जेन–जी आन्दोलन पछि तातोपानी नाकामा झन् कडाई

जेन–जी आन्दोलन पछि नयाँ सरकार गठन भए संगै चिनियाँ पक्षले तातोपानी सीमा नाकाबाट हुने आयातमा कडाई गरेको छ ।

चैत २०८२ - २०७२ सालको भूकम्प र त्यसपछि फैलिएको विश्वव्यापी कोरोना महामारीले थलिएको उत्तरी व्यापारिक तातोपानी नाका अझै पूर्ण रुपमा चलायमान हुन सकेको छैन । त्यसमा पनि पछिल्लो समयमा देखिएको राजनीतिक परिवर्तनसंगै चीनले फरक व्यवहार देखाउन थालेको छ । व्यवहारमा सूक्ष्म तर देख्न सकिने स्पष्ट परिवर्तन देखिन थालेको छ ।

जेन–जी आन्दोलनको प्रभाव र नयाँ राजनीतिक शक्ति उदाएको सन्दर्भमा, चीनले नेपाल–चीन सीमामा रहेको झाङमु–तातोपानी नाकामा क्रमशः कडाइ बढाउँदै लगेको स्थानीयको अनुभव छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल नेतृत्वमा नयाँ सरकार गठन भएपछि चीनले यसअघिको चिसोे व्यवहारलाई झन् बढाउँदै लगेको देखिन्छ ।

भूकम्पपछि लामो समय बन्द रहेको तातोपानी नाका हाल सञ्चालनमा आए पनि सीमावर्ती जनजीवन अझै सहज भइसकेको छैन । मितेरी पुल आसपासका करिब दुई दर्जन साना पसलमा मात्रै किनमेल गर्न पाउने अवस्था छ । आन्दोलन अघि जस्तो नेपाली सुरक्षाकर्मीलाई पारी जान चीन प्रशासनले बन्देज लगाएको छ । अन्य पर्यटकका लागि नाका अझै बन्दजस्तै छ ।

स्थानीयका अनुसार पछिल्ला महिनाहरूमा चिनियाँ पक्षले सीमामा गरिने जाँच प्रक्रियालाई अझ कडा बनाएको छ । यसले कन्टेनर आवतजावतमा समेत असर परेको देखिन्छ । तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका सूचना अधिकारी तुलबहादुर पाण्डेका अनुसार अघिल्लो वर्ष करिब ४ हजार ५ सय कन्टेनर भित्रिएकोमा यस वर्ष घटेर ३ हजार ६ सयमा सीमित भएको छ । दैनिक रूपमा २५–३० कन्टेनर भित्रिने क्रम घटेर चार वटा सम्ममा झरेको उनले बताए । उनका अनुसार यसमा बाढी–पहिरोले सडक अवरुद्ध हुनु, पूर्वाधारको समस्या तथा प्राविधिक कडाइजस्ता विभिन्न कारण जिम्मेवार छन् ।

सांसद पदको औपचारिक शपथ लिनुअघि नै गोरखाबाट निर्वाचित सुधन गुरुङले तातोपानी क्षेत्रको स्थलगत निरीक्षण गरेपछि यो नाकामा थप कडाई गरिएको छ । गुरुङ अहिले वालेन शाह नेतृत्वको सरकारमा गृह मन्त्री छन ।

गुरुङ अचानक नाकामा पुगेपछि स्थानीयमा जिज्ञासा र विभिन्न अड्कलबाजी देखिएको थियो। सीमा नाकामा पुगेर उनले सुक्खा बन्दरगाह र भन्सार कार्यालयको अनुगमन गर्दै कार्यप्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन निर्देशन दिएका थिए । आगमन–प्रस्थानका लागि जडान गरिएको ‘वाकथ्रु गेट’ बिग्रिएकोप्रति चासो राख्दै तत्काल मर्मत गर्न भनेका थिए भने मजदुर र स्थानीयसँग भेटघाट गरी समस्या सुनेका थिए ।

