मङ्सिर २०८२
हिल्सा, हुम्ला - सिमकोटदेखि ९५ किलोमिटर कच्ची सडक छिचोलेर हिल्सा पुग्न एक दिनको सास्ती सहनुपर्छ । जस्तोसुकै सास्ती किन नहोस्, हिल्सा र चीनको ताक्लाकोट नपुगी सीमावर्ती बासिन्दाको दैनिकी चल्न प्राय: असम्भव छ । किनभने उनीहरूका लागि सुर्खेत, नेपालगञ्ज र काठमाडौँ टाढाका शहर हुन् ।
पुस्तौपुस्ता व्यापारिक र आर्थिक हिसाबले हिल्सा ताक्लाकोटसँग नजिक छ । यतिसम्म नजिक कि खाद्य, लत्ताकपडा र रोजगारीमा हिल्सा र ताक्लाकोटमा निर्भर हुनुपर्ने बाध्यता छ । तर पछिल्लो समय हुम्लाबासीले सीमा नाकामा सहज पहुँच पाएका छैनन् । चीनको बजार ताक्लाकोट पुगेर फर्किन निकै सास्ती सहनुपरेको छ।
यसअघि यहाँका बासिन्दाका लागि आवतजावत गर्न कठिन थिएन । नाम्खा गाउँपालिका–५ याल्वाङका तेञ्जिन पाल्जोर लामा भन्छन्, “हिल्सा नाकाबाट चिनियाँ गेट प्रवेश गर्ने बितिकै मनोबल नै खस्किन्छ । नेपाली भूमिमा हुँदा शान्त मनोबल हुन्छ । चीनभित्र छिरे पछि निगरानीमा बस्नुपर्छ ।”
लामाका अनुसार नेपाल–चीन सीमा नाका खुल्न चिनियाँहरूको मनस्थितीमा भरपर्ने गरेको छ । “मन लागे नाका खोल्छन्, मन नलागे बन्द गर्छन् । कहिलेकाही त प्रशासनले बनाएको कागज पनि काम लाग्दैन,” लामाले भने ।
गाउँमा भएको उत्पादन तीन महिना पुग्दैन । खाद्यबस्तु, लत्ताकपडा, नुन, तेल ल्याउन चीनको ताक्लाकोट पुग्नुपर्ने स्थानीय हुम्लाबासीको बाध्यता हुन्छ । “घरमा आवश्यक पर्ने मैदा, उवा, तेल ल्याउन ताक्लाकोट पुग्नैपर्छ । तर पहिलाजस्तो अहिले छैन,” उनले भने ।
यो वर्षदेखि हुम्लाको नाका पार गर्न स्थानीय प्रशासन कार्यालयबाट अस्थायी चीन आवागमन अनुमति पत्र बनाउन पर्ने नियम ल्याएकोे छ । सीमा नाका आवातजावत गर्न यही पत्रका भर पर्नुपर्ने अबस्था छ । पत्रका लागि जिल्ला प्रशासन कार्यालय हुम्लाले एक वर्षअघि एक कार्यविधि जारी गरेको थियो ।
हल्सा नाकामा चिनाले एकलौटी रूपमा सास्ती दिइरहेको स्थानीयको भनाइ छ । जिल्ला प्रशासन हुम्लाले बनाएको कार्यविधि अनुसार सीमा प्रवेश अनुमतिले चीनको ताक्लाकोटसम्म प्रवेश गर्न पाइन्छ । जिप्रका हुम्लाबाट अस्थायी सीमा पास लिएर धेरै स्थानीयहरू व्यापार र मजदुरीका लागि ताक्लाकोट जाने गरेका छन् ।
बसाइँ सराईपछि झन् कडाइ
हुम्लाको जनसंख्या ५८ हजार १ सय ५८ रहेको पछिल्लो जनगणनाले देखाएको छ । हिल्सा नाका खुलेपछि बसाइँसराई गर्नेहरूको संख्या भने बढिरहेको देखिन्छ ।
उत्तरी नाकामा बसाइँसराई गर्नेहरूको संख्या बढेसँगै चीनले सीमा नाकामा निगरानीका नाममा एकलौटी र पारीका स्थानीयमाथि अस्वभाविक रूपमा निगरानी बढाएको छ ।
