खुलेन माइती गाउँ फर्कने नाका

असार २०८३ - याङवरक गाउँपालिका १ फलैचा पाँचथरकी कल्पना सुब्बा १५ वर्षअघि विवाह गरेर भारतको सिक्किम जाँदा माइती गाउँमा भर्खर सडक खत्रे सुरसार हुदै  थियो । उनले त्यति बेला नै तुलनात्मक रुपमा तीब्र गतिमा विकास भइरहेकोे सिक्किमले पनि नेपाली सीमासम्म सडक सञ्जाल बिस्तार गर्ने चर्चा सुनेकी थिइन् । विवाहका लागि प्रस्ताव लिएर आएका दुलहाले पनि चिवा भञ्ज्याङ त अब सडकले चाँडै जोडिन्छ भनेर उनको परिवारको मन जित्ने प्रयास गरेका थिए । उनले सडक बनेपछि गाडीमै आउजाउ गर्न भइहाल्छ नि भनेर सहज आवातजावातको महत्वाकांक्षा पनि बढाए ।

दुलाहको कुरा सुनेपछि उनलाइ लागेको थियो, ‘सिक्किमले त चाँडै जोडिहाल्छ । अक्करे भीर र जङ्गल नै जंगलले ढाकेको क्षेत्र भएकाले नेपालले चाँहि जोड्न मुस्किलै होला ।’ त्यो बेलाको भूगोल हेर्दा सडक पनि कसरी निस्किएला र जस्तो अनुभूति हुन्थ्यो । चामल, नुन, तेल जस्ता दैनिक उपभोग्य सामग्री किन्न र बोक्नका लागि आमाबुवासँगै सिक्किमको उत्तरे पुगेर फर्कने उनी दुबै देशको सिमावर्ती क्षेत्रका विषयमा जानकार थिइन् ।

तर परिस्थिति कल्पनाले सोचेको भन्दा ठिक विपरित भयो । उनलाई कठिन लागेको अक्करेकोे भूगोल छिचोल्दै नेपालले द्वीदेशीय सिमाना चिवाभन्ज्याङ सम्मै २०६८ सालमा सडकको ट्रयाक पुर्यायो । मध्य पहाडी लोकमार्ग अन्तर्गत यहाँ सडक सञ्जाल जोडियो । २०७० सालदेखि माइती आउँदा नेपालको सडकमा आक्कल झुक्कल गाडी चढ्न पाइन् । चिवा भन्ज्याङदेखि जीप चढेर माइतीघर सम्मै पुगीन् । तर सिक्किम तर्फको सडक जोडिन भने २०७७ सालमा मात्रै सम्भव भयो । नेपालले ट्रयाक खोलेको नौ वर्ष पछि मात्रै सिक्किमसँग चिवा भन्ज्याङ जोडियो ।

सिक्किमको उत्तरेदेखि पैदल यात्रा गर्नुपथ्र्यो । दुलही भएर जाँदापनि उत्तरेबाट मात्रै गाढी चढेको कल्पनाको स्मरण छ । उत्तरे चिवा भञ्ज्याङबाट सिक्किम तर्फको नजिकको बजार हो । चिवा भन्ज्याङ सिक्किम सदरमुकाम गान्तोकबाट ९९ किलोमिटर दुरीमा रहेको उल्लेख छ ।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइ चिवाभन्ज्याङ पुगेको समयमा भारत सिक्किम राज्यका प्रहरीसँग । तस्विर : आनन्द गौतम

कल्पना जस्ता सयौं नेपाली चेली सिक्किममा बुहारी छन् । सिक्किमका चेलीपनि नेपालका बुहारी छन् । अहिले चिवा भन्ज्याङ सम्मै सडकले जोडिएको भएपनि यातायात सञ्चालनका लागि सीमानाका खुलेको छैन । सीमा नाका नखुल्दा सामान आवतजावत हुँदैन । यातायात नचलेपछि सडकको स्तरोन्नती भएको छैन । नेपालतर्फ पाँचथरको च्याङथापु, फलैंचा र भारत तर्फ सिक्किमको उत्तरेसम्म यातायातका साधन नियमित चल्छन् । त्यहादेखि माथि (सीमा नाका, चिवा भन्ज्याङ) सम्मको यातायात नियमित छैन । जसका कारण अहिलेसम्म पनि माइतीघर आउजाँउ गर्दा पैदलयात्रा नै गर्नुपर्ने वाध्यता रहेको नेपाली चेली सुनाउँछन् ।