सुधनको भ्रमण र सीमामा देखिएको कडाइबीच प्रत्यक्ष सम्बन्ध रहेको विषयमा आधिकारिक पुष्टि गर्ने आधार नदेखिए पनि सीमामा प्रभाव भने परिसकेको छ । भन्सार प्रमुख राजेन्द्रप्रसाद चुँडालले तातोपानी नाका गुलजार बन्दै गएको दाबी गर्दै सामाजिक सञ्जालमा फैलिएका आंशिक बन्दको हल्लालाई अस्वीकार गर्छन् ।

नवनियुक्त गृहमन्त्री सुदन गुरुङ सिन्धुपाल्चोकस्थित तातोपानी नाकाको स्थलगत भ्रमणमा । तस्बिर: अनिश तिवारी

उनका अनुसार हाल नाकाबाट जलविद्युत् आयोजनाका उपकरण, रेडिमेड सामग्री, इलेक्ट्रोनिक्स, फलफूल तथा विद्युतीय सवारीसाधन आयात भइरहेको छ । सरकारी पक्षले तातोपानी नाका पूर्ण रूपमा सञ्चालनमा रहेको दाबी गरे पनि सीमावर्ती जनताको दैनिकी अझै सहज भइसकेको छैन । भौगोलिक जटिलता, कमजोर सडक पूर्वाधार, प्राकृतिक विपत्ति र प्रशासनिक कडाइबीच यो नाका अझै पूर्ण पुनरुत्थानको प्रतीक्षामा छ ।

राजनीतिक परिवर्तनसँगै छिमेकीको व्यवहारमा आएको भनिएको कडाइ, पूर्वाधार निर्माणका कारण देखिएको अस्थायी अवरोध र स्थानीयस्तरमा बढ्दो चासोबीच तातोपानी नाका अब कस्तो दिशामा अघि बढ्छ भन्ने प्रश्न अझै खुला नै छ । राजस्व संकलनमा भने लक्ष्यअनुसार प्रगति हुन सकेको छैन् । चालु आर्थिक वर्षमा २४ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी संकलन गर्ने लक्ष्य राखिएकोमा हालसम्म करिब आधा मात्रै उठेको छ । भन्सार अधिकृत रमेशबहादुर शाहका अनुसार १५ चैतसम्म ९ अर्ब ६६ करोड रुपैयाँ संकलन भएको छ । पहिरोका कारण सडक अवरुद्ध हुँदा ठूलो परिमाणको व्यापार मुस्ताङको कोरोला नाकातर्फ मोडिएको उनले बताए । यस्तै, खासा क्षेत्रमा पुनर्निर्माण कार्यका कारण पनि बेलाबेला सडक अवरोध हुने कार्यतालिका बनाइएको छ । पहिरोले सडक रोकिँदा खासाबाट डाइभर्ट भएर झन्डै नौ अर्ब राजस्व मुस्ताङको कोरोला नाकामा संकलन भएको उनले बताए ।

चिनियाँ बाहेक अन्य पर्यटकलाई हालका लागि नाका बन्द गरिएको छ । महिनाको १५ दिन रसुवा नाका बन्द हुने भएकोले कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्रीलाई तातोपानीबाट प्रवेश अनुमति दिने तयारी भएको अध्यागमन कार्यालय कोदारीले जानकारी दिएको छ ।

भौगोलिक अवस्थाले सडकको समस्या धेरै छ । बर्खा सुरु भएकोले लिपिङबाट बाह्रबिसेसम्म २६ किलोमिटर सडक कन्टेनरका लागि कष्टकर हुनेछ । बाह्रबिसेबाट लिपिङसम्म सडक विस्तार र इको पहिरो नियन्त्रण दुवै निर्माण कार्य एकसाथ भइरहेकोले मुख्य वर्षाअघि नै सडकको दुरवस्था हट्ने सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायण भण्डारीले जानकारी दिए ।

प्राकृतिक प्रकोपका कारण बिग्रिएको लिपिङ - बाह्रबिसे सडक खण्ड । तस्बिर: अनिश तिवारी

सांसदको सपत नलिई चिनियाँ नाकामा सुधन

केही समयअघि नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सिन्धुपाल्चोकस्थित तातोपानी नाकाको स्थलगत भ्रमण गरेका थिए । त्यतिखेर निर्वाचित भएर सांसद पदको आधिकारिक शपथ ग्रहण गर्नुअघि हत्तारिएर एकाएक यँहा उनको अस्वभाविक आगमनलाई लिएर अनेक आशंका व्याप्त छन् । अधिकाशं सीमाबासीले सीमाक्षेत्रमा उनको आगमनलाई रहस्यमयी रुपमा लिएका छन् ।

