मानसरोवर यात्रामा हुम्लाको परम्परा र चीनको सीमा नीति

हुम्लाका बाडपाल देवताको पुजारी तुलसिहं रावत गएको महिना भिसा लगाएर मानसरोवर–कैलाश यात्रामा निस्किए । ७३ वर्षीय पुजारी रावतका लागि मानसरोवर पुग्न भिसा लगाएको पहिलो अनुभव थियो । अघि नागरिकता देखाएर नेपाल र चीनको सीमानाका हिल्सा पार गरेर ताक्लाकोट हुँदै निर्धक्कसँग कैलाश मानसरोवर यात्रामा जान सकिने भएपनि केही वर्ष यता चीनले हुम्लाको बासिन्दाका लागि ताक्लाकोट पुग्न अनिवार्य परिचयपत्रको नीति लागु गर्‍यो ।

घर–समाजमा अशुद्ध भए कैलाश मानसरोवर जाने धार्मिक वाध्यता पुरा गर्न उनलाई त्यहाँ जानु थियो । चीनले हुम्लाबासीका लागि ताक्लाकोट सम्म जानका लागि अनुमति पत्रको व्यवस्था गरेपनि तीस किलोमिटर भन्दा पर जान नमिल्ने भएकाले मानसरोवर जान सम्भव थिएन ।

सीमा क्षेत्रमा चिनियाँले कडाई गरेका कारण हिमाली क्षेत्रका बासिन्दाको धार्मिक अधिकार संकुचित हुदै आएको छ । “काठमाडौं बाट भिसा लगाएर मानसरोवर कैलाश दर्शन गर्ने वातावरण सिर्जना भयो,” उनले भने, “९० हजार भिसा लगाउन खर्च लाग्यो र २० दिनमा भिसा हातमा आयो ।”

यस अघि उनी नागरिकता देखाएर निर्वाध तिब्बत जान सक्थे । विगत तीन दशक देखि चीनले अनिवार्य अनुमति पत्र लिएर ३० किलोमिटर टाढाको ताक्लाकोटसम्म मात्र जान सक्ने प्रावधान ल्याएर रोकेको पुजारी तुल्सिङ धामीले बताए । निरन्तर अवरोध भए पछि यस वर्ष पुजारी भिसा लगाएर पहिलो पटक मानसरोवर गएका हुन् ।

तुल्सिङ सँगै बाडपाल देवताका धामी सुरेन्द्र रावत मानसरोवर पुगेका थिए । ३५ वर्षीय धामीले पहिले देखि नै बाडपालको माडुमा रातभर जाग्राम बसेर गाउँलेले बाजागाजा सहित बिदाई गरेर मानसरोवर पुग्ने चलन भएको बताए ।

तर चिनियाँ अध्यागमनको कडाईले मानसरोवर जाने बाटो असहज भएपनि उनीहरु हिल्सा नजिकैको नौमुले खोलामा नुहाएर फर्किने गरेका थिए । कोही भने लिमी लाप्चासम्म पुगेर टाढैबाट कैलाश मानसरोवरको दर्शन गरेर फर्किन्छन् । 

यस वर्ष तिब्बति पात्रो अनुसार घोडा वर्ष परेकाले उच्च हिमाली समुदायमा बसोबास गर्ने नेपालीहरुले पनि पहिलो पटक भिसा लगाएर मानसरोवर गएका हुन् ।

“सुरुमा नागरिकता देखाएर जान पाइन्थ्यो । कोभिड भन्दा अगाडि पास लिएर काम हुन्थ्यो,” धामी रावतले भने ।

स्थानीय वडाध्यक्ष टेक बहादुर रावतले काठमाण्डौ पुगेर भिसा लगाउन मात्रै एक लाख खर्च भएको बताए । “सात दिनको प्याकेजमा गए । डकुमेन्ट लिएर भिसा लगाएर हिल्साबाट ताक्लाकोट हुँदै मानसरोवर पुगेँ,” उनले भने, “साउने पुर्णिमा अघि फर्किए ।”

