सीमामा चीनको कडाई : नेपालमै रोकिए चिनियाँ व्यवसायीका निर्माण सामाग्री

मङ्सिर २०८२ - यात्राको क्रममा पूर्वी नेपालको हिमाली जिल्ला ताप्लेजुङको नेपाल–चीन सीमाना टिपताला भन्ज्याङ वरपर ठाउँठाउँमा सडक खन्न चीनबाट ल्याइएका स्काभेटर मेशिन अलपत्र छाडिएका छन् ।

मोटरबाटो छ । तर, गाडी गुड्दैन । स्या..स्या.. गदैं पैदल यात्रा गरिरहँदा सडकरभरिे सडक नै बनाउने मेशिन थन्किएको देख्दा अचम्मित हुनु स्वभाविक भएको छ । सडकमा स्काभेटर मेशिन मात्रै नभएर तेल बोक्ने ट्याङ्कर लगायतका सवारी साधन पनि छन् । यस्ता मेशिन सीमानाकादेखि करिब तीन किलोमिटरमा रहेको तमोर नदीको उद्गमस्थलदेखि ओलाङचुङगोलाको बस्ती नजिकै चौरमा समेत गरी तीनवटा छन् ।

यात्राको क्रममा जानकारी नभएकाले नेपाल सरकारलाई गाली गर्छन् । कतिपयले अलपत्र ती मेशिन लगाएर यो सडक बनाइदिए यसरी हिड्नु पर्दैन थियो, गाडीमा हुइकिन पाइन्थ्यो भनेर सुझाउँछन् । कतिपयले करोडौं पर्ने मेशिन किन यसरी सडकमा छोडेका होलान भनेर प्रश्न पनि गर्छन् । खिया लाग्न थालेका मेशिन देख्दा कतिपयले नेपाल सरकारले दुरुपयोग गरेको हो कि भन्ने आशंका पनि गर्छन् ।

तर वास्तविकता फरक छ । यी सबै मेशिन नेपालका नभएर छिमेकी देश चीनका हुन् । चिनियाँ नम्बर प्लेट देखिने गरी झुण्ड्याइएका पनि छन् । फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोलाका वडा अध्यक्ष छेतेन शेर्पा लामा कोरोना संक्रमणको बेला चीनबाट ल्याइएको भएपनि अहिले सम्म फिर्ता नलगेको बताउँछन् ।

“यसरी देख्दा कोरोना संक्रमणको प्रभाव अझै नसकिएको हो कि जस्तो आभास हुन्छ,” छेतेनले भने ।

संक्रमणको असर मेशिनमा पनि परेको झल्को सीमाबासीमा हुन्छ । कोरोना भाइरस अर्थात् विश्व स्वास्थ्य संगठनले औपचारिक नाम दिएको कोभिड १९ को सुरुवात चीनको हुवेई प्रान्तको उहान शहरमा २०१९ डिसेम्बर ३१ मा पहिलो पटक देखा परेको थियो । चीनमा कोरोना संक्रमणको प्रभाव बढ्न थालेपछि चिनियाँ अधिकारीले छिमेकी देशसँगका सीमानाका बन्द गरे । नाका बन्द भएपछि चिनियाँ निर्माण कम्पनीका प्रतिनिधिले आफ्नो मेशिन फिर्ता लिने मौका नपाएको ओलाङचुङगोलाका तत्कालीन वडाध्यक्ष छेतेन शेर्पा भोटेले बताए ।

कोरोना महामारीको संक्रमण नियन्त्रणमा आएको धेरै वर्ष भइसक्दा पनि ताप्लेजुङसँग सीमा जोडिएका चिनियाँ नाका सञ्चालनमा नआएकाले ती मेशिन लगेका छैनन् । तमोर नदी छेउमा राखिएकामध्ये एउटा जीप (चार जना अट्ने सानो गाडि) तमोर नदीले बगाएको वडा अध्यक्ष छेतेनले जानकारी दिए। महामारी कोरोनाका कारण २०७६ माघ ५ गतेदेखि बन्द भएको नाका २०८१ जेठ ११ देखि खुलेको थियो।

