असार २०८२
भैरहवा - अमेरिकाले गत चैत १३ मा आपराधिक गतिविधिमा संलग्न भएका १३ जना भुटानी नागरिकलाई ‘डिपोर्ट’गरेर भुटान पठाएको थियो । तर, भुटानले डिपोर्टमा परेकालाई आफ्नो नागरिकको दर्जा दिन चाहेन । अन्ततः डिपोर्ट भएर आएका सबैलाई पुनः शरणार्थीका रुपमा नेपाल फर्कायो ।
पूर्वी नेपालको सीमावर्ती बिन्दु भारतको पानीट्यांकीबाट लुकिछिपी नेपाल छिरेका तीन जनालाई चैत १४ गते झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरबाट प्रहरीले नियन्त्रणमा लियो । अर्का एक युवा पनि दुई दिनपछि बाहुनडाँगी नाकाबाट नेपाल प्रवेश गर्ने क्रममा समातिए । यी चारै जनालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
नेपाल–भारतबीच झापामा मात्रै १४४ किलोमिटर खुला सीमा छ । जसका कारण अवैध घुसपैठ मात्रै हैन, आपराधिक गतिविधिहरु पनि हुने गरेका छन् ।
भुटानी युवाहरुको अवैध प्रवेश प्रतिनिधि घटना मात्र हो । पूर्वी नाकाबाट भुटानी मात्रै हैन, बंगलादेशी, वर्मेली र तीब्बती शरणार्थीहरुको पनि अवैध प्रवेश हुँदै आएको छ ।
‘सिलिगुडी कोरिडोर’लाई नेपाल, भारत र बंगलादेशबीचको संवेदनशिल क्षेत्र मानिन्छ । जसलाई ‘चिकेन नेक’पनि भनिन्छ । जहाँबाट अवैध रुपमा नेपाल प्रवेश भइरहेको छ ।
काँकडभिट्टा–पानीट्यांकी नाकामा कोरोना महामारीयता भारतले आउजाउ गर्ने यात्रुलाई एकतर्फी रुपमा परिचय पत्र ‘भेरिफिकेसन’ गर्दै आएको छ । जसका कारण आउजाउ गर्न विगतको जस्तो सहज त छैन । तैपनि सीमा वारिपारीका गिरोहहरुले पैसा लिएर अवैध प्रवेश गराउँदै आएका छन् ।
चैत १३ गते नेपाल छिरेका भुटानी युवासँग पनि जनही १०/१० हजार भारतीय रुपैयाँ असुलेर रातको समयमा नाका दक्षिणको खोरीबारी क्षेत्रबाट मेची तारिएको थियो ।
पूर्वी नाकापारी भारतमा सुरक्षा चुस्त छ । यद्यपि विभिन्न देशका नागरिकहरुको अवैध घुसपैठ रोकिएको छैन ।
भारतीय सुरक्षाकर्मीको मात्रै भर पर्ने बानीले नेपालतिरका सुरक्षाकर्मी गम्भीर नभएको जस्तो देखिन्छ । अहिलेसम्म जतिपनि पक्राउ परेका छन्, अधिकांश भारतीय सुरक्षाकर्मीले नै पक्राउ गरेका छन् । ‘हाम्रा सुरक्षाकर्मीको ध्यान अन्तै हुन्छ', एक स्थानीय नेत्र कार्कीले गुनासो पोखे, ‘भारतीय सुरक्षाकर्मी नाकामा गम्भीर छन् । हाम्रा सुरक्षाकर्मीको काम पैसा उठाउनेबाहेक केही देखिँदैन ।’
खुला सिमानाको फाइदा उठाउँदै बंगलादेश, भुटान, म्यान्मार र तिब्बतका नागरिकहरू अवैध रूपमा नेपाल प्रवेश गर्ने गरेका छन् । गत वर्ष स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा भारतीय सीमा सुरक्षा बलले पानीट्यांकी नाका हुँदै नेपाल छिर्न लागेका तीन बंगलादेशीलाई नाकामै नियन्त्रण गरेको थियो ।