धेरै वर्ष पछि हुम्लाका धामीझाँक्री चीनको स्वशासित क्षेत्र मानसरोवरको यात्रामा निस्किएका हुन् । देवीदेवतासँग जोडिएका धार्मिक तथा साँस्कृतिक परम्परा अनुसार मानसरोवरको जल ल्याउन धामीझाँक्री मानसरोवर गएका हुन् ।

यसअघि हरेक वर्षजसो मानसरोवरको जल ल्याउन र दर्शनको लागि त्यहाँ जाने गरेको भएपनि चिनियाँ पक्षको कडाईका कारण धामी र तीर्थयात्रीहरु त्यहाँ पुग्न सकेका थिएनन् । जसले गर्दा उनीहरु त्यहाँ पुग्न वर्षौ कुर्नु परेको हो

हुम्लामा मानिने देवतामध्ये बाडपाल देवताका धामीझाँक्रीलाई यसपटक चीनको प्रवेशाज्ञा लिएर मानसरोवर–कैलाश दर्शन तथा पूजाआजाका लागि लगिएको स्थानीयले बताए । देवता मान्ने दुई घरधुरीको व्यवस्थापनमा धामीझाँक्रीलाई धार्मिक यात्रामा लगिएको हुम्लाको सिमकोट गाउँपालिका वडा नं. ५ का वडाअध्यक्ष टेकबहादुर रावतले जानकारी दिए ।

धार्मिक मान्यता अनुसार नयाँ धामी बनेपछि एकपटक मानसरोवर पुगेर स्नान गर्ने, कैलाशको दर्शन तथा परिक्रमा गर्ने परम्परा रहेको छ । मानसरोवरमा स्नान गरेपछि धामी शुद्ध हुने र देवताको धार्मिक कर्मका लागि योग्य हुने विश्वास रहँदै आएको रावतले बताए ।

वर्षौ पछि फर्किएको उत्साह

हुम्लावासीले विगतमा हिल्सा नाकाबाट चीन प्रवेशका लागि प्राप्त गर्ने सीमा–पासकै आधारमा ताक्लाकोट हुँदै मानसरोवर–कैलाशसम्म पुग्ने गरेका थिए । तर ०७० सालपछि चीनले सीमा–पासका आधारमा मानसरोवर–कैलाशसम्मको यात्रामा कडाई गर्‍यो ।

हिल्सा नाकाबाट स्थानीयका लागि जारी हुने सीमा–पासले सीमावर्ती चिनियाँ क्षेत्रमा आवतजावतको सुविधा दिए पनि मानसरोवरसम्म पुग्न थप अनुमति आवश्यक पर्ने व्यवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी चन्द्र वीर शाहीले बताए ।

शाहीका अनुसार हिल्साबाट करिब ३० किलोमिटरको दुरीमा पर्ने ताक्लाकोटबाट मानसरोवर पुग्न थप ८० किलोमिटर यात्रा गर्नुपर्ने भएकाले पनि जिल्ला प्रशासन कार्यालयले दिएको सिमापास काम नलाग्ने बताए । जिल्ला प्रशासनले जारी गरेको पासको आधारमा चीनको स्वशासित क्षेत्र तिब्बतको ३० किलोमिटर आसपासको क्षेत्रसम्म मात्र पुग्न पाइन्छ । धार्मिक आस्था जोडिएको कैलाश र मानसरोवरको यात्रामा जान नपाएपनि लाप्चाबाटै दर्शन गर्नेहरुकोे तथ्यांङ्क जिल्ला प्रशासन कार्यालयको अभिलेखमा उल्लेख छैन ।

हुम्लाले दिने सिमा पासले कैलाश–मानसरोवर दर्शन गर्न नपाउने भएकै कारण हुम्लाका स्थानीयको परम्परागत धार्मिक यात्रा प्रभावित हुँदै आएको थियो ।