बाहिरी जिल्लाबाट हुम्लामा बसाइँसराई गरेर आउनेहरूका हकमा सीमा पास पाउन पहिला तीन वर्ष कुर्नुपर्ने प्रावधान थियो । हुम्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले यो प्रावधान हटाइदिए । त्यसपछि ताक्लाकोट मजदुरी गर्ने हुम्लाबासीको संख्या बढेको थियो ।
कोरोना महामारीपछि हिल्सा नाका खुला भएसँगै हुम्लाका ९ हजार १२९ जनाले सीमा पास लिएको जिल्ला प्रशासन कार्यालय हुम्लाको तथ्यांकमा उल्लेख छ ।
सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दका अनुसार बाहिरी जिल्लाबाट हुम्ला आएका नागरिकलाई पनि अस्थायी सीमा पास पाएका छन् । तर यसको प्रत्यक्ष असर सीमावर्ती नागरिकले खपिरहेका छन् । हुम्लाका नागरिकमाथि चीनले अस्वभाविक रूपमा ताक्लाकोट आउजाउ गर्ने निगरानी बढाएको छ ।
चीनको ताक्लाकोट पुगेर काम नपाएर विवाद गरेको आरोपमा चीनले ३५ जना नेपालीहरूलाई फोटोसहित ताक्लाकोट नपठाउन जिल्ला प्रशासन कार्यालय हुम्लालाई पत्रचार गरेको थियो ।
जिल्ला बाहिरबाट बसाइँ सराई गरेर आउनेको हकमा जिल्ला प्रशासन कार्यालयबाट ३ वर्षपछि मात्रै सीमा पास उपलब्ध गराउने भनिएको थियो । पछिल्लो समय जिल्लास्थित राजनीतिक दल, जनप्रतिनीधीहरूले बसाइँसराई गरेको एक वर्षभित्रै सीमा पास उपलब्ध गराउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चन्दले बताए ।
हुम्लामा बसाइँ सराई लिनेको संख्या बढेपछि प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा ०८२ सालको कार्तिक १२ गतेको बैठकले जिल्ला बाहिरबाट आएको हकमा एक वर्षपछि मात्रै अस्थायी सीमा अनुमति प्रवेश पत्र दिने निर्णय गरेको छ ।
हुम्ला सिमा तल राहेको हिल्सा बजार । तस्बिर: नरजन तामाङ
अस्थायी अनुमतिको झमेला
हालसम्म ९ हजार १२९ जनाले जिल्ला प्रशासन कार्यालय हुम्लाबाट अस्थायी सीमापास लिइसकेका छन । बझाङ, दार्चुला र बाजुराबाट अधिकांश हिमालतिर उक्लिएकाहरू हिल्सा नाकाको प्रयोग गरेर चीन प्रवेश गर्न थालेपछि चीनले सीमामा अत्याधिक कढाई गर्न थालेको हो । त्यसलाई रोक्न अस्थायी अनुमति प्रवेश पत्रको व्यवस्था गरिएको छ ।
कोरोना संकटपछि चीनले सडक नाकाबाट कसैलाई पनि नेपाल प्रवेश गर्न अनुमति दिएको छैन । सीमा नाकामा चिनियाँ प्रहरी तैनाथ हुन्छन् । निगरानीका लागि सीसीटीभी जडान गरिएको छ ।
गाउँका जग्गा खरिद
जग्गाधनी पुर्जा भएकाले जिल्ला प्रशासन कार्यालयबाट सीमा प्रवेश अनुमति पाउँछन् । हुम्लाको बासिन्दा हुन केहीले त्यहीका स्थानीयसँग विवाह गरेका छन् । मालपोत कार्यालय हुम्लाको तथ्यांकमा २५ जना गैर हुम्लीले गाउँ घरको जग्गा खरिद गरेको देखिन्छ ।
नाम्खा गाउँपालिका १ हेप्कागाउँको १ञ३७ कित्तानम्बर १०५५ वर्गकिमी क्षेत्रफल भएको जग्गा जिल्ला बाहिरका दुई महिलाको नाममा खरिद छ । सोही गाउँकै २१९ कित्तानम्बर ५६५ वर्गकिमीको जग्गा तीन जना किशोरीको नाममा खरिद भएको मालपोत कार्यालयको विवरणमा देखिन्छ ।
