पिठो नेपालीहरूले लुकाएर ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो रहेको छ । गत वर्ष प्रतिव्यक्ति दुई बोराको दरले सामान ल्याउन पाउने व्यवस्था थियो । यो वर्ष एक जनाले एक बोरा मात्रै सामान लिन पाउने व्यवस्था भएको नाम्खा गाउँपालिका ४ निमा तामाङले बताए ।

"नाम्खामा उत्पादन कम हुन्छ, हिउँदमा खाने मैदा ल्याउन ताक्लाकोट पुग्नुपर्छ । त्यही पनि लुकाइलुकाइ सीमाबाट पास गर्नुपर्छ," तामाङले भने, " दैनिक उपभोग्य वस्तुको भर चीनसँग पर्छौँ त्यही पनि सहज छैन," उनले बताए ।

गाडी भाडामा पनि सिन्डिकेट

चीनको ताक्लाकोटदेखि ३० किलोमिटर दुरीमा रहेको हिल्सा नाकासम्म सामान एउटा गाडीमा, मान्छे अर्को गाडीमा गरी यात्रा गर्न स्थानीय बाध्य छन् ।

दुई पीस सामान ढुवानी गरेबापत झण्डै ८ हजार नेपाली रुपैयाँ तिर्नपुर्छ भने यात्रुहरूले बसको छुट्टै भाडा ८ सय रुपैयाँ तिर्नुपर्छ, नाम्खा गाउँपालिका–४ याङगारका पुर्वु तामाङले बताए ।

चीनको ल्हासाबाट हुम्ला ल्याउने विकास निर्माणका सामान हिल्सासम्म पुग्न झनझट हुने गरेको छ । एउटा ठूलो गाडीको सामानलाई ताक्लाकोट पुगेपछि १४ वटा गाडीको सामान बनाएर पैसा लिने गरेको सिमकोट गाउँपालिका–४ का छिरिङ लामाले बताए ।

"ल्हासाबाट कम्पनीको नियम अनुसार ढुवानी गरिएको सामान (सिमेन्ट आदि) ताक्लाकोटमा झारेर १४ गाडीको सामान बनाएर पैसा लिए," । "ल्हासाबाट ल्याएको सामानमा गाडी भाडा मात्रै १४ गाडी बनाउँदा भाडामा मात्रै २ लाख ९२ हजार ७०० घाटा भएको छ," लामाले आक्रोश पोखे ।

नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाका अनुसार चीनसँगको सुरक्षा बैठकको समय खाद्यान्न र आवतजावतको विषयमा कुरा राखेको बताए । "सानो गाडीमा एक बोरा मात्रै ल्याउन पाउने र ठूला गाडीमा दुई बोरासम्म ल्याउन पाउने व्यवस्था छ । उनीहरूको अधिकारीसँग कुरा राखेका छौँ, चिनीयाँ पक्षले पनि आफूभन्दा मथिल्ला अधिकारीसँग कुरा राख्ने आश्वासन दिएको छ," अध्यक्ष लामाले बताए ।

 

author

Narjan Tamang

CESIF Fellow