काँकडभिट्टा अध्यागमन कार्यालयमा पनि अवैध घुसपैठ रोक्ने संयन्त्र छैन । ‘कतिपय बंगलादेशीहरू भिसा लगाएर नेपाल आउँछन् र फर्किहाल्छन्’, अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख तुलसी भट्टराई भन्छन्, ‘तर अवैध रूपमा आउनेहरूको बारेमा हामी अनभिज्ञ छौं ।’
केही वर्षअघि मुम्बई बम विस्फोटपछि भारतले बंगलादेशीलाई ट्रान्जिट भिसामा कडाइ गरेको थियो । कोरोना महामारी र बंगलादेशको पछिल्लो राजनीतिक परिवर्तनपछि भारतले बंगलादेशलाई थप कडाई गरेको छ । तर, पनि उनीहरु विभिन्न हत्कण्डा अपनाएर भारत हुँदै अवैध रुपमा नेपाल प्रवेश गर्दै आएका छन् ।
तिब्बती र भुटानीको पनि अवैध प्रवेश
पूर्वी नाकाबाट तिब्बती र भुटानी नागरिकले पनि अवैध रूपमा नेपाल प्रवेश गर्ने गरेको पाइएको छ ।
केही वर्षअघि काँकडभिट्टा नाका प्रयोग गरी भिक्षुको भेषमा काठमाडौं जाँदै गरेका चारजना तिब्बतीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
त्यसअघि २०६८ साल असोज ३० गते पनि अवैध रूपमा नेपाल प्रवेश गरेका चार तिब्बती नागरिक पक्राउ परेका थिए । तिब्बतीहरु आफूलाई सिक्किमको नागरिक भन्दै प्रवेश गर्ने गरेको खुलेको छ ।
‘भुटानी र तिब्बती नागरिकहरू भारतीय नागरिकको रुपमा नेपाल छिर्छन्,’ एक ट्राभल व्यवसायीले भने, ‘वर्मेलीहरु पनि नक्कली आधार कार्ड देखाएर प्रवेश गर्ने गरेका छन् ।’
व्यवसायीहरूको भनाइमा, अध्यागमन र सुरक्षाकर्मीको कम सक्रियताका कारण तिब्बतीको अवैध प्रवेश बढ्दो छ । जसले सुरक्षा संवेदनशीलता पनि बढाएको छ । पछिल्लो समय पनि उनीहरु नेपाल आइरहेका छन् ।
भुटानी नागरिकहरूले आफूलाई नेपाली भनेर चिनाउने गरेका छन् । उनीहरूको भाषा, बोली र अनुहार नेपालीसँग मिल्दो भएकाले अवैध प्रवेशमा सहजता हुने गरेको छ ।
अध्यागमन कार्यालयका कर्मचारी तारा तामाङका अनुसार अवैध रूपमा नेपाल प्रवेश गर्ने भुटानी नागरिकहरूमा अधिकांश नेपाली शरणार्थी शिविरमा बसोबास गर्नेहरूका आफन्तहरू हुने गरेका छन् । उनीहरू झापा र मोरङका शिविरमा रहेका आफन्त भेट्न आउने गर्छन् ।
तेस्रो देश पुर्नवासपछि भने भुटानीहरुको अवैध आवागमन कम हुँदै गएको देखिन्छ । केही भुटानी नागरिक भने खोटाङस्थित प्रसिद्ध धार्मिकस्थल हलेसी महादेवको दर्शनका लागि पनि यो नाका प्रयोग गर्दै आएका छन् ।
पहिचान गर्न नसक्दा अवैध प्रवेश
भारतीय बंगाली र बंगलादेशी नागरिकको भेष र भाषा झन्डै उस्तै भएकाले पूर्वी नाकाबाट बंगलादेशी नागरिकको अवैध प्रवेश बढिरहेको छ । खुला सिमाना र पहिचान गर्ने संयन्त्रको अभावले गर्दा अध्यागमन तथा सुरक्षाकर्मीहरू यथोचित निगरानी गर्न नसकिरहेको हो ।
