असार २०८२
रसुवा - नेपालको चीनतर्फ व्यापारिक कारोबार हुने मुख्य स्थल नाका हो- रसुवागढी । यहाँबाट नेपाल र चीनबीच सामान आयात र निर्यात मात्रै हुँदैन । सुरक्षा कमजोरीको फाइदा उठाउँदै अवैध कारोबार पनि हुने गरेका घटना बेलाबखत सार्वजिनक हुन्छन् । गत जेठ ४ गते रसुवा भन्सार नाकाबाट करिब ७ किलो सुन बरामद भयो । केरुङबाट स्याउ लिएर आएको कन्टेनरमा उक्त परिमाणको सुन बरामद भएको थियो । रसुवा भन्सार कार्यालयका अनुसार ७ वटा बिस्कुट आकार र केही साना टुक्रामा ल्याएको सुन बरामद भएको थियो । बरामद सुनको तौल करिब ७ किलो ६ सय ग्राम थियो । सीमावर्ती चिनियाँ बजार केरुङबाट सुन आइरहेको छ भन्ने सुराकीका आधारमा नाकामा खानतलासी गर्दा सुन बरामद भएको थियो । चालकको सिटनजिकै 'फल्स बटम' बनाएर सुन राखिएको थियो ।
यसरी गाडीको सिटमुनि फल्स बटम बनाएर अवैध कारोबार गर्ने गरिएको यो घटना मात्र होइन । गत चैत ४ गते ट्रकको ‘फल्स बटम’मा लुकाएर स्थल नाका हुँदै रसुवागढीबाट चीनको केरुङतर्फ तस्करी गर्न लागिएको १३ लाख ६९ हजार १ सय ५० युरो र ३ लाख २० हजार ८ सय ५० अमेरिकी डलरसहित कुसाङ लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो । बरामद विदेशी मुद्रा र ना ७ ख १६५२ नम्बरको ट्रकसहित लामालाई प्रहरीले राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको थियो । काठमाडौंको टोखाबाट बरामद करिब २५ करोड रुपैयाँ बराबरका विदेशी मुद्रा तस्करीको अनुसन्धानमा सिन्धुपाल्चोकका नारायण पौडेल तानिएका थिए । अवैध तस्करीका सामानको भुक्तानीका लागि अवैध विदेशी रकम पठाउन खोजिएको आशंकामा प्रहरी अनुसन्धान जारी छ ।
नाकाको असुरक्षाको फाइदा उठाउँदै अवैध रकम चीन पठाउने यी प्रतिनिधि घटना मात्र हुन् । यो नाकाबाट सुन तस्करी, अवैध मुद्रा, वन्यजन्तुका अंगहरु लगायतका अवैध चिजहरु ओसारपसार हुने नौलो होइन । सुनको कारोबारमा यो नाका निरन्तर प्रयोग भएको प्रहरीले गरेको बरामदको तथ्यांकले पनि पुष्टि गर्छ । प्रहरीकाअनुसार २०७१ देखि हालसम्म नेपाल प्रहरीले रसुवागढी नाकाबाट अन्ठाउन्न केजी सुन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाकाअनुसार सुनसँगै केही परिमाणमा चाँदी समेत बरामद भएको छ ।
२०७२ सालको भूकम्पले सिन्धुपाल्चोकको तातोपानी नाका क्षतविक्षत भएपछि रसुवागढी नाका पूर्णरुपमा सञ्चालन भएको हो । त्यो अघि यो नाकाबाट रातोकाठको नामबाट रक्तचन्दन निकासी हुने गरेको थियो । रक्तचन्दनको कारोबार अवैध भएकाले त्यसमा नेपाल सरकारले कडाइ गरेपछि नाकाहरुमा अन्य खालका अवैध गतिविधि पनि बढेका हुन् । तर यस्ता अवैध गतिविधिको यकिन तथ्यांक भने छैन । प्रहरीले व्यवस्थित रुपमा तथ्यांक राख्न सकेको छैन ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार समेतको संयुक्त गस्तीले मितेरी पुलमा कडा निगरानी बढाई जाँच परीक्षण गर्छ । बरामद भएका सुन तथा चाँदी भने सुराकीको आधारमा मात्र बरामद गरेर अवैध धन्दाका व्यक्तिलाई कानुनी दायरामा ल्याएको जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीले बताए ।