कल्पनाले भनिन्, ‘हामी त २०/३० जनाको टोली बनाउँछौं अनि उत्तरे (सिक्किम) देखि उकालो चढेर चिवा भञ्ज्याङ निस्कन्छौं र फेरि ओरालो झछौं ।’ यसरी हिड्दा हिउँदमा हिउँले छोप्ने र बर्खामा पानीले भिजाएर निथ्रुक्क भएर माइती घर, कर्म घर पुग्ने गरेको उनले सुनाइन् ।

पैदल हिड्नेहरु चिवा भन्ज्याङमा नेपालको सशस्त्र प्रहरी बल र भारतीय प्रहरीकोमा बसेर पानी चिया मागेर खाने अनि गन्तब्य तर्फ लाग्ने गरेका छन् । दुवै देशका सुरक्षाकर्मीले राम्रो ब्यवहार गर्ने यात्रुहरु सुनाउँछन् । कम्तिमा पनि पाँच÷सात घण्टा हिड्नु पर्ने भएकाले हुलै बाँधिएर हिड्ने गरेको ताप्लेजुङ सिदिङवा गाउँपालिका १ कालिखोलाका नन्दु बानियाँ बताउँछन् । ‘पहिला छोटो पैदल बाटो थियो,’ बानियाँले भने, ‘अहिला त्यो बाटो सबैजसो हराइसक्यो अहिले सडकै सडक घुमेर पुग्न पर्छ ।’

नेपाल र भारतको पुरानो नाका भएकाले यसलाई सञ्चालन गर्नका लागि आफुहरुले नेपाल र भारत दुवै तर्फ बिशेष अनुरोध गरेको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिका अध्यक्ष सुरेश लिम्बू बताउँछन् । ‘हामीले २०७९ साल पुष २९ गते टोलि नै गएर सिक्किमका मुख्य मन्त्रीलाई भेटेर नाका सञ्चालनको विषयमा प्रस्ताव गरेका थियौं,’ लिम्बूले भने, ‘उहाँले म यसलाई बिशेष प्राथमिकतामा राख्छु भन्नु भएको थियो, तर अहिलेसम्म नाका खुल्न भनें सकेको छैन ।’

नेपाल सरकारका अधिकारीसँग पनि पटक-पटक अनुरोध गरेको लिम्बूले बताए । सिक्किम सरकारसँग फेरि पनि अनुरोध गर्ने उनले बताए । यो नाका खुले सिक्किमबाट पाथीभरा दर्शनका लागि आउनेहरुका लागि सहज हुने उनको तर्क छ ।

सिक्किमबाट वार्षिक ३० देखि ५० हजारसम्म पाथीभरा आउने अनुमान समितिले गरेको छ ।

नेपाल भारतको सिमाना चीवा भञ्ज्याङ क्षेत्र । हिउद याममा यहा हिउले ढाक्ने गरेको छ । तस्विर : आनन्द गौतम

सिक्किम झाक्रि ढुङ्गाका सामाजिक अगुवा अशोक क्षेत्री पर्यटन प्रवद्र्धन हुने भएकाले आफुहरुले पनि सिक्किम सरकारलाई नाका सञ्चालनमा जोड दिन अनुरोध गरेको बताउँछन् ।

नेपालसँग सिधै सडक सम्बन्ध स्थापना भए नेपाल भारतको वैवाहिक तथा साँस्कृतिक सम्वन्धमा थप टेवा पुग्ने उनको तर्क छ ।

सिक्किम सरकारले ट्रयाक खोलेर सडक स्तरोन्नतीमा पहिल्यैदेखि ध्यान दिएपनि कञ्चनजंगा राष्ट्रिय निकुञ्ज भएर सडक विस्तार गर्नु परेकाले समय लागेको क्षेत्रीको बुझाइ छ ।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोलेले निर्बाचनको समय देखिनै यो नाकालाई प्राथमिकतामा राख्ने वचन स्थानियलाई दिएको सिक्किमका पत्रकार प्रकाश अधिकारी स्मरण गर्छन् ।  भाषा, संस्कृति, भेषभूषा धेरै कुरा मिल्ने भएकाले मुख्यमन्त्रीको प्राथमिकतामा पर्ने उनको बुझाई छ ।

यता हिसिला यमी भौतिक मन्त्री भएको बेला सुरु भएको र आफुले प्रधानमन्त्री हुँदा राष्ट्रिय गौरवको आयोजनाको रुपमा विकास गरेको सडक भारतसंग जोडिए पनि सञ्चालन नभएको प्रति नेपालका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले चिन्ता व्यक्त गरेका छन् । भट्टराई २०७७ सालमा जन–संवाद अभियान लिएर चिवा भन्ज्याङ सम्म पुगेर फर्किएका थिए ।  उनले नेपाल र भारत दुवै पक्षसँग कुरा गर्ने आश्वासन स्थानीयलाई दिएका थिए ।

