पुष २०८२ - नेपाल–चीन बीचको हिमाली सीमामा पर्ने संखुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का भौगोलिक सीमारेखा मात्र होइन, यो हजारौँ वर्षदेखि हिमालसँग जुध्दै बाँचिरहेको जीवन, राज्यको उपस्थिति र दुई देशबीचको आपसी विश्वासको प्रतीक पनि हो । तर सोही विश्वास र सीमाको प्रतिकका रूपमा उभिएको ७१ नम्बरको सीमा स्तम्भ गत जेठ १८ गते आएको भीषण बाढीले पुरिएर बेपत्ता भएपछि किमाथाङ्काको हिमाली भूगोल फेरि एकपटक राज्य, सुरक्षा र सीमाको गम्भीर बहसको केन्द्रमा आएको छ ।
भोटखोला गाउँपालिका–१ स्थित घोङ्गोप्पा खोला र छोकाङ खोलामा एकैसाथ आएको ठूलो बाढीले चट्टान, माटो र रूखहरूसँगै सीमास्तम्भलाई पनि बगाएको हो । भीरबाट खसेको पहिरोले ढुंगामा खोपिएको सीमास्तम्भ पुरिएपछि त्यो हालसम्म फेला पर्न सकेको छैन । स्थानीयले घाँस–दाउरा गर्न जाँदा सीमास्तम्भ नदेखेपछि प्रहरीलाई खबर गरेका थिए ।
किमाथाङ्का पुग्न संखुवासभाको सदरमुकाम खाँदबारीबाट कम्तीमा १६२ किलोमिटर यात्रा गर्नुपर्छ, त्यसमध्ये करिब ४० किलोमिटर बाटो पैदल हिड्नुपर्छ । दुर्गम बाटो, भीर, खोल्सा र हिमाली मौसमले यहाँको जीवन कठिन छ । यही कठिन भूगोलका बीच उभिएका छन् नेपाल–चीन सीमाका २१ वटा सीमास्तम्भ । ती स्तम्भहरू ढुंगाका टुक्रा होइनन्, ती राज्यको सार्वभौमिकता, सुरक्षा संयन्त्र र कूटनीतिक समझदारीका मौन साक्षी हुन् ।
७१ नम्बरको सीमास्तम्भ बगाएपछि जिल्ला प्रशासन कार्यालय संखुवासभाले तत्काल चासो देखायो । कार्तिक १७ गते प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सम्बन्धित निकायको सुरक्षा टोली अनुगमनका लागि किमाथाङ्का पुगेको थियो ।
टोलीले नेपाल–चीन सीमामा रहेका सीमास्तम्भहरूको स्थलगत निरीक्षण गर्यो । तर पहिरोले पुरिएको ७१ नम्बरको सीमास्तम्भ निकाल्न सक्ने अवस्थामा नरहेको निष्कर्षमा टोली पुग्यो । धेरै पटक निकाल्ने प्रयास गरेपनि सीमास्तम्भ भीरपाखामा हराएकाले अहिलेसम्म देखिएको छैन । भौगालिक हिसाबले सीमास्तम्भ खोज्ने कार्य कठिन भएको प्रजिअ थपलियाले बताईन् ।
टोलीले २१ मध्ये ६८, ६९ र ७० नम्बरका सीमास्तम्भहरू मात्र निरीक्षण गरेर फर्कनु परेको थियो । यसले हिमाली सीमामा राज्य संयन्त्र पुग्न कति कठिन छ भन्ने प्रष्ट देखाएको छ । उक्त स्तम्भ अहिलेसम्म फेला परेको छैन । किमाथाङ्काको घटनाले हिमाली क्षेत्रका सीमास्तम्भहरू प्राकृतिक विपत्तिको जोखिममा रहेको देखाउँछ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनाली र सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ अरुण गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक बाबुराम पौडेलको नेतृत्वमा गएको टोलीले सीमाको सुरक्षासँगै जोखिम मूल्याङ्कन पनि गरेको प्रजिअ थपलियाले जानकारी दिइन् । उनका अनुसार संखुवासभा जिल्लामा रहेका हाल २१ वटा सीमास्तम्भ मध्ये अधिकांश प्राकृतिक जोखिममा छन् ।