सीमा नाका नजिकैका नेपाली बस्तीहरु ओलाङचुङगोला र याङ्माका बासिन्दा चीनको रिउ बजारसम्म पुग्छन् । नेपालमा उत्पादित गलैंचा, घिउ, जडीबुटीलगायतका सामग्री बिक्री गरिन्छ । आफन्त नातागोतासमेत चीनको बजारमा बस्ने गर्छन् । उनीहरुसँग भलाकुसारी गरेर फर्किन्छन् त्यहाँका स्थानीय । कोरोनाको बन्दाबन्दीले आफन्तसँग नभएको भलाकुसारी पुनर्स्थापित गरिसकेका छन् । तर सडकमै छोडेका मेसिन लैजाने ठेकदार भने अहिलेसम्म नआएको ओलाङचुङगोलाका बासिन्दा बताउँछन् ।

नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको डीङ्जे काउन्टिका अधिकारीसँगको समन्वय र दोभासेको काम समेत गर्दै आएका वडा अध्यक्ष छेतेन मेशिन नलैजानुको खास कारणबारे आफुहरु पनि जानकार नभएको बताउँछन् । “अस्ति एक पटक सोधेको थिएँ,” छेतेनले भने, “मेशिन फर्काउने प्रक्रिया मिलाउँदै छु भन्थे, प्रक्रियामा त्यस्तै केही समस्या भएर ढिलो भएको होला जस्तो लागेको छ ।”

कुराकानीका क्रममा चिनियाँ ठेकदारले पहिला मेकानिकलाई लगेर देखाउने, बनाउन सक्ने भए जहाँ छ त्यहीँ बनाउने अन्यथा सामान फुकाएर ढुवानी गराउने सुनाएका थिए । बर्खायामपछि यो सडक ठाउँठाउँमा भत्किएकाले चिनियाँलाई दोश्रो विकल्प उपयुक्त हुन्छ । तर त्यसका लागि पनि डिजेल लैजानुपर्ने भएकाले चीनबाट मेशिन ल्याएर पहिला सडक मर्मत गर्नुपर्ने आवश्यकता रहेको वडा कार्यालयका एक कर्मचारी बताउँछन् । तर यस विषयमा के गर्ने भनेर आफुहरुसँग कुनै समन्वय नभएको गाउँपालिका अध्यक्ष राजन लिम्बू बताउँछन् ।

वडाध्यक्ष छेतेनसँगपनि यस विषयमा कुरा भएको छैन । चार–पाँच बर्षदेखि थन्किएको र खिया लागेकाले त्यहीं बनाएर चलाएर लैजान समस्या हुनसक्ने बुझाई गोलाका स्थानीय र चिनिया निर्माण कम्पनीको छ ।

किन भित्र्याइए यति धेरै मेशिन

चिनियाँ मेसिन सबभन्दा पहिला इस्वी सम्बत २०१६ डिसेम्बर पहिलो साता टिपताला भञ्ज्याङबाट नेपाल भित्र्याइएको हो । चिनियाँ चालक स्वोलुङ, स्वफेल र चोन्दे भोटेले चलाएका २ सय ४० सीसी क्षमताका तीनवटा स्काभेटर मेशिन ट्रयाक खोल्दै ओलाङचुङगोलाको बस्ती नजिकसम्म आइपुगेका हुन् । ओलाङचुङगोलाका बासिन्दाले आफुहरुको बस्तीसम्म सडक सञ्जालले जोडिदिन नेपाल सरकारलाई पटक पटक आग्रह गरेका थिए । सरकारले सदरमुकाम फुङलिङबाट सुकेटार बिमानस्थल फुरुम्बुको गडिडाँडा, लिंखिम हुँदै तापेथोक सम्मको सडकको सर्भे र निर्माण कार्य शुरु पनि गर्यो । तर सुस्त गतिमा काम भएर दशकौं लाग्ने भएपछि ओलाङचुङगोलामा जन्मी हुर्किएर देशविदेशमा रहेका नेपालीले रकम संकलनसमेत गरे।