जाँच परीक्षण कार्यको लागि भन्सार कार्यालयले एउटा पनि स्क्यानर उपकरण व्यवस्थापन गर्न सकेको छैन । चीन सरकारले दिएको एकवटा स्क्यानर मेशिन नचलाईकन थन्काएर मितेरी पुलमा राखिएको छ । 'वाक थ्रु गेट'को आवश्यक भईसकेकाले भन्सार विभागले छिट्टै व्यवस्थापन गर्नेमा आशावादी रहेको नेपाल प्रहरीले जनाएको छ ।
पछिल्ला समयहरूमा सुनको अवैध कारोबार बढेको जनगुनासो पनि छ । सुरक्षा अंगले बाहिर कडा निगरानी गरेको देखिएपनि लुकीछिपी हुने अवैध कारोबारको भने सुइँको पाउन सकेको छैन। ठूल्ठूला सामानहरु बरामद हुने मात्रा कम छ । तर सार्वजनिक सवारी साधनबाट झोला र पोको पारेर ल्याइने खाद्य सामग्री भने बरामद भइरहेका हुन्छन् ।
सुरक्षाकर्मी भन्छन्, 'घरेलु प्रयोजनका लागि भनी थोरथोरै सामान मितेरी पुलबाट ल्याउने र टिमुरेमा पुगेपछि एकमुष्ट जम्मागरि भन्सार बिल बेगर काठमाडौं लैजाने गरेको पाइएपछि बरामद भएका सामग्री कानुनी कारबाहीका लागि रसुवा भन्सार कार्यालयमा बुझाउने गरेका छौं ।'
पछिल्लो तीन वर्षमा सशस्त्र प्रहरीले भन्सार बिलबिना निकासी गर्न खोजेका पाँच करोड ८७ लाख ५१ हजार ३४९/१३ बराबरका खाद्य सामग्री भन्सार कार्यालयलाई बुझाएको छ । सुन, चाँदी, डलर भने नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा बरामद गर्ने गरेको छ । अवैध सुन आयातको लागि रसुवागढी नाकाका अलावा केरूङ प्रान्तको प्याङ गाउँ हुँदै मालागढी तर्फबाट पैदल मार्ग भएका कारण सो क्षेत्रमा समेत निगरानी बढाउनुपर्ने अवस्था छ ।
केरूङबाट अवैध तरिकाले आयात हुने सुन सुराकी बाहेक अन्य तरिकाबाट सुरक्षा निकायले फेला पार्न सकेको छैन । कारोबार गर्ने व्यक्तिहरूमा आपसी कुरा नमिल्दा मात्र नेपाल प्रहरीमा सुराकी आउने गरेको छ । अवैध धन्दा गर्ने व्यक्तिहरुको चहलपहल बढेपछि स्थानीयहरुले त्यस्ता व्यक्तिहरुमाथि कडा निगरानी गर्नुपर्ने बताउँदै आएका छन् ।
रसुवागढी नाकाबाट फलफूलतर्फ अंगुर , स्याउ, स्याउपाती, अनार, ओखर, किवी, हलुवाबेद, खजुर, आँप, सुन्तला, ड्राईगनफुड एवं लसुन, अदुवाको साथै फलामका सामग्री, सुति कपडा, तयारी पोसाक, जुत्ता, चप्पल, मोबाइल सेट, बच्चाका खेलौना, विद्युतीय सवारी साधन आयातहु ने गरेको रसुवा भन्सार कार्यालयले जनाएको छ ।