नाम्खा गाउँपालिका वडा नं. ४ मुचु गाउँको २०५ कित्ता नम्बर २३० वर्गकिमी क्षेत्रफलको जग्गा जिल्ला बाहिरबाट आएकाको नाममा खरिद भएको छ । हेप्कागाउँकै १७४ कित्तानम्बर ५५० वर्गकिमी क्षेत्रफलको जग्गा जिल्ला बाहिरबाट आएकाको नाममा खरिद भएको छ ।
स्थानीय प्रशासनले आवतजावतका लागि प्रवेश अनुमति पत्र जग्गाधनी प्रमाण पत्र, नेपाली नागरिकता र मतदाता नामावली आधारमा हुन्छ । धेरैले हुम्ला जिल्लाबाटै मतदाता नामावालीमा नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयमा २५ जना जिल्ला बाहिरकाले मतदाता नामावलीमा सूचीकृत भएकोे तथ्यांक छ । जिल्ला प्रशासन कार्यालय हुम्लाको यो निर्णयसँगै हिल्सा नाकामा चीनको एकतर्फ निगरानी झन् कडा पारिएको देखिन्छ ।
चिसोका नाममा ताक्लाकोटबाट फिर्ता
चीनले कामका लागि ताक्लाकोटमा बस्दै आएका हुम्लावासीलाई फिर्ता पठाउन शुरू गरेको छ । चिसो बढेको नाममा ताक्लाकोटमा गएका नेपालीलाई हिल्सा फिर्ता शुरू गरिएको त्यहाँ पुगेका हुम्लाबासी बताउँछन् ।
“चिसोमा काम गर्न नसकिने भन्दै अधिकांश नेपाली कामदारलाई फिर्ता पठाउने कार्य भइरहेको छ,” छ महिना ताक्लाकोटमा काम गरेर त्यहाँबाट फिर्ता पठाईएका सिमकोट गाउँपालिका–७ का पाल्दन बिकले बताए ।
ताक्लाकोटमा रहँदै आएका अरू कामदारलाई पनि खोजी खोजी हिल्सातर्फ पडाइरहेको पाल्दनको भनाइ छ । चार सयभन्दा बढी हुम्लावासी हाल ताक्लाकोटमा रहेकामध्ये अधिकांशलाई नेपाल फर्काउने तयारी भइरहेको फिर्ता भएका नेपालीहरू बताउँछन् ।
“यतिबेला ताक्लाकोटमा काम नभएको भने होइन । सबै काममै रहेको भएपनि चिनीयाँ सुरक्षाकर्मीले पठाएपछि नेपाल आउनुको विकल्प छैन,” बिकले भने।
हुम्लाबाट गएर ठूला व्यापार व्यवसाय गर्दै आएकाबाहेक अरूलाई पनि हुम्ला फर्काउने जानकारी चीनले दिएको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताए । तर जैशी ताक्लाकोटमा काम नभएकाले त्यसै बस्दा बिकृतिममा लाग्ने संभावना देखिएपछि चिनियाँ प्रहरीले नेपाली कामदारलाई फर्काएको हुनसक्ने बताउँछन् ।
काम नभएको बेला नेपालीहरू जुवातास तथा रक्सी सेवनमा लाग्ने गरेको आरोप चिनियाँ पक्षले लगाएको उनी बताउँछन् । तर यो कुरा फिर्ता भएका नेपालीहरूले पत्याउँदैनन् । जैसीले उपलब्ध गराएको तथ्यांकअनुसार मंसिर देखि ताक्लाकोबाट दैनिक १५–२० जना नेपाली फिर्ता आइरेका छन् ।
हालसम्म चिनियाँ प्रहरीले डेढ सय नेपाली ताक्लाकोटबाट डिपोर्ट गरिसकेको जैसीको भनाइ छ । हिल्सा नाका खुला भएपनि डिपोर्ट प्रक्रिया रोकिएको छैन । अहिले चिनियाँले अस्वभाविक रूपमा निगरानी बढाएको गत वर्षको घटनाले पनि देखाउँछ । गत वर्ष नेपाली कामदारलाई यसरी हिउँदमा फिर्ता पठाएको थिएन ।