आफैँले गाडी हाँकेर त्यँहा गएका सुधनले भन्सार कार्यालयको कार्यपद्धतिलाई थप व्यवस्थित र पारदर्शी बनाउन निर्देशन गरेको भोटेकोशी गापा २ का स्थानीय छिरिङ शेर्पाले बताए । उनले अध्यागनमअघिको आगमन–प्रस्थानमा राखिएको चिनिँया प्रविधिको मेसिन ‘वाकथ्रु गेट’ बिग्रिएकोप्रति गम्भीर चासो राखेका थिए । तत्काल मर्मत गरी सुचारु गर्न निर्देशन दिएका थिए । ड्राइपोर्टका मजदुर र भोटेकोशी गाउँपालिका वडा नं ३ का स्थानीयसँग पनि भेटघाट गरी उनीहरुका समस्या सुनेका थिए । उनले दलाई लामा र उनीसँग सम्बन्धित गुम्बाका स्थानीयसँग सम्बन्धित मान्छेलाई भेटेको केहीले आरोप पनि लगाउँदै आएका छन् ।

दलाइ लामासंग तातोपानी नाकाको साइनो

२०७२ सालको भूकम्पले चीनतर्फ खासा, रमिते रपाङका ७५ प्रतिशत भौतिक संरचना ध्वस्त थिए ।त्यति बेला उद्धारको क्रममा चिनियाँ अधिकारीले घरहरुको पूजाकोठामा दलाई लामाका तस्वीर राखिएको फेला पारेका थिए । त्यसयता स्थानीयलाई नेपालतर्फ सीमाक्षेत्र आउन कडाइ गरिएको तातोपानीका प्रत्यक्षदर्शी स्थानीय अगुवा सानु शेर्पा बताउँछन् । 

दलाई लामा निर्वासित भएको केही वर्षपछि सन् १९६० तिर नेपालतर्फ सीमाक्षेत्रको तातोपानी, लिस्तीकोट, मार्मिङ र फुल्पिङकट्टीमा दर्जनौँ गुम्बा बने । तीमध्ये एउटा भोटेकोसी–१ लिस्तीकोटको छगाममा सेंग्डक बखाङ धोन्दुप धिङ गोन्पा आनी गुम्बा तिब्बतबाट आएका धर्मगुरु सेंग्डक रिन्पोछेले स्थापना गरेको यहाँका वडाध्यक्ष साङ्बो लामा बताउँछन् । गुम्बामा ३० देखि ७० वर्षसम्मका १०० भन्दा धेरै आनीमध्ये तिब्बती शरणार्थी पनि छन् । “घरहरूमा दलाई लामाको तस्वीर राखिएको घटनाको म आफैँ साक्षी भएँ । अहिले उनीहरू (स्थानीय तिब्बती) एक प्रकारले बन्धकजस्तै छन् । चीनबाट नेपाल आउन कडाइ छ,” भूकम्प पछिको अवस्थाबारे शेर्पाले भने । दलाई लामाका अनुयायीहरूको बसोबास भएकै कारण चीनले यो नाकालाई प्राथमिकतामा नराखेका उनको अनुमान छ ।

नेपालतर्फ पनि दलाई लामाका समर्थक छन् । नेपालीलाई अहिले सीमापारि जाँदा कडाइ गर्नुको कारण वारिपारि नै दलाई लामाको समर्थक हुनु पनि भएको उनी बताउँछन् ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्व महासचिव शम्भु तिमल्सिना चीनले स्वभाव बदल्नुको प्रमुख कारण सरकारी समन्वय र सहजीकरणको अभाव भएको बताउँछन् । अन्य कारण सहायक भएको उनको भनाइ छ । “सरकारले नाका फराकिलो बनाउने आवश्यकतालाई गम्भीरतापूर्वक लिएन, फलस्वरूप नाका खुम्चिँदै गएको देखिन्छ, सरकारले राजस्वमा मात्रै ध्यान दिएको छ,” उनले भने ।

 

 

author

Anish Tiwari

CESIF Fellow