मध्य पहाडि लोकमार्गको च्याङथापु क्षेत्रमा निर्माणाधिन सडक । तस्विर: आनन्द गौतम

यो नाका सञ्चालनमा आए ताप्लेजुङ, पाँचथर र तेह्थुमको ब्यापारिक कारोवारको केन्द्र भारतको सिक्किम हुने र नेपालको पर्यटन क्षेत्रले गति लिने उद्योग बाणिज्य संघ ताप्लेजुङका अध्यक्ष नारान थापा बताउँछन्  । ‘नेपालका तिनै जिल्लाले सडकको लाभ लिन सक्छन्,’ थापाले भने, ‘सिमाना आसपासमा उस्तै भुगोल हुनुका साथै पोखरीहरु, गुराँसको राजधानी र हिमालय श्रृङखला नजिकै देखिने भएकाले पर्यटकको बढोत्तरी हुने निश्चित छ ।’

साँस्कृतिक सम्बन्ध समेत रहेको दुइ छिमेकीबिच कुटुम्बेरी साईनो महत्पूर्ण छ । अहिलेपनि दुई छिमेकी बीच मागी तथा प्रेम विवाह चल्ने सिदिङवाका सबिन बानियाँ बताउँछन् ।

सिक्किम तर्फको सडकका लागि सरकारले पहल गर्नुपर्ने स्थानियको माग छ । भारतसंग सीमाना जोडिएको सिदिङवा गाउँपालिका अध्यक्ष मानवहादुर राइले भने, ‘हामीले यसका लागि प्रतिनिधिसभा, प्रदेशसभाका सांसददेखि सरकारका उच्च ओहदाका जो कोही संग अनुरोध गरिरहेका छौं ।’

पाँचथरको याङवरक गाउँपालिकाका निवर्तमान अध्यक्ष जीवन घिमिरे आफ्नो कार्यकालमा प्रतिनिधिसभा र राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने ताप्लेजुङका योगेश भट्टराइ, पाँचथरका बसन्त नेम्बाङ, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई सिमानासम्मै पुर्याएर बस्तुस्थिति बुझाएको सुनाए ।

मध्य पहाडि लोकमार्गको च्याङथापु क्षेत्रमा निर्माणाधिन सडक । र सिमानादेखि नेपाल तर्फको नजिकको च्याङथापु बजारको वस्ती । तस्विर: आनन्द गौतम

नाका खुले ठूलो संख्यामा पर्यटकहरु पाँचथरको च्याङथापु, फलैचा, ताप्लेजुङको सिदिङवा गाउपालिकाको कालिखोला, सादेवा आउने अपेक्षा स्थानियको छ । ‘तिम्बुङ पोखरी, कञ्चजंघा हिमालको आधार शिविरसम्म जाने रुट यहीबाट पर्छ,’ सिदिङवाका बानियाले भने, ‘त्यसैले सिक्किम आउने भारतको युपी, बिहारका पर्यटकपनि आउने अपेक्षा गरेका हौं र हामी पनि सामान खरिदका लागि सिक्किम जान सजिलो हुन्छ ।’ 

दक्षिणी सिक्किमको उत्तरे, बेगा, देन्ताम, सोपाखा लगायतका गाउँलाइ यो सडकले जोड्छ । नाका खुले सांस्कृतिक सम्बन्ध अझै प्रगाड हुने च्याङथापुका भिष्म लिम्वु बताउँछन् ।

चिवाभन्ज्याङ मध्यपहाडी लोक मार्ग अन्तर्गतको १ हजार ७ सय ७६ किलोमिटरकोे दुरीको पूर्व तर्फको पहिलो नाका हो । यो पश्चिमको झुलाघाटमा टुङ्गीन्छ ।

२०६४/६५ सालमा निर्माण सुरु भएको मध्यपहाडि लोकमार्गलाई  आर्थिक वर्ष २०६८÷६९ मा राष्ट्रिय गौरबको आयोजना बनाइएको हो ।  सडक धेरैतिर धेरै प्रकारका भएपनि हिमाल, पहाड र तराइ जोड्ने यो महत्वपूर्ण सडक र नाका भएको मानबहादुर वताउँछन् । 

author

Ananda Gautam

CESIF Fellow