चीनले सिमानासम्म सडकको ट्रयाक ल्याइसकेकाले त्यहीबाट ओलाङचुङगोलाको बस्तीसम्म ल्याउने निर्णय गरे । २४ मिटर लामो यो सडक मान्छेले झम्पल मार्तलले खनेर सम्भव थिएन।

सरकारलाई दबाब दिने उद्देश्यले झम्पल मार्तल लगाएर बस्तीदेखि एक किलोमिटर जति मोटरबाटो खने पनि अन्तत: नेपाल सरकारमार्फत चीन सरकारसँग आग्रह गरेर चीनको ठेकदारसहित मेशिन नेपाल ल्याए । त्यसको भुक्तानी भने वालुङ समाजका व्यक्तिले पैसा उठाएर गरे ।

यसरी समुदायका मानिसले करिब तीन करोड रुपैंयासम्म लगानी गरेको छेतेन बताउँछन् । यसको स्थानीय समन्वय उनैले गरेका थिए । चिनियाँहरु तेलको ट्याङ्कर नै ल्याउँथे, एउटा मेशिनले अगाडि ट्रयाक खोल्थे अर्कोले सफा गर्थे । त्यसमा तेलको ट्यांकर र निर्माण कम्पनिका प्रतिनिधि साना सवारी साधनमा आउँथे । समुदायको लगानीको सडक निर्माणको काम सकिएपछि नेपाल सरकारले ओलाङचुङगोलासम्म सडकको ट्रयाक खोल्ने जिम्मेवारी दिएको नेपालको निर्माण कम्पनीले थप मेशिन ल्याउने निर्णय गर्यो।

तापेथोकको रानी पुलदेखि ओलाङचुङगोला बस्तीसम्मको जिम्मेवारी एसवीए एलाइट कम्पनीले लिएको थियो । निर्माण कम्पनीमा ताप्लेजुङकै फक्ताङलुङ गाउँपालिका ६ लेलेपका पेम्वा शेर्पापनि आवद्ध थिए । यो कम्पनीले तापेथोकदेखि लेलेप इलागाउँसम्मको ट्रयाक खोलेपनि पहराको कारण त्यसभन्दा अघि बढाउन कठिन भएपछि ओलाङचुङगोलाबाट पनि ट्रयाक खोल्ने निर्णय गर्यो । त्यसका लागि चीनको डिङजे काउण्टिका निर्माण व्यवसायीसँग समन्वय गरेर भाडामा मेशिन ल्याइएको थियो ।

“हामीले खासाबाट घुमाएर नेपाली मेशिन रिउ हुुँदै ओलाङचुङगोला पुर्याउने कि भनेर पनि प्रयास गर्यौ,” पेम्बाले भने, “मेशिन पुर्याएपनि डिजेल चीनसँगै किन्नुपर्ने र उनीहरुले तेलमात्रै देलान् नदेलान् भन्ने भएपछि निर्माणकै लागि सम्झौता गरेका हौं ।” हेलिकप्टरबाट मेशिन झार्ने, डिजेल मान्छेलाई बोकाउनेजस्ता विकल्प पनि सोचेको पेम्बा बताउँछन् ।

सदरमुकामतर्फबाट ट्रयाक खोल्ने जिम्मेवारी पाएको एसवीएलाइटले भाडामा ल्याएका मेसिन भनें फर्कन नपाएका हुन् । यी मेशिनले ओलाङचुङगोलाको बस्तिदेखि जोङगीन हुँदै पाटीडाँडासम्मको १० किलोमिटर सडकको ट्रयाक खोलेका थिए । यहाँदेखि तलको भागमा भने विशाल पहरा भेटिएपछि मेशिन फर्काएर ओलाङचुङगोला बस्ती छेउदेखि सीमानाका छेउसम्म नै पुर्याएको थियो ।