कोरोना महामारीका कारण हिल्सा नाकाबाट कैलाश–मानसरोवर यात्रा लामो समय प्रभावित बनेको भए पनि पछिल्ला वर्षमा हिल्सा नाका हुँदै तीर्थयात्रा पुनः सञ्चालनमा आएको छ ।

२०८३ सालमा हिल्सा हुँदै कैलाश–मानसरोवर जाने भारतीय तीर्थयात्रीको संख्या उल्लेख्य रूपमा बढेको छ ।

तर पर्यटक तथा संगठित तीर्थयात्रीका लागि यात्रा खुल्नु र हुम्लाका स्थानीयले परम्परागत सीमा–पासकै आधारमा मानसरोवरसम्म जान पाउनु भने फरक विषय बनेको छ ।

धार्मिक यात्राका लागि भिसा

यसपटक बाडपाल देवताका धामीझाँक्रीलाई भने विशेष प्रक्रियाबाट भिसा लगाएर मानसरोवर–कैलाश पुर्याइएको हो । यससँगै तेह्र वर्षपछि हुम्लाका धामीझाँक्रीले पुनः मानसरोवरको जल तथा कैलाश दर्शन गर्ने अवसर पाएका छन् ।

स्थानीयका अनुसार विगतमा सीमा–पासकै आधारमा तुलनात्मक रूपमा सहज र कम खर्चमा धार्मिक यात्रा गर्न सकिने भए पनि अहिले भिसा र अन्य प्रक्रियाबाट जानुपर्ने भएपछि धामीझाँक्रीको धार्मिक यात्रा थप खर्चिलो बनेको छ ।

धामीझाँक्रीलाई मानसरोवरसम्म पुर्याउन यातायात, अनुमति, बसोबास तथा अन्य व्यवस्थापनमा खर्च बढेको छ ।

मानसरोवर ताल नजिकै नुहाउन जाद‌ै गरेका धामीझाँक्रीहरू। तस्बिर: नरजन तामाङ

उनीहरुलाई भिसा देखी आउने र जान खर्च प्रतिव्यक्ति एक लाख रुपैया लागेको र उक्त खर्च ती देवता मान्ने घरधुरीहरुले उठाएर व्यवस्थापन गरीएको छ ।

यता अध्यागमन कार्यालय हिल्सकाबाट धार्मीक पर्यटकका रुपमा कैलाश–मानसरोवर जम्मा १ सय १४ जना गएको कार्यालयमा कार्यरत पेमा लामाले बताए ।  अन्य नागरिकहरु कोही बिदेशी नागरीकहरुको गाइडका रुपमा गएपनि हुम्ला, मुगु र सुर्खेत लगायतका जिल्लाबाट धार्मिक पर्यटकका रुपमा गएका नेपालीहरू  ५९ पुरुष र ५५ महिला गरी १ सय १४ जना मात्र गएको बताए ।

“हुम्लाका मात्रै ५ वटा समुह गएका छन् । कहाँका को र के का धामीझाक्री हुँन् भन्ने आफुलाई थाहा नभएको तर २ समुह क्षेत्री जातीका र ३ समुह लामा जातीका गरी ५ समूह मानसरोवर कैलाशको दर्शन गर्न गएका छन् ।” लामाले बताए । भिसामा नाम र पासर्पोट नम्बर मात्र हुने भएकाले आफुलाई सबै कुरा थाहा नभएको लामाले बताए ।

जनैपूर्णिमाको पूजासँग जोडिएको धार्मिक परम्परा

सिमकोट गाउँपालिकामा जनैपूर्णिमा विशेष धार्मिक महत्वका साथ मनाउने परम्परा छ । यही धार्मिक परम्परासँग जोडिएका धामीझाँक्री मध्ये मष्टो, बाडपाल, सार्की र सुकिलोहंस देवताका धामीझाँक्रीहरु यसपटक मानसरोवर–कैलाश पुगेका हुन् ।

धामीझाँक्री भदौ १० गते सिमकोट फर्किने तयारी रहेको स्थानीय टेकबहादुर रावतले बताए । भदौ ११ गते चतुर्दशी र भदौ १२ गते जनैपूर्णिमा पर्ने भएकाले त्यसअघि धामीझाँक्री फर्किएर सम्बन्धित धार्मिक तथा पूजाआजा कार्यक्रममा सहभागी हुने बताए।