‘भारतीय र बंगलादेशी छुट्याउन कठिन हुन्छ,’ अध्यागमन कार्यालयका प्रमुख भट्टराई भन्छन्, ‘बर्मेली, भुटानी र तिब्बती पनि नेपाली जस्तै देखिने भएकाले पहिचानमै समस्या हुन्छ ।’ त्यही कारण उनीहरूको अवैध प्रवेश सहज हुने गरेको छ ।
पर्यटन व्यवसायी उदयकुमार श्रेष्ठकाअनुसार बैध रूपमा नेपाल आउने धेरैजसो बंगलादेशीहरू राहदानीमा भिसा लिएर त्यही दिन फर्कने गरेका छन् । तर, केही वर्षअघिको मुम्बई विस्फोटपछि भारतले बंगलादेशी नागरिकलाई ‘ट्रान्जिट भिसा’ कडाई गरेपछि उनीहरूले नेपाल प्रवेश गर्न वैकल्पिक अवैध बाटो रोज्न थालेको बताइन्छ । केहि महिना अघि भारत–बंगलादेश सीमाको इस्लामपुर नजिकबाट पाँच जना बंगलादेशी पक्राउ परेका थिए । त्यसअघि पनि नेपाल–भारत सीमाको पानीट्यांकी क्षेत्रबाट दर्जनौं पटक बंगलादेशीहरू पक्राउ परेका छन् ।
निगरानी प्रणाली कमजोर हुँदा उनीहरू खुलेआम नेपाल प्रवेश गर्न सफल भइरहेको देखिन्छ । स्रोतहरूका अनुसार उनीहरू भारतीय नागरिकको रूपमा चिनाउँदै नेपाल प्रवेश गर्ने गरेको पाइएको छ । अघिल्लो वर्ष भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका एक बंगलादेशीको साथबाट नक्कली भारतीय आधार कार्ड र मतदाता परिचय-पत्र समेत भेटिएको थियो । स्रोतकाअनुसार भारत–बंगलादेश सीमाको पश्चिम बंगाल अन्तर्गतको दक्षिण दिनाजपुरस्थित हिली र बंगलाबन्ध क्षेत्र अवैध प्रवेशका प्रमुख नाका हुन् ।
मुख्य नाकामा सतर्कता कमजोर
यस्तो संवेदनशील विषयमा नेपाल प्रवेशका प्रमुख नाकामा अझै प्रभावकारी निगरानी प्रणाली नहुनु गम्भीर विषय हो । विदेशी नागरिकहरू बिना राहदानी सजिलै नेपाल प्रवेश गरिरहँदा सम्बन्धित निकायहरू बेखबर देखिएका छन् ।
झापाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले भने, ‘नाकाको सुरक्षा सतर्कता चुस्त नै छ । तर, अनेक हत्कण्डा प्रयोग गरेर विदेशीहरु नेपाल प्रवेश गर्ने गरेको पाइएको छ । चार भुटानीको अवैध प्रवेशको पछिल्लो घटनाबाट पनि त्यो पुष्टि हुन्छ ।
यो अवस्थाले नेपालमा सुरक्षाको दृष्टिकोणले जोखिम बढाउने मात्र होइन, आपराधिक गतिविधिको बढ्दो सम्भावनालाई समेत संकेत गर्छ । सम्बन्धित निकायहरूले प्रविधियुक्त निगरानी प्रणाली, तालिमप्राप्त कर्मचारी र ठोस नीति अपनाएर सिमानामा कडाइ गर्न जरुरी रहेको मेचीनगरका पूर्व नगरप्रमुख विमल आचार्यले जनाए । उनले भने, ‘अब पुरानो शैलीबाट नाकालाई चुस्त पार्न सकिँदैन, नयाँ प्रविधि र प्रणाली अपनाउनुको विकल्प छैन ।’