चिनियाँ कम्पनिले खनेको स्थानसम्म चिनियाँ साना गाडीसमेत आएका थिए ।

“तेत्रो मेशिन यता (ओलाङचुङगोलामा) थन्किएको छ,” ओलाङचुङगोलाका तेन्जीङ वालु भन्छन्, “मेशिन लैजान पाएनन्, तिनीहरुलाई पनि फाइदा भएन, हामी पनि दुखी छौं उसलाई के फाइदा भयो होलार भनेर ?” दोश्रो पटक मशिन ल्याउदा सीमाना देखि नै सडक मर्मत गर्दै ल्याइएको थियो । साना सवारीका साधन रिउ बजारबाट आउन थालेका थिए । ठेकदार कम्पनीका प्रतिनिधि, चालक, भान्सेसमेत आठ दश जनाको टोलि तीन महिना बढी सडक खनेर ओलाङचुङगोलामा बसेको गोलाबासी बताउँछन् । त्यसबेला रिउ जाने नेपालीलाई गाडिमै पुर्याउने र ल्याइदिने गरेका थिए । ओलाङचुङगोलाका गलैंचा, घिउलगायतका सामग्री गाडीमा जान थालेको थियो ।

टिपताला भन्ज्याङ नाका खुलेपछि पनि चिनीया नागरिक अहिलेसम्म नेपाल आएका छैनन् । “उनीहरुलाई नेपाल आउने अनुमति चिनियाँ अधिकारीले दिएको छैन भन्छन्,” वडाध्यक्ष छेनेतले जानकारी दिए, “हामीलाई चीन जाँदा सीमा पास अनिवार्य गरेका छन् । तपाईहरुले पनि त्यही गर्नु पर्छ भनेर हामीले पनि भनेका छौं ।” नाका खुलेपछि सिमावर्ती क्षेत्रका नेपाली भनें पटक पटक चीन गएको छेतेन बताउँछन् ।

नेपालीलाई सीमा पास प्रमाण पत्र

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सिमाना देखि २५ किलोमिटर क्षेत्रका नागरिकलाई सीमा पास प्रमाण पत्र दिएको छ । चीनको रिउ जान चाहनेले त्यो परिचयपत्रको फोटोकपी र आफ्नो विवरण वडा कार्यालयमा टिपाउँछन् ।

वडाध्यक्ष वा वडाका कर्मचारीले त्यो विवरण वी च्याटमार्फत रिउ प्रशासन कार्यालयमा पठाउँछन् । त्यो विवरण हेरेपछि यो दिनको यती समयमा सीमानाका पुग्ने गरी पठाइदिनु भनेर खबर गर्छन् । याङ्माका मानिस जाने भए एक दिनमा याङमा देखि ओलाङचुङगोलामा गएर बस्छन् । दोश्रो दिन मौवाटारमा पुगेर बस्छन् ।

तेश्रोदिनको अपरान्हको समयमा बल्ल सीमा नाका पुग्छन् । उनीहरुलाई रिउ बजारसम्म पुग्नका लागि यातायातका साधनको समन्वय भने रिउ प्रशासनले मिलाइदिने वडा कर्मचारी तेन्जिङ बताउँछन् । नाका खुलेदेखि अहिलेसम्म बढीमा पाँच दिनसम्म मात्रै बस्ने अनुमति दिएको तेन्जिङले बताए । टिपताला ५१ सय मिटर उचाइमा रहेको र ओलाङचुङगोला बाट २४ किलोमिटर मात्रै भएपनि हिँड्दा लेक लाग्ने भएकाले ४२ सय मिटर उचाईको मौवाटारमा बसेर जाने गरेको स्थानीयले बताए ।

author

Ananda Gautam

CESIF Fellow