सुरक्षा टोलीले सीमास्तम्भ निरीक्षणसँगै खाँदबारी–किमाथाङ्का सडकखण्डमा पर्ने मतदान स्थल, बोर्डर आउट पोस्ट (बिओपी) किमाथाङ्का र विभिन्न प्रहरी चौकीहरूको पनि अवलोकन गर्यो । यस क्रममा चिनियाँ समकक्षीसँग सीमा सुरक्षा, सीमापार अपराध नियन्त्रण, विपद् व्यवस्थापन र सूचना आदानप्रदानका विषयमा समेत छलफल भयो ।
त्यतिबेला उत्तरी भोटखोला क्षेत्रमा अवैध लागूऔषध कारोबार नियन्त्रण र शान्तिसुरक्षा सुदृढीकरणका उद्देश्यले जिल्ला प्रहरी कार्यालयले लामो दूरीको विशेष गस्ती अभियान पनि सुरु गरिसकेको थियो । प्रहरीका अनुसार विकट भौगोलिक कठिनाइबीच सञ्चालन भइरहेको यो गस्तीले दुर्गम बस्तीमा सुरक्षाप्रति जनविश्वास बढाउने र अपराध नियन्त्रणमा उल्लेखनीय उपलब्धि दिलाउने अपेक्षा गरिएको छ ।

नेपाल–चीनबीचको किमाथांकातर्फ रहेको हिमाली सीमा सरसफाई र निरिक्षण गर्दे सशस्त्र प्रहरी, नेपाल प्रहरी र तिब्बतका सुरक्षाकर्मी । तस्बिर: दीपेन्द्र शाक्य
नेपाल–चीन बीचको हिमाली सीमामा आपसी सहयोग र विश्वास सुदृढ पार्ने उद्देश्यले गत साउन अन्तिम साता पनि सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीले संयुक्त निरीक्षण गरेका थिए । सशस्त्र प्रहरी बल नम्बर ४ अरुण गुल्म चैनपुर अन्तर्गत पर्ने किमाथाङ्का सीमा सुरक्षा पोष्ट (बीओपी)का इन्चार्ज नवीन खतिवडाको नेतृत्वमा सात जना सशस्त्र प्रहरी र चार जना नेपाल प्रहरी निरीक्षण टोलीमा सहभागी थिए । चीनतर्फबाट आठ जना प्रहरी अधिकारी पनि संयुक्त टोलीमा सहभागी थिए । त्यतिबेला पनि हराएको सीमा खोज्ने प्रयास धेरै भए । तर भेटिएन ।
संयुक्त टोलीले जङ्गे पिल्लर ६६, ६७, ६८/२, ६९/१ र ६९/२ नम्बर सीमास्तम्भहरूको निरीक्षण गर्नुका साथै वरपरको क्षेत्रमा सरसफाइ अभियान समेत सञ्चालन गरेका थिए । ती गतिविधिले सीमाक्षेत्रमा आपसी विश्वास, मित्रता र सुरक्षा सहकार्यलाई अझ बलियो बनाउने विश्वास सुरक्षाकर्मीहरूले व्यक्त गरेका छन् ।
भोटखोला गाउँपालिकाका १, २ र ३ वडा सिधै चिनियाँ भूभागसँग जोडिएका छन् । करिब पाँच हजार जनसंख्या रहेको गाउँपालिकाका अधिकांश बासिन्दा हिमाली भेगमा जीवनयापन गर्ने समुदायका हुन् । सीमापार व्यापार, वस्तु विनिमय, पशुपालन र कृषि यहाँका मुख्य जीविकोपार्जनका माध्यम भएपनि प्राकृतिक विपत्ति, दुर्गम भूगोल र पूर्वाधार अभावका कारण स्थानीयको दैनिकी अझै कठिन छ ।