ताक्लाकोटमा नेपाली बजार
वर्षेनी रोजगारी, व्यवसायका लागि चीनको ताक्लकोट आउजाउ गर्नेहरूको संख्या बढ्दै गएको छ । हुम्लाका केही नागरिकहरू ताक्लाकोटमा होटल र पसल गरी जीविकोपार्जन गर्छन् भने अन्य कामका लागि ताक्लाकोटमा बस्ने गरेका छन् । नेपालीहरूका लागि चीनले छुट्टै बजार व्यवस्थासमेत गरेको छ ।
झन्डै दुई सय नेपालीहरूले होटल, व्यवसाय गर्दै आएको कैलाश व्यापारी संघका अध्यक्ष नाङमाछिरिङ लामाले बताए । हालसम्म जिल्ला प्रशासन कार्यालय हुम्लाबाट आठ हजार भन्दा बढीले अस्थायी सीमापास लिएर चीनको ताक्लाकोट पुग्नेको देखिन्छ ।
यसले सीमा क्षेत्रमा बस्ने हुम्लाबसीको जनजीवनलाई झन् असहज बनाएको स्थानीयको भनाइ छ । चीनले जे चाहन्छ त्यही हुने त्यही हुने भएकाले सीमा नाकामा नेपालीलाई दुःख पाइरहेको स्थानीयको अनुभव छ ।

नेपाल-चीन हिल्सा नाकामा सीमा वारी मालसामान लोड गर्दै सवारीसाधन । तस्बिर: नरजन तामाङ
खाद्यमा ताक्लाकोटको भर परेका हुम्लाबासी दुई बोराभन्दा बढी मैदा ल्याउन नपाइने नियम चिनियाँ संयन्त्रले देखाउँदा कष्ट भोग्ने गरेको नाम्खाका निमा तामाङले बताए । सीमाबाट हुम्लाबासीले पहिला सास्ती खेप्दैन थिए ।
चीनसँग सीमा जोडिएका अन्य हिमाली जिल्लाहरू दार्चुला, बझाङ, हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, मनाङ, गोरखा, धादिङ, रसुवा, सिन्धुपालचोक, दोलखा, सोलुखम्बु, संखुवासभा र ताप्लेजुङका सीमा नाकामा समेत अस्वभाविक कडाइ गरेपछि हुम्लामा पनि अस्वभाविक सास्ती चीनले दिइरहेको स्थानीय बताउँछन् ।
यस क्षेत्रमा मानिसको आवागमन नियमन, सीमापार अपराध रोकथाम तथा नियन्त्रणजस्ता विषयमा नेपाली प्रशासन र सुरक्षा निकायको उपस्थिति कमजोर रहेको स्थानीयले बताउँछन् । यही कमजोरीको फाइदा उठाउँदै सीमामा चिनियाँ पक्षको मनपरी व्यवहार बढिरहेको उनीहरूको आरोप छ ।
चीनको ताक्लाकोटदेखि ३० किलोमिटर दुरी रहेको हिल्सा नाकासम्म सामान एउटा गाडीमा र मान्छे अर्काे गाडीमा सवार गर्नुपर्ने बाध्यता छ । दुई बोरा सामान ढुवानी गरेबापत झण्डै ८ हजार नेपाली रूपैयाँ तिुर्नपर्ने स्थानीयहरू बताउँछन् ।
त्यो त सामानको मात्र कुरा हो । यात्रुहरूले छु्टटै बसको भाडा ८ सय रूपैयाँ तिर्न बाध्य भएको नाम्खागाउँपालिका ४ का पुर्वु तामाङले बताए । दैनिक उपभोग्य खाद्यान्न समेत एक बोरा ल्याउँदा बसमा राख्न नपाइने र छु्ट्टै रिजर्भ गर्नुपर्ने अवस्था छ ।
यातायातका साधन र दैनिक उपभोग्य सामग्री ल्याउन सीमावर्ती बासिन्दाले ठूलो हैरानी बेहोर्नुपरेको छ । त्यसमा पनि पछिल्लो समयमा चीनले एकलौटी रूपमा कडाइ गरेको अस्वाभाविक सीमा निगरानीका कारण नागरिकले थप सास्ती भोगिरहेका छन् ।