मानसरोवर कैलाश दर्शन गर्न पुगेका सिमकाेट गाउँपालिका-५ का बाडपाल देवताकाे धामी सुरेन्द्र रावत। तस्बिर: नरजन तामाङ

जिल्लाको तल्लो क्षेत्रबाट शुन्य

भौगोलक रुपमा ठूलो जिल्ला हुम्लाको तल्लो क्षेत्रका धामीझाक्रीहरु मानसरवर जान पाएका छैनन् । पहिले करिब १५ दिनको समय लिएर हिडेरै जाने र आउने गरेको भएपनि पछिल्लो समय सीमापास आवश्यक पर्ने भएपछि जान नपाएको अदानचुली गाउँपालिका वडा नम्बर १ मा मान्ने काले देबताका धामी रुपचन्द्र थापाको भनाई छ ।

उनका अनुसार पहिले आफु त्यहाँ जाँदा सजिलै थियो तर अहिले त्यत्रो खर्च गरेर पासर्पोट बनाउन, माथि गएर आउन खर्च नै जुटाउन नसकिने भएपछि कोही कसैले पनि जाने प्रयास नगरेको बताए ।

हुम्लाका लागि मानसरोवर–कैलाश केवल पर्यटकीय गन्तव्य मात्र नभई स्थानीय देवता, धामीझाँक्री र धार्मिक संस्कारसँग जोडिएको आस्थाको केन्द्र समेत हो । त्यसैले स्थानीयको माग सामान्य पर्यटकसरह मानसरोवर भ्रमण गर्न पाउने मात्र नभई पुर्खौँ देखि चलिआएको धार्मिक परम्परा कायम राख्न धामीझाँक्रीलाई सहज र व्यवस्थित रूपमा मानसरोवरसम्म पुग्ने विशेष व्यवस्था हुनुपर्ने रहेको छ । यसपटक भिसामार्फत बाडपाल देवताका धामीझाँक्रीलाई मानसरोवर–कैलाश पुर्याइए पनि आगामी दिनमा हुम्लाका अन्य देवताका धामीझाँक्री तथा धार्मिक समुदायका लागि कस्तो व्यवस्था हुन्छ भन्ने प्रश्न भने कायमै छ ।

हिल्सा नाका अहिले कैलाश–मानसरोवर यात्राको महत्वपूर्ण प्रवेशमार्गका रूपमा पुनः सक्रिय भएको छ ।

२०८३ को यात्रायाममा भारतीय तीर्थयात्रीको आवागमन समेत बढेको तथ्यले नाका धार्मिक पर्यटनका लागि खुला रहेको देखाउँछ । तर हुम्लाका स्थानीयको परम्परागत धार्मिक यात्राका लागि सीमा–पासबाट मानसरोवरसम्म पुग्ने पुरानो व्यवस्था पुनः सहज बनाउने कि विशेष धार्मिक अनुमति र भिसाको छुट्टै व्यवस्था गर्ने भन्ने विषय अब स्थानीय तहदेखि जिल्ला प्रशासन, परराष्ट्र मन्त्रालय र चीनसँगको द्विपक्षीय समन्वयसम्म पुग्नुपर्ने देखिन्छ ।

धेरै वर्षपछि बाँडपाल देवताका धामीझाँक्रीको मानसरोवर–कैलाश यात्रा पुनः सुरु हुनु हुम्लाको धार्मिक तथा सांस्कृतिक परम्पराका लागि महत्वपूर्ण घटना भएको छ । तर यसले स्थानीयको धार्मिक अधिकार, सीमा व्यवस्थापन र साँस्कृतिक परम्पराको संरक्षणबीच सन्तुलन कसरी कायम गर्ने भन्ने बहसलाई समेत पुनः सतहमा ल्याएको छ ।

author

Narjan Tamang

CESIF Fellow