पूर्ण रूपमा नाका सञ्चालन भए पश्चात एक खर्ब २४ अर्ब १० करोड, ६३ लाख मूल्य बराबरका सामग्री आयात भएको भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत तुलसीराम भटृराईले बताए । साना ठूला विद्युतीय सवारी साधनतर्फ आव २०८०/८१ मा सात हजार तीन सय ७७ र चालू आवको साउनदेखि चैत मसान्तसम्म पाँच हजार ५९ वटा सवारी साधन आयात भएको भन्सार तथ्याङ्कले देखाएको छ । गत वर्षको समग्रमा २० अर्ब ३६ करोड ९७ लाख र चालू आवको फागुन सम्म २१ अर्ब ५२ करोड १९ लाख कर असुली गरेको भन्सार प्रवक्ता रविन्द्र प्याकुरेलले जानकारी दिए ।
यो तहको आयात निर्यात हुने नाकामा सुरक्षा चुस्ततामा भएका कमजोरीले अवैध धन्दा गर्नेलाई बल मिलेको छ । रसुवागढी क्षेत्र भिरपहराको फेदमा छ । त्यस स्थानमा एकीकृत भन्सार, सशस्त्र प्रहरी बस्ने छुट्टै सुरक्षा भवन निर्माणको काम कछुवा गतिमा छ । त्यसैले काम गर्न असहज भइरहेको कर्मचारीहरु नै बताउँछन् । चीन सरकारको सहयोगमा चिनियाँ ठेकेदार कम्पनीले निर्माण सुरू गरेको टिमुरे सुख्खा बन्दरगाहका काम पनि ढिलाइ भइरहेको छ ।
भोटेकोशी नदीलाई तटबन्ध गर्ने काम प्राय सम्पन्न भएको, सुख्खा बन्दरगाह जाने र बाहिरिने सहायक मार्ग निर्माण भएको र भोटेकोसी बगरमा भुँई सतह मिलाउने, माल सामग्री गणना गर्ने गोदाम तथा भन्सार कार्यालय भवन निर्माण भई रहेको भन्सार अधिकारीले जनाएका छन् । सुख्खा बन्दरगाह लगायतका संरचना दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी सन् २०१९ को नोभेम्बरबाट निर्माण सुरु भएको थियो । ५ वर्ष भइसक्दा पनि निर्माण पुरा भएको छैन ।
नेपाल सरकारको तर्फबाट प्राविधिक पाटो हेर्ने नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलकाअनुसार उक्त बन्दरगाहमा एक सय कार तथा तीन सय पचास ठूला सवारी साधन अट्ने क्षमताको निर्माण भइरहेको छ । सम्म जग्गाको अभावमा सुख्खा बन्दरगाह बगरमा निर्माण भइरहेको छ ।
नेपाल-चीन व्यापारका लागि रसुवागढी-केरूङ नाका अत्यन्तै छोटो भएका कारण व्यापारी रसुवागढी केन्द्रित भएका छन् । तर भन्सार लगायतका सबै प्रकारका सुविधा नभएकोले व्यापारीहरु पनि समस्यामा रहेको बताउँछन् । नेपाल व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले भने, 'हामी लगानीकर्ता हौं, हाम्रा आफ्नै मालबाहक डिब्बा गुडाउने चालक र माल सामग्री लिन सिधै केरूङ जाने 'वान डे पास' नपाउँदा ठूलो मार्कामा परेका छौं । यसलाई सहजीकरण गरि माल सामग्रीका धनी र चालक केरूङ जाने वातावरण सिर्जना गरियोस् । हामी रात बस्दैनौ माल सामग्री लोड गराएर गएकै दिन फर्किएर आउँछौं ।'
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले भने दुई देशबिचको सीमाक्षेत्रमा पर्ने समस्या समाधान गर्ने छिमेकी अधिकारी र सरोकारवाला अधिकारीबिच हुने बैठकमा रसुवा जिल्ला बाहिरका चालक तथा अन्य मानिसहरूलाई पठाउन छलफल गर्दा केरूङमा नयाँ पर्यटन नीति बन्दै गरेका कारण सबैका लागि मितेरी पुल खुला गराउन केही समय लाग्ने जवाफ पाएको जानकारी दिए ।