२०७६ सालमा स्थापना भएको किमाथाङ्का बीओपीले स्थानीयको सुरक्षासँगै सीमाको निगरानीमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । बीओपी स्थापना भएपछि तस्करी नियन्त्रण, अवैध गतिविधिमा रोकथाम र आपतकालीन उद्धार कार्य सहज भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटे बताउँछन् ।
कतिपय सीमास्तम्भहरू वर्षौंदेखि प्राकृतिक कारणले क्षति पुगेका छन् भने कतिपय भौगोलिक विकटता र दुर्गम मार्गका कारण नियमित निगरानीमै कठिनाइ हुने गरेको भोटेको भनाइ छ । “सीमा भनेको राजनीति मात्र होइन, यहाँ बस्ने नागरिकको जीवनसँग जोडिएको विषय हो,” अध्यक्ष भोटे भन्छन्, “दुवै देशबीचको आपसी सम्बन्ध बलियो हुनु भनेको यहाँका बासिन्दाको सुरक्षित भविष्य पनि हो ।”
“७१ नम्बरको सीमास्तम्भ बाढीले बगाएको छ,” उनले भने, “ढुंगा, माटो र चट्टानले त्यसलाई पुरिदिएको छ, तर सीमाको अर्थ ढुंगामा खोपिएको रेखा होइन । त्यो विश्वास, सहकार्य र जिम्मेवारीको निरन्तर अभ्यास हो ।”
सीमास्तम्भ बगाए पनि नेपाल–चीनबीचको सदियौँदेखिको सौहार्दपूर्ण सम्बन्ध, कूटनीतिक समझदारी र सीमामा बस्ने नागरिकको आपसी विश्वास बगाउन सकेको छैन । “अब चुनौती स्पष्ट छ, प्राकृतिक विपत्तिसँग जुध्दै सीमाको संरक्षण कसरी गर्ने ?” उनले प्रश्न गर्दै भने, “दुर्गम भूगोलमा राज्यको उपस्थिति कसरी बलियो बनाउने ? र सीमामा बस्ने नागरिकको जीवनलाई कसरी सुरक्षित र सम्मानित बनाउने ?”
“हिमाली सीमा स्थानीय विषय होइन, भूराजनीतिक दृष्टिले पनि अत्यन्त संवेदनशील क्षेत्र हो”, उनले थपे, “जलवायु परिवर्तनका कारण बाढी, पहिरो र हिमताल विस्फोटको जोखिम बढ्दै जाँदा सीमास्तम्भ, नाका र बस्तीहरू थप जोखिममा परिरहेका छन् ।”
बाढीले सीमा व्यवस्थापनलाई दीर्घकालीन रणनीतिसँग जोड्नुपर्ने आवश्यकता देखाएको छ ।
“भौगोलिक विकटता र प्राकृतिक विपत्तिका कारण कतिपय सीमास्तम्भहरू जोखिममा छन्, वडाअध्यक्ष भोटेले भने, “यसप्रति राज्यको ध्यान अझ केन्द्रित हुन आवश्यक छ ।”
उनका अनुसार, सीमाक्षेत्रमा शान्ति, सुरक्षा र सहज व्यापार स्थानीयको मुख्य अपेक्षा हो । प्राकृतिक चुनौतीका बाबजुद दुवै देशबीचको सहकार्यले हाम्रो जीवन सहज बनाउने विश्वास छ । किमाथाङ्काको यो घटना प्राकृतिक विपत्तिको कथा मात्र होइन राष्ट्रले आफ्ना दुर्गम सीमालाई कसरी हेर्छ भन्ने प्रश्न पनि हो । सीमास्तम्भ पहिरोमुनि हराए पनि, सीमाप्रतिको सजगता र जनताको भरोसा हराउन नदिन राज्यको ध्यान अझै गहिरिनु आवश्यक रहेको उनले बताए ।
“ढुंगामा खोपिएको सीमास्तम्भ आज पहिरोको गर्भमै हराइरहेको छ, उनले भने, यसले भौगोलिक होइन, राष्ट्रिय, सामाजिक र भूराजनीतिक प्रश्नहरू पनि उब्जाएको